युक्रा न्यु योर्क च्याष्टर : अनुभूतिको नीलो सगर-ममता खालिङ राई, न्यु योर्क, अमेरिका
ममता खालिङ राई, न्यु योर्क, अमेरिका
मैले लिएको युक्राको जिम्मेवारी तीन वर्षको थियो। यस अवधिमा धेरै उतारचढावहरू आए। यसले मलाई अन्तर्मुखी चरित्रकीलाई सुरुमा केही कष्ट महसुस भयो। युक्रा संस्थापक केशवराम राई, दिदीहरू वसन्ती राई र शान्तकला राई आदि व्यक्तित्वहरूका सहयोगले सबैसँग परिचित भएँ। मैले युक्रा न्यु योर्कलाई किरात संस्कृति र संस्कारलाई नयाँ पिँढीसम्म विस्तार गर्न कदम चाल्ने अठोट गरेकी थिएँ। यसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अमेरिकामा स्थापना गरिएको युक्रा किरात राईहरूको एकताको सूत्र भएको छ। यो संस्था हाम्रो माटो र पानी हो। यसको अर्थ आधार भूमि हो, जहाँ किरात राईहरूको धर्म, संस्कृति अङ्करित छन्। जसले जन्मभूमिबाट टाढिएका किरात राईहरूलाई एकताबद्ध बनाउँदै पराई देशमा पराई महसुस हुन दिएको छैन र दुःखसुखमा किरात राईहरूको धरोहर रहेको छ।
मलाई सन् २०२२ बाट युक्रा, न्यु योर्क च्याष्टरको अध्यक्षको पदभार ग्रहण गर्ने अवसर मिल्यो। यस अवसरले किरात धर्म, संस्कृति र पहिचानलाई प्रवर्तन र संवर्द्धन गर्ने जिम्मेवारी वहन गरेकी थिएँ। म युक्राका कार्यक्रमहरूमा मेरा मित्र यशोदा खालिङको सम्पर्कबाट सहभागी हुन थालेकी थिएँ। यद्यपि सदस्यता लिएकी थिइन। यो बिरानो भूमिमा सबैसँग परिचित पनि थिइन। यसकारण जिम्मेवारी लिएपछि केही कठिनाइहरू महसुस गरेकी पनि छु। जहाँ पुगिन्छ आफू त्यहाँ धर्म, संस्कृति साथैमा लिएर आइँदो रहेछ र बाँचिदो रहेछ। अमेरिकामा हामीले किरात संस्कृति भित्र्याएका छौं। यहाँ संस्कृतिहरूलाई भावी सन्ततीहरूमा पुस्तान्तरण गरेर बचाइराख्ने अभिभारा सिर्जना भएको छ।
उद्देश्यले कदम चालेकी थिएँ। युक्रा, केन्द्रीय साकेला २०२२
म अध्यक्ष भएपछि पहिलो पटक क्यालिफोर्नियामा युक्राको केन्द्रीय साकेलामा सहभागी भएँ। म पहिलो पटक क्यालिफोर्निया स्टेट गएकी थिएँ। मनमा अति नै जोस, जाँगर र उत्साह थियो। नयाँ ठाउँ, नयाँ परिवेश र नयाँ व्यक्तित्वहरूसँगको चिनाजानीले मन प्रफुल्लित थियो। क्यालिफोर्नियाको अध्यक्ष जोरवीर खालिङ राई हुनुहुँदो रहेछ। त्यहाँ धेरै राईहरूका जमात देखेर म हर्ष र उल्लासले आत्मविभोर भएकी थिएँ। मलाई मन तन अर्पेर आफ्नो परम्परा र रीतिथीतिलाई जगेर्ना गर्ने असीमित ऊर्जा प्राप्त भयो। साकेलामा हामीले प्रायः सबैसँग चिनाजानी गर्यौं। सायद हामीबीच पारिवारिक नाता पनि थियो होला तर हामी युक्राको सुन्दर माला भएका थियौं। त्यसैले हुनसक्छ आफ्नोपन, माया र स्नेहको आभाष पाएकी थिएँ। त्यहाँ हामीलाई धेरै सम्मान गरियो, सायदै भुल्न सक्तिन। यो साकेलाको एक दिन अगाडि क्यालिफोर्नियाको छैटौं अधिवेशनले नयाँ केन्द्रीय कार्य समिति बनेको थियो।
युक्रा न्यु योर्क च्याष्टर साकेला २०२२
न्यु योर्क च्याष्टरको पहिलो साकेला कार्यक्रम युक्रा केन्द्र तथा सबै च्याष्टरको सहभागितामा सम्पन्न भएको थियो। नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका अन्तर्गतका १८ संस्थाहरू, फिपना, एनआरएन र नेपाली ग्लोबल लगायत अमेरिकामा रहेका विभिन्न संस्थाका अतिथिहरूको उपस्थितिमा सम्पन्न साकेलाले किरात सांस्कृतिक महत्त्व प्रकाश पार्न सफल भएको छ। जुन साकेलामा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि महामहिम अमृत बहादुर राई प्रमुख अतिथि हुनुहुन्थ्यो। उहाँले आयोजकको उच्च प्रशंसा गर्नुभयो। संयोग नै भनुँ, उहाँ पनि खालिङ राई हुनुहुँदो रहेछ। अझ मलाई माइती भएकाले आफ्नोपन महसुस भयो। यो मेरो कार्यकालको साकेला कस्तो होला भनेर मलाई केही डर र त्रास मनमा थियो। मेरो नेतृत्वमा हुने यति ठूलो कार्यक्रम इज्जत र सम्मानका साथ समापन होस् भन्ने चाहनाले आफूलाई सताएको थियो। हाम्रो समूह अर्थात् सम्पूर्ण युक्राको भगीरथ कर्मले कार्यक्रम सफल बन्यो। यो सफलताको ध्वजा सुन्दर माला बनेर सजिएका छन्।
टाइम स्क्वायरमा साकेला २०२३
मेरो कार्यकालको दोस्रो साकेला टाइम स्क्वायरमा थियो। जुन १७, २०२३ शनिवार आयोजना गरिएको थियो। साकेलाको न्यु योर्क कुइन्सको एल्महर्स्टबाट ¥याली निकालेर न्यु योर्कको प्रमुख सहर म्यानहाटन स्थित टाइम्स स्क्वायरमा साकेला चाड मनायौं। उक्त स्थान न्यु योर्क सहरको सबैभन्दा धेरै पर्यटक घुम्न आउने क्षेत्र हो। न्यु योर्क घुम्न आउने पर्यटक टाइम्स स्क्वायरमा नजाने व्यक्ति विरलै पाइन्छ। यस क्षेत्रमा कुनै पनि कार्यक्रम गर्नका लागि विशेष अनुमति लिनुपर्दछ। यो पहिलो इतिहास नै हो जहाँ किरात साकेला अमेरिकाकै मुटुमा मनाउन सफल भएको हिसाबले यो क्षण ऐतिहासिक छ।
अमेरिकन नेपाली संस्थाहरूमध्येकै पहिलो पटक टाइम स्क्वायरको सहरमा युक्रा न्यु योर्क च्याष्टरले उँभौली साकेला कार्यक्रम गरेको र सिटीको तर्फबाट अधिवक्ताद्वय जुमाने विलियम्स र कासिफ हुसेनलाई विशेष अतिथिका रूपमा निमन्त्रणा गरिएको थियो। यही अवसरमा कासिफ हुसेनबाट सिटीले उत्कृष्ट आठ जनालाई साकेला सिली नाच्ने र ढोल इयाम्टा बजाउने कलाकारहरूलाई प्रमाण-पत्र वितरण गरिएको थियो।
ज्याक्सन हाइट न्यु योर्कबाट ढोल इयाम्टा र किरात झन्डा सहित सयौंको तामझाम ¥याली टाइम स्क्वायरको ती ठूला, अग्ला-अग्ला आलिशान महल वारपर किरात मौलिक पोसाकमा सजिएर हिंडिरहँदा त्यहाँका सम्पूर्ण मानिस र पर्यटकहरूका आँखाको केन्द्र बनेका थियौं। त्यहाँ उत्सुकताका साथ सबैले हेरिरहेका थिए, फोटो र भिडियो खिचिरहेका थिए भने कसैले फोटो खिच्ने अनुमति मागिरहेका थिए। कुन देशको संस्कार संस्कृति हो भनेर सोधिरहेका थिए। अमेरिकामा पहिलो पटक किरात राई संस्कृति र सिङ्गो नेपाललाई नै चिनाउन सफल भएको महसुस भयो। सबैको अभिव्यक्ति सकारात्मक पाउँदा गर्वले शिर उठेको थियो। हामी टाइम स्क्वायरमा तीन घण्टाको साकेला कार्यक्रम सकेर तामझाम ¥यालीकै साथ क्युइन्स वृज पार्कमा आयौं र अर्को ठूलो रौनकका साथ २०२३ को साकेला समापन गरेका थियौं।
मे २९, २०२३ मा तेन्जिङ नोर्गे सेर्पाको उद्घाटन
युक्रा न्यु योर्क च्याष्टर कार्य समितिको एकता ज्यादै राम्रो थियो। हामीले जस्तोसुकै ठाउँमा पनि कार्यक्रम प्रस्तुत गर्न सक्थ्यौं। छोटो समयमा नै हामीलाई US NEPAL CLIMBERS ASSOCIATION INC ले INTERNATIONAL MOUNT EVEREST DAY को अवसरमा युक्रालाई अति नै सम्मानपूर्वक झाँकी लिएर आउन अनुरोध आएकाले मे २९, २०२३ मा तेन्जिङ नोर्गे सेर्पाको उद्घाटन कार्यक्रममा ढोल, इयाम्टा, युक्राको ब्यानर र आफ्नो भेषभूषामा सजिएर तेन्जिङ नोर्गे सेर्पाको स्ट्रिट र सेर्पा किन्दुक वारपर भरिभराउ हुन पुग्दा सबैको आकर्षणको केन्द्र भएका थियौं। कार्यक्रम स्थलबाट सम्पूर्ण सरकार पक्षका अतिथिहरू र नेपाली प्रतिनिधिहरू उठेर हामीतिर केन्द्रित भएपछि होस्टबाट नै उद्घोष तालीले स्वागत गर्दै हाम्रो समूहलाई सम्मान गर्नुभएको क्षणहरू अविस्मरणीय छन्।
डा. शङ्कर राईसँगको अन्तरक्रिया
प्लास्टिक सर्जन एवम् छाला रोग विशेषज्ञ डा. शङ्कर राई अमेरिका आउनुभएको थियो। डा. राईको ड्रिम प्रोजेक्ट Burn Hospital सञ्चालनको विषयमा नेपालको वर्तमान परिवेशका बारेमा सूक्ष्म अन्तरक्रिया गरियो। यो हस्पिटल नेपालमा बन्दै थियो। आगोबाट जलेको र जन्मिदै ओठ खुँडे भएको बालबच्चाको ओठको शल्यक्रियाद्वारा दुरूस्त बनाउन योग्य डा. राईज्यूसँग भलाकुसारी गरेर जलनबाट हुने मानव क्षति र उपचार बारेमा बुझ्ने अवसर मिलेको थियो। हामीले डा. राईलाई अमेरिकामा एकसाथ स्वागत र आभार प्रकट गर्न पाउँदा सौभाग्य महसुस भएको थियो।
२८औं र २९औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस
अमेरिकामा रहेका आदिवासीहरूको सम्पूर्ण १८ संस्थाहरूको धरोहर नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिपना) को आयोजनामा २८औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस संयुक्त राज्य अमेरिकाको न्यु योर्कमा भव्य ¥यालीका साथमा सम्पन्न गर्यौं। यस कार्यक्रममा किरात भेषभूषा, बाजा, ब्यानर सहित युक्रा न्यु योर्क च्याष्टरले निकै ठूलो तामझामका साथ ¥याली लगेको थियो। २९औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसमा पनि हाम्रो अतुलनीय सहभागिता रहेको थियो। यस ¥यालीमा केन्द्रीय अध्यक्ष मुक्ति वान्तवा राई र अन्य अग्रजहरूको भव्य सहभागिता जनाउन पाउँदा युक्रा आकर्षणका केन्द्र बन्न सफल भयो। आफ्नो जन्मभूमिबाट टाढा रहेर पनि आफ्नो संस्कार संस्कृतिको लागि यसरी नेपालको चिनारीको योगदान गर्न पाउँदा गर्वले मेरो मन प्रफुल्लित थियो।
च्याष्टरका साकेलाहरूमा सहभागिता
मेरो कार्यकाल सुरु भएको सालबाट नै हामी लगातार डिएमभिपी च्याष्टरको निमन्त्रणालाई शिरमा राखेर साकेला उँभौली नछुटाई जाने गर्थ्यौं। झिसमिसेमा गएर, साकेला मनाएर फर्किनुपर्ने भएता पनि छुट्टै जाँगर, जोस र आफ्नोपनले औधी खुसी मिल्थ्यो। वर्षभरि कामको चापले र आफ्नै रुटिनअनुसार सबैको दौडधूपको कारण भेटघाट कुराकानी हुन नपाए पनि वर्ष दिनको चाड साकेलामा भेट हुने, भलाकुसारी गर्न पाइने र दूरीको हिसाबले नजिक भएको कारण सहजै न्यु योर्कबाट डिएमभिपी जान्थ्यौं। युक्रा डिएमभिपी च्याष्टरले न्यु योर्कलाई नछुटाई निमन्त्रणा गर्नुहुन्थ्यो। कहिले कहीँ त हामी साकेलासँगै पाहुना खान घरघर पुग्थ्यौं। कस्तो छुट्टै प्रकारको मौसम अनि वातावरण न्यु योर्कभन्दा बाहिर जाँदा मलाई आफ्नै ठाउँ, गाउँतिरको आफ्नोपन स्मरण हुन्थ्यो। शान्त र सफा ठाउँ, हरियाली र प्राकृतिक बनावट फरक साथै त्यहाँको आत्मीयताले मन छुने गर्थ्यो। त्यस्तै टेक्सास (ट्याफ) च्याष्टरको साकेलामा पनि न्यु योर्क च्याष्टर जाने गरेका थियौं। मेरो इच्छा हुँदाहुँदै पनि टेक्सास साकेला भने मैले जाने समय निकाल्न सकिन। पहिले छुट्टी नमिलेर पछि मेरो बिरामी बाबा छोडेर जान सकिन। तर मेरो एक न एक पटक जाने धोको पूरा गर्नु छ, गर्ने छु यो मेरो सपना हो।
युक्रा न्यु इङ्ग्ल्यान्ड च्याष्टर २०२४ उँभौली
किरात नयाँ वर्ष यलेदोड ५०८४ को उँभौलीको अवसरमा युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको न्यु इङ्ग्ल्यान्ड च्याष्टरले ६ जनवरी २०२४ मा केपकोडको च्याथम सहरमा न्यु योर्क च्याष्टर परिवारलाई निमन्त्रणा दिनुभयो। हामीले हर्ष र उल्लासका साथ त्यो निमन्त्रणालाई स्वीकार गरेर गयौं। त्यस समुदायको एकता र सम्मान भाव देखेर मलाई यस्तो महसुस भयो कि रगत नाता नै हुन जरुरी रहेनछ। जो रगतको नाताबाट पाउने सत्कार, माया र आफ्नोपनभन्दा प्रगाढ र उच्च थियो। जीवनको यो वसन्तसम्म आइपुग्दा वास्तवमै नयाँ ठाउँहरूमा खेल्दै, रमाउँदै जाँदा यस्तो ऐतिहासिक र अविस्मरणीय माया र सद्भाव प्राप्त भएको यी मीठा पलहरू यो मानसपटलमा सदा सजिइ रहने नै छ।
साकेला उँभौली भव्य रूपमा सम्पन्न भएको थियो। जहाँ धेरै अग्रजहरूको उपस्थिति थियो। युक्रा न्यु इङ्ग्ल्यान्ड च्याष्टरका अध्यक्ष कर्ण ब. राईको अध्यक्षता र केन्द्रीय अध्यक्ष जय थुलुङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त उँभौली समारोहमा केपकोड नेपाली समाजका अध्यक्ष केबी राई, न्यु ह्याम्पशर राज्यका नेपाली सद्भावना दूत शिवकुमार राई, साकेला थान परियोजनाको संयोजक विष्णु कुमार राई, न्यु योर्क राज्यका नेपाली सद्भावना दूत केशवराम राई, महासचिव मुक्ति नारायण राई, संस्थापक सदस्यहरू धौलवीर राई, कानुनी सल्लाहकार सुरेश चाम्लिङ, अन्तर्राष्ट्रिय कराँते प्रशिक्षक पर्खी खालिङ, सांस्कृतिक कार्यक्रम संयोजक लक्ष्मीकुमार राई लगायत न्यु ह्याम्पशर, म्यासाचुसेट्स, न्यु योर्क र कनेक्टिकट राज्यमा बसोबास गर्नुहुने नेपाली सङ्घ संस्थाका अतिथिहरूको बीचमा सानदार, चुस्त व्यवस्थापन र सजिसजाउमा उँभौली साकेला समापन भएको एक उत्कर्ष क्षण मानसपटलमा अविस्मरणीय छ।
नाक्छुङ, पुर्खा र तोकायाहरूको सम्मान
युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले किरात संस्कृतिको लागि अनगिन्ती योगदान गर्दै आएको सर्वविदितै छ। ती सहयोग पुर्याउने नाक्छुङ र तोकायाहरूलाई सम्मान गरिएको थियो। युक्राको तर्फबाट २०७९ फागुन ३ गते सोलुखुम्बू जिल्ला, दूधकोसी गाउँपालिका-१ मा विशेष कार्यक्रम गरी ठूलो सम्मान गरिएको थियो। जुन सम्मान कार्यक्रमको संयोजन मैले गरेकी थिएँ।
म नेपाल गएको अवसरमा यो सम्मानको जिम्मेवारी बोकेर गएकी थिएँ। जुन नोक्छुङ र तोकायाहरूलाई सम्मान गर्ने कार्यक्रम युक्राको केन्द्रीय बैठकबाट पारित गरिएको थियो। उक्त निर्णय लिने संस्थाका सदस्यहरूले सोचेभन्दा उचाइमा सकारात्मक बनिदिनुभएको थियो। सम्पूर्ण अग्रजहरूबाट म हर्ष विभोर पनि भएकी थिएँ। त्यो खुसीको उत्कर्ष व्यक्त गर्ने शब्द भेटिन। मैले त्योभन्दा अगाडि पनि नेपाल जाँदा केही सहयोग कार्यक्रमहरू मेरो व्यक्तिगत गच्छेले गर्दै आएकी थिएँ। यस पटक संस्थागत रूपमा गर्न पाउँदा अझै मलाई गर्व र भाग्यमानी महसुस भयो।
युक्राबाट पाएको रकमबाट जाडोमा लगाउने ज्याकेट, शिरमा फेटा, हातमा नगद रकम, बोटलमा कोदोको रक्सी र सम्मान-पत्रले सम्मान गर्ने निर्णय गरें। त्यस कार्यक्रममा उपस्थित हुनेलाई खाजा र चियाको व्यवस्था गरिएको थियो। गाउँको अति सक्रिय संस्था जुभिङ युथ सर्कल टिमलाई व्यवस्थापनको जिम्मा दिएकी थिएँ। उहाँहरूले सम्पूर्ण काम गर्नुभयो। मलाई अन्तरआत्माबाट खुसी, साहस र सफलताको अनुभूति यस संस्थाको व्यवस्थापनले दियो। जुभिङ युथ सर्कलप्रति सधैं हार्दिक आभार प्रकट नगरी रहन सक्दिनँ।
जुन पल नोक्छुङ र तोकायाहरूले दिएका आशीर्वाद, माया र उहाँहरूका ओठका मुस्कान अन्तर हृदयबाट महसुस गरिरहेकी थिएँ। युक्राको नाम र कामलाई उहाँहरू सबैले बडो प्रशंसा गर्नुभयो र आशीर्वाद दिनुभयो। गाउँभरिका सम्पूर्ण आमाबाबा, दाजुभाइ, दिदीबहिनी, विद्यार्थी, शिक्षक, हस्पिटलका स्टाफ, गाउँपालिका र वडाका सम्पूर्ण अग्रज साथै समाजसेवीहरूको त्यो भव्य उपस्थिति, समर्थन र माया अविस्मरणीय रह्यो। यो मानसपटलमा कहिले पनि नमेटिने छाप बनेको छ।
भुट्नजि राई BKROA साकेलामा सहभागिता
किरात राईहरूको पितापुर्खाहरू विभिन्न कालखण्डमा सङ्घर्ष गर्दै जीविकोपार्जनका क्रममा विश्वभरि नै छरिएर पुगे। जहाँ बस्यो, त्यही ठाउँमा फैलिए र आफ्नो संस्कार, संस्कृतिको रोपण गरे। एउटै बाजेका सन्तानहरू विविध भौगोलिक परिवेशमा फैलिँदै जाँदा कोही भुटानमा पुगे र फैलिए। यसरी भुटान पुगेका किरात वंशहरू भुट्नजि किरात राई भनेर चिनिए। उनीहरूको संस्था भुट्नजि किरात राई अर्गनाइजेसन अफ अमेरिका निकै प्रभावशाली संस्था हो। उहाँहरूले आयोजना गरेको उँभौली साकेलाको अवसरमा युक्रालाई पनि निमन्त्रणा गरेका थिए। हामीले युक्राको प्रतिनिधित्व गर्दै न्यु योर्क च्याष्टर परिवारले सहभागिता जनायौं। मे २६, २०२४ बिहान ७ बजेतिर हिँड्यौं। हामी सबैको मन चङ्गा र हर्षोल्लासले भरिएको थियो।
हामी जब हरिसँग साकेला थान पुग्यौं, त्यहाँ गाडी पार्किङ गर्दागर्दै ढोल र इयाम्टाको आवाज गुन्जिएको सुनियो। हतार-हतार ती इयाम्टा र ढोल बजिरहेको आवाजतिर आँखा तन्काई हेर्न पुगें— ओह! राई भेषभूषामा धनुषबाण र किरात झन्डा भिरेका लस्करै सैन्य फर्मेसन जस्तै देखिने युवायुवतीहरू ठूलो चौरभरि देख्दा शब्दले बयान गर्न नसकिने अति नै चमत्कार जस्तै लाग्यो। यति धेरै सुन्दर किरात राईहरूको लाइन ११ वर्ष भइसक्दा अमेरिकामा मैले कहिल्यै देखेको थिइन।
काठबाट बनाइएको फूलैफूल, किरात राईहरूको परम्परित कलाले सजिएको गेट, छिर्न अगावै हामीलाई स्वागत गर्न तीन चारजना धामीहरूको साथमा बाजा, खादा, माला, फेटा, दोसल्ला ओढाएर भव्य स्वागत गर्दै सुम्निमा पारुहाङको थान दर्शन गराउनुभयो। हामी ट्राफिक जामले केही ढिला पुगेका थियौं। त्यहाँ औपचारिक कार्यक्रम सुरु भइसकेको रहेछ। त्यो औपचारिक कार्यक्रमलाई थाती राखेर युक्राको नाम लिँदै कार्यक्रम सञ्चालकले माइकबाट होस्ट गरिरहनुभएको थियो। यसरी हामीलाई विशेष महत्त्व दिनुभएको पल मलाई यस्तो महाराजा, महारानी अथवा राष्ट्रको ठूलै मान्छे प्रवेशमा छौं झैं लागिरहेको थियो।
मैले नेपालमा पनि त्यस्तो भव्य साकेला कला देख पाएको थिइन। हाम्रा बाबु बाजेहरू एउटै हुन्, हाम्रो संस्कृतिहरू जोगाउनुपर्छ भनेर युवायुवती, वयस्क र बृद्धबृद्धा सबै एकजुट भएको देखें। खै कसरी व्यक्त गरौं म त्यो गर्वले मन ढक्क फुल्ने कलाहरू र किरात, किरातिनीहरूको संस्कारी व्यवहार, पुर्खौली सामग्रीहरू ठेकी, हलो, जुवा, चुला, ढिकी, चर्खा, बिनायो, मुर्चुङ्गा आदि सजिएका थिए।
साकेला सिली प्रतिस्पर्धात्मक थियो। हामीले पनि प्रतियोगितामा भाग लियौं। त्यो प्रतियोगिता जित्नेभन्दा पनि युक्राको तर्फबाट सहभागिता जनाउने उद्देश्य थियो। हरेक प्रतिस्पर्धी टिमले केही न केही किरात राईहरूको संस्कृति झल्काएका थिए। ती अचम्मै लाग्ने सुन्दर प्रस्तुतीको बयान यहाँ शब्दले दिन सक्तिन। हामीले कुनै स्थानको अपेक्षा नहुँदा पनि हामीलाई अनुशासनको प्रमाण-पत्र र पाँच सय डलर प्रदान गर्नुभयो। सुरुबाट नै सबैको प्रस्तुती देखेर आतिदै थिए भाइबहिनीहरू। मैले उनीहरूलाई थम्थमाएँ, हामी जित्न हैन प्रतिनिधित्व गर्ने हो युक्राको भनेकी थिएँ। आफ्नो संस्कारप्रतिको चाख र इमान्दारिता प्रकट गर्ने हो भनेर। यसरी नै जे जस्तो थियो हामीले प्रस्तुती दियौं। ज्यादै रमाइलो भयो। बिसौंभन्दा पनि बिर्सन नसकिने त्यो मीठो सद्भावले ओतप्रोत भुट्नजि किरात राई अर्गनाइजेसन अफ अमेरिकाको अमूल्य सम्मान र सम्झनाका सौगातहरू मनमा सदा ताजा सजिरहेको छ।
यलम्बर नाइट अर्थात् बलिहाड चाड
तीहार किरात राजा बलिहाडले प्रारम्भ गरेका हुन्। मेरो कार्यकालको तीनै वर्ष यलम्बर नाइट अर्थात् तीहार मनायौं। हामी केटाकेटी हुँदाको यादहरू ताजा बोकेर आएका छौं। युगौं अगाडिबाट नेपालमा बाबुबाजेले मनाउँदै आएको चाड हो तीहार। झलमल्ल बत्ती र फूलैफूलले सजाएर र आफू पनि सजिएर देउसीरे र भैलोको भाकामा नाचेर हामीले मिठा-मिठा खानेकुराहरूका साथमा मनाउन पाउँदा मनमा खुब खुसी छाउँथ्यो।
तीहार चाडका लागि न्यु योर्कका सम्पूर्ण युक्रा परिवार भेला भएर रमाइरहँदा सम्पूर्ण दुःख र कष्टहरू थाती राखेर हर्ष र उमङ्गको श्वास फेर्न पाएको महसुस हुन्थ्यो। हामीले स्वेच्छाले सहयोग उठाएर संस्थाको लागि रकम सङ्कलन गर्न वरिष्ठ कलाकारहरूलाई गाउन र नाच लगाएर देउसीभैलो खेलेको विगत महसुस गराउने प्रयास गर्थ्यौं। यो सफल पनि भएको थियो। प्रत्येक वर्ष केही न केही नयाँपन दिन सकेको महसुस भएको छ। हामीले तीहारलाई साकेलापछि दोस्रो चाडको रूपमा मनाउँदै आएका थियौं।
न्यु योर्क च्याष्टरको केन्द्रीय साकेला २०२४
युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) ले हरेक वर्ष केन्द्रीय साकेला सबै च्याष्टरहरूमा पालैपालो मनाउँथ्यो। सन् २०२४ को साकेला न्यु योर्क र डिएमभिपी च्याष्टरमध्ये एकले आयोजना गरिनुपर्ने प्रस्ताव आएको थियो। डिएमभिपीको साकेला आयोजना नगर्ने निष्कर्ष आएपछि न्यु योर्क च्याष्टरले आयोजना गर्नुपर्ने परिस्थिति सिर्जना भएको थियो। त्यसैले केन्द्रीय बैठकबाट प्रस्ताव पारित भयो। यस वर्षको साकेला न्यु योर्क च्याष्टर आयोजक रहने भयो। मैले कार्यक्रमको न्यु योर्क कार्य समितिमा प्रस्ताव राखें। बैठकमा सबैबाट सकारात्मक विचार आए पनि केही सदस्यहरूबाट केन्द्रीय साकेला न्यु योर्क च्याष्टरबाट गर्न नहुने विचार पनि आएको थियो। यद्यपि कार्यक्रम गर्ने प्रचार भइसकेकाले च्याष्टरपछि हट्न सक्ने स्थिति थिएन। यसकारण कार्य समिति तयारीमा लाग्न थाल्यो। हामी कार्यक्रम ऐतिहासिक रूपमा सफल बनाउन लाग्यौं। किरात राईहरूका परम्परागत सामग्रीहरू हलो, जुवा, सारङ्गी, डोको, थुन्से, ढिकी, चर्खा, बिनायो, मुर्चुङ्गा, नाङ्लो, डालोदेखि सम्पूर्ण गरगहनाहरू प्रदर्शनमा राख्ने तयारी गर्न थाल्यौं र सफल पनि भयौं।
साकेला कार्यक्रमको अवधिमा जनशक्तिको अभाव खट्केको महसुस भयो किनभने खानाहरू समयमा ल्याउन नसक्दाको पीडा भने ताजा छ। पाहुनाहरूका खाना घरमा बनाएका थियौं। उक्त खाना कार्यक्रम स्थलमा पुर्याउन घरको तीन चार तलामाथिबाट झारेर गाडीमा लोड गर्न जनशक्तिको अभावले कठिनाई परेको कुराबाट शिक्षा हासिल गरेका थियौं। ताकि यस्ता ठूला कार्यक्रमहरूमा खाना बाहिरबाट मगाउनुपर्ने रहेछ।
काम गर्दै जाँदा जति नै राम्रो गर्छु भने पनि केही न केही समस्याहरू आउँछन् नै। केन्द्रीय तथा च्याष्टरको आयोजना भएकाले साकेलामा पाहुनाहरू प्रशस्त आउनुभयो। मूलतः यो केन्द्रीय स्तरको साकेला थियो। अधिल्लो दिनको बिहानैबाट आयोजकहरू साकेलाको तयारीमा जुट्नुभएको थियो। सबै केन्द्र र च्याष्टरहरूसँग भेटघाट हुन पाउँदाको खुसी अद्भुत थियो भने अतिथिहरूलाई समयमा नै खानपान पुर्याउन नसक्दाको पीडा अझै अद्भुत बन्यो। पाहुनाहरूलाई दिनुपर्ने जुन सम्मान हो त्यो दिन नसकेकोमा मन खिन्न भए पनि समग्रमा साकेला भव्य रह्यो।
आफू आयोजक भएकाले पाहुनाहरूसँग भलाकुसारी गर्दै कार्यक्रमलाई चुस्त बनाउन बिहानैबाट पार्कमा खटिएँ। वर्ष दिनको उँभौलीको उमङ्गले जोस जाँगरले मन भरिएको थियो। सफा मौसम, खुला आकाशमुनि चराहरू चिरबिराइरहेका थिए। सिरसिर हावाले पातहरू हल्लिरहेका थिए।
भुट्नजि किरात राई अर्गनाइजेसन अफ अमेरिकाबाट अति नै सुन्दर साकेला टिम धामी सहित आउनुभयो। उहाँहरूको उपस्थितिले कार्यक्रमको रौनक बढाएको थियो। क्युइन्स वृज पार्क साँच्चिकै ढोल इयाम्टाको आवाज र किराती भेषभूषाले रङ्गिएको पल अनि सम्पूर्ण अग्रजहरूसँगको भेटघाट यो मन भरि भुल्नै नसकिने असिम याद बनेर बसेको छ।
लेखक UKROA न्यु योर्क च्याष्टरको पूर्व अध्यक्ष हुनुहुन्छ।

Post Comment