Sign In

अरुण उपत्यकामा हाक्पारे गीतको साम्राज्य-तारा बहादुर बुढाथोकी


तारा बहादुर बुढाथोकी, खाँदबारी, सङ्खुवासभा

पृष्ठभूमि

हाक्पारे नेपालको सर्व प्राचीन लोकभाकाको नाम हो। यो नेपालको कोसी प्रदेशका पहाडी जिल्लाहरूमा अद्यापि प्रचलनमा छ। किरात समुदायको मुन्दुम, पालाम, रिसिया हाक्पारे लोक गीत हुन्। नेपाली भाषाका लहरी, इयाउरे र मारुनीका भाका पनि हाक्पारेभित्र समेटिन्छ। किरात सभ्यताबाट हाक्पारे गीत अन्य जातिमा सञ्चरण भएको हो। चोमोलोङ्गादेखि सिलोडसम्म हाक्पारेका विविध भाका र शैलीमा गाइन्छ।

“हाक्पारे सङ्गीत किरात जातिको आदिम संस्कृति हो। यस लयबाट गीत प्रायः सबै उमेर, परिवेश र उत्सवहरूमा आपसी सद्भाव र आत्मीयता विनिमय गर्ने विशिष्ट परम्परा विकसित छ। यस गीतले पूर्वी नेपालको सम्पूर्ण लोकगीतको हरेक पक्षबाट नेतृत्त्व गरेको छ” (राई, २०६६)। किरात राईको मौलिक सोचका साथै कलात्मक सांस्कृतिक भाव दर्शन मुन्दुम हुनुपर्छ। सुप्तुलुङमा रिसिया वाचनमा हाक्पारेशैलीले उठान, व्याख्यान र बैठानका लोकशैली गत दर्शन मुन्दुम हो।

मुगल सम्राटको शासन कालदेखि हाक्पारे लय किरात जातिका साथै अन्य जातिको पनि लोक सम्पदा बनेको छ। युद्धका क्रममा नेपाल आएका मुगलहरूले ल्याएका गीतका भाकाहरूलाई तत्कालीन नेपालका शासक राई, लिम्बू, मगर, गुरुङ, भोटे र सेर्पा जातिले आ-आफनो लोक लयलाई भन्दा महत्त्वपूर्ण दिई सुन्न र गाउन थाले (पराजुली, २०६६)।

ए हन हुरैं डानाले … लगायो माया ठूली नानाले भन्दै डाँडो खोलो रन्काएर अरुण उपत्यकाका भीर पाखा र जङ्गलमा गाइने तुकबन्दी गेडाहरूलाई हाक्पारे भनिन्छ (बुढाथोकी, २०७१)। हाक्पारेमा तुकबन्दिता, निपात, अनुप्रास, संवादात्मकताका माध्यमबाट अनुभूतिको आञ्चलिक अभिव्यक्ति पाइन्छ। हाक्पारे लयमा पहाडी जीवनका प्रकृति, मान्छेका भोगाइ, स्त्री र पुरुषका स्वाभाविक प्रेम, आकर्षण आदि विषयका शालीन प्रस्तुती पाइन्छ।

हाक्पारे लय व्युत्पत्ति सम्बन्धी मिथक किंवदन्ती

हाक्पारे लय व्युत्पत्ति सम्बन्धी विविध मिथक र किंवदन्ती पाइएका छन्। यहाँ केही सान्दर्भिक मिथकहरू प्रस्तुत गरिन्छ:

१) धनहाङ सुब्बाका अनुसार लिम्बू समुदायमा हाङ शब्दको अर्थ राजा र पारेको अर्थ आदेश बोध हुन्छ। यही हाङपारे पदावली नै कालान्तरमा हाक्पारे भएको हो। यसको अर्थ राजाको आदेश वा निर्देशन हुन्छ।

२) अम्बिका साम्बहाम्फेका अनुसार प्रागकालमा सावायेहाङले धान खाने चरो धपाउन हात समातेर धान बारीमा उभिई हा .. हा .. हा आवाज निष्पादन गर्दा हाक्पारे पालाम बन्यो।

३) लिम्बूका चेली र माइती लेक डुल्न जाँदा विषको गन्धले हप्तौं दिन बेहोस भए। उनीहरू जङ्गली चरीहरूले फूलका रस चुसी, भाँची, खाई नष्ट भएको अवस्थामा ब्युँझिए। फूलहरूलाई पहिलेकै अवस्थामा जगाउन साम्केलीकेला केवाङफुडबाले पहिलो पटक ए .. ए .. हँ .. हँ .. ध्वनि उच्चारण गरे। ओलिएका फूलहरू जस्ताको तस्तै भए। यसै ध्वनिबाट हाक्पारे लयको व्युत्पत्ति भएको हो (साम्बहाम्फे, २०७२)।

४) स्त्रीप्रधान आर्थिक सामाजिक सत्ता पुरूषतर्फ स्थानान्तरणका क्रममा हाक्पारे लय व्युत्पत्ति भएको मानिन्छ। स्त्री प्रधान समाजमा किंरातहरूका माङ लोक दर्शन सञ्चरण भएको हो। प्रारम्भमा सामाजिक रीति, नीति, नियम र चलनलाई बताउँदा माङले रिसियामा हाँ ध्वनि उच्चारण गर्छिन्। नाभी स्थलबाट सृजित नाँद पा संयोजन भई हाँपा ध्वनि निःसृत भई मुन्दुमी लय हाक्पारे शब्द निष्पादन भयो।

५) माङबाट हाङमा सत्ता हस्तान्तरण भएपछि हाङकोपा शब्द नै हाङ्कपा > हाक्पारे भएको हो। यही सन्दर्भ लिम्बूहरूको संस्कृतिमा माङ्पा> हाङ़पा भयो। त्यही हाङपा सृजेको लय, धुन नै कालान्तरमा हाङ़पारेड हुँदै हाक्पारे भएको देखिन्छ (कलाङ, कार्यपत्र, २)।

हाक्पारे लयका प्रकार

हार्तम्छालीले लयका आधारमा हाक्पारे लयलाई दश प्रकारमा वर्गीकरण गरेका छन्: १) चाम्लिङ मुन्दुम २) बान्तवा मुन्दुम ३) साम्पाङ मुन्दुम ४) लिम्बू जातिको सामुई साम्लो मुन्दुम, पालम हाक्पारे ५) धामीको रिसिया – (कुलुलुलु, सुइसुलाको आवाज, पातको पिप्पिरी बजाउँदै गाइने गीत) ६) लाम्बारी भाका ७) सोझो भाका – घर, आँगनी, वनजङ्गलहरूमा गाइने ८) ठाडो भाका (प्रायः वन जङ्गल पाखामा गाइने भाका) ९) छोटी-हाक्पारे (लहरे) १०) गोठाले-खेताले

हाक्पारे लयका संरचनामा तुक, अन्तरा र स्थायी तत्त्व जोडिन्छन्। गायनका सन्दर्भमा सवाल-जवाफमा दोहोरो संवादात्मक अभिव्यक्ति हुन्छ। एकान्त, मेला, बजार, देउराली, चौतारी, वनजङ्गल आदि वातावरण नै रसमय बन्छन्। चराको चिर्बिर, कल्याङ्गल्यड़, मानिसहरूको कोरस, हाईहुई उत्तोलक बन्छन्। यो लय नायक नायिकाहरू सामुन्नेमा आँखा जुधाएर, गला फुकाएर, टाढा भए मनमा कल्पेर गाइन्छ। हाक्पारे लय विविध परिवेश, भिन्न भिन्न उमेर आदि सबैका लागि रसयुक्त हुनाले रसिलो गीत मानिन्छ। गाठाले, इयाउरे, ढाक्रे, पाखे गीत नामाकरण गरी हाक्पारे गीतलाई संस्कृत साहित्य सिद्धान्तबाट अलग्ग राखिनु सांस्कृतिक दमन गर्नु हो।

हाक्पारे लोकलय सुनकोसी, दुधकोसी, अरूण र तमोरका खोंच, कन्दरा, जङ्गल, भीर, पहरामा विरही भाकामा गुन्जिन्छन्। यस लयले नेपाली सिमाना नाघेर इलाम हुँदै सिक्किमबाट टिस्टापारि दार्जिलिङसम्मका नेपाली जातिले गाउँछन्। यस लेखमा अरुण उपत्यकाका खाँदबारी, चैनपुर, चिचिला, सभापोखरी, मकालु सिलिचोङ र साल्पासिलिछो क्षेत्रमा गाइने लोक लयलाई मात्र अध्ययन गरिएको छ।

लय विश्लेषणको सैद्धान्तिक आधार

साहित्य शास्त्र अनुसार श्रृङ्गार रसको स्थायी भाव रती, भयानक रसको भय, रौद्र रसको क्रोध, विभत्स रसको जुगुप्सा, करुण रसको शोक, अद्भुत रसको विस्मय, हाँस्य रसको हाँसो, वीर रसको उत्साह र बात्सल्य, … रसको स्नेह, बात्सल्य स्थायी भाव हुन (ऐ. ९७)। रसका दश स्थायी भावलाई विभाव, अनुभाव र व्यभिचारी भावको संयोगबाट रस साधारणीकरण गर्ने प्रक्रिया छन्। यही पूर्वीय साहित्य सिद्धान्तका आधारमा अरुण उपत्यकाका हाक्पारे लोकलयका विश्लेषण गरिएको छ।

हाक्पारे लयका आन्तरिक संरचना

हाक्पारे लयको लय संयोजनमा पूर्व तुक्का, फुँदा, सम्बोधन र रहनीमा विविधता पाइन्छ। एकै सप्तकमा पनि स्वरका श्रुति र कणहरूको मिठास, बीचका पङ्तीहरूलाई थपेर वा झिकेर पनि घटाउन बढाउन सकिन्छ। यस लयमा खास रुख बिरुवाका चिउला, पिपिरीको पात तथा बिनायो र मर्चुङ्गा बजाई, सुइसुइला पार्दै प्रस्तुत गर्न सकिन्छ। लयका मूल अन्तराको अतिरिक्त लय विधानमा आउने तुक्का, फुँदा र रहनीले हाक्पारेमा निष्पन्न रसको उपकार गर्छन्।

हाक्पारे लयका प्रयोग कर्ता युवायुवती, बुढाबुढी, बालबालिका जुन उमेरका पनि सक्छन्। उमेर समूहका आधारमा युवा युवतीमा जोस, उत्साह स्थायी भाव भई वीर रस निष्पन्न हुन्छ। उनीहरूले माया प्रीति र ख्यालठट्टालाई मुख्य विषय बनाउँछन्। प्रीतिका गीतहरूका स्थायी भाव रती हुन्छ र श्रृङ्गार रस निष्पन्न हुन्छ। ख्यालठट्टामा स्थायी भाव हाँसो हुन्छ र हास्यरस निष्पन्न हुन्छ। पाको उमेरका मानिसहरूले गाउँदा शान्ति, भक्तिका गीत गाउँछन्। यस बेला शान्त रस निष्पादन हुन्छ। आमा-बाबुले छोराछोरीका मायाले गाउँदा स्नेह र करुणा स्थायी भाव हुन्छ। यसबाट बात्सल्य र करुण रसको निस्पादन हुन्छ। बालबालिकाहरूले अद्भुत रस निष्पादन गर्दछन्। देवता बुझाउन गाइने मुन्दुम, पालाम र साम्लोमा करुण र भक्ति रस हुन्छ। गायनका स्थान, गायक, उद्देश्य अनुसार फरक फरक रसहरू निस्पन्न हुन्छन्।

हाक्पारे लयमा स्थानीय परिवेशको चित्रण हुन्छ। यसको पहिलो हरफमा प्रकृति र दोस्रो हरफमा मानव जीवन हुन्छ। सेरोफेरोका निकटतम् प्रकृति र त्यहाँका प्राकृतिक घटना, जीवन्त दृश्य गीतका शब्दहरूमा समाविष्ट हुन्छन्। गायकको आफनै पीडा, व्यथा, हर्ष, उन्माद, प्रेम, जुगुप्सा, विरक्ति, अनुराग जस्ता गहिरो अनुभूतिले गीतका भाव, शैली र शब्दहरू बुनिन्छन्। यस लयमा गाउने र सुन्ने पात्रहरू आलम्बन विभाव हुन्छन्। स्थानीय प्रकृति हाक्पारेको उद्दीपन विभाव हुन्छ। गीतको मर्मले हृदयमा गर्ने स्पर्श अनुभाव हुन्छ। यसबाट शरीरमा उत्पन्न हुने चञ्चलता, आनन्द, वैरागका कायिक, वाचिक क्रियाकलाप व्याभिचारी भाव बन्छन्। यसरी हाक्पारे लयमा विभाव, अनुभाव, व्याभिचारी भावको संयोजनबाट रसको साधारणीकरण हुने शक्ति निहित छ।

अरुण उपत्यकाका हाक्पारे लयमा रस

अरुण उपत्यका कोशी प्रदेशमा अनुवेष्ठित किरात सभ्यताको हो। अरुण उपत्यका समुद्री सतहबाट ४५७ मि. उचाइमा रहेको समुद्री सतहबाट सर्वाधिक होचो उपत्यका हो। यसको क्षेत्र अरुण नदीको बहाव भोटखोलाको गोलाबाट धनकुटाको लेगुवासम्म विस्तारित छ। सङखुवासभा, भोजपुर र धनकुटा जिल्लासम्म अरुण उपत्यकाको भू-भाग पर्छ। यहाँ अधिकांश किरात जातिको बसोबास रहेको छ। किरात राईहरूमा मुख्यतः कुलुड, याम्फू, लोहोरुङ, मेवाहाड, याख्खा, सानो सङ्ख्यामा चाम्लिङ, बान्तवाहरू र लिम्बूहरू छन्। यस भू-क्षेत्रमा खस, गुरुङ, मगर, सेर्पा, भोटे, तामाड, दलित र नेवार समुदायको बसोबास रहेको छ। यस क्षेत्रमा प्रचलित हाक्पारे लय किरातका मौलिक, सांस्कृतिक र ऐतिहासिक निधि हो।

रस सिद्धान्तका आधारमा हाक्पारे लयको विश्लेषण

हाक्पारेमा श्रृङ्गार रस

पूर्वीय साहित्य सिद्धान्तमा सम्भोग र विप्रलम्भ गरी श्रृङ्गार रसका दुई भेद बताइन्छ। हाक्पारे गीतमा श्रृङ्गार रस प्रधान र अन्य रसहरू गौण रहेका छन्।

घुम्तीमा हजुर घुमेर, गाउँ खाने धामी, ज्यू तिमी हामी, अरुणै धाउँदा फूल टिप्न आउँदा, मायाको साथमा जुनेली रात्मा, घुम्तीमा लेट भो सञ्जोगले भेट भो, आजको दिन लजायौ किन, शितलु छाँया लाइराखूँ माया, गाईभैंसी गोठमा चुमुला ओठमा मिठो छ साइली उमेर। नायिका : होलान् तौ हजुरौं, ज्यु झस्सै भन्नु होसै। लाहुरे र दाइको पहिरन गलेर नारान् हैरान।

हाक्पारे गीतको तुकबन्दी सहितका उल्लिखित स्थायी र अन्तराहरूमा संभोग श्रृङ्गार पाइएका छन्। नायकले नायिकालाई मन पराएको छ, चाहेको छ तसर्थ नायक र नायिका आलम्बन विभाव हुन्। आन्तरिक विभाव हो। फूलबारी, अरुण नदी, जुनेली रात, सितल छाँया, एकान्त स्थल उद्दीपन विभाव हुन्। यो परकीय वा बाह्य विभाव हो। फूल टिप्र आउनु, संयोगले भेट हुनु, नायकले ओठमा म्वाईं खाने प्रस्तव राखु, नायिका लजाउनु आदि अनुभाव हुन। नायिकाले जवाफमा गलेर हैरान भएको भाव व्यक्त गर्नु व्यभिचारी भाव हो। गल्नु शब्दसँगै नायिकामा लज्जा, मोह, हर्ष र उत्सुकता स्पष्ट सज्चार भएको छ। यस प्रकार विभाव, अनुभाव र व्यभिचारी भावको सञ्चरण भएर स्थायी भाव रतीलाई उद्वेलन गरिदिएको छ। नायिकामा श्रृङ्गार रस निष्पन्न भई भावकमा साधारणीकरण भएकोछ।

हाक्पारे गीतका पहिलो पाउका तुकबन्दीहरू विषय उठानका लागि आएका हुन्छन्। यसमा प्रकृतिको चित्रण भई उद्दीपन विभावको जागृत गराउँछ। कोरसका भूमिकामा आउने हुररै .. , र डान्ना, कठैवरी, ज्यू-झस्सै, हजुर हौ आदि रस सामग्री होइनन्। यिनीहरूले रस साधारणीकरणमा बल पुन्याउँदछन्। यो हाक्पारेका संरचनागत मौलिक काव्यिक सुन्दरता हो। यिनै रस सामग्रीहरूका आधारमा हाक्पारे लयमा रसको वश्लेषण गरिएको छः

हाक्पारेमा संभोग श्रृङ्गार रस

नायक: हन हुर्रर … सिलगडीबाट रेलगाडी आयो

हाक्पारेमा विप्रलम्भ श्रृङ्गार रस

ए .. नि लै लै हौ .. रातो फूल फूल्यो निलो फूल फूल्यो काँकरी झेलैमा आँसुको धारा नबगाउ बैनी छुट्टिने बेलैमा। बहरै रोपें पिपलै रोपें सरोसै भनेर सात डाँडा काटी दिइहाल्यौ दाजु मरोसै भनेर।

प्रस्तुत हाक्पारे लयमा दाजु र बहिनी आलम्बन विभाव हुन्। बर रोपेको, पीपल रोपेको, बिहे गरेर अन्माएको, सात डाँडा कटाउँदा छुट्टिने बेलाका दृश्य उद्दीपन विभाव हुन्। सरोस् भन्नु, मरोस् भन्नु, सात डाँडा कटाउनु अनुभाव हुन। आँसुको धारा बगाउनु सज्चारी अर्थात् व्यभिचारी भाव हुन्। वियोग यसको स्थायी भाव हो। यसरी विप्रलम्भ श्रृङ्गार रस निष्पन्न भएको छ। ए नि लै लै हौले रस परिपाकमा माधुर्य थपेको छ।

हाक्पारेमा शान्त रस

कुलुलु …. गौंथली ज्यानले ज्यान गुँडै लायो धर्म साल नि हौ पाटीमा, जन्मेको ठाउँमा बाँचुन्ेलसम्म मरेलाई नि हौ माटीमा, अरुणै तर्नु राम रहुस् गर्नु घाँस काटी टुनी, मान्छेको जुनी मरेलाई नि हौ माटीमा, हजुर हौ।

हाक्पारे गीतका उक्त पङ्तीहरूमा गौंथली र मान्छे आलम्बन विभाव हुन्। धर्म साल पाटी, जन्मेको ठाउँ अरुण, माटी उद्दीपन विभाव, गौंथलीले गुँड लाउनु, बाँचुन्जेल राम रहुस् गर्नु, मरे माटीमा पुग्रु आदि अनुभाव हुन। अनुभावमा सन्तोष र सरल विचार आएका छन्। मनमा विरक्ति हुनु, गौंथलीले धर्म साल पाटीमा लाएको गुँड र मान्छेको जिन्दगीमा समताको अनुभव गरेर निस्सारता बोध भएको छ। स्थायी भावको रूपमा निर्वेद आएर शान्त रसको निष्पादन भएको छ।

हाक्पारेमा करुण रस

कुर्ररै … डानाले, राजाको हात्ती फुकेछ राती, तरेछ लैलै बागमती, उजेलो धरान कठैबरा नारान, प्रदेशको ठाउँमा मै मरें भने, सालिमो खरलाई, मै दुःखी हरलाई को देला लैलै दागबत्ती? (राई, २०४५)।

उक्त पङ्तीहरूमा राजाको हात्ती, दुःखी नायक म आलम्बन विभाव हुन्। परिवेशका रूपमा आएका राती, बाग्मती, परदेश आदि उद्दीपन विभाव हुन्। हात्ती फुक्नु, प्रदेशमा मर्नु, दागबत्ती दिने मान्छे नपाइनु भित्र भाग्य निन्दा अनुभाव हुन्। स्वदेश र आफन्तको मोह, प्रदेशिनु परेकोमा ग्लानि, एकान्तमा मरिएला कि भन्ने चिन्ता र दागबत्ती दिने मान्छेसम्म नहोलान् भन्ने विषाद व्यभिचारी भाव हुन्। भावकको आँखा रसाउनु, अनुहारमा विषादका रेखा देखिनु आदि व्यभिचारी भाव हुन्। हाक्पारेमा आएका कठैबर, नारान र लैलै जस्ता अभिव्यक्तिले करुणालाई उत्प्रेरित गर्न मद्दत गरेका छन्। रस सामाग्रीहरूले स्थायी भावको रूपमा प्रसुप्त शोकलाई ब्युँताएर करुण रस निस्पादन भएको छ।

हाक्पारेमा अद्भुत रस

किरात राई यायोक्खाले गाउने यो मुन्दुमी हाक्पारेमा अद्भुत रसको साधारणीकरणलाई हेरौं:

गीत: ओ रिल्लो .. उहिलेमा उहिले, सारै नै उहिले, जून घाम नि थेन् बादल नि थेन, फन्फनी घुम्ने पिर्थिवी थेन, हरियो भन्ने रुख पनि थेन थिएन अरे अकास नि। ओ रिल्लो .. पशु नि थेन, पर्वत नि थेन, मान्छे नि थेन, माछा नि थेन। उहिलेमा उहिले सृष्टिको पहिले, थिएन अरे हौ बतास नि (राई, ४४)

सृष्टि अधिको आश्चर्यजनक समयको सम्झनाले भावकको मनमा उत्पन्न विस्मय स्थायी भाव हो। सृष्टि पूर्व घाम जून, बादल, पृथ्वी, पशु, मान्छे, हावा, पानी बादल केही नभएको अलौकिक दृश्य आलम्बन विभाव हो। यी दृश्यहरूबाट अनौठो वर्णन र कम्प उद्दीपन विभाव हो। गीत सुनेपछि भावक अक्क न वक्क हुनु, द्वाल्ल पर्नु अनुभाव हो। यसबाट भावकका मुहारमा देखिने भ्रान्ति, जडता, उत्सुकता सज्चारी भाव हुन्। यसबाट स्थायी भाव विस्मय उद्दीप्त हुन्छ। अद्भुत रस निष्पादन हुन्छ।

हाक्पारेमा हाँस्य रस

हानाहाना हुरैं लौ ढेपारी, गले आयो छेपारी। रुख काट्ने कैची, भिर चर्यो भैंसी, केस काट्ने हजुर बन्चरो, भ्यागुता लाउँछ इस्टकोट साइँली, छेपारालाई जामा एकसरो।

हाक्पारेका उल्लिखित पाउहरूमा कैंची, भैंसी, भ्यागुता, छेपारो, बन्चरो, इस्टकोट आलम्बन विभाव हुन्। आलम्बन विभावमा आएका वस्तुले गरेका काम र प्राणीले लगाएका पोसाकका दृश्य उद्दीपन विभाव हुन्। कैचीले रुख काट्नु, बन्चरोले केस काट्नु, भ्यागुताले इस्टकोट लाउनु, छेपाराले एकसरो जामा लगाउनु अनुभाव हुन्। यी वस्तु, दृश्य र तीनका कार्य, पहिरन आदिले भावक हाँस्नु, जिब्रो टोक्नु, आँखा सन्काउनु आदि स्चारी भाव हुन्। हाँसो स्थायी भाव हो। हाँस्य रस निष्पादन भएको छ। अर्थहीन ढेपारीसँग छेपारीको अन्त्यानुप्रास अलङ्कारले हाँस्य रसको परिपोषण गरेको छ।

हाक्पारेमा भयानक रस

लिम्बूको मृत्यु संस्कारमा गाइने साम्लो हाक्पारेमा भयानक रस पाइन्छ।

बाँसैको घरमा, काठैको घरमा, लोदरै लाग्यो अबासै भयो। चट्याङ नै झर्यो, बज्र नै पर्यो, परान नै गयो, जीवन नै टुट्यो। मृत्यको मनले आकासै खस्यो। (राई, ४१)

उल्लिखित हाक्पारेका पाउहरूमा डरलाग्दो चट्याङ्ग, बज्र, मृत्यु आदि आलम्बन विभाव हुन्। बाँस र काठको घरमा आकाश खसेर उत्पन्न विपत्तीको दृश्य उद्दीपन विभाव हो। घरमा चट्याङ्ग पर्नु बज्र खस्नु, लोदर लाग्रु, जीवन टुट्नु अनुभाव हो। त्रास, चिन्ता, ग्लानि, अपस्मार, लोदर आदि सज्चारी भाव हुन्। स्थायी भावको रूपमा भय हो। यसरी भयानक रस निष्पन्न भएको छ। नै र ऐकारले रसको समर्थन गरेका छन्। वृत्यानुप्रास, अन्त्यानुप्रास र उपमा अलङ्कारले रसमा साधारणीकरणमा तीव्रता थपेको छ।

हाक्पारेमा रौद्र रस

माङतेवा पहिरो उर्लेर आयो अरुण ज्यान रिसायो, अरुण नि बढ्यो, नदी रुख चढ्यो, महाकाल जस्तो हेर्दै कस्तो कस्तो, किनारा सम्मै, खाइदियो जम्मै, बगरमा हजुर मिसायो। हना हुरैं, माङतेवा पहिरो के पहिरो, यो मनको पहिरो, झन गहिरो। (रौद्र रस) (लीला राई, माङतेवा)

अरुण नदीको बिनाशकारी पहिरो १९औं शताब्दीको छैठौं दशकतिर माङ्तेवा गाउँमा सर्वनाश गरेका घटनाको सम्झनामा गाइने हाक्पारेमा रौद्र रस व्यक्त भएको पाइन्छ। पहिरो र अरुण नदी आलम्बन विभाव हो। पहिरोले बगाउँदै गरेको माङतेवा गाउँ, बाढीले बगाउँदै गरेको किनारका बस्ती उद्दीपन विभाव हो। पहिरोले निल्नु, किनारासम्म खानु, बगरमा मिसाउनु अनुभाव हुन्। रिसाएर कालो मुस्लो भएको अरुण नदीको आवेग नदीको, कठोरता सञ्चारी भाव हुन्। नदी र बाढीप्रति मान्छेको क्रोध स्थायी भाव हो। यसरी रौद्र रस निष्पन्न भएको छ। हना हुरैं …. माङतेवा पहिरो के पहिरो, यो मनको पहिरो .. झन गहिरो यो पाउले आक्रोश र पीडालाई अझ गहिरो बनाएर रसको उपकार गरेको छ।

हाक्पारेमा विभत्स रस

सतीघाट छेउमा डुबेको सिनो देखिन्थ्यो छिःछि: स्याल जस्तो वाक्वाकी हुने नाक पनि थुने करङ त फर्सी इयाल जस्तो। कुर्ररै सलल खोला, त्यसैले होला लाउँ भने औंठी रनि लाग्छ, खाउँ भने मासु घनि लाग्छ।

उल्लिखित हाक्पारे गीतका स्थायी र अन्तरामा विभत्स रस पाइन्छ। स्याल, सिनो, मासु आलम्वन विभाव हुन्। सलल बगेको खोला, नदी किनार, डुबेर उत्रेको सिनो आदि उद्दीपन विभाव हुन। नाक खुम्च्याउनु, वाक्वाक् गर्नु आदि अनुभाव हुन्। ग्लानि, आवेग, मासु नरुच्ने, चिन्ता सज्चारी भाव हुन्। घृणा यसको स्थायी भाव हो। यसरी विभत्स रसको निस्पादन भएको छ।

निष्कर्ष

अरुण उपत्यका हाक्पारे लयको उपजीव्य केन्द्रीय थलो हो। हाक्पारे गीत लिम्बू, लोहोरुङ, सुनुवार, याक्खा, याम्फू र अरू किरातहरूको मुन्दुमी दर्शन हो। थुतुरी वेदको निरन्तरता हाक्पारे गीत हो। जन्म, विवाह, मृत्यु संस्कारदेखि मेलपात, हाटबजार र उत्सवहरूमा जीवनका अनुभूति हाक्पारेबाटै प्रकट गर्दछन्। वर्तमानमा सबै जातिका सुख दःख, माया प्रीति र उकाली ओरालीमा हाक्पारे अभिन्न लोक अभिव्यक्ति बनेको छ। हाक्पारेमा पाइने तुकबन्दी, थेगो, निपात, विस्मयादि तथा आलङ्कारिक भाषा शैली निकै सिद्धहस्त कविले लेखेको महाकाव्यका समतूल्य रहेको छ। सिङ्गो किरात सभ्यताको प्रतिबिम्व समृद्ध हाक्पारे भाकालाई गाउँमै रहनुको पीडा छ। गोठाला, खेताला, ढाक्रे, घाँसी, दाउरेले वन पाखामा गाइने यस सुन्दरता हुन्।

लेखक बरुण बहुमुखी क्याम्पस, खाँदबारीमा सहायक प्राध्यापकमा कार्यरत हुनुहुन्छ।

 

Post Comment

Scroll to Top Scroll to Top Stretched