Sign In

के म अमेरिकाबाट फर्कन्छु?-जसकुमार राई, न्यु योर्क, अमेरिका


जसकुमार राई, न्यु योर्क, अमेरिका

पृष्ठभूमि

म लाहुरे राई परिवारमा दिप्सा भोटेछाप भोजपुरमा जन्मेँ। बाबाको २२ वर्षे ब्रिटिस गोर्खा लाहुरे जीवन परदेशमा बित्यो। अवकाशपछि बाबाको रहर पुर्खाको घर भोजपुर नछाड्ने थिएछ। हङकङमा छ वर्ष बाबासँग पल्टनीया पारिवारिक जीवन बिताउनु भएकी आमाले हङकङको विकास र जीवनशैली देख्नु भएको थियो। त्यहाँको पढेलेखेका मानिसहरूका जीवन नियाल्नु भएको थियो। आमाले रुँदै यो स्याल रुने पहाडमा छोराछोरी नपढाइ बस्न सक्तिन भन्ने अडानले बाबाको जन्मस्थल छोड्ने पहिलो कारण बन्यो।

छोराछोरीको भविष्यका लागि उचित शिक्षा र स्वास्थ्यका लागि झिटिगुन्टा बोकेर धरान झर्यौं। आमा छोराछोरीको शैक्षिक भविष्य उज्वल बनाउने सपना बोकेर धरानमा उत्साहित हुनुहुन्थ्यो। गाउँमा नै केही गर्ने बाबुको सपना रित्तिएर बाबा धरानमा गुनासो पोख्नुहुन्थ्यो। आमा सङ्घर्षको मूलाधारमा हामी सबैलाई उभ्याएर हौस्याइरहनुहुन्थ्यो। आमाबाबा धरानमा प्रदेशी भएर सङ्घर्षमा डुब्नुभयो। हामी सन्तानको सुन्दर भविष्यको निम्ति बलिदान हुनु नै आमाबाबाले पहिलो कर्तव्य ठान्नुहुन्थ्यो।

धरान बसाइँ झर्दा म चार वर्षको मात्रै थिएँ। धरानमा मेरो विद्यालय शिक्षा र कलेजको उच्च शिक्षाको दौडमा दुई दशक मिलिक्कै बित्यो। धरानको ११ वार्डको मङ्गलबारेमा सानो चार कोठे काठको घर, त्यो घरको आत्मीयताले धरान छाड्न मन थिएन। सपनाले धरान छाडेर उच्च शिक्षा, आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्न सात वर्ष काठमाडौं बसें। सात वर्ष बसेको काठमाडौं फेरि धरानकै लागि छाडें।

धरान बसेर मिडिया क्षेत्रका सपना र सङ्घर्षको बाटो

धरानमा विजयपुर एफएम सञ्चालनको लाइसेन्स लिएर फर्किएँ। सन् २००७ को अन्तमा काठमाडौंको झिटिगुन्टा ट्रकमा हालेर काठमाडौंबाट धरान फर्किँदा कुनै हौसला र धराने सपनाहरू थिए। धरानमा फेरि अर्को सङ्घर्षको लागि फर्किएँ। देश गणतान्त्रिक नेपाल भइसकेको थियो। गणतन्त्रमा जीवनको उल्लास थियो। धरानमा उत्साह र जोसका साथ एफएम सुरुवात भयो। गणतान्त्रिक पूर्वी नेपाल, किरात प्रदेशको अफिसियल एफएम बनाउने सपना थियो। धरानका विभिन्न समुदायका पचास सेयर सदस्य एक करोडको लगानीमा एफएम खुल्यो।

एफएम खुल्यो तर यसको प्रचुर सम्भावना भए पनि विभिन्न कारणले चलेन। १८ घण्टाको लोडसेडिङले पहिलो भूमिका खेलेको थियो। बाँकी त आर्थिक र राजनीतिक केन्द्रीयताले एफएम चलेन। विजयपुर एफएमलाई किरात प्रदेशको प्रमुख मिडिया बनाउने सपना पनि त्यहीँ अड्कियो। एफएम सुस्तायो अनि म साइड लागें।

डकुमेन्ट्री र सपनाको देश

एउटा सपनाको ढोका बन्द भए पनि अरू विकल्प खुल्ला हुने रहेछ। एफएम सुस्तायो, मैले सञ्चालन गर्न सकिन, कर्मचारीलाई तलब दिन नसकेपछि नैतिकताको आधारमा एफएम छाडें। मलाई डकुमेन्ट्रीमा रुची थियो। मैले केही साथीहरूसँग मिलेर सामान्य क्वालिटीको क्यामेरा र साउन्ड रेकर्डर प्रयोगबाट २०३६ को छिन्ताङ हत्याकाण्डको विषयमा अनुसन्धान गर्न थालें। हामीसँग पैसा नभए पनि स्वतःस्फूर्त काम गर्यौं। हामीलाई यो काम गर्न पाँच वर्ष नै लाग्यो, “छिन्ताङ डज नट बिलिभ्स इन टियर्स” बनाउन।

पाँच वर्षपछि सन् २०१२ मा डकुमेन्ट्री तयार भएको थियो। डकुमेन्ट्रीले आदिवासी जनजाति चलचित्र महोत्सव २०१२ मा सहभागी हुँदा आँखा खुसीले भरिएको थियो। त्यही वर्ष हङकङ, बेलायत र क्यानडाको टोरोन्टो नेपाली फिल्म फेस्टिभलमा पनि प्रदर्शनी भयो। यसबाट अरू थप हौसला मिल्यो। हङकङ र बेलायतमा त आफै सहभागी भएर डकुमेन्ट्रीलाई व्यवसायिक प्रदर्शन गर्न पाउँदा अझ गौरव र हौसला मिलेको थियो।

सन् २०१५ मा “सेक्रिफाइस नेभर डाइस” डकुमेन्ट्री कम्युनिस्ट लिडर रत्नकुमार बान्तवाको विषयमा बनाएँ। उनी इलामका हुन्। त्यही डकुमेन्ट्री अमेरिकाको “ग्लोबल फिल्म फेस्टिभल २०१५” सहभागी हुने मौका पायो। अमेरिकाको यो प्रदर्शनपछि सन् २०१५ देखि अमेरिकामा दुःखसुख बसोबास गरेको पनि एक दशक भयो। न्यु योर्कमा सपरिवार बसेको आठ वर्ष भयो।

अब नेपाल फर्कन्छु?

बैङ्क कर्जामा डुबेका झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाई राजा फर्काउन “आओ आओ” भनेर गाडी गुडाए जसरी प्रदेशीहरूलाई नेपाल फर्काउने राजनीतिक र सांस्कृतिक आन्दोलन कहिले हुने छैन। मलाई राम्ररी थाहा छ, अझ अमेरिका छिरेपछि यहाँको आर्थिक नीतिहरूले यसरी थिच्छ कि उठ्न वर्षौं लाग्छ। घर, गाडी, पढाइको ऋणको थाकमा अनि सोसल सेक्युरिटीको आसमा औसत आप्रवासी अमेरिकी जीवनको तीस वर्ष यतै अल्मलिन्छ।

नेपालका राई नेटिभ नेपालीको पहिचानले चिनिन्छन् अमेरिकामा। म चाहिँ मेरो खुसी वा दुःखले अमेरिकामा छु। वर्तमानमा मेरो संस्कृति र भाषा नेपालीपनमा जोडिएको छ। अझ भनौं, म नेपालको नेटिभ राई नेपाली अमेरिकी भएको छु। नेपालमा तीन सय वर्षदेखि नेपाली भाषा र संस्कृतिको साम्राज्यमा किरात राई भाषा र संस्कृति र पहिचान दमनमा रहेको छ। दमनमा परेका भाषा र संस्कृतिको संरक्षण र संवर्धनका लागि सरकारसँग कुनै योजना छैन।

नेपालमा आदिवासी जनजातिहरूको मुद्दा ऐतिहासिक, सामाजिक, राजनीतिक र आर्थिक असमानतासँग जोडिएको छ। उनीहरूका आन्दोलन बहना बिनाको बगिरहेको डुङ्गा जस्तो ढुल्मुलिरहेको किनारा र मेसो नभेटिएको जसरी अल्मलिएको छ। नेपालको संविधानले ५९ आदिवासी जनजातिहरूलाई मान्यता दिएको छ। यसमा लिम्बू, राई, मगर, गुरुङ, तामाङ, थारू, शेर्पा र नेवार लगायत अन्य समुदायहरू पर्छन्। यी समुदायहरूले आफ्नो भाषा, संस्कृति, धर्म र पहिचानको अधिकारका लागि लामो समयदेखि सङ्घर्ष गरिरहेका छन्। तर अधिकांश राईले विदेशबाट पनि नैतिक समर्थन दिइरहेका छन्।

प्रदेशमा किरात संस्कृति साकेला उभौली र उधौली जोगाउन कठिन भइरहेको छ। नेपालको संविधान २०७२ ले आदिवासी जनजातिहरूलाई मातृभाषा, संस्कृति र स्वायत्तताको अधिकार दिएको भए पनि व्यवहारिक कार्यान्वयनमा छैन। राजनीतिक संरचनामा आदिवासी समुदायको प्रतिनिधित्व अपर्याप्त छ, विशेष गरी उच्च पदहरूमा अन्य जातको वर्चश्व भएको कारण वर्तमान नेपाल असन्तुलित, अशान्त र राजनीतिक स्थिरता छैन।

आदिवासीहरूको पुर्खयौली भूमि र जङ्गलका अधिकारलाई प्रायः नजरअन्दाज गरिएको छ। राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रहरूको कारण आदिवासीहरूलाई विस्थापित गरिएको छ। शिक्षा र भाषिक अधिकारका क्षेत्रमा आदिवासी भाषाहरूले शिक्षा प्रणालीमा उचित स्थान पाउन सकेका छैनन्। मातृभाषामा शिक्षाको अभावले आदिवासी बच्चाहरूमा शैक्षिक गुणस्तरमा समस्या बढेको छ। आर्थिक पिछडापनका कारण धेरै आदिवासी समुदाय गरिबी र बेरोजगारीका शिकार भएका छन्। उनीहरूको पारम्परिक जीवनशैली र आधुनिक विकासबीच सङ्घर्ष छ।

सांस्कृतिक पहिचान र भेदभाव आदिवासी संस्कृति र परम्परालाई प्रायः हीनस्तर ठहर गरिन्छ। जातीय भेदभाव र छुवाछुतको समस्या वर्तमानसम्म पनि विद्यमान छ। यी सबै हेरेर दुर्गा प्रसाई गोठालो गर्दै बस्ने नेपाल सरकारको कामको कमी कमजोरीको वर्णन हजारौं जिब्रो भएको शेषनाग पनि गलेर फत्रक्क हुन्छ। अब हामीलाई यहाँ आफ्नो राई भाषा त के नेपाली भाषा पनि जोगाउन निकै गाह्रो छ। अनि भाषा हराएका नेपालीहरू कसरी नेपालमा टिक्छन्।

वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उग्र राष्ट्रवादको नाराले वर्तमान विश्व ग्रस्त छ। अमेरिकालाई फेरि महान् बनाउने उनको यो सपना अमेरिकी श्वेत सर्वोच्चताको हुंकार हो। यहाँका नेटिभ अमेरिकनहरूको घाउमा नुनचुक छर्कनु जस्तै हो। यसले समग्रमा आप्रवासीहरूलाई त नीच र तन्नम देखाउँछ कि पैसाको लागि यिनीहरू थातथलो छाडिरहेका छन्।

थाहा छैन मैले यो शीर्षक किन राखें। मैले इमान्दार भएर यस प्रश्नको जवाफ आफैसँग मागेको छु – “म किन फर्कन्छु अमेरिकाबाट” उत्तर दिएको छु। पैसाले मानिसलाई कहिले पुग्दैन। पैसाको भासमा जकडिएपछि मानिस कहिले बाहिर निस्कन सक्दैन। अनि कसरी फर्कन्छ भन्नेहरू धेरै छन्।

एक दशकअघि अमेरिकामा अङ्ग्रेजसँग मैले सोधेको थिएँ – म नयाँ छु र फर्कन चाहन्थें। “कहिले फर्कने?” उनीहरू भन्थे “नानीहरू युनिभर्सिटी गएपछि।” वर्तमानमा आफैसँग प्रश्न गर्छु। जबकि उनीहरूका छोराछोरी युनिभर्सिटी सकेर विवाह गरेर घरजम्मा बसेका छन्। उनीहरू नातिनातिनासँग खेलेर सुखद भविष्यको लागि फेरि खुसी साथ डटेर लागिरहेका छन्।

फर्कनु त नेपालको अभाव, भ्रष्टाचार अनि गरिबीको लामो फेहरिस्त छ, नेपाल सरकारको नालायकीपनको खोइरो खन्नु पनि हाम्रो नियती बनेको छ। अमेरिकाको भौगोलिक अवस्था फरक छ। अमेरिकन नेपालीहरूका सपना नातिनातिनाको भविष्यमा स्थानान्तरण भएको छ। यसकारण मैले आफैलाई सोध्छु – “तँ कहिले नेपाल फर्कन्छस्?” मेरी जेठी छोरी निनिमा युनिभर्सिटीको तयारीमा छिन्। मेरो नेपाल फर्कने न सुर छ, न पैसा छ। मेरो नेपालमा बाटो हेरी बस्ने न कोही आफन्त छन्। मेरी आमा दश वर्षदेखि बेलायतमा बस्नुहुन्छ। आमासँगै बहिनी र दुई भाइ पनि परिवारसहित बेलायत रहेपछि मेरो प्यारो धरान पनि स्मृतिमा मात्र जीवित छ। धरान विजयपुर एफएमका साथीभाइको सम्झना खपी नसक्नु लाग्छ।

अमेरिकामा आर्थिक अवसर राम्रो छ। अमेरिकाको न्यून स्तरको रोजगारीबाट पनि नेपालको तुलनामा उच्च स्तरको आय गर्न सकिन्छ। यहाँ डलरमा कमाएर आम्दानीलाई सञ्चय गरेर नेपालमा पठाउन सकियो भने जीवनस्तर सुधार गर्न सकिन्छ। मलाई नेपालको राजनीतिक अस्थिरता, बेरोजगारी, न्यून आयवृत्ति, असुरक्षित आर्थिक वातावरण आदिले फर्कन हतोत्साहित गर्छ।

अमेरिकाको अनुसन्धानमा केन्द्रित विश्वस्तरीय उच्च शिक्षाले विश्वभरिका विद्यार्थीलाई आकर्षित गरेको छ। नेपाली युवा विद्यार्थीहरू स्वतः आकर्षित हुने नै भए। अमेरिकन नेपालीहरू आफ्ना सन्तानहरूलाई अमेरिकी नागरिकता र उत्कृष्ट उच्च शिक्षा दिन चाहन्छन्। तत्कालीन नेपालमा आफ्नै भूमिमा दोस्रो दर्जाको नागरिक जीवन यापन गरिरहेका थियौं। यहाँ पनि त्यही दोस्रोमा लडिरहेका छौं। सरकारी कार्यालयहरूमा हामी मुर्गाको नामले स्थापित थियौं। वर्तमानमा पनि नेपालमा कुनै परिवर्तन भएको छैन।

मलाई नेपाल विद्युत् प्राधिकरणका प्रमुख ऊर्जा विद् कुलमान घिसिङको अपमान र बलपूर्वक बर्हिगमनले त झनै निराश र हतास बनाएको छ। अझ नेपालका अनुसन्धान र नवप्रवर्तनका वैज्ञानिक महावीर पुनलाई दिएको दुःखले नेपालमा योग्यलाई होइन नश्ललाई मात्रै हेरिन्छ भन्ने प्रष्ट हुन्छ। त्यही राजनीतिक अस्थिरता र भ्रष्टाचारले नेपालमा राजनीतिक अनिश्चितता सिर्जना भएको हो। यसले प्रवासी नेपालीहरू स्वदेश फर्कने विश्वास घटाएको छ। व्यापक भ्रष्टाचार र अक्षम प्रशासनका कारण व्यवसाय गर्न गाह्रो हुने भएकाले धेरै फर्किन हिच्किचाउँछन्।

मान्छेका सामाजिक र सांस्कृतिक सुरक्षाका कारण अमेरिकामा बसोबास गर्ने नेपाली समुदायहरू धेरै अमेरिकामा नै स्थायी जीवन बिताउन चाहन्छन्। केही उद्यमी प्रवासी नेपालीहरू नेपालमा व्यापार गर्न फर्किन सक्छन्। नेपाली किरात सामाजिक र सांस्कृतिक प्रेमले केही पारिवारिक दायित्व, जन्मभूमि र पुर्खौली सम्पत्तिको लागि फर्किन सक्छन्। यहाँ सेवानिवृत्तहरू बृद्ध उमेरमा नेपाल फर्कन चाहन्छन्। युवा नेपालीहरू जसले भविष्यको सुन्दर सपना बुनेका छन्, उनीहरू अमेरिकाबाट फर्कदैनन्।

अमेरिकाले आर्थिक सुरक्षा, भविष्यको आश्वासन र उच्च जीवनस्तरको सपना दिएको छ। नेपालमा राजनीतिक अस्थिरता छ, यसले सिर्जना गरेका अशान्ति, सीमित अवसर र व्यापक भ्रष्टाचार छ। यसले प्रवासीहरूलाई निराशासँगै अनिश्चित भविष्य मात्र दिएको छ। त्यसैले उनीहरू र मेरो भौतिक शरीर फर्कदैन।

नेपालको हावापानी, भूगोल ज्यादै सुन्दर छ। यहाँ विश्वको सर्वोच्च शिखर चोमोलुङ्मा छ, गौतम बुद्ध जन्मिए, नेपाली चाडपर्व त्यत्तिकै मनोरम छन्। नेपालका साथीहरू नहुँदा जीवन नर्क बन्छ। नेपालको त्यो आत्मीयता र पहिलो प्रेम कहिले बिर्सन्न। रहरहरूको थाकभित्र नेपाल जाने सपनाहरूको लम्बेतान विवरण छ, यो कसरी नराम्रो छ र। मेरो पहिचान र संस्कृतिको कारण नै वर्तमान जीवित छु। त्यही भएर मेरो थातथलोका लागि म फर्कन पर्छ भन्ने हृदयको तलमा मनोदशाले मलाई बारम्बार नेपाल फर्काउँछ। वर्तमान सपनामा पनि म नेपाली भाषामा नेपाल नै देख्छु, त्यसैले म नेपाल फर्कन्छु तर प्लेनको टिकट काटेर होइन मनले बारम्बार फर्कन्छु। यसकारण म गम्भीर अल्मलमा छु।

निष्कर्ष

अमेरिकामा लगभग तीन लाख नेपाली बसोबास गरिरहेका छन्। यो सङ्ख्या प्रत्येक वर्ष बढ्दैछ। यदि नेपालले आर्थिक र राजनीतिक स्थिरता बढाउँछ भने केहीले फर्किने सम्भावना छ। तर वर्तमान अधिकांशले अमेरिकालाई नै “सपनाको भूमि” मानिरहेका छन्।

लेखक पत्रकार हुनुहुन्छ।

 

Post Comment

Scroll to Top Scroll to Top Stretched