किरात राईबीच जातीय एकताको आवश्यकता-अरुण राई, न्यु योर्क, अमेरिका
अरुण राई, न्यु योर्क, अमेरिका
किरात राई जाति नेपालका १२५ जातिहरूमध्ये एक प्राचीन जाति हो। प्रकृति र पितृमाथि श्रद्धा गरेर पूजा गर्ने ५९ आदिवासी जातिभित्र २६ किरात भाषाहरू प्रचलित छन्। किरात पहिचान पाएका राईहरू किरात, हिन्दू, क्रिश्चियन धर्म मान्दछन्। राईहरूले सुम्निमा र पारुहाङलाई आदिम पुर्खा र सृष्टिका स्रोत स्वीकारेका छन्। उनीहरू हेङखाम्मालाई सुम्निमा र निनामलाई पारुहाङ भन्दछन्।
सिनो-टिवेटन भाषिक परिवार अन्तर्गत भोट-वर्मेली (टिवेटो-वर्मन) भाषा परिवारमा राई समूहका भाषा बोल्ने जातिका मानिसहरू कोसी प्रदेश, आसाम, सिक्किम, पश्चिम बङ्गालको खास गरी दार्जिलिङ, कालिम्पोङ र दक्षिण भुटानमा रहेका छन्। वर्तमानमा किरात राईहरूको बसोबास संयुक्त अधिराज्य, हङकङ, अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान र युरोपका अन्य देशहरूमा पनि उल्लेख्य सङ्ख्यामा रहेको देखिन्छ।
किरात सभ्यताको आदि पूर्वज तोयामा, खियामा र रच्छाकुप्पालाई मानिन्छ। हलेसी तुवाचुङलाई किरात राईको उत्पत्ति स्थल र सिलिचुङ साल्पा पोखरीलाई किरात राईको सांस्कृतिक धरोहरको केन्द्र मानिन्छ। नेपालको इतिहासअनुसार किरात राजा यलम्बरले अहिर वंशी भुवन सिंहलाई पराजित गरेर यलाखोममा किरात वंशको शासन प्रारम्भ गरेको मानिन्छ। उनी र उनका वंशले ई.पू. आठ सयदेखि ई.सं. तीन सयसम्म यलाखोममा शासन गरेको भनिन्छ। लिच्छवी वंशले विजय पाएपछि किरातहरू नेपालको पूर्वी भू-भाग सुनकोसी, तामाकोसी, दूधकोसी, अरुण र तमोर नदी क्षेत्रका उब्जाउ भूमिमा बसोबास गरेको पाइन्छ। यस क्षेत्रलाई राणाकालमा वल्लो किरात, माझ किरात र पल्लो किरात गरी तीन राज्यहरूमा राजनीतिक विभाजन गरिएको थियो। नेपाल एकीकरण पश्चात् किरात क्षेत्र नेपालको अभिन्न अङ्गको रूपमा रहेको छ।
किरात राई जातिको समृद्ध परम्परागत संस्कृति र रीतिथिति रहेको छ। सबै राईहरूले जन्मदेखि मृत्युसम्म विशिष्ट संस्कार र संस्कृति अवलम्बन गर्दछन्। राई जातिका सांस्कृतिक गतिविधिहरू सम्पन्न गर्ने स्थललाई सुप्तुलुङ (चुला) भनिन्छ।
उँभौली र उँदौली मनाउन किरात राईहरू साकेला थानमा भेला हुन्छन्। मूलतः साकेला चाम्लिङ राईसँग सम्बन्धित भए पनि वर्तमानमा साकेलालाई सबै किरातहरूले मुख्य पर्वका रूपमा मनाउँछन्। साकेला वैशाख पूर्णिमाका दिनहरूमा उँभौली (धिरिनाम) र मंसिर पूर्णिमाका दिनहरूमा उँदौली (छिरिनाम) मनाइन्छ। पितृहरूप्रति श्रद्धा अर्पण गरेर प्रकृतिको पूजा गर्नु नै साकेलाको मुख्य सांस्कृतिक पक्ष हो। आकाश, धर्ती, नदी र वनजङ्गलको पूजा गरेर र परिवारका पूर्वजहरूप्रति श्रद्धा गरेर उँभौली र उँदौली चाड मनाइन्छ। साकेला मनाउँदा सिली नाचिन्छ। इयाम्टा र ढोल बजाएर हातमा पोमी लिएर सिली नाचिन्छ। यस सिलीमा दैनिक क्रियाकलाप, कृषि कर्म, पशुपन्छीको चालको अनुकरण गरेर सिलीलाई जीवन्त बनाइन्छ।
किरात राईहरू नयाँ अन्नबाली भित्रिएपछि पवित्र स्थल सुप्तुलुङ सफा गरेर पूर्वजहरूलाई नयाँ अन्न चढाएर नाक्छुङ वा परिवारको पासुङ (जेठोबाठो) व्यक्तिबाट न्वागी पूजा गरिन्छ। न्वागी चाड मनाउँदा इष्टमित्रहरूलाई भोज खुवाउने प्रचलन रहेको छ। किरात राजा यलम्बरले प्रारम्भ गरेको माघे सङ्क्रान्तिका दिन नववर्ष येलेदोड अर्थात् येले सम्वत् मनाउँछन्।
किरात राईको सांस्कृतिक गीत सङ्गीतले सम्पन्न जाति हो। यसले जातिले विशिष्ट अवसरहरूमा छाम गाउने चलन छ। विवाहको अवसरमा हियारी छाम गाइन्छ भने जन्मको अवसरमा महिलाहरूले साइमा छाम गाउँछन्। जुनसुकै अवसरमा जहाँसुकै पनि हाकपारे छाम गाउने प्रचलन छ। यी गीतहरू गाउँदै किरात राई महिलाहरू खाँडीको सारी र उनबाट बनेको विशेष खालको पोसाक लगाउँछन् भने पुरुषले वाछिनारी माला, पुवालो मालासहित पगरी फेटा, लोक्छाम, लाङसुप, छक्छा फेङ्गा, चकछिन्मा लगाएर खुकुरी भिरेर छमछमी नाच्छन्। किरात राई जातिका लोक गीत, लोक कथा, लोक परम्परा अति समृद्ध रहेको पाइन्छ। वान्तवा राईहरू लाइवरी/लामवारी छामलाई प्राचीन र मौलिक लोकगीत मान्छन्।
किरात राईका साकेवा सिली, सेग्रो, हाड सिली, वास सिली, गेला सिली र तोसी सिलीहरूका साथै वादाङमी, पापानी, छोडलाक, होप्चा, हुर्ला, मारुनी आदि लोक नृत्यहरू प्रमुख सांस्कृतिक नृत्यहरू हुन्। राईहरूले बिनायो, ढोल, इयाम्टा, यलम्बर बाजा, मुर्चुङ्गा, सुम्बक (पात), चरी बाजा, पशुका सिडका बाजा, मुरली, झाक्री थाल, ढ्याइग्रो, सिलिमी, मादल, बासुरी आदि बाजा बजाउने गर्दछन्।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसङ्ख्याको २.२% जनसङ्ख्या रहेको राई जातिको मुख्य पेसा कृषि र पशुपालन हो। विगतमा सिकार खेल्न प्रसिद्ध यो जाति वर्तमानमा विदेशमा सैनिक सेवा र वैदेशिक रोजगारीमा संलग्न रहेको पाइन्छ। भारतीय गोर्खा रेजिमेन्ट, ब्रिटिस गोर्खा रेजिमेन्ट र सिङ्गापुर पुलिसको गोर्खा कन्टिन्जेन्टमा राईहरूको उल्लेख्य उपस्थिति रहेको छ। यसबाहेक राई जातिको उपस्थिति आज अमेरिका लगायत विश्वभर रहेको छ।
राष्ट्रिय स्तरको राजनीतिक, प्रशासनिक, प्राज्ञिक र कुटनीतिक क्षेत्रमा राई जातिको गरिमामय उपस्थिति प्रारम्भ भएको छ। भिक्टोरिया क्रस विजेता वीर अगमसिंह राई, स्वतन्त्रता सेनानी रामप्रसाद राई, राजनीतिज्ञ बलबहादुर राई, अशोक राई, गोपाल किराती, प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, मेयर हर्कसाम्पाङ राई, गायक धीरज राई, राजेश पायल राई, सिनेमा कर्मी दयाहाङ राई, विल्सन विक्रम राई, रक्षा मन्त्री मानवीर राई, धाविका मीरा राई, मुख्यमन्त्री राजेन्द्र राई, मन्त्री सुदन किराती, लोकसेवा आयोगका अध्यक्ष सन्तबहादुर राई, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, अतिरिक्त प्रहरी महानिरीक्षक टेकप्रसाद राई, राष्ट्रगानका रचयिता प्रदीपकुमार राई, वैज्ञानिक प्राध्यापक शिवकुमार राई आदिले नेपालभित्र राई जातिको गौरवलाई अघि बढाएका छन्।
त्यसैगरी साहित्यकार इन्द्रबहादुर राई, साहित्य एकाडमी विजेता असित राई र हैमान दास राई, मुख्यमन्त्री पवन चाम्लिङ, पश्चिम बङ्गाल राज्य सरकारका पहिलो गोर्खा मन्त्री शिवकुमार राई, पश्चिम बङ्गाल सरकारका मन्त्री देवप्रकाश राई, भुटानका शिक्षा मन्त्री जलवीर राई, भुटानको राष्ट्रिय सभाका सदस्य टेकबहादुर राई र दिलमाया राई, पद्मश्री विजेता जीतु राई, सिक्किम उच्च अदालतकी पहिलो महिला न्यायाधीश मिनाक्षी मदन राई, सिक्किम सरकारकी मन्त्री तुल्सीदेवी राईले भारत र भुटानमा राई जातिको प्रतिष्ठा बढाएका छन्।
नेपालको गौरवमय इतिहास, समृद्ध परम्परा र संस्कृति भएको किरात राई जातिले स्वदेश र विदेशमा आफ्नो कीर्तिमान कायम गरेका छन्। उनीहरूले कठिन चुनौतीलाई मनन गरेर नै अमेरिकामा किरात राई संस्कृतिको अभ्यास थालेका छन्। यसको संवर्धन र प्रवर्धन गर्ने मूल उद्देश्यले युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका स्थापना गरेका छन्।
एकतामा बल, शक्ति र सामर्थ्य हुन्छ। यसैले अमेरिकामा बसोबास गरिरहेका किरात राईहरू एकीकृत भएर सांस्कृतिक र जातीय सद्भाव कायम राख्दै गौरवमय किरात इतिहास, धर्म, संस्कृति र भाषालाई प्रवर्धन गर्नु दायित्व बनेको छ। किरातहरूका अहिंसा, आपसी सम्मान, सहअस्तित्व, उदारता, सहकार्य र मानव अधिकारप्रति सम्मान जस्ता मूलभूत सिद्धान्तलाई आधार मानेर एउटै झण्डा र सङ्गठन मुनि गोलबद्ध हुनु जिम्मेवारी हो। यसका लागि किरात राई जातिको समुन्नत संस्कार र संस्कृतिलाई सन्ततीहरूसम्म हस्तान्तरण गर्नका लागि हाम्रो सुदृढ एकताको खाँचो छ।
हामी एकजुट भएर अघि बढौं र हाम्रो सङ्गठनको उद्देश्य हासिल गर्न सफल हुन सकौं। यही नै मेरो सबैमा विनम्र अनुरोध र हार्दिक शुभकामना छ।
लेखक युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका, न्यु योर्क च्याप्टरका अध्यक्ष हुनुहुन्छ।

Post Comment