Sign In

प्रेसिडेन्ट डेको अवसरमा यूकेआरओएद्वारा नयाँ वेबसाइट सार्वजनिक

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) ले प्रेसिडेन्ट्स डे (Presidents’ Day) को अवसरमा आफ्नो आधिकारिक वेबसाइट www.ukroa.org भर्चुअल कार्यक्रमको माध्यमबाट औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो वेबसाइटमार्फत संस्थाका विभिन्न गतिविधि, भविष्यका योजनाहरू, संगठनात्मक संरचना तथा अद्यावधिक जानकारीहरू उपलब्ध गराइएको छ।
कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष समिता राईले गर्नुभएको थियो। उहाँले वेबसाइटको लोगो र फ्लायर अनावरण गर्दै यसको औपचारिक उद्घाटन गर्नुभयो। अध्यक्ष राईले वेबसाइट निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बोर्ड अफ डाइरेक्टर्स (BoD) सदस्य प्रेरणा राई, वेब डिजाइनर जमिन राई, समन्वयकर्ता तथा पूर्वअध्यक्ष जयकुमार राई र केन्द्रीय उपाध्यक्ष मुक्तिनारायण राईलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। साथै, प्रेसिडेन्ट्स डेको अवसरमा उपस्थित सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरूलाई शुभकामना पनि व्यक्त गर्नुभयो।


वेबसाइट निर्माण संयोजक तथा BoD सदस्य प्रेरणा राईले संस्थाको स्थापनाकालदेखि हालसम्मको यात्रा र उपलब्धिहरू समेट्दै वेबसाइटको विस्तृत प्रस्तुति दिनुभयो। उहाँका अनुसार यस वेबसाइटमा संस्थाका गतिविधिहरू, संगठन संरचना, आगामी कार्यक्रमहरू, उद्देश्यहरू, डोनेसन सेक्सन लगायत सम्पूर्ण आवश्यक तथा अद्यावधिक विवरणहरू समावेश गरिएका छन्।
वेब डिजाइनर जमिन राईले वेबसाइट निर्माण प्रक्रिया, प्राविधिक पक्षहरू र सन् २०१९ देखि संस्थासँगको सहकार्यको अनुभव साझा गर्दै खुसी व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रेरणा राई र जमिन राईलाई किराती परम्पराअनुसार फेटा, सम्मानपत्र, तिम्साम (तिनपाने) तथा दामराखी सायरेम (सम्मान) प्रदान गरियो। विशेष गरी जमिन राईलाई विभिन्न च्याप्टरहरू (न्यु इङ्गल्यान्ड च्याप्टरका अध्यक्ष कर्ण राई, डीएमबीपी च्याप्टरका अध्यक्ष डा. भवी राई, न्युयोर्क च्याप्टरका अध्यक्ष अरुण राई तथा क्यालिफोर्निया च्याप्टरका अध्यक्ष टिकाराम राई) ले च्याप्टरको तर्फबाट सायबुङ (रकम) राखेर सायरेम गरे। यसैगरी, केन्द्रीय अध्यक्ष समिता राई, उपाध्यक्ष केशव राम राई, उपाध्यक्ष मुक्तिनारायण राई, न्यु इङ्गल्यान्ड च्याप्टरका कोषाध्यक्ष राकेश राई तथा पूर्वअध्यक्ष एवं संरक्षक विष्णु राईले पनि व्यक्तिगत रूपमा सायबुङ राखेर सम्मान व्यक्त गरे।
कार्यक्रममा UKROA का पूर्वअध्यक्षहरू—चुना ग्रेस नेल्सन राई, शिवकुमार राई, मिलन राई, प्रभाकर राई, विष्णु राई, मुना राई, जयकुमार राई—का साथै केन्द्रीय कोषाध्यक्ष राजन कुथुमी राई र संस्थापक सदस्य धौलबीर राईले पनि शुभकामना तथा धन्यवाद मन्तव्य राख्नुभयो।


सम्पूर्ण कार्यक्रमको सञ्चालन केन्द्रीय उपाध्यक्ष मुक्तिनारायण राईले कुशलतापूर्वक गर्नुभएको थियो। यो वेबसाइट सार्वजनिकसँगै UKROA ले आफ्नो किरात राई संस्कृति संरक्षण, प्रचार-प्रसार तथा सामुदायिक एकताको अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

Scroll to Top Scroll to Top Stretched