Sign In

नवपाषाण ‘बैथरलुङ : किरात संस्कृति र प्रागूइतिहास-भोगीराज चाम्लिङ, हलेसी

भोगीराज चाम्लिङ, हलेसी, खोटाङ

पृष्ठभूमि

पूर्वी पहाडका किरात समुदायले प्रागऐतिहासिक कालीन सांस्कृतिक सामग्रीहरूलाई अभ्यासबाट संरक्षित गरिरहेका छन्। मूलतः पुस्तौंपुस्तादेखि मौखिक ज्ञान-परम्परामा संरक्षित हुने भएकोले प्रागइतिहास अध्ययनका लागि यी सांस्कृतिक वस्तुहरू अध्ययनका स्रोत हुन्। यी सांस्कृतिक सामाग्री बैथरलुङ हो। बैथरलुडलाई घेवेश नेपालीमा बज्र ढुङ्गा भनिन्छ। यसलाई नवपाषाण हतियार भनिन्छ। प्रागऐतिहासिक कालीन किरात सभ्यताको अध्ययन सामाग्री बैथरलुङ हुन पुगेको छ। केही विद्वानहरूले यी नवपाषाणकालीन हतियारका आकारप्रकारका आधारमा कालक्रम निर्धारण गरेका छन्।

किरात राई समाजमा सांस्कृतिक अभ्यासको अभिन्न अङ्गका रूपमा बैथरलुडलाई संरक्षित गरिएको छ। पूर्वी पहाडमा बैथरलुडहरू अझ पनि उल्लेख्य सङख्यामा प्राप्त गर्न सकिन्छ। यस उपकरणको लोप हुने क्रम उत्तिकै तीव्र रहेको छ। वर्तमानमा यो उपकरण सिकारका लागि प्रयोग गरिएको छैन। किरात राईहरूको सांस्कृतिक विश्वासले बैथरलुङ संरक्षित रहेको छ। उनीहरूले बैथरलुडलाई पारुहाडेको हतियार हो भन्ने विश्वास गरेर शक्तिशाली मान्ने गरेका छन्। यसलाई औषधिका रूपमा पनि प्रयोग गरिकाले पनि संरक्षित हुन महत्त्वपूर्ण सहयोग पुगेको छ।

जातीय संस्कृति र सभ्यता श्रुति परम्पराले पुरातात्त्विक तथ्यहरूलाई वर्णन गर्ने सामाजिक आधार प्रदान गर्ने गर्छन् (Liston & Miko, 2011)। ‘एकेडेमिया’ मा पुरातात्त्विक शिल्पकृति सम्बन्धी वर्णन गर्न संस्कृति र श्रुतिज्ञान परम्पराको प्रयोग गर्ने प्रचलन रहेको छ (Schaafsma, 2004)। भाषाशास्त्र र मानवशास्त्रमा यसको व्यापक प्रयोग हुने गरेको छ। म्यान्मारका पाङवा साङवा नागाहरूका अनुष्ठान गीत र कथाहरूका आधारमा चीनदेखि म्यान्मारदेखि भारतसम्मको उनीहरूको प्राग्ऐतिहासिक बसाइँसराइ भएको (Morey, 2022) पाइन्छ। नेपालका दुमी राईहरूको साकेला (भूमिपूजा) र भारतका अउ नागाको मोआत्सी (भूमिपूजा) संस्कृतिबीच विद्यमान संरचनात्मक समानता प्राग्ऐतिहासिक परिघटना भएको (Wettstein & Stockhausen) उल्लेख पाइन्छ।

प्रस्तुत लेखका सामाग्रीका समानतालाई सैद्धान्तिक आधार बनाई विश्लेषण गरिएको छ। यस लेखमा किरात राई समाजमा विशिष्ट सांस्कृतिक विश्वास, अभ्यास र व्यवहारिक प्रयोजन रहने बैथरलुडको आदिम किरात पुर्खाहरूसँग सम्बन्ध हुनसवने विश्लेषण रहेको छ। त्यस अर्थमा बैथरलुडले पूर्वी पहाडको किरात प्रागइतिहास र मुन्दुमको प्राचीनताबारे प्रकाश पार्न सहयोग पुग्नेछ। यी आसामका शिल्पकृतिहरू नेपालका नवपाषाण उपकरणहरूको तुलनात्मक अध्ययनका उपयुक्त आधार बन्न सक्छन्। यद्यपि यी बैथरलुङ उत्खनन गरिएको नभएर घरमा संरक्षित अवस्थाका हुनाले आसामका नवपाषाणसँग समान बनोटका आधारमा तुलनात्मक अध्ययन गरी कालक्रम निर्धारण गर्नुपर्ने देखिन्छ।

संस्कृति र व्यवहारिक जीवनमा बैथरलुङ

खस-नेपाली भाषामा वज्रदुङ्गा र बजरढुङ्गा भनिने नवपाषाण उपकरणलाई किराती समाजमा भाषिक विविधताअनुसार सापेक्ष भिन्न शब्दहरू प्रयोग गर्ने गरिएको छ। किरात राईका चाम्लिङ भाषामा नवपाषाण उपकरणलाई बैथरलुङ भनिन्छ। यसमा बैथर> विजुली अथवा चट्याड, लुङ>ढुङ्गा र बैथरलुङ > बन्चरो आकारको दुङ्गा। बैथरलुङ आकारको बन्चरोलाई बैती र बच्छी भनिन्छ (जितराज राई र सिंहशेर राई, कुराकानी: २०८१ पुस ४)। बान्तवा भाषामा बान्ठेनलुङ भनिन्छ। बान्ठेन>चट्याङ र लुङ > ढुङ्गा हो (राई, राई र बतास, २०८०)। किराती समाजका लागि बैथर जीवन रक्षा र शक्ति आर्जन गर्न प्रयोग हुने आकाशबाट चट्याङदुङ्गाका रूपमा खसेको ढुङ्गे बन्चरो हो। कुलुङ र चाम्लिड राईहरूमा धातुको बन्चरोका लागि प्रयोग हुने बात् र बैती शब्दको विकास बैथर, बाथेर, बात्थेर शब्दहरूबाट भएको हो। धातुको बन्चरोभन्दा पहिला बैथरलुडको विकास भएको हुनुपर्छ।

नेपालका पूर्वी पहाडका किरातीहरूको घरमा बराजुको पालादेखिका बैथरलुङ पाइएका छन्। कतिपयले चाहिं वर्तमानमा पनि विरलै मात्रामा सङ्कलन गरेका छन्। किरात राई समाजमा बैथरलुडको संरक्षणमा दुईथरी परम्परागत अभ्यास गरिएको छ। प्रथमः मोपा/माङ़पाहरूले बैथरलुङलाई सांस्कृतिक सामग्रीका रूपमा प्रयोग गर्छन्। द्वितीयतः किरात राई समुदायमा घरघरमा बैथरलुड राखिएको पाइन्छ। यहाँ यी दुवै विधिबाट संरक्षित बैथरलुडबारे विमर्श गरिएको छ।

प्रस्तुत अध्ययनका लागि मोपा (माङ्पा) का मुन्दुम सङ्कलनका अवधि, सांस्कृतिक अध्ययन र स्थलगत अवलोकनबाट सामाग्री सङ्कलन गरिएका छन्। अकाल मृत्यु भएका मृतकको सिहे मार्दा मोपाले मुन्दुमसँगै बैथरको प्रयोग भएकोबाट अध्ययन गरिएको छ। किरात संस्कृतिको अध्ययनको सन्दर्भ र हलेसीका बोहेम्मा र हाडुड्रे गाउँमा सर्वेक्षण गरिएका हो। यसका लागि विगत एक दशकदेखि वर्तमानसम्म निरन्तर बैथरलुङबारे सूचना सङ्कलन गरिएका छन्। दुई गाउँहरू बोहेम्मा र हाडुङ्रेमा केन्द्रित स्थलगत अध्ययन पनि गरिएको छ।

स्थलगत अध्ययनअनुसार किरात राई समाजमा कतिपयले घरभित्र डेसुवामा, कतिपयले चुलाको आगोको धुवाँ बाहिर जाने प्वालहरूमा, कतिपयले बाँस या काठको दुङग्रो, बाकस, दराजमा पनि राखेको पाइनछ। यस्ता बैथरलुडहरू पूरै चोइटिए, आधा भाँच्चिएको अवस्थामा थियो। एकजनाले आफूसँग सग्लो बन्चरो आकारको बैथरलुङ भएको तर, हराइसकेका बताए। बोहेम्मा भञ््याङका एकजनाले चाहिं काठको दराजमा राखेर बैथरलुङ संरक्षण गरेका थिए। बोहेम्मा र हाडुड्रे गाउँका प्रायः सबै घरका घरमूली आफूसँग बैथरलुङ भएको बताए। तीमध्ये थोरैले अध्ययनका लागि उपलब्ध गराए भने धेरैका हराइ सकेको पाइयो।

चट्याङ दुङ्गा

स्थलगत अध्ययनका नमुनाहरूले बैथरलुडलाई विजुली चम्किंदा आकाशबाट खस्ने चट्याङढुङ्गा बताए। चट्याङ शब्दको समानार्थी शब्द बज्र रहेको छ। उनीहरूमा चट्याङ परेको ठाउँमा यस्तो ढुङ्गा भेटिन्छ भन्ने विश्वास थियो। उनीहरूले बारी खनजोत र हिंडडुल गर्दा, वनजङ्गलमा घाँसदाउरामा जाँदा, गाईवस्तु चराउन जाँदा फेला पर्ने बताए। बोहेम्माको जीतराज राईको अनुसार चट्याङ परेको स्थानमा आजसम्म बैथर भेटेका छैनौ। यद्यपि आकाशबाटै खस्छ भने हो।’ यो चोइटियो भने पृथ्वीमै रहन्छ, सग्लो भयो भने त्यो पुनः आकाशमा नै फर्किन्छ भन्ने विश्वास स्थानीयहरूको थियो।

विसं २०७४ सालतिर हाडुड्वे डाँडाको दयानसरी राईको घरमा चट्याङ पर्दा चोइटिएको मृगौलाजस्तै चिल्लो कालो चट्याङढुङ्गा भेटियो। त्यस्लाई जोडेर हेर्दा मृगौलाजस्तै लाम्चो गोलो र औंला जति लामो थियो। त्यसको तस्बिर बैथरलुङ जस्तो नभएर कालो रङ्गको मृगौला आकारको छ।

बैथरलुडको बनोट

स्थलगत अध्ययनमा सात बैथरलुङ भेटिएका हुन्। ती बैथरलुङमध्ये ६ बैथरलुङ चोइटिएका र भाँच्चिएका थिए भने एउटा मात्रै सग्लो अवस्थामा थियो। त्यसलाई पानीले भिजाएर घोट्दा आउने रङ्गका आधारमा स्थानीयहरूले बैथरलुडलाई रातो, सेतो, कालो र पहेंलो भनेर वर्गीकरण गरेका रहेछन्। खोजी कार्यका अवधिमा भेटिएका बैथरलुङ बन्चरो आकारको, लम्बाइ ३.९ सेमी देखि ६ इन्चसम्मका, चौडाइ ३ सेमीदेखि ३.५ इन्चसम्मका र मोटाइ १.१ सेमीदेखि ३ सेमीसम्मका पाइएका छन्। यसका नमुनाहरू निम्न छन्:

सांस्कृतिक विश्वास र प्रयोजन

किरात राई समुदायमा बैथरलुङको प्रयोजन निम्न छन्:

१. पितृ-पुर्खासँग सम्बन्ध

किरात राई समाजमा आदिम पुर्खा पारुहोंले पानी पार्छन् र उनैले बैथरलुङ खसाउँछन् भन्ने विश्वास छ। जीतराज राईका अनुसार पहिलापहिला बाउबाजेहरूले ‘पारुहोंले आकाशबाट चट्याङ हानेको हो’ भन्थे। पानी परेन भने लौ पारुहोंले पानी बन्द गन्यो भन्थे।’ मोपा र खातवाहरूले मुन्दुमका रिसियामा बैथरलुङबारे वर्णन गर्छन्।

२०७४ सालमा खोटाङको छोरम्बूमा सङ्कलन गरिएको मोपाले गाएको चाम्लिङ भाषाका रिसिया-

१. त्योप्पानाम् ओको छियापोर्मा मैदी, धिवा पोर्मा मैदी
कुरुङ्गा साचुङ्गा बाना, बुलिमा रिब्लिमा बाना
हे ए SSS त्योप्पानामडो आसेधुङको
हैकाम बैथर, निनाम बैथरची उम्बोधोमा मैदीपा
ए SSS हैकाम बैथर, निनाम बैथर बोखामा दुदी

रिसियाको भावानुवाद

त्यसैले, यी साना खोलाहरू बढे, ठूला खोलाहरू बढे
आँधी हुरी आयो, भूकम्प आयो
ए त्यसैले गर्दा नै उहिले,
हैकाम बैथर, ए निनाम बैथरहरू जमिनमा गाडिए

चाम्लिङ रिसिया

२. त्योप्पानाम बे मोबु-काकु उम्बोसोला दाम्फ्रोका दाम्ल्योका
आसे सिचिया रोलोवा वासा दाम्फ्रोका दाम्ल्योका
कुङ्केरा वासा दाम्फ्रोका दाम्ल्योका ना
कुड्केरा वासा दाम्फ्रोका दाम्ल्योका
त्योप्पानाम बो कैबे छिवा पोर्मा मैद्यु, धिवा पोर्मा मैद्यु
ए SSS वाताम्मा वारिम्मा मैद्यु
नाइम्मा सिकिमा ए SSS आसे कुरुङ्गा साचुङ्गा साडा
हैकाम बैथर निनाम बैथर आसेसो बोखामा दुदी
बुलिमा रिब्लिमा साडा

 

रिसियाको भावानुवाद

त्यसैले पो काफल पाक्यो चराको आवाज टाढाटाढासम्म गुन्जियो

उहिलेदेखि सिचिया रोलोवाहरूको आवाज टाढाटाढासम्म गुन्जियो
कर्याङकुरुङको आवाज टाढाटाढासम्म गुन्जियो
त्यसैले पो सानो खोला पनि बढ्यो, ठूलो खोला पनि बढ्यो
ए SSS पोखरीहरूमा पानी भरिए
ए SSS बजुहरू-नाइम्मा, सिकिमा
उहिले आँधीहुरी चल्यो
हैकाम बैथर निनाम बैथर
उहिले जस्तै भूमिमा गाडियो
जमिन हल्लाउँदै भूकम्प आयो

(त्रिभुराज राई, दिप्रुङ चुइचुम्मा गापा, खोटाड; मुन्दुम रेकर्ड: २०७४ वैशाख २५)

उल्लिखित मुन्दुमको रिसियामा जमिनमा भेटिएको बैथरलुडलाई हैकाम बैथर र आकाशबाट खस्ने बैथरलुडलाई निनाम बैथर गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ। आकाशबाट खस्ने बैथरलुडले धर्तीमा भूकम्पले झैं कम्पन ल्याउने वर्णन पनि गरिएको छ। किरातहरूका आदिम पुरूष पारुहों आकाशमा बस्ने विश्वास गरिएको छ। मुन्दमको रिसियाले पृथ्वीमा पाइने बैथरलुङ पनि आकाशबाट खसेको सङ्केत गरेको छ।

२. सांस्कृतिक प्रयोग

अकाल मृत्यु भएका मृतात्मालाई मोपाले सिकियाबाट वाणशक्ति प्रयोग गर्दा र मोपाहरूबीच तान्त्रिक युद्धमा अदृश्य रूपमा बैथरलुङ प्रयोग गर्छन् भन्ने विश्वास छ। यसबारे निरबहादुर राईले -धामीले बान्थेनलुङ चलाउँछ। धामीले मुन्दुमी शक्तिले बन्थेनलुङ उडाउछ।। धामीले बान्थेनलुङ जगाएर हानेपछि लाग्यो भने कोही बाँच्दैन अरे। खोटाड छुलुवारको धामी बुढा धनमान राई मागेको बुहारी अकै केटाले लगिदिएछ। अनि बुढाले बान्थेनलुड जगाएर अगेनामा रातै बनाएर फुत्त निकालेर हानेको अरे, त्यो केटा मरेछ। त्यही भएर धनमाने धामी निःसन्तान भयो भनेको सुनेको थिएँ’भन्छन् (खोटेहाङ़ गाउँपालिका, लिकुवा, खोटाड; कुराकानी: २०८० चैत २९)।

बैथरलुडले किरात राई समुदायको सांस्कृतिक जीवनमा गहिरो प्रभाव पारेको देखिन्छ। त्यही हुनाले चाम्लिङ राईहरू आशीर्वाद दिंदा ‘बोताकु ओडान्ची’ (वज्र जस्तो बलियो होऊ) भन्छन्। किरात राईहरूले चाहिं चुला र पितृपूजा गर्दा बैथरलुडलाई पनि पुज्े गरेका छन्। मोपाहरूले चिन्ता बस्दा थानमा बैथरलुङ राखे गरेका छन्। उनीहरूले मुन्दुम वाचन गर्दा दुःख विमार ठीक गरिदिन पितृ र प्रकृतिसँगै पुकार गर्दा शक्तिको स्रोतको रूपमा बैथरलुडलाई सम्मानपूर्वक सम्बोधन गर्छन्-

मोपाहरूले फरकफरक उपचारमा फरक फरक मन्दुमको रिसिया गाउँछन, जस्तो रिरामचुर्मा (दुःखबिमार उपचार) गर्दा, कसैको घरमा (थेम्मा) बस्दा, विभिन्न थरीका बिमारहरूलाई उपचार गर्न पार्न फरकफरक रिसिया गाउछन्।

 

‘लुमाखर दैदिए, हुमाखर, खौवाखर, हुम्मा

चुर्माखर दैदिए; सामोरी, सारिकुदीपा बो,

सालापा नाइम्मा पापा पारुहोंच्योउ;

निनाम्मा हैखामा, बोखामा हैखामा कुरुङ्गा साचुङ्गाची

हैकाम बैथर निनाम बैथर’ भन्दै सोध्दै लानुपर्छ’

(ऐजन त्रिभुराज राई)।

 

चाम्लिङ रिसिया

मेसुड्री मेथाम्रिची माहुला पाहुला

ओमाला छिमालाची माहुला पाहुला

यसुडसुङची माहुला पाहुला नाम्बो

खारुनाम बाना बो, धिरिला-वातिप्ला साडा हे SSS

छिवा पोर्मा, धिवा पोर्मा हे SSS

कुरुङ्गा साचुङ्गा बो बानाको हे SSS

हैकाम बैथर निनाम बैथरची आसे

ओको रिमा-वल्मा पामैडाको नाम् SSS

आसे सों बुलिमा-रिबिमा बो रिमावल्मा पामैडाको

रिसियाको भावानुवाद

आहरिसेहरू रुखपातझैं झरे

सल्ला र सालका पातहरू झैं झरे

चिलाउनेका पातहरू झरे

घाम छिप्पियो, बर्खा लाग्यो,

खोला-नदीका दोभानमा पानी बढ्यो

खोलाहरू बढे, नदीनालाहरू बढे

आँधीहुरी चल्न थाले

आकाशबाट झर्ने वज्रदुङ्गाहरू, धरतीका ढुङ्गे हतियारहरू

उहिलेदेखि चलाउने, खेलाउने गरेको है

भूकम्पहरू उहिलेदेखि चल्ने खेल्ने गरेको है

(स्रोतव्यक्ति : मोपा त्रिभुराज राई, २०७४ वैशाख २५)

 

उल्लिखित मुन्दुमको रिसियामा उहिले, पुर्खाहरूको पालादेखि बैथरलुङ प्रयोग गर्दै आएको बताइएको छ।

३. औषधिमा प्रयोग

किरात राई समुदायका हरेक घरमा बैथरलुङ हुनुको कारण औषधिका रूपमा प्रयोग गरिनु हो। यो निम्न रोगहरूमा प्रयोग गरिन्छ :

१. बैथरलुङ पानीले भिजाई घोटेर लेप लगाउँदा घाँटीमा आउने गल्फु, घाँटी दुख़े, टन्सिल, मुटु दुख़े, बिच्छी- खजुरोले चिलेको, साँपले डसेको, कालो विषालु माकुराले चिलेको सन्चो हुन्छ।

२. सिकारी लागेर जिउ दुखेको ठाउँमा घोटेर लेपन लगाउने प्रचलन छ।

३. सुत्केरी व्यथा लागेको महिलाको पेटमा बैथरलुड घोटेर लेप लगाउँदा बच्चा छिटो पैदा हुन्छ।

४. बैथरलुङमा जडिबुटीहरू पिसेर औषधिका प्रयोग गर्ने अभ्यास रहेको छ।

५. बैथरलुङलाई आगोमा पोलेर रातो भएपछि चोभेको पानी पिउँदा आँखीडाही लागेको निको हुन्छ।

४. चट्याडबाट सुरक्षा

घरमा बैथरलुङ राख्यो भने चट्याङ पर्दैन भन्ने विश्वास पनि रहेको छ। यहीकारण किरात राई समुदायमा घरघरमा बैथरलुड राखिएको हुन्छ। आदिम पुर्खा पारुहोंले आकाशबाट बैथरलुङ खसाउँछ भन्ने मुन्दुममा वर्णन गरिएकाले विश्वास निर्माण भएको हो।

नवपाषाण उपकरण बैथरलुङ : सङक्षिप्त छलफल

बैथरलुङ सांस्कृतिक र व्यावहारिक जीवनसँग जोडिएकाले नै वर्तमानसम्म संरक्षित भएको हो । यद्यपि बैथरलुडहरू लोप हुने क्रम पनि उत्तिकै तीव्र छ। यो मोपा र खातवाहरूसँग मात्रै बैथरलुङ बाँकी रहने पक्का छ। उनीहरूले सांस्कृतिक हतियारमा प्रयोग गर्ने हुनाले भविश्यसम्म पनि बैथरलुङ संरक्षण गर्ने छन्। त्यस समयमा बैथरलुडको सङख्या दुर्लभ हुनेछ। स्थलगत अध्ययनबाट बैथरलुङ र वज्रुङ्गा भिन्न वस्तु हुन भन्ने तथ्य पत्ता लागेको छ। आकासबाट चट्याङ पर्दा खस्ने वज्रढुङ्गा हो भने बैथरलुङ नवपाषाण हतियार हो। यस नवपाषाण हतियारले सिकारी युगका प्रागइतिहासबारेमा प्रकाशमा ल्याउन सहयोग पुग्नेछ।

खोटाडको हलेसी क्षेत्रलाई किरात सभ्यताको उद्रमस्थल मानिन्छ। यही भूमिमा आदिम पुर्खाहरू खारु, पातेसुङ र खोक्चिलिपाले सिकार खेलेको, खेतीपाती गरेको र तोयामा, खियामाले कपास खेती गरेर तान बुन्न थालेको मुन्दुमी वर्णन रहेको छ। यी पुर्खाहरू चार हजार वर्ष पहिलेदेखि किरातीहरू हलेसीको भूमिमा बसोबास गर्न थालेको आँकलन गरिएको छ (चाम्लिड, २०८०)।यस हलेसी गुफामा किरात आदिम पुर्खाहरू खारु, पातेसुङ बस्थे भन्ने मुन्दुमी ज्ञान परम्परा प्रचलित छ। मोहनजोदाडोबाट आएका बायुड राईका पुर्खा रुङको सम्मानमा खारु र पातेसुडले हलेसीमा मुन्दुमी भेला गरेका थिए भन्ने सेग्रो (ह्वाडसिली) गर्दा बताउने गर्दछन् (राई, २०८०)।

आदिवासी जनजातीय संस्कृतिले प्रागइतिहास अध्ययनमा महत्त्वपूर्ण भूमिका खेल्नसक्छ भन्ने पाण्डेय र रेग्मी (२०६२) को विचारलाई स्वीकार गर्ने हो भने हलेसी क्षेत्रमा किरातहरू प्राग्ऐतिहासिक कालदेखि बसोबास गर्थे र समग्र पूर्वी पहाड प्राग्ऐतिहासिक महत्त्वको क्षेत्र हो भन्न सकिन्छ। नेपालको पूर्वी पहाडमा पाइएको नवपाषाण हतियारको कालक्रम निर्धारण गर्न सकिने एक मात्र आधार बनावट हो। अध्येताहरूले भारतको आसाम र नेपालको पूर्वी पहाडका नवपाषाण उपकरण बनावटका आधारमा समान रहेको बताएका छन्। पूर्वी भारतको आसाम र उत्तरी चाचरस्थित दाओजली हडिङमा प्राप्त नवपाषाण ढुङ्गे हतियारको ‘कार्बन डेटिड’ अनुसार इसापूर्व दोस्रो मिलेनियमको रहेको छ (Sharma, 1983) । पाण्डेय र रेग्मी (२०६२) ले आसाममा प्राप्त नवपाषाण उपकरण र नेपालको पूर्वी क्षेत्रका उपकरणहरू बनावटमा समानता भएकोले ठोस प्रमाण प्राप्त नहुन्जेल पूर्वी नेपालको नवपाषाणकाललाई इपू २००० देखि इपू १००० बीचको समयमा राखु उपयुक्त हुने मत राखेका छन्। यस आधारमा पुरातात्तविक अध्ययनबाट नयाँ तथ्यहरू फेला नपरेसम्म हलेसीका नवपाषाण हतियार बैथरलुडलाई इसापूर्व २ हजार मान्रु उपयुक्त हुन्छ (चाम्लिड, २०८०ख)।यसले पूर्वी पहाडहरूमा मानव पुर्खाहरू ४ हजार वर्ष आसपासदेखि बसोबास गर्न सुरु गरेको अनुमान गर्न सकिन्छ।

बैथरलुडलाई मुन्दुमको प्राचीनताबारे विमर्श गर्ने महत्त्वपूर्ण पुरातात्त्विक आधार मान्न सकिन्छ। समग्र मुन्दुमको प्राचीनताबारे बैथरलुडका केन्द्रीयतामा विमर्श गर्न सम्भव हुँदैन । यद्यपि मुन्दुम र सांस्कृतिक जीवनमा निकट सम्बन्धमा रहेकाले बैथरलुङसँग सम्बन्धित मुन्दुमका रिसियाको समयभने अनुमान गर्न सकिन्छ । बैथरलुडले आदिम किरातहरूको सिकार तथा कन्दमूलमा आधारित अर्थतन्त्रको प्रतिनिधित्व गर्दछ। त्यो युग बढीमा ४ हजार वर्षसम्म प्राचीन हुनसक्छ। त्यस हिसाबले बैथरलुङसँग सम्बन्धित मुन्दुमको रिसियालाई ४ हजार वर्षसम्म प्राचीन मान्न सकिन्छ।

बैथरलुडले नेपालको पूर्वी पहाडको प्राग्ऐतिहासिक अध्ययनमा महत्त्वपूर्ण आधार प्रदान गर्नेछ। आदिम मानव पुर्खाहरूको आवागमा र जीवन प्रणालीबारे पनि केही प्रकाश पार्नेछ। केही अध्येताले पूर्वी पहाडलाई आसाम र उत्तरपूर्वी भारत र दाङ उपत्यकाको पाषाण उपकरण प्रयोग गर्ने मानव पुर्खाहरूको सङ्गम स्थलका मानेका छन्। आसाम र उत्तर-पूर्वी भारतमा प्राप्त नवपाषाण उपकरण र दाङ़ उपत्यकाको कटुकी सेवरमा प्राप्त सेतो-खैरो दुङ्गाबाट बनेको ढुङ्गे हतियारको बनावटमा निकै भिन्नता छ। ती दुई फरक प्रकृतिका पाषाण हतियार निर्माण गर्ने मानवहरू नेपालको पूर्वी पहाडमा भेट भएको हुन सक्ने अनुमान गर्ने गरिएको छ (Sharma, 1983) I Banerjee & Sharma (1969) ले आसाम र पूर्वी पहाडका नवपाषाण उपकरणको आकारप्रकारका आधारमा के पनि अनुमान गरेका छन् भने आसामबाट नेपालतर्फ नवपाषाण हतियार विस्तार हुँदै आएको हो। यस अनुमानको अर्थ हुन्छ, आदिम मानव पुर्खाहरू आसामबाट नेपालतर्फ फैलिएका हुन्। वर्तमानका किरातीका पुर्खाहरूले बैथरलुङ प्रयोग गरेको हुनुपर्छ। यसका दुई आधार छन्:

१. किरात राईहरूका संस्कृतिमा बाह्य प्रभाव परे पनि मुन्दुमका रिसियामा बाह्य प्रभाव परेको देखिंदैन। उनीहरूका मातृभाषाहरू लोपोन्मुख अवस्थामा पुगिसक्दा पनि मुन्दुमका किरात श्रुति ज्ञान परम्परा विशुद्ध किराती नै छ। मुन्दुममा किरात अनुभूतिका स-साना घटना र वस्तुहरूबारे वर्णन ज्यादै कम पाइन्छ। यसमा अधिकतम पुर्खाहरूको जीवनमा प्रभाव पार्ने ठूला र विशिष्ट घटना तथा वस्तुहरूका बारेमा उल्लेख गरिएको पाइन्छ। त्यस अर्थमा मुन्दुमको रिसियामा बाह्य प्रभावका कारण बैथरलुङबारे प्रवेश पाएको भन्न मुस्किल परछ।

२. मुन्दुमका आदिम किरात परमेश्वर पारुहाङ स्वयं सिकारी युगका थिए। सम्भवतः पारुहाङले पहिलो पटक बैथरलुङ प्रयोग गरेको हुनाले मुन्दुममा बैथरलुङ पारुहाडले आकाशबाट खसाउँछ र बैथरलुङ घोटेर खाँदा सिकारी देउता लागेर जिउ दुखेको निको हुन्छ भन्ने विश्वास गरिएको हो हुन सक्छ। किरात पुर्खाहरूको जीवनसँग सम्बन्ध नहुँदो हो त यसलाई यति महत्त्व दिएर सांस्कृतिक जीवनको अभिन्न अङ्ग बनाइँदैनथ्यो। किरात पुर्खाहरूले प्रयोग नगरेको भए नवपाषाण उपकरण बैथरलुडले वर्तमानसम्म पनि किरात राई समाजमा सांस्कृतिक निरन्तरता पाउनु सम्भव हुने थिएन।

मुन्दुममा ‘हैकाम बैथर’, ‘निनाम बैथर’ भनेर नवपाषाण उपकरणको उल्लेख भएकाले किरातीहरूको प्रागऐतिहासिक जीवनसँग जोडिएको उपकरण हो भन्न सकिने आधार दिएको छ। नेपालको परिप्रेक्ष्यमा यहाँको प्रागऐतिहासिक परम्परालाई बुझाउन जनजातीय संस्कृतिले भूमिका खेल्छ भन्ने पाण्डेय र रेग्मी (२०६२) को निष्कर्षले यस तर्कमा बल पुग्छ। यस परिप्रेक्ष्यबाट पूर्वी पहाडका किरातीहरूको संस्कृतिको अध्ययन प्रारम्भ पनि भएको छ (चाम्लिङ, २०७७/०७८)।

किरात समुदायमा प्रचलित मुन्दुमी ज्ञान परम्परामा सिकार खेल्नका लागि पुर्खाहरूले धनुकाँडको प्रयोग गरेको उल्लेख हुन्छ। तर बैथरलुडले सिकार गरेको कथाहरू आजसम्म सङ्कलन भएको छैन। यदि किरात पुर्खाहरूले आदिम युगमा बैथरलुङ प्रयोग गरेर सिकार खेल्ने गरेको भए धनुकाँडको जस्तै कथाहरू बन्नुपथ्यों। त्यसैले यी बैथरलुडको प्रयोग किरात पुर्खाहरूले नै गरेका थिए त भन्ने प्रश्न खडा हुन जान्छ। यद्यपि केही तथ्यहरूले यस सम्बन्धी ठोस उत्तर खोज़े आधार प्रदान गरेको छ। त्रिभुराज राईबाट सङ्कलन गरिएको मुन्दुमको रिसियामा ‘हैकाम बैथर निनाम बैथरची आसे ओको रिमा-वल्मा पामैडाको नाम् SSS’ (आकाशबाट झर्ने बैथरलुङ र धर्तीका बैथरलुडहरू उहिलेदेखि चलाउने-खेलाउने गरेको है भनेर आदिम किराती पुर्खाहरूले बैथरलुङ प्रयोग गर्थे भन्ने सङ्केत गरिएको छ। अर्कों तीर सिकारी देउता लागेर शरीर दुखेमा दुखेको ठाउँमा बैथरलुङ घोटेर लेपन लगाएमा निको हुने कुराले पनि बैथरलुडको सम्बन्ध सिकारी जीवनका किराती पुर्खाहरूसँग रहेको सङ्केत गरेको छ।

आसाम र नेपालको पूर्वी पहाडका नवपाषाण हतियार प्रयोग गर्ने आदिम मानव समुदाय एउटै थिए त ? आसामका नवपाषाण उपकरण प्रयोगकर्ता मानव समुदाय कुन थियो ? यसबारे निर्धक्क भन्न सकिने अवस्था छैन ।तर एउटा आधारमा थप छलफलचाहिं गर्न सकिन्छ। भाषाशास्त्री तथा किरात इतिहासका अध्येता चटर्जी (1998) ले आसामका आदिम जातिहरू अक (हुरोसो), अबोर (अदी), मिरी र दाफ्लालाई नेपालका प्राचीन जाति किरातको दाजुभाइका रूपमा चित्रित गरेका छन्। जो नेपालका किरातका तुलनामा सभ्यताको युगमा प्रवेश नगरेको जातिका रूपमा चर्चा गरेका छन्। चटर्जीको सङ्केतले आसामका नवपाषाण उपकरण प्रयोग गर्ने सम्भावित समुदाय यी आदिवासीहरू हुनसकने देखिन्छ। यदि यो सही हो भने किरातीका पुर्खाहरू आदिम युगमा आसामदेखि नेपालका पहाडी क्षेत्रमा सिकार खेल्ने क्रममा ओहोरदोहोर गरिरहन्थे भन्न सकिन्छ। ती किरातीहरूका पुर्खाहरू नै हुन सक्छन् किनभने वर्तमानसम्म पूर्वी पहाडका प्राचीन समुदायमा किरातबाहेक अरु भएको कुनै पनि अध्ययनले देखाएको छैन। यही शंकाको सुविधा लिएर नेपालको पूर्वी पहाड र आसाममा पाइने नवपाषाण उपकरण प्रयोगकर्ता एकै समुदायका आदिम किरातीहरू हुन सक्छन् भन्ने तर्क गर्न सकिन्छ। यही तर्क समातेर विशुद्ध नवपाषाण उपकरण बैथरलुङका आधारमा किरातीहरू नेपालका पूर्वी पहाडहरूमा कम्तिमा ३हजार र बढीमा ४ हजार वर्षअधि प्रवेश गरिसकेका थिए भन्ने आकलन गर्न सकिन्छ।

पूर्वी पहाडका नवपाषाण उपकरण बैथरलुङ प्रयोग गर्ने आदिम मानवहरू किरात बाहेक अरु पनि हुन सक्छन् ? यस कोणबाट पनि छलफल गर्न सकिने केही आधारहरू छन्। मानवशास्त्री फुरर-हाइमेनडोर्फले काठमाडौं उपत्यकाका नेवारहरूमा गोरुले खेत नजोती धान खेती गर्ने प्रचलन भारतका मुन्डा (कोल) जातिको प्रभाव हो भन्ने तर्क गरेका छन्। उनले गोरुले नजोतीकन धान खेती गर्ने कृषि प्रविधिको विकास गरेका मुन्डाहरू नवपाषाणकालको

अन्तिमतिर आसामबाट बसाइँ सरेर काठमाडौं आइपुगेका थिए (मल्ल, २०१५) भन्ने तर्क गरेका छन्। वर्तमान ती मुन्डाहरू मध्यभारतको पहाडी भेगमा बसोबास गरिरहेको भए पनि त्यसभन्दा पहिले उनीहरू नेपालका हिमाली क्षेत्रका जङ्गलहरूमा लामो समय बसेको र किरात भाषामा मुन्डाकोल भाषाको प्रभाव रहेको चर्चा भारतको विस्तृत भाषिक सर्वेक्षण गरेका उल्लेख गरेका छन् Grierson (१९२७)। भारतीय इतिहास शिवप्रसाद डबराल (२०२५) को मतमा ती मुन्डाहरूलाई किरातहरूको ठूलो हुलले आफूमा समाहित गरेको हुनाले उनीहरूको स्वतन्त्र अस्तित्व बाँकी रहेको छैन। यी तथ्यहरूका आधारमा भन्न सकिन्छ। यदि पूर्वी पहाडका नवपाषाण उपकरण निर्माण तथा प्रयोग गर्ने प्रथम मानव समुदाय आसामबाट नेपाल प्रवेश गरेका मुन्डाहरू थिए भने पनि बैथरलुङ प्रयोग गरेर सिकार गर्ने मुन्डा र किरातहरू आदिम समयमै अन्तर्घुलित भइसकेका थिए। पाण्डेय र रेग्मी (२०६२) ले भक्तपुर जिल्लाको चाँगुनारायण मन्दिर नजिकै डुमाखालको उत्खननमा पाँचौं शताब्दीमा सुरु भएको लिच्छवि कालको ऐतिहासिक शिल्पकृतिहरूकै स्तरमा पाइएको प्रागऐतिहासिक नवपाषाण उपकरणलाई या त लिच्छिवि कालिक मानवले उपयोग गरेको या ऐतिहासिक कालको मानवले पुराना शिल्पकृति सङ्ग्रह गरेको हुनुपर्छ भनेर अनुमान गरेका छन्। त्यस्ता शिल्पकृतिहरू किन सङ्ग्रह गरिए र प्रयोजन के थियो भन्ने उत्तर उनीहरूले दिएका छैनन्। यस्ता शिल्प तथ्यहरू सङ्ग्रह गर्नुको केही कारण हलेसी क्षेत्र तथा पूर्वी पहाडमा गरिएको स्थलगत अध्ययनबाट खुलस्त भएको छ। सम्भवतः ऐतिहासिक लिच्छवी कालीन तहभित्र डुमाखालमा भेटिएको नवपाषाण उपकरण पूर्वी पहाडका किरात राईहरूले झैं सांस्कृतिक विश्वास, चट्याङ नियन्त्रक र औषधिका रूपमा प्रयोग गर्न संरक्षण गरिएको हुन सक्छ। यदि यो सही सावित भएमा त्यसले प्रागइतिहास कालमा पूर्वी पहाडदेखि काठमाडौं उपत्यकासम्म एउटै संस्कृति भएको समुदायको उपस्थिति थियो भन्न सकिन्छ।

निष्कर्ष

बैथरलुङ शिल्पकृति किरातु प्रागइतिहासका पुरातात्त्विक उपलब्धि हुन् । नेपालको पूर्वी पहाड’ बैथरलुड’ कालागि उर्वर क्षेत्र हो। खोटाडको हलेसी क्षेत्रमा बैथरलुङ मोपा र खातवाहरूसँग संरक्षित छन्। बैथरलुडलाई अध्येताहरूले आदिवासी संस्कृतिलाई प्राग्इतिहास अध्ययनको स्रोत मानेका छन्। बैथरलुङ संरक्षित श्रुति ज्ञान परम्पराले किरात पुर्खाहरू हलेसी भूमिमा सिकारी जीवन, कृषि जीवन व्यतीत गर्दै औद्योगिक युगतर्फ सङ्क्रमण भएको सङ्केत गरेका छन्। आसामका मुन्डा जातिहरू नवपाषाण युगको अन्तिमतिर पूर्वी पहाड हुँदै काठमाडौंसम्म पुगेर धान खेती सुरु गरेका थिए र उनीहरू नेपालका किरातहरूसँगे समाहित हुनाले बैथरलुङ प्रयोग गर्ने मुन्डाहरू हुनसकने देखिएको छ। यसबाट किरातहरूले आदिम युगमै बैथरलुङ प्रयोग गर्न सिकिसकेका थिए भन्न सकिन्छ। नेपालको पूर्वी पहाडमा पाइएका उपकरणहरूलाई ४ हजार वर्ष प्राचीन मानेका छन्। यस आधारमा बैथरलुङबारेको मुन्दुमको रिसियालाई पनि ४ हजार वर्ष प्राचीन मानिन्छ।

सन्दर्भग्रन्थ सूची

  • चाम्लिङ, भोगीराज (२०७७/०७८). छ्योरोसा: प्राग्ऐतिहासिक राई संस्कृति. प्रज्ञा, १२१(१). नेपाल प्रज्ञा-प्रतिष्ठान।
  • चाम्लिङ, भोगीराज (२०८०क). नाक्छोड साकेवा बुक्टाङ (गुफा), मेनपुर : पुरातात्विक एवं सांस्कृतिक केन्द्र. अरुण गाउँपालिका कार्यालय, भोजपुरमा प्रस्तुत अप्रकाशित सांस्कृतिक अध्ययन प्रतिवेदन।
  • चाम्लिड, भोगीराज (२०८०ख). हलेसी धाम : किराती दृष्टिकोण. हलेसी : त्रिधार्मिक धाम शोधग्रन्थ. धनप्रसाद सुवेदी, भोगीराज चाम्लिङ र मोहनकुमार तामाङ (अनुसन्धान). हलेसी महादेवस्थान विकास समिति।
  • डबराल, शिवप्रसाद (नवसंवत्सर २०२५). उत्तराखण्ड का इतिहास : राजनैतिक तथा सांस्कृतिक इतिहास, भाग २. वीर गाथा प्रकाशन।
  • थोमरोस, भूपध्वज (२०६२). कुलु-नेपाली रिङबउ: कुलुङ राई-नेपाली शब्दकोश.Everest K2-CNR Project, Italy र कुलुङ किरात राई भाषा, संस्कृति उत्थान सङ्घ, काठमाडौं।
  • पाण्डेय, रामनिवास र दिनेशचन्द्र रेग्मी (२०६२). नेपालको प्रागइतिहास. नेपाल र एसियाली अनुसन्धान केन्द्र।
  • मुखिया, अतीत (२०७७). मुक्दुमको सेरोफेरो. सुनुवार समाज।
  • राई, नेत्रमणि (२०६८:येले थो ५०७१). दुमी-नेपाली-अङ़ग्रेजी शब्दकोश. दुमी किरात राई फन्सिकिम।
  • राई, नोवकिशोर; राई, पदमकुमार र बतास, निराजन (२०८०:येलेदोड ५०८४). बान्तावा शब्दकोश. बान्तावा शब्दकोश तथा व्याकरण निर्माण समिति।
  • राई, लोकबहादुर (२०८०). सुम्नि तुम्लो यालो. किरात बायुड राई सुम्निखिम।
  • Banerjee, N. R. & Sharma, J.(1969). Neolithic Tools from Nepal and Sikkim. Ancient Nepal,9.
  • Chatterji, S. K.(1998). Kirat-Jana-Kriti: The Indo-Mongoloids- Their Contribution to the History and Culture of India. The Asiatic Society.
  • Grierson, G. A.(1927). Linguistic Survey of India. Vol. 1 (Part i). Low Price Publications.
  • Liston, J. & Miko, M.(2011). Oral Tradition and Archaeology: Palau’s Earth Architecture. In Pacific Island Heritage: Archaeology, Identity & Community. Editors: Liston, Jolie; Geoffrey Clark & Dwight Alexander. ANU Press.
  • Malla, K. P.(2015). From Literature to Culture: Selected Writings on Nepalese Studies, 1980-2010. Himal Books.
  • Morey, S.(2022). Pangwa Tangwa Prehistory- Evidence from Traditional Stories and Songs. In Ethnolinguistic Prehistory of the Eastern Himalaya. Editors: Mark Post, Stephen Morey and Toni Huber.
  • Wettstein, M. & Stockhausen, A.(2022). Ethnographic Comparision and Prehistory? A
  • Comparision among the Dumi Rai of Eastern Nepal and the Feasts of Merit among the Ao Naga of Northeast India. In Ethnolinguistic Prehistory of the Eastern Himalaya. Editors: Mark Post, Stephen Morey and Toni Huber.
  • Sharma, J. L.(1983). Neolithic Tools from Nepal. Ancient Nepal, 75.
  • Schaafsma, C. F.(2004). Truth Dwells in the Deeps: Southwestern Oral Traditions and Archaeological Interpretations. Journal of the Southwest, 46(4).

 

 

 

Post Comment

Scroll to Top Scroll to Top Stretched