Sign In

महा शिवरात्री

Date & Time

February 15, 2026

Location

Tickets

Add to Calendar

चन्द्रमासको चौधौँ रात वा औँसीभन्दा एकदिन अगाडिको रातलाई शिवरात्रि भनिन्छ । एक वर्षमा १२-१३ शिवरात्रिहरू पर्छन्, जसमध्ये माघ (वा फाल्गुन) मा पर्ने शिवरात्रिलाई महाशिवरात्रि भनिन्छ— यस शिवरात्रिलाई आध्यात्मिक दृष्टिले सबैभन्दा बढी महत्त्वपूर्ण मानिन्छ । यस रातमा, उत्तरी गोलार्द्धमा ग्रहहरू विशेष अवस्थामा हुन्छन्, जसले गर्दा मानिसमा ऊर्जाहरू स्वतः माथितिर जान्छन् । यो यस्तो रात हो, जब प्रकृतिको शक्तिले व्यक्तिलाई आध्यात्मिक शिखरतर्फ धकेलिरहेको हुन्छ । यसैको उपयोग गर्नको लागि, यस परम्परामा हामीले एउटा विशेष उत्सव मनाउन थाल्यौँ, जुन रातभरि चल्दछ । ऊर्जाहरूको स्वाभाविक प्रवाहलाई सहजै माथितर्फ जान दिनको लागि, रातभरि मनाइने यस महा–उत्सवको मूलभूत आधार भनेको आफ्नो मेरूदण्ड वा ढाडलाई सिधा राखेर रातभरि जागा बस्नु हो ।

महाशिवरात्रि— महत्त्व

आध्यात्मिक मार्गमा हिँड्ने साधकहरूका निम्ति महाशिवरात्रि निकै महत्त्वपूर्ण हुन्छ । जो मानिसहरू घर गृहस्थमा छन् वा जसमा संसारमा केही गर्ने महत्त्वकाङ्क्षा हुन्छ, उनीहरूका लागि पनि महाशिवरात्रि निकै महत्त्वपूर्ण हुन्छ । घर– गृहस्थ सम्हालेका मानिसहरू यस दिनलाई शिव–पार्वतीको वैवाहिक वर्षगाँठ (विवाह भएको दिनको) रूपमा हेर्ने गर्छन् । सांसारिक महत्त्वकाङ्क्षा हुने मानिसहरू यस दिनलाई शिवले आफ्ना सबै शत्रुहरूलाई परास्त गरेको दिनको रूपमा हेर्ने गर्छन् ।

तर, तपस्वी र साधकहरूका निम्ति महाशिवरात्रि त्यो दिन हो, जब शिव कैलाश पर्वतमा विलिन भई एक भएका थिए । उनी पर्वत जस्तै बने— पूर्णतया अचल । योग पद्धतिमा, शिवलाई कुनै भगवान‌को रूपमा पूजा गरिँदैन । बरु, उनलाई आदिगुरु अर्थात् पहिलो गुरु भनिन्छ, जसबाट योगको विज्ञान उत्पत्ति भयो । कैयौँ सहस्राब्दिको ध्यानपछि, एकदिन उनी पूर्णतया स्थिर (अचल) भए । सोही दिनलाई महाशिवरात्रि भनिएको हो । उनीभित्र सबै गतिविधिहरू रोकिए अनि उनी नितान्त स्थिर भए— अतः साधकहरूको दृष्टिमा महाशिवरात्रि स्थिरताको रात हो ।

महाशिवरात्रि— आध्यात्मिक महत्त्व

किंवदन्ती त छँदै छ, तर योग परम्परामा यो दिन र रातलाई त्यस हदसम्म महत्त्व दिनुको कारण के हो भने, यसले आध्यात्मिक साधकको निम्ति जे–जति सम्भावनाहरू प्रदान गर्दछ, ती अतुलनीय र अद्‌भुत छन् । आधुनिक विज्ञानले थुप्रै चरणहरू पार गरेको छ अनि आज यो बिन्दुमा आइपुगेको छ, जहाँ यसले तपाईंलाई यो प्रमाणित गर्न थालिरहेको छ कि सबैथोक— जसलाई तपाईंले जीवनको रूपमा जान्नुभएको छ, जसलाई पदार्थ र अस्तित्वको रूपमा जान्नुभएको छ, जसलाई ब्रम्हाण्ड र आकाशगङ्गाको रूपमा जान्नुहुन्छ— त्यो त्यही ऊर्जा हो, जसले आफूलाई लाखौँ–करोडौँ रूपहरूमा प्रकट गरिरहेको छ ।

यो वैज्ञानिक तथ्य प्रत्येक योगीका निम्ति अनुभवको स्तरमा यथार्थ हो । “योगी” अर्थात् जसमा अस्तित्वको एकत्व बोध भएको छ । जब म “योग” भन्छु, म कुनै निश्चित अभ्यास वा प्रणालीको कुरा गरिरहेको छैन । अनन्तलाई जान्ने सम्पूर्ण अभिलाषा, अस्तित्वमा एक हुँदाको भावलाई जान्ने तीव्र चाहना नै वास्तवमा योग हो । महाशिवरात्रिको रातले व्यक्तिलाई यो अनुभव गर्ने अवसर प्रदान गर्दछ ।

शिवरात्रि— महिनाको अन्धकार रात !

महिनाको चौधौँ रात— औँसीभन्दा एकदिन अगाडिको रात— महिनाभरिको सबैभन्दा अँध्यारो रात हुन्छ । जब हामी “शिव” भन्छौँ, त्यसको एउटा पक्ष यो हो कि हामी आदियोगी अर्थात् पहिलो योगीको बारेमा कुरा गरिरहेका छाैँ । अर्को पक्ष के हो भने “शिव” को शाब्दिक अर्थ हो, “त्यो जुन छैन ।” “त्यो जुन छ”, अस्तित्व वा सृष्टि हो । “त्यो जुन छैन”, शिव हुन् । आज आधुनिक विज्ञानले हामीलाई यो भनिरहेको छ कि पूरै सृष्टि शून्यताबाट आएको हो र पुनः शून्यतामै फर्किनेछ । सबैथोक शून्यताबाट आउँछ अनि पुनः शून्यतामै फर्किन्छ । शून्यता नै अस्तित्वको आधार हो । त्यसैले, हामी शिवलाई अस्तित्वको आधारको रूपमा हेरिरहेका छौँ । “त्यो जुन छ” को आधार भनेकै “त्यो जुन छैन” हो ।

शिवरात्रि, महिनाको सबैभन्दा अन्धकार रात हो । प्रत्येक महिना शिवरात्रि मनाउँदा तथा महाशिवरात्रिको उत्सव मनाउँदा यस्तो लाग्न सक्दछ कि हामी अन्धकारको उत्सव मनाइरहेका छौँ । तार्किक दिमाग अन्धकारबाट टाढै रहन चाहन्छ, अनि स्वाभाविक रूपमा प्रकाश वा उज्यालो रोज्दछ । तर, शिवको शाब्दिक अर्थ हो, “त्यो जुन छैन ।” “त्यो जुन छैन” भनेको के हो भने, जब तपाईं आँखा खोलेर वरपर हेर्नुहुन्छ, यदि तपाईं स–साना चिजहरू खोजिरहनु भएको छ भने, तपाईंले निकै धेरै सृजनाहरू देख्न सक्नुहुन्छ, तर यदि तपाईंको दृष्टिले साँच्चिकै विशाल चिजहरू खोजिरहेको छ भने, तपाईंले यो महसुस गर्नुहुनेछ कि यस अस्तित्वमा भएको सबैभन्दा ठूलो उपस्थिति वास्तवमा विशाल शून्यता हो । केही बिन्दुहरू— जसलाई हामी आकाशङ्गा भन्छौँ— ती साधारणतया देखिन्छन् । तर, ती सबैलाई थामेर राख्ने विशाल शून्यतामा सबैको ध्यान जाँदैन । यही विशालता, यही अनन्त खालीपनलाई नै शिव भनिन्छ । यतिखेर, आधुनिक विज्ञानले समेत यो प्रमाणित गरेको छ कि सबैथोक शून्यताबाट आउँछन् अनि फेरि शून्यतामै विलिन हुन्छन् । यही सन्दर्भमा, शिव अर्थात् त्यो विशाल रिक्तता वा शून्यतालाई नै महान् देव, महादेव भनिएको हो ।

यस धरतीको हरेक धर्म र संस्कृतिमा, सदैव चैतन्यको सर्वव्यापी प्रकृतिको कुरा गरिएको छ । यदि हामीले यसमा ध्यान दिने हो भने, यो पाउने छौँ कि अन्धकार, शून्यता वा खालीपन मात्र त्यस्तो छ, जुन साँच्चिकै सर्वत्र–व्याप्त छ, जुन जताततै उपस्थित छ । सामान्यतया, जब मानिसहरू सुख–समृद्धि खोजिरहेका हुन्छन्, हामी चैतन्यलाई प्रकाशको रूपमा दर्शाउँछौँ । जब मानिसहरू सुख–समृद्धि खोजमा लाग्दैनन्, वा त्यसबाट माथि उठेर आफ्नो जीवनबाट पर जाने, विलिन हुने कुरामा ध्यान दिइरहेका हुन्छन्— यदि उनीहरूको उपासना र साधनाको उद्देश्य विलिन हुनु हो भने— त्यसबेला हामी सदैव चैतन्यलाई अन्धकारको रूपमा हेर्दछाैँ ।

शिवरात्रिको महत्त्व

तपाईंको मनको सन्दर्भमा प्रकाश एउटा झिनो घटना हो । प्रकाश शाश्वत हुँदैन, यो सदैव एउटा सीमित सम्भावना हो— किनकि, यो घटित हुन्छ र समाप्त हुन्छ । हामीलाई थाहा भएसम्म यस ग्रहमा प्रकाशको सबैभन्दा विशाल स्रोत सूर्य हो । तर, यहाँसम्म कि तपाईं घामको उज्यालोलाई समेत हातले छेक्न सक्नुहुन्छ अनि त्यसको पछाडि अँध्यारो छाँया छोड्न सक्नुहुन्छ ।

तर, अन्धकारले सबैथोक ढाकेको हुन्छ, यो जताततै हुन्छ । अपरिपक्व दिमागहरूले अन्धकारलाई सदैव दानव वा राक्षसको रूपमा प्रस्तुत गरेका छन् । तर, जब तपाईं चैतन्यलाई सर्वत्र फैलिएको भनेर व्याख्या गर्नुहुन्छ, तपाईं अवश्य नै दिव्यलाई अन्धकार भनिरहनु भएको हुन्छ, किनकि अन्धकार मात्रै सर्वत्र–व्याप्त हुन सक्दछ । यो जताततै हुन्छ । यसलाई कसैको पनि सहारा चाहिँदैन । प्रकाश सधैँ यस्तो स्रोतबाट आउँछ, जसले आफैँलाई जलाउँछ । यसको शुरु र अन्त्य हुन्छ । यो सधैँ सीमित स्रोतबाट आउँछ । अन्धकारको कुनै स्रोत हुँदैन । यो आफैँमा स्रोत हो । यो सर्वत्र–व्याप्त हुन्छ, सर्वव्यापी हुन्छ, जताततै उपस्थित हुन्छ । अतः जब हामी शिव भन्छौँ, त्यो अस्तित्वको विशाल खालीपन हो । यही विशाल खालीपनको काखमा सम्पूर्ण सृष्टि घटिरहेको छ । खालीपनको त्यस काखलाई हामी “शिव” भन्छौँ ।

Shiva blessing a devotee bowing down to him

यस संस्कृतिमा, पहिले–पहिले हाम्रा प्रार्थनाहरू आफूलाई बचाउने, आफ्नो सुरक्षा गर्ने वा अझ राम्रो गर्ने बारेमा हुँदैनथे । पहिलेका सम्पूर्ण प्रार्थनाहरू यत्ति हुन्थे— “हे भगवान ! मलाई नष्ट गर्नुहोस्, ताकि म पनि तपाईं जस्तै बन्न सकूँ ।” तसर्थ, जब हामी शिवरात्रि भन्छौँ, यो हामीमाझ एउटा यस्तो अवसर हो, जहाँ हामी आफ्ना सीमाहरूलाई विलिन हुन दिएर सृष्टिको स्रोतको त्यो असीमपन अनुभव गर्न सक्दछौँ— त्यो असीमपन, जुन प्रत्येक मनुष्यमा हुने बीउ हो ।

महाशिवरात्रि— चैतन्य जागृति को रात

महाशिवरात्रि एउटा अवसर वा सम्भावना हो— प्रत्येक मनुष्यभित्र हुने त्यो विशाल शून्यताको सम्पर्कमा आउन वा त्यसलाई अनुभव गर्न । त्यही विशाल शून्यता वा खालीपन, जुन सम्पूर्ण सृष्टिको स्रोत हो । एकतर्फ शिवलाई संहारक वा विनाशक भनिन्छ, जबकि अर्कोतर्फ, उनलाई अत्यन्तै करुणामयी भनेर चिनिन्छ । उनलाई महान् दाता समेत भनिन्छ । योग–गाथा शिवको करुणा बारे थुप्रै कथाहरूले भरिपूर्ण छ । उनको करुणा व्यक्त गर्ने तरिकाहरू अविश्वसनीय साथसाथै आश्चर्यजनक रहेका छन् । त्यसैले, महाशिवरात्रि केही ग्रहण गर्नको लागि एउटा विशेष रात हो ।

मेरो कामना र आशीर्वाद यही छ कि तपाईंले कम्तीमा एक क्षणको लागि भएपनि विराट् शून्यता, वा शिवलाई अनुभव नगरिकन यो रात यत्तिकै बिताउन हुँदैन । महाशिवरात्रिको रात तपाईंको लागि केवल जागा बस्ने रात नबनोस्— यो रात तपाईंहरूका निम्ति तीव्र जीवन्तता र चैतन्य जागृतिको रात बन्नुपर्छ !

Scroll to Top Scroll to Top Stretched