हतुवाका शासक अटल सिंह र उनका भारदारहरू-डा. कैलाशकुमार राई, गाईघाट, उदयपुर
डा. कैलाशकुमार राई, गाईघाट, उदयपुर
विष्णुएस राईको परिचय
विष्णु एस राई (सन् १९५१) सञ्चारमा नपरेका नेपालका बौद्धिक तारापुञ्ज हुन् । यो तारापुञ्ज राजनीतिज्ञहरूसम्म पुगेन तथापि विश्वविद्यालयका विद्यार्थीहरूबीच चम्किरहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक राईले अङ्ग्रेजी भाषा तथा भाषाविज्ञान र अनुसन्धानका विशेषज्ञका भूमिकामा थाइलैन्ड, मलेसिया, भियतनाम, इन्डोनेसियासम्मका शैक्षिक अनुभव लिएका छन्। उनको अङ्ग्रेजी भाषामा लेखिएका कविता त्रिवि शिक्षाशास्त्र सङ्काय, स्नातक र स्नातकोत्तर तहमा शिक्षण गरिन्छ । उनको नेपाली भाषाका सुदामा (खण्डकाव्य), पहेली .. , नौ डाँडापारि (२०७५) यात्रा निबन्ध सङ्ग्रह प्रकाशित छन् । अङ्ग्रेजी भाषा साहित्यका विद्वान् राई नर्सरीदेखि एमएड्सम्मका अङ्ग्रेजी भाषाका पाठ्यपुस्तक लेखक, पाठ्यक्रम लेखन, प्रशिक्षक, कार्यपत्र प्रस्तोता हुन्। सरल स्वभाव, वनिम्र, शालीन व्यवहारका राई अन्तर्मुखी प्रकृतिका देखिए पनि साहित्यमा बर्हिमुखी अपार ज्ञान र अनुभवका राशी हुन्।
प्रस्तुत लेखमा विष्णु एसका खम्बुवानबाट हराएका सन्तानहरू र हतुवाचि किरावा दुई कृतिका नायक अटल सिंह राईका शासन सत्ता, वीरता, राष्ट्रप्रेम र माटोप्रति बलिदान र बलिदानी अवसानको चर्चा गरिने छ। दुबै कृतिले किरात शासक अटल सिंहका निजी जीवन, शासन प्रणाली, गोर्खाको आक्रमण, युद्ध र पराजयका बारेमा वर्णन गरेका छन्।
हतुवा राज्य
ऋग्वेदमा शम्बरलाई इन्द्रले चालीस वर्ष युद्ध लड्दा पराजित गर्न नसकेपछि षडयन्त्रपूर्ण हत्या गरेका थिए। उनले सुतेको समयमा शम्बरको हत्या गरेका थिए। शम्बर महोन्जोदाडो सभ्यताको प्रणेता हुन्। प्राचीन कालको नेपालमा बानासुर, मन्जुश्री, गोपाल र किरात वंशका शासकहरू थिए। किरात राई वंशका प्रथम राजा यलम्बर थिए भने अन्तिम जितेदास्ती हुन्। दास्तीलाई पराजित गरी लिच्छवीहरू नेपालका शासक बने। लिच्छवीबाट पराजित किरातहरू पैतृक भूमि खम्बुवान फर्के। खम्बुवानलाई राणा कालमा माझ किरात भनियो। उनीहरूका राज्य प्रणाली व्यवस्थित थियो। उनीहरूले राज्य सुरक्षित गर्न थुम, किल्ला र गढी निर्माण गरेका थिए।
कमला पूर्व किरातहरूका खम्बूवान राज्य थिए। मकवानपुरका सेनले किरात राज्य अधीनमा लिएपछि किरातहरूले स्वायत्त शासन चलाउन थाले। यस क्षेत्रमा विजयपुर र चौदण्डी राज्य विशेष शक्तिशाली थिए। चौदण्डी राज्यको क्षेत्र कमला नदी पूर्व र अरूण पश्चिम उल्लेख भएको पाइन्छ। यस भूमिमा किरात राईहरू अनादि कालदेखि बसोबास गर्दै आएका हुन्। खम्बुवानका चौडण्दी राज्यका हतुवा एउटा शक्तिशाली राज्य थियो। यहाँका प्रथम राजा सिवाहाङ र अन्तिम अटल सिंह हुन्। उनले विसं १८३० मा गोर्खालीसँग युद्ध लडे (सिवाहाड, २०६०)। यस राज्यका राजाहरू वलिहाङ, सुनाहाड, तुक्तिहाड, हिन्दूहाड थिए। चौदण्डी राज्यको राजा कर्ण सेन र मन्त्री अगमसिंह चाम्लिड थिए भने यस राज्यको शक्तिशाली अङ्ग हतुवाको अटलसिंह मुख्तियारी थिए। (सिवाकोटी, २०६७)। भोजपुरको दक्षिण दिशामा अवस्थित हतुवा पूर्वी नेपालको ऐतिहासिक भूमि हो। प्राचीन कालमा यस राज्यमा सिवाहाडले राज्य गर्दथे। उक्त राज्यका सिवाहाङलाई विस्थापित गरी वालाहाड वंशले शासन गर्न थाले (हतुवाली, २०६७)। इ. १७७३ मा चौदण्डी राज्य पृथ्वीको अधीनमा आयो (शिवाकोटी, २०७४)।
चौतारिया अटल सिंह राय
अटल सिंह राई हतुवा गढी राज्यका चौतारा हुन्। उनले गोर्खाली सेनासँग युद्धमा वीरगती पाएका थिए। त्यही गोर्खासँगको बहादुरीपूर्ण युद्धको इतिहास हो खम्बुवानबाट हराएका सन्तानहरू । राईले किरात राज्यको ऐतिहासिक विषयलाई औपन्यासिक आयाम दिएका छन्। यस कृतिमा अटलसिंहले लडेका युद्धको बहादुरी पूर्ण तर विभत्स स्थितिको चित्रण सहित भारतीय भूमिमा गरेका सङ्घर्षलाई अभिव्यक्ति दिइएको छ।
अटलसिंह राईलाई बान्तवा र पाछा श्रीहाङ भनिएको पाइन्छ। उनको नाम अटल राय, अटल सिंह राई र अटल सिंह राय उल्लेख भएको पाइन्छ। अटलसिंहको वंशकी सुखमायाका अनुसार उनीहरूका पाछा श्रीहाङ हो। वर्तमान् भोजपुरको हतुवा क्षेत्रमा शिवाहाङ पाछाका बान्तवा राईहरू छन्। उनले शिवाहाडलाई नै विहारमा श्रीहाङ भनेको हुनुपर्छ। हतुवाओ किवा कृतिमा अटलको पाछा वालाहाड लेखिएको छ।
अटल सिंहलाई जयसिवाहाड़ (२०६०) ले हतुवाका अन्तिम राजा, श्यामराज (२०६०) ले हतुवाको सेनापति, उत्तम राई (२०६४) ले मुख्य मन्त्री उल्लेख गरेका छन्। नेपालमा किरातहरूले अटललाई राजा मानिएको छ। विहारमा विहारी राईहरू अटलसिंहको वंशजलाई राजा मान्थे। सुखमायाको अनुसार अटलसिंहका परिवारलाई सन् १९६०सम्म चौतरिया र जातले राजा सम्बोधन गरिन्थ्यो। गोर्खाली राजाहरूले लेखेको पत्रमा राजमाराको सामर्थ्य पदावली प्रयोग गरिएको पाइन्छ । विहारमा अटलसिंहका सन्तानका घरलाई हवेली भनिन्थ्यो (एस, पृ. ११)। उनीहरूलाई समारोहको आमन्त्रणमा १२ सुपारी दिइन्थ्यो। खम्बुवानका राज्यहरूका इतिहासलाई अध्ययन गर्दा अटलसिंह चौतरिया हुन् र उनलाई जातको राजा भनेर किरात जातिको चाहिं राजा हो भनिएको हो।
पारिवारिक तथा जातीय द्वन्द्व
चौदण्डी र विजयपुरमा राज्यका प्रशासनिक अङ्गहरूमा खस बाहुन जातिको सहभागिता भएको पाइन्छ। अटल सिंहको सेना प्रमुख अख्तर खस जातिको रहेको छ। उनको बाबु अजित सिंहका दुई पत्नी राई र बाहुनी उल्लेख गरेका छन्। यस कारण उनको राज दरबारभित्र नै पारिवारिक द्वन्द्व भेटिन्छ। उनका बाहुनीपट्टिको छोरो नरेन्द्र अटलसिंहभन्दा जेठो भएपनि अटलसिंह राजकुमार बनाइएकाले द्वन्द्व थियो।
खम्बुवान क्षेत्रका राज्यभित्र किरात र हिन्दू संस्कृति रहेको देखिन्छ। खम्बुहरू किराती संस्कृतिको अनुसरण गर्थे, जुन हिन्दू संस्कृतिको ठिक विपरीत थियो। किरातहरू गाईको मासु खाने, रक्सी पिउने गर्थे, किराती महिलाहरू स्वतन्त्र थिए। यो सामाजिक प्रवृत्ति हिन्दू संस्कृतिका अनुयायीहरूका लागि मान्य थिएन। शासकवर्गको दमन स्वतः शासित वर्गमा परेको हुन्छ। यी परिवेशले यस परिवारमा द्वन्द्व जटिल बन्दै गएको भेटिन्छ।
गोर्खा युद्धमा पराजयको कारण
खम्बुवान सर गर्न गोर्खा फौजका कमान्डरहरू अभिमान सिंह बस्नेत, पारथ भण्डारी, अमरसिंह थापा, सरदार रमकृष्ण कुँवर आदिले नेतृत्त्व गरेका थिए। किरात क्षेत्रमा दुई स्वतन्त्र राज्यहरू चौदण्डी र विजयपुर थिए। चौदण्डी कमला नदी हुँदै अरूण पश्चिम र विजयपुर अरूण पूर्वका कोसी क्षेत्रमा अवस्थित थिए। यी राज्यहरूमा किरातीहरू हर्ताकर्ता थिए (उपाध्याय, २०६३)। चौदण्डीका किरात शासकहरूका दबदबा सहन नसकेर हरनिन्द पोखरेलले गोर्खा दरबारमा खम्बुवानको माटो उपहार बुझाएका थिए। उनी चौदण्डी दरबारका राजपुरोहित थिए। उनीहरू गोर्खालाई चौदण्डी विरूद्ध सूचना दिन्थे।
विसं १९२९ भाद्र १३ गतेका राती हरनिन्द र त्रिलोचनका सहयोगमा गोर्खा सेनाले कोसीको घाट डुङ्गाबाट तारेका थिए। यो डुङ्गा पोखरेलहरूले व्यवस्था गरेका हुन्। तत्कालीन चौदण्डी राज्य पहाड र तराई गरी दुई भागमा विभाजित थिए। यस आधारमा पहाडी भागमध्ये एउटा हतुवा गढी हुनुपर्छ। यस गढी राज्यमाथि अमरसिंह थापा र रामकृष्ण कुँवरका कमान्डिङमा आक्रमण गरे। यसलाई आधार मान्दा गोर्खा सेनाले २०२९ भाद्र महिनामा हतुवामा आक्रमण गरेको हुनुपर्छ। यस युद्धमा अटलसिंह पराजित भएका हुन्।
यस कृतिको दोसो खण्डमा विष्णु एसले गोर्खाली सेनाका ज्यादती, व्यभिचार, नृशंसताको चित्रण गरेका छन् । उनीहरू शत्रुका बालक, बृद्ध, गर्भवती महिला जोसुकै होउन् दुई टुक्रा पार्थे। उनका सेनाले कीर्तिपुरका जनताको नाक कान काटेर धार्नी पुर्याएको चर्चा गरेका पाइन्छ। उनले कीर्तिपुरको पिउने पानीको स्रोत काटी दिएर युद्धमा आत्मसमर्पण गराएका भनेका छन्। विजयपुरका शासक बुद्धिकर्ण राईलाई मारेर व्यापक प्रचार गरेर आतङ्क मच्चाए । यसले किरात सेनामा भय र त्रास सृजना भयो। यो प्रचार विद्रोहमा कोही नउठोस् भन्ने रणनीति हुनुपर्छ।
हतुवा राज्य पतनका कारण
किरात राज्यको विघटनका कारण गोर्खाली शासकको कूटनीति, उच्च सुदृढ सङ्गठन हुनु हो। किरात राज्यमा सङ्गठित सेना सुदृढ कूटनीति देखिंदैन। गोर्खाली सेनामा युद्ध विजयको उच्च मनोबल रहेको थियो। यसका कारण निम्न छन्:
- किरात शासकहरू बीच एकताको अभाव,
- स-साना राज्यमा विभक्त रहेको स्थिति,
- युद्धका लागि आधुनिक हतियार नहुनु,
- ठूला राज्यहरू चौदण्डीगढी र विजयपुर बीच कुटनीतिक सम्बन्ध नहुनु,
- युद्ध कलाका सामरिक प्रविधि, युद्ध कौशल, कुटनीति र सज्चार व्यवस्था परम्परित रहनु,
- उनीहरू मूलतः किसान हुनु,
- गैर किरातहरू किरात सत्ताका विपक्ष रहनु,
- किरात राज्यमा खुफिया संरचनाको अभाव,
- दरबारका राजपुरोहितहरूले किरात राज्य विरूद्ध षडयन्त्र गर्नु र
- राज परिवारभित्र नै द्वन्द्व रहनु।
विहारमा प्रवासन् र विहार जग्गा प्राप्ति
हतुवा युद्धका घाइते अटलसिंहको नेपालको चारकोसे झाडीमा मृत्यु भएको हुनु पर्छ। किरात भूमिको स्वतन्त्रताका लागि लड़ने साहसी, वीर लडाकु पुरूषको देहवसान भयो। भारतको विहारमा अटलसिंहका पत्नी हाङ्गा, छोरा टेकवीर, नाती गुमानसिंहसहित ठूलो सङ्ख्यामा भाइभारदारहरू पुगेका थिए। त्यहाँ रानी हाङ्गाको केही भूमिका देखिदैन। उनीले त्यहाँ छोटो समयमा नै मृत्यु वरण गरिन्।
भारतको विहार पुगेपछि अटलका जेठा छोरो टेकवीर जातको राजा घोषित भए। उनले पूर्णियाका कलेक्टरका निर्देशन बमोजिम कलकत्ताका भायसरायलाई भेटे। त्यहाँ टेकवीरलाई जमिनदारले पाउने सुविधा र विशेषाधिकार प्रदान गरे। उनीसँगै किरात परिवारका लागि चाहिंने जति जग्गा जङ्गल फाँडेर लनिदिनु भन्ने निर्देशन पूर्णिया र भागलपुरका जिल्ला कलेक्टरहरूलाई निर्देशन दिए। विहारमा किरात राजपरिवारले हजारौं विगा जग्गा प्राप्त गरे। हतुवा राज्यका किरातहरूले विहार सुपौल, मधेपुरा र त्रिवेणी गन्जका जङ्गलको काँसका पटेर र सालका जङ्गल फाँडेर बस्ती बसाले। विहार सिमसार, विशाल जङ्गल भएको उर्वर भूमि थियो। त्यहाँ विभिन्न पशुपंक्षी, सरिसृप, बाघ, भालु, हरिण र बँदेलको निवास थियो। प्रवासनमा किरात लडाकुहरूले जङ्गल फाँडेर बस्ती बसाले। त्यहाँ किरातका चिटिक्क परेका घरहरू बने। अन्न बाली प्रशस्त फलाए परिणामतः उनीहरू चाँडै सम्पन्न भए। कालान्तरमा स्थानीय बासीहरू उनीहरूकै जग्गा कमाउने, घरमा काम गर्न थाले। उनीहरूसँग हरूवा चरूवा, नोकर चाकर प्रशस्त भए। उनीहरू मालिक कहलिए। उनीहरूले सांसारिक सुख त पाए तर उनीहरू मानसिक रूपमा पीडित थिए। विहारमा किरातहरू तीर, धनुष र बन्दुकले सिकार खेल्ने, रक्सी र जुवा तासमा रमाउन थाले।
ब्रिटिस भायसरायसँग सम्पर्क र सम्बन्ध
अटलका राजपरिवार र भारदारहरू विहार पुगे। त्यहाँ पुगेका किरातहरू हतुवाका राजा अटलसिंहका सन्तान र लडाकु सेनाहरू हुन्। उनीहरू सामरिक शक्ति, युद्ध रणनीतिले निपूर्ण, सुदृढ सैनिक सङ्गठन भएका गोर्खा सेनाहरूका आक्रमणमा पराजित भएर मातृभूमि र राज्य छाडेर प्रवासनमा गएका खम्बूवानका सन्तान हुन्। त्यहाँ जातको राजा भएका टेकवीरले पूर्णियाका कलेक्टरसँग भेटी आफनो कुरा राखे। उनको सल्लाह बमोजिम कलकत्ता गएर भायसराय हेस्टिडलाई भेटी राज्य फिर्ता लनिका लागि सैनिक सहयोग मागे। उनले समय आएपछि सहयोग गर्ने तर वर्तमान चाहि बस्नलाई जग्गा दिने आश्वासन् मात्र दिए।
दाजु टेकवीरको मृत्युपछि गुमानसिंह जातको राजा भए। उनले पुनः ब्रिटिस भायसरायसँग गोर्खा विरूद्ध युद्धका लागि सहयोग मागे। ब्रिटिस भायसरायले पहिलेको आश्वासन दोहोर्याए किनभने ब्रिटिस सरकार तत्काल गोर्खालीसँग युद्ध गर्न चाहँदैन थिए। तर त्यस शक्तिका विरूद्ध शक्ति सञ्चय गर्न चाहन्थे र अटलका शक्तिलाई भविष्यमा प्रयोग गर्ने गरी समय आएपछि सहयोग गर्ने आश्वासन् दिएका थिए।
आर्थिक, मानसिक र सामाजिक द्वन्द्व
गुमानसिंह जातका राजा बनेपछि अन्तिम प्रयास स्वरूप भायसरायलाई भेट्न कलकत्ता गए। यस पटक पनि भायसरायबाट आश्वासन् मात्र पाएपछि एक्लै गोर्खासँग युद्ध लडेर राज्य फिर्ता गर्न नसकिने र अङ्ग्रेजले मद्दत नगर्ने भएपछि मानसिक द्वन्द्वमा परे। गुमानसिंह जन्म भूमि र राज्य शक्ति गुमेको, अङ्ग्रेजका आश्वासन् र विदेशी भूमिमा बस्नु पर्दा क्रुद्ध बनेका थिए। यसको परिणाम स्वरूप उनले किरात दाजुभाइहरू र स्थानीय मानिसहरूसँग पनि सद्भावपूर्ण व्यवहार देखाउँदैनथे। उनमा घोर आक्रोश र निराशा सिर्जना भयो। उनी सन्की र मुडी पनि थिए। उनी भौतिक र सांसारिक सुखबाट सन्तुष्ट भएनन्। उनले गरिब र निमुखा स्थानीय मानिसहरूमाथि रिस पोख्थे, उनको सन्कको सिकार हुन्थे । उनले गाउँका निमुखा मानिसहरूलाई जरिवना गर्ने, कोर्रा लगाउने, उँधो मुन्टो पारेर झुन्ड्याउने जस्ता हर्कत देखाउन थाले। यतीसम्म गरेकी उनको हवेली अगाडि बाटोबाट जन्तीहरूले घर लाँदै गरेकी बेहुली लठैतहरूबाट खोसेर एकरात भोग गर्ने प्रयास पनि गरेका थिए। भाग्यले उक्त बेहुली उक्त दुर्व्यवहारबाट बाँचे।
गुमानसिंहका दुई छोरा मध्ये जेठा निसन्तान भएकाले कान्छा छोरा राजनसिंहले जातको राजा उपाधि पाए। यस राजपरिवार धन सम्पत्ति, मान् र सान् गुमानसिंहकै पालामा खस्की सकेको थियो। हतुवा दरबारमा कठुवामा तीनपाने रक्सी र चाँदीका कचौरा ओछ्यानमै रहन्थ्यो। यो परम्परा यहाँ पनि यथावतै थियो। राजनले आफनै घरकी नोकर्नी क्षेत्रिनी विवाह गरेपछि सामाजिक रूपमा किरात परिवारबाट बहिष्कृत हुँदै गए। तत्कालीन समयमा किरात राई जातिले क्षेत्री बाहुनको छोरी विवाह गर्न मान्यता दिइदैनथ्यो। उनको छोराहरूलाई विहारका कुनै राईहरूले विवाहका लागि छोरी दिएनन्। यी घटनाहरूले हतुवाका राजपरिवार पूर्ण रूपमा जातका राजाबाट अवसान हुन पुगे। विष्णु एसले कृतिमा अटलसिंहका परिवारको विलासिताको वर्णन गरेका छन्। विहारमा प्रशस्त धन सम्पत्ति भएकाले उनीहरूमा सांस्कृतिक विकृति देखापर्न थाल्यो। उनीहरूले काम गर्न छाडे, जुवा, तास, रक्सी र सिकार खेलेर दिन बिताउन थाले । किरात राजपरिवारका चौतरिया खलक अटलसिंहका सन्तानहरू टेकवीरसिंह, गुमानसिंह, हरनिसिंह, राजनसिंह, सूर्यनारायणसिंह, छत्रनारायणसिंह, बेचुनारायणसिंह, अगमनारायणसिंह, अर्द्धनारायणसिंह, यशपालसिंह, कौशलसिंह आदि छन् । गुमानसिंहको खानदानहरू जातको राजा मानिन्थे। उनीहरूहलाई उत्सव एवं शुभ-काममा आमन्त्रण गर्दा १२ सुपारी दिइन्थ्यो।
जीवन शैली
किरातहरू हतुवाबाट तीन सय वर्ष अगाडि विहार झरेका भए पनि विहारका यी किरात गाउँमा चर्पी बनाउने परम्परा विकास भएको थिएन । वर्तमानमा उनीहरू हिन्दी र मैथिलीलाई मातृभाषाका रूपमा बोल्छन्। उनीहरू धोती, कुर्ता, लुङ्गी र गन्जी लगाएर बस्छन्। किरात जीवनशैली, खानपान, भेषभुषा बिर्सिएका छन्। उनीहरूको राष्ट्रियता किरात नभएर मैथिली बनेको छ। किरात भाषा थियो र नेपालमा त्यही भाषा बोल्थ्यौं रे भनेर छोराछोरीलाई सुनाउनु बाहेक केही बाँकी छैन उनीहरूसँग। उनीहरू किरात राई हुनुमा चाहिं गर्व गर्छन्। उनीहरू आफूलाई चौरासिया भनिदिंदा आत्मगौरव ठान्छनू। चौरासिया जातलाई शुद्ध र पवित्र बोध गर्छन्। नेपालको सेन शासन कालका राज्यको शासकीय प्रमुखलाई चौरासिया पद प्रदान गरिन्थ्यो। सेन कालीन शासनमा किरातहरू चौरासिया थिए। त्यसैले चौरासिया पद किरातहरू शासक भनेर बुझ्छन्। यो प्रधान मन्त्रीको सो-सरहको पद हो। उत्तरार्द्ध कालमा चौरासिया पदले बिहारी राई पहिचान पाएको छ।
विहारी राईहरूको नेपालसँग सम्बन्ध
विहारी राईहरू आफूलाई नेपालका किरात राईहरूभन्दा धनी र सभ्य ठान्थे। यही कारण उनीहरू नेपाल फर्किने कुरा सोच्दैनथे। उनीहरू सन् ७० को दशकपछि नेपालका किरात राईहरूसँग सम्पर्कमा आएका हुन्। उनीहरू सम्पर्कमा आएको ५० वर्ष जति भयो। किरात राजपरिवार विहारको सुपौल र मधेपुरामा छरिएर जमिनदार भएर बसे तर जमिनको उत्पादनले मात्र जीवन सुखी नभएपछि स्थायी समृद्धि कायम भएन। उनीहरू भारतका र नेपालका विभिन्न भू-भागतर्फ छरिए। अटलसिंहका छैटौं पिंढीका सन्तान छत्रनारायण र सुखमायाका जेठा छोरो अगम नारायण नेपालको सुनसरीको सत्तर झोडामा फिरे। माइला छोरो अर्धनारायण पन्ाबतर्फ पसे। कान्छो कौशल नेपाल पसेर शिक्षक बने।छत्र नारायण राजनसिंहको कान्छा छोरो हुन्। सूर्यनारायणका छोरो बेचु नारायण ८० को दशकमा नेपाल फिरे। अटलका राजकीय परिवार युद्धबाट आप्रवासन् हुँदै छरपष्ट भएर एउटा राजपरिवारको इतिहास सामान्य परिवारमा रूपान्तरण भए।
वर्तमान अवस्था
अटलसिंहका पिता अजितसिंह चौतरिया थिए। उनका छोरानाती र पनाती खलकहरू क्रमशः टेकवीरसिंह, गुमानसिंह, राजनसिंह, होरिलालसिंह, राजनसिंह, सूर्यनारायण र छत्रनारायण रहेका छन्। गुमानसिंह चौतरिया अटलसिंहका नाती हुन् । उनका वंशका यशपाल सिंह वर्तमानमा भारत विहारको सुपौलमा कृषि पेसाबाट जीविकोपार्जन गर्छन्। उनका जिजु अटल, गुमान, राजन, सूर्यनारायण र छत्रनारायणलाई जातको राजा भनेर सम्बोधन गरिन्थ्यो। विहारमा ब्रिटिस सरकारबाट प्राप्त हजारौं बिगाह जग्गा मुख्यतः जुवातास, रक्सी र मुद्दा मामलामा गुमाएका छन्। प्रारम्भमा किरातहरू मात्र बसोबास गर्ने यस भूमिमा यादव, सरदार, राजपुत र हजाम जातिका मानिसहरू प्रशस्त छन्।
अटलसिंह रायलाई सुपौलमा ब्रिटिस भायसरायले हजारौं बिगाहा जग्गा दिएका थिए। उनीहरू हात्तीमा सवार गर्ने, सयौं वफादार नोकर चाकर थिए, उनका बोली नै कानुन बन्थ्यो भन्ने कुरा यशपाललाई सामान्य जानकारी मात्र रहेको बताउँछन्। उनले हामी नेपालको हतुवा राज्यको राजाका सन्तान हौं भन्नेसम्म जानकारी छैन। हजारौं बिगाह जग्गाको मालिक अटलसिंहका सन्तानहरू वर्तमानमा सातआठ बिगाह जग्गामा जीविकोपार्जन गर्छन्।
अटलसिंहका वंश रेखाचित्र अनुसार छैटौं पिंढीसम्मका मध्य नाम सिंह रहेको पाइन्छ।। किरात जातीभित्र सिंह नाम राजकीय शब्द हो। उनीहरू सातौं पिंढीमा आइपुग्दा राईमा रूपान्तरण भएका छन्। यसको अर्थ त्यस परिवारको राजकीय गरिमा अन्त्य भएर सामान्य नागरिकमा रूपान्तरण भएको भन्ने हो।
सन्दर्भग्रन्थ सूची
राई, विष्णु एस. (सन् २०२५). हतुवा अन किवा. ऐतिहासिक उपन्यास, काठमाडौ: सगुण आसाद प्रकाशन।
दुमी राई, चतुरभक्त. चाम्लिड, वर्ष: २, अङ्क २-४, २०६२ कार्तीक. किरात राईहरूको केही धार्मिक सांस्कृतिक स्थलहरू (पृ. २४-३०)।
चेमजोड, इमानसिंह.(२०५१). किरात इतिहास र संस्कृति. अनु. शेख इङ्नाम पापो लिम्बू, झापाः प्रकाशन मण्डल।
नेपाल, ज्ञानमणि (२०४५). माझकिरातको सङक्षिप्त सिंहावलोकन, काठमाडौः भोजपुरे सेवा समाज।
अर्याल, ऋषिराम.(२०४३). माझकिरात भोजपुरः राजेन्द्र प्रधान।
राई, विष्णु एस.(सन् २०१७). खम्बूवानबाट हराएका सन्तानहरू. काठमाडौ: सगुन आसरा प्रकाशन।
राई, जय सिवाहाङ.(२०६०). हतुवाको इतिहास, हतुवागढी स्मारिका. स्मारिका समिति भोजपुर र किराया जिकास धनकुटा।
राई, श्यामराज.(२०६०). ऐतिहासिक स्थल हतुवागढीसँग गाँसिएको प्राचीन किरात इतिहास र संस्कृति. हतुवागढी स्मारिका समिति भोजपुर किराया, जिकास, धनकुटा।
रेग्मी, जगदीशचन्द्र.(२०६७). नेपालमा किरात जातिको गौरवपूर्ण इतिहासका परिप्रेक्ष्यमा किरात येले सम्वत् चलन तथा संवैधानिक मान्यताको उपक्रम. निप्सुङ. यायोक्खा केन्द्रीय समिति, काठमाडौं।
राई, बम बहादुर.(२०५८). पौराणिक किरात इतिहास. काठमाडौः गंगा राई।
राई, गंगा.(२०५९) हतुवाली राई समाजमा चण्डी सिली, निप्सुड- वर्ष ९, पूर्णाङक १५।
हतुवाली, चन्द्रकुमार.(२०६७). हतुवाली साकेन्वा, नाक्छोडको उत्पत्ति र साष्टेन दायित्व. निप्सुङ, २०६७, श्रावण २२,पृ. ५१।
शिवाकोटी, गोपाल.(२०६७). किरात जाती, काठमाडौ: पैरवी प्रकाशन।
खतीवडा, सोमप्रसाद. (२०७४). उदयपुर गढीको इतिहास र पर्यटन. विराटनगरः पञ्चावती सामाजिक संस्था।
लेखक समाजभाषाविज्ञानका अध्येता एवम् त्रियुगा जनता बहुमुखी क्याम्पस, गाईघाटका प्रमुख हुनुहुन्छ।

Post Comment