अमेरिकामा नेपाली सपना सङ्गर्ष, सम्भावना र बदलिंदो यात्रा-माधव गुरुङ
माधव गुरुङ, म्यान्चेस्टर, न्यु ह्याम्पसर
पृष्ठभूमि
अमेरिकालाई अवसरको देश भनेर वर्णन गर्दा सधैं एउटा परिदृश्य प्रस्तुत गरिन्छ- खुला आकाश, खुला सपना र बन्धनरहित सम्भावनाहरू। तर, प्रत्येक सपना र अवसरले आफनै किसिमको मूल्य माग्छ। पहिलो पुस्ताका नेपाली आप्रवासीहरूको लागि अमेरिका प्रवेश गर्नु केवल भौगोलिक दूरी मात्र होइन, सांस्कृतिक एवं सामाजिक मूल्य मान्यताहरूको पुनः निर्माण र नवीन परिभाषा खोजु पनि हो। भिन्न पहिचान, मूल्य मान्यता बोकेर हिमालै हिमालको विकासोन्मुख देशबाट समुन्द्रै समुन्द्रले घेरिएको संसारकै धनी देशसम्म आइपुग्दा म जस्तै पहिलो पुस्ताका हजारौं नेपालीहरूले नयाँ सपनाको खोजीसँगै आफ्नो अस्तित्वलाई पनि नयाँ शिराबाट उठाउनु पर्ने बाध्यता छ।
नेपालकै पर्यायवाची बनेको अस्थिर राजनीति, १० वर्षे जनयुद्ध अनि अत्यन्त क्षीण अवसरको चोटले नेपालीहरू नयाँ नयाँ मौकाको खोजीमा मेची महाकाली नाघेर विश्वभर छरिन पुगेका छन्। अवसर र सम्भावनाका लागि अग्र स्थानमा आउने अमेरिकामा पनि नेपालीहरूको बाक्लो उपस्थिति भइसकेको छ। अमेरिकी जनगणना अनुसार सन् २०२४ सम्म आइपुग्दा, करिब २ लाख हाराहारी नेपाली मूलका मानिसहरू अमेरिकामा बसोबास गरिरहेका छन्। न्यु योर्क, टेक्सास, क्यालिफोर्निया, मासाचुसेट्स (बोस्टन), भर्जिनिया एवं कोलोराडो जस्ता राज्यहरू नेपालीहरूको मुख्य केन्द्र बनेको तत्थ्याङ्कले देखाउँछन्। सन् २०१२ पछिको एक दशकमा अमेरिकामा नेपालीहरूको सङ्ख्या २५० प्रतिशतले वृद्धि भएको पाइएको छ। तर, त्यो सङख्याको उत्साहले तपसिलमा रहेका सङ्घर्ष, समर्पण एवं अनिश्चितताका व्यक्ति पिच्छेका फरक अन्तरकथालाई भने व्यक्त गर्न सक्दैनन्।
कानुनी सङ्घर्ष
अमेरिकामा कागज पत्र लागि प्रत्येक नेपालीका व्यक्तिगत एवं पारिवारिक कहानी बाहेक एउटा सामूहिक सङ्घर्ष रहेको छ-टिपिएस। नेपालीका लागि २०१५ को महा-भूकम्प पश्चात अमेरिका टेम्पोररी प्रोटेक्सन स्टाटसको व्यवस्था गन्यो। भू-कम्पले थिलथिलो भएको मुलुकबाट जुन २४ सन् २०१५ भन्दा अधि अमेरिका आएका तर काम गर्ने कागजपत्र नभएका नेपालीलाई कानुनी बसोबास गर्न पाउने प्रबन्ध टिपिएसले गन्यो। तर, हरेक पटक १८ महिनाको म्यादमा नवीकरण हुँदै आएको टिपिएसलाई सन् २०१८ मा डोनाल्ड ट्रम्प प्रशासनले अन्त्यको घोषणा गरिदियो। यसले टिपिएसको माध्यमबाट अमेरिकामा वैधानिक बसोबास गरिरहेका करिब आठ हजार नेपाली आप्रवासीहरू अकस्मात अनिश्चित भविष्य तर्फ धकेलिए। त्यसबेला टिपिएसबाहकको औषत अमेरिका बसाइँ आठ वर्षभन्दा बढी भइ सकेको थियो। कतिपयले यसबीचमा घर किनिसकेका थिए। व्यवसाय स्थापना गरेका थिए एवं नेपालमा रहेका आश्रितहरूलाई सक्दो सहयोग गर्दै थिए। टिपिएस अन्त्यले कानुनी बसोबासको अवस्था गुमाउने खतरा मात्र होइन, मानसिक असुरक्षा र आर्थिक क्षतिको भीषण जोखिम समेत उत्पन्न गन्यो।
टिपिएस अन्त्य गर्ने सरकारी निर्णय बिरुद्ध व्यापक कानुनी सङ्घर्षहरू भए। नेपाली समुदायले एसोसिएसन अफ नेपालजि इन द अमेरिकाज, गैर आवासीय नेपाली सङ्घ अमेरिका एवं अधिकार जस्ता संस्था मार्फत विरोध अभियान सञ्ञालन गरे। र, अन्ततः अदालतहरूका केही राहत प्राप्त भयो। सन् २०२० को चुनावबाट जो बाइडेन राष्ट्रपति निर्वाचित भएपछि टिपिएसले अन्ततः पुनर्जीवन पायो र २०२५ जुन २४ सम्मका लागि टिपिएसको नयाँ म्याद कायम गरिएको छ। तर गत नोभेम्बरको चुनावबाट फेरि राष्ट्रपति चुनिएका ट्रम्पले आफ्नो पुरानो नीति दोहोर्याए भने टिपिएसबाहेकको अवस्था के हुने भन्ने अनुत्तरित प्रश्न फेरि एक पटक टड़कारो बन्न पुगेका छ।
सांस्कृतिक सङ्घर्ष र पहिचानको द्वन्द्व
पहिलो पुस्ताका रूपमा अमेरिका आएका नेपालीहरूले भाषा, संस्कार र जीवनशैलीमा गहिरो सङ्घर्ष अनुभव गरिरहेका छन्। घरमा नेपाली भाषा बोल्ने, तजि, दशैं, तीहारजस्ता चाडपर्व मनाउँदै सांस्कृतिक मूल्यहरू जोगाउने प्रयास गरे पनि बाहिरी समाजमा उनीहरूलाई अमेरिकी जीवन शैली अनुकूल आफूलाई ढाल्नुपर्ने बाध्यता छ। ख्याती प्राप्त अमेरिकी अनुसन्धान संस्था पिउ रिसर्च सेन्टरको एक अध्ययन अनुसार पहिलो पुस्ताका ६८% नेपालीहरूले अङ्ग्रेजीमा पूर्ण आत्मविश्वासका साथ संवाद गर्न कठिनाइ महसुस गरेको बताएका छन् भने अमेरिकामै जन्मिएर हुर्किएको दोस्रो पुस्ताले नेपाली र अमेरिकी संस्कृतिबीच पुल हुन पाउँदा गर्व महसुस गरे पनि सङ्घर्षपूर्ण भएको बताएका छन्। अधिकांश दोस्रो पुस्ताका नेपाली अमेरिकीहरूले घरभित्र नेपाली संस्कार तर बाहिर अमेरिकी संस्कार र व्यक्तिगत स्वतन्त्रताले विरोधाभासपूर्ण जीवन बिताउनु परेको समेत उल्लेख गरेका छन्।
पेसागत सङ्घर्ष र चुनौती
अमेरिका आई पुगेका पहिलो पुस्ताका नेपालीको जीविकोपार्जन र आत्मनिर्भरताको सङ्घर्षबारे धेरै हदसम्म समान कथा छन्। अधिकांश नेपालीहरूले अमेरिकाको प्रारम्भिक बसाइका दिनहरू ग्याँस स्टेशन (पेट्रोल:डजिल पम्प), रेस्टुरेन्ट, हाउसकिपिड, र निर्माण जस्ता क्षेत्रमा श्रम गरेर सुरु गरेका हुन्छन्। धेरैले नेपालमै उच्च शिक्षा लिएको भए पनि अमेरिकी पेसागत क्षेत्रको अनुभव हीनता र अङ्ग्रेजी भाषाको दक्षताको अभावले सामान्य श्रमिक जस्तै काम गर्न बाध्य हुन्छन्। तर, नेपालीहरूले त्यसलाई सङ्घर्षको रूपमा मात्र नभई, नयाँ अवसर र सिक्ने मौकाको रूपमा मनन गरेको कारण अहिले पहिलो पुस्ताका हजारौं नेपालीहरू साना व्यवसायी, ट्रक मालिक, स्टोर सञ्चालक र सेवा प्रदायक बन्न थालेका छन्।
सन् २०२२ को अमेरिकन कम्युनिटी सर्भे अनुसार, नेपाली मूलका अमेरिकीहरूको औसत वार्षिक आम्दानी ५८,००० डलर रहेको छ। सोही सर्भेले १२ प्रतिशत नेपालीले आफनै व्यवसाय सञ्ञालन गर्ने हैसियत बनाएको देखाउँछ भने विशेष गरी राई, गुरुङ, सेर्पा, लिम्बू, मगरलगायतको समुदायले साहस र लगनशीलता देखाउँदै आर्थिक आत्मनिर्भरता हासिल गरेको देखाउँछ।
अमेरिकी मूल धारमा पहिलो पुस्ताका नेपाली अनुहार
पहिलो पुस्ताका दर्जनौं नेपालीहरूले अमेरिकी मूल धारमा स्थापित भएर प्रशंसनीय काम गरेका छन्। आफनो काम र पहिचान अरु नेपाली अमेरिकीलाई पनि गौरवको अनुभूति गराउने केही प्रतिनिधि पात्रको यहाँ चर्चा गरिन्छ।
प्रवल गुरुङ अमेरिकामा स्थापित पहिलो पुस्ताका नेपालीहरूमध्ये सबैभन्दा अग्लो उचाई चुम्न सफल नाम हो। फेसन डिजाइनर गुरुडले आफनै ब्रान्डमार्फत विश्व फेसन मञ्चमा नेपाली नाम उजागर मात्र गरेका छैनन्, नेपाली अस्तित्व र पहिचानलाई नै नयाँ उचाई दिएका छन्। हलिउडदेखि बलिउडसम्मका कैयन कलाकर्मीहरूका अलावा मिसेल ओबामादेखि कमला ह्यारिस सम्मका विश्व विख्यात नेतृहरूले उनको डजिइनलाई पहिरिइ सकेका छन्। गुरुङ सामाजिक न्याय, विविधता र मानव अधिकारको प्रखर वहसकर्ता पनि हुन्।
सुरूङ़ परियोजनाका विशेषज्ञ भास्कर थापाले क्यालिफोर्नियाको काल्देकोट सुरुङ परियोजनामा नेतृत्वदायी भूमिका निभाए। उनले नवीन प्रविधिहरूको प्रयोग गर्दै अमेरिकी पूर्वाधार विकासमा उल्लेखनीय योगदान दिएका थिए। उनको सन् २०१३ मा अल्पायुमै निधन भयो। अमेरिकी अन्तरिक्ष संस्था (नासा) सँग आबद्ध वैज्ञानिक लुजेन्द्र ओझाले मङ्गल ग्रहमा पानीको प्रवाह भएको प्रमाण फेला पारेर अन्तरिक्ष अनुसन्धानमा इतिहास रचे। रुटगेर्स विश्वविद्यालयका प्राध्यापक ओझाले नयाँ पुस्तालाई विज्ञानमा करियर बनाउन प्रेरित गरिरहेका छन्।
मेरिल्यान्ड राज्यको प्रतिनिधि सभामा निर्वाचित पहिलो नेपाली मूलका अमेरिकी सांसद ह्यारी भण्डारीले शिक्षा नीति सुधार, आप्रवासी अधिकार र सामाजिक समानताको क्षेत्रमा नेतृत्त्व गरिरहेका छन्। टासी सेर्पाले स्थापना गरेको सेर्पा एडभेञ्चर गियर ले नेपाली हस्तकलालाई विश्वभरि फैलाए। व्यवसाय र सामाजिक उद्यममा नेपालीहरूको उपस्थितिलाई कम्पनीले थप उचाई दिएको छ। व्यापारिक क्षेत्रमा यो कम्पनीले नेपालका गाउँ-गाउँमा रोजगारी सिर्जना गर्दै, नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराएको छ।
किरण लिम्बूले नर्थ क्यारोलिनामा होटल तथा रेस्टुरेन्ट व्यवसायमा उल्लेखनीय सफलता प्राप्त गरेका छन्। उनले आप्रवासी समुदायभित्र रोजगारी सिर्जना र नेपाली खानाको प्रवर्द्धनमा योगदान पुर्याएका छन्। दिवेश पोखरेल (अर्थर गन) नेपाली पृष्ठभूमिबाट आएर गीत सङ्गीतकै माध्यमबाट अमेरिकामा पहिचान बनाउने व्यक्ति हुन्। उनले अमेरिकी गीती रियालिटी सो ‘अमेरिकन आइडल’ मा दोस्रो स्थानसमेत हासिल गरेका थिए।
सहाना श्रेष्ठ अमेरिकी मुलधारको राजनीतिमा पहिलो पुस्ताको नेपालीहरूको उपस्थितिलाई श्रेष्ठले थप उचाई दिन सफल भएकी छिन्। उनी न्यु योर्क राज्यको राज्यसभा सदस्य हुन्। सामाजिक अभियन्ता लक्ष्मी गुरुङले न्यु योर्कमा नेपाली महिलाहरूका लागि शिक्षा र स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै महिला सशक्तिकरणको मिसन अधि बढाएकी छन्। उनले नेपाली आप्रवासी महिलाहरूको आवाज बुलन्द गराउन भूमिका निर्वाह गरिरहेकी छन्।
नेपाली अल्पसङख्यक एवं आदिवासी जनजातिहरूको अवस्था
अधिकांश पहिलो पुस्ताका आम नेपाली आदिवासी जनजाति समुदायका राई, लिम्बू, मगर, सेर्पा एवं गुरुङहरूको अमेरिकी सपना अझै सङ्घर्षशील देखिन्छ। नेपालको राज्य संरचनामा कम उपस्थित भएका र पछाडि पारिएका यी समुदायलाई अमेरिकी सपना साकार पार्न चुनौतीपूर्ण छ। सन् २०२४ को अमेरिकी जनगणना अनुसार अमेरिकाभरि बसोबास गर्ने नेपाली मूलका मानिसहरू मध्ये करिब ३५-४०% आदिवासी जनजातिहरू छन्। उनीहरूमध्ये प्रायः धेरैले अङ्ग्रेजी भाषा नजानेर, सीप नभएर वा कागजात नहुनाले शारीरिक श्रममा आधारित कामहरू रोजु परेको देखिन्छ।
आदिवासी समुदायको शिक्षा र पेसागत यात्रा
माइग्रेसन पोलिसी इन्स्टिच्युटका अनुसार अमेरिकी नेपाली आप्रवासीहरूको औसत स्नातक दर लगभग ४०% रहेको छ, तर आदिवासी समुदायहरूमा यो सङ्ख्या करिब २५% मा सीमित छ। यद्यपि, यहीं जन्मिएको दोस्रो पुस्ता या अविभावकसँग सानो उमेरमा अमेरिका आइपुगेकाहरूले भने उत्साहजनक प्रगती गरिरहेका छन्। उदाहरणका लागि टेक्ससमा बस्ने लिम्बू समुदायका युवाहरू मध्ये ७०% ले कलेजस्तरको अध्ययन पूरा गरेका छन्।
न्यु ह्याम्पसर निवासी अव्रिता कुथुमी राई युनिभर्सिटी अफ न्यु ह्याम्पसरको इतिहासमै बेलायत सरकारद्वारा दिइने प्रसिद्ध मार्सल छात्रवृत्ति पाउने पहिलो र एकमात्र विद्यार्थी बनेकी छिन्। विश्वविद्यालयको डेढ सय वर्ष लामो इतिहासमा अव्रिताले सन् २०२२ मा यो छात्रवृत्ति पाएकी थिइन्। त्यसअघि सन् २०२० मा अव्रिताले अमेरिकाको प्रसिद्ध टुमान स्कलरसिप पनि पाएकी थिइन्। यसले के देखाउँछ भने अमेरिकामा बसोबास गर्ने आदिवासी जनजाति समुदायका मानिसहरूमा दोस्रो पुस्ता अर्थात आफ्ना छोराछोरीलाई उच्च शिक्षा दिलाउनु पर्छ भन्ने चेतना सुदृढ र बलियो छ।
आदिवासी समुदायमा पहिचानको बोझ र संरक्षणको प्रयास
अमेरिकाका करिब ३० भन्दा बढी सहरहरूमा राई, लिम्बू, गुरुङ, सेर्पा र मगरका सांस्कृतिक संस्था क्रियाशील छन्। हराउँदै गएको भाषा र संस्कृति जोगाउन करिब १० वटा संस्थाले आफनै मातृभाषा कक्षा, लोकनृत्य तालिम र चाडपर्व आयोजना गर्दै आएका छन्। तर, दोस्रो पुस्ताका करिब ६५% बालबालिका नेपाली भाषा बोल्न नसवने अवस्थाबाट गुज़रिरहेका छन्, जसले नेपाली पहिचान जोगाइ राख् चुनौती थपेको छ। यसैगरी आदिवासी समुदायमा संस्थागत उपस्थिति र नेतृत्त्वको स्थिति कमजोर छ। हालसम्म नेपाली मूलका करिब ३० जनाले अमेरिकी नगर र काउन्टी तहमा सार्वजनिक संस्थाहरूमा नेतृत्त्व लिएका छन्, तर ती मध्ये १०%भन्दा कम आदिवासी समुदायबाट छन्।
दोस्रो पुस्ताको राजनीतिक जागरण
टिपिएसको सङ्कट, सांस्कृतिक र सामाजिक विभेद्को अनुभवले दोस्रो पुस्ताका नेपाली अमेरिकीहरूलाई राजनीतिक रूपमा सचेत बनाएको छ। फ्रिमोन्ट, क्यालिफोर्नियाकी अनुषा गुरुङ, भर्जिनियाका प्रतीक राई लगायत धेरै राज्यका दर्जनौं नेपाली युवाहरू अमेरिकी राजनीतिक प्रक्रियामा प्रत्यक्ष संलग्न हुन थालेका छन्। पेउ रिसर्च सेन्टरको पछिल्लो तथ्याङ्क अनुसार दोस्रो पुस्ताका नेपाली अमेरिकीहरू मध्ये करिब ७५% ले यहाँको राजनीतिमा चासो राख्छन्। उनीहरू सामाजिक न्याय, शिक्षा सुधार, आप्रवासी अधिकार र जलवायु परिवर्तन जस्ता मुद्दामा सक्रिय छन्। यी युवाहरू नेपाली समुदायको मात्र होइन, सम्पूर्ण अमेरिकी समाजको भविष्य निर्माणमा योगदान दिइरहेका छन्।
सामुदायिक सङ्गठनहरू
नेपाली समुदायले एसोसिएसन अफ नेपालजि इन द अमेरिकाज, गैर आवासीय नेपाली सङ्घ अमेरिका, सेर्पा एसोसिएन अफ अमेरिका, किरात याक्थुङ चुम्लुङ अमेरिका, युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका, गुरुङ सोसाइटी जस्ता संस्थाहरूले नेपाली समुदायलाई शिक्षा, स्वास्थ्य, कानुनी सहायता र नागरिक अधिकारका सवालमा सशक्त बनाउने काम गरिरहेका छन्। यसअघि टिपिएस सङ्कटमा यी संस्थाहरूले सामूहिक लडाइँ अधि सारेको थियो। हाल उनीहरू नेपाली अमेरिकीहरूको राजनीतिक प्रतिनिधित्व बढाउन, मानसिक स्वास्थ्य सचेतना विस्तार गर्न र व्यावसायिक अवसर सृजना गर्न सक्रिय छन्। पहिलो पुस्ताका नेपालीहरूले अमेरिकी सपनाको हिस्सेदार मात्र नभएर, यसको निर्माता पनि भएको पुष्टि गरिरहेका छन्।
मानसिक स्वास्थ्य र सामाजिक कलङ्क
नेपाली आप्रवासी समुदायमा मानसिक स्वास्थ्य समस्या अझै पनि ट्याबु बनेको छ। घरेलु हिंसा, आन्तरिक आघात, सांस्कृतिक असहजता र कानुनी असुरक्षाले गर्दा पहिलो पुस्ताका धेरै नेपालीहरूले पिटिएसी र डिप्रेसनको समस्या भोगेका छन्। मेन्टल हेल्थ अमेरिकाको एक अध्ययनअनुसार आप्रवासी समुदायमा मानसिक स्वास्थ्य समस्याको दर अमेरिकी मूलधारको भन्दा ३०% बढी छ। तर नेपाली समुदायमा केवल १५% ले मात्र विशेषज्ञको राय सल्लाह लिन्छन्। सामाजिक कार्यकर्ता समिरा लिम्बूले नेपाली मेन्टल हेल्थ इनिसिएटिभ कार्यक्रम सञ्चालन गरेर नेपालीहरूलाई काउन्सिलिङ सेवा र मानसिक स्वास्थ्यप्रति सकारात्मक दृष्टिकोण अपनाउन प्रेरित गरिरहेका छन्।
नेपाली समुदायको भविष्य, सम्भावना र अबको बाटो
टिपिएस जस्ता कानुनी अस्थिरता समाधानमा सक्दो पहल गर्दै नेपाली मूलका अमेरिकीहरूले आफनो राजनीतिक प्रतिनिधित्व, शैक्षिक सफलताको दर, व्यावसायिक उपस्थिति र सामाजिक नेतृत्त्व बलियो बनाउनु पर्नेछ। नेपाली अमेरिकीहरूको भविष्य उच्च शिक्षा, उद्यमशीलता, सांस्कृतिक गर्व र नागरिक सक्रियतामा आधारित हुनेछ। दोस्रो पुस्ताका नेपाली युवाहरूले नेपाली र अमेरिकी पहिचानलाई सशक्त मिलनमा परिणत गर्दै छन्। सामान्य घरेलु व्यवसायदेखि प्रविधि स्टार्टअप, फेसन डिजाइनदेखि सामाजिक नेतृत्त्वसम्म नेपाली मूलका अमेरिकीहरू चम्किरहेका छन्। भविष्य अझै उज्यालो देखिन्छ। जहाँ नेपाली मूलका अमेरिकीहरू अमेरिकी मूल धारको एक अभिन्न हिस्सा बन्नेछन्।
नेपाली सपनाको पुनर्लेखनका लागि अमेरिकामा पहिलो पुस्ताका नेपाली आप्रवासीहरूले सुरु गरेको सङ्घर्षले अहिले एउटा समृद्ध यात्रा निर्माण गरेको छ। कानुनी एवं कागज-पत्रको सङ्कट, सांस्कृतिक चुनौती, आर्थिक सङ्घर्ष र मानसिक स्वास्थ्य समस्याका बाबजुद, नेपाली समुदायले आत्मविश्वास, सृजनशीलता र साहसका साथ आफूलाई नयाँ देशमा स्थापित गरेको छ। आज नेपाली मूलका अमेरिकीहरू केवल आप्रवासी मात्र होइनन्, उनीहरू उद्यमी, वैज्ञानिक, राजनीतिक नेता, कलाकार, सामाजिक अभियन्ता र भविष्यका सपना बुन्ने सर्जक हुन्। जुन दिन पहिलो पुस्ताको नेपालीहरूले सपनाका सहरहरूमा पाइला टेकेका थिए, त्यो यात्रा केवल जीविकोपार्जनको लागि थिएन। त्यो यात्रा नयाँ इतिहास लेखे, नयाँ अमेरिका बनाउने र नयाँ नेपाली पहिचान सिर्जना गर्ने यात्रासमेत थियो। र त्यो यात्रा अझै निरन्तर कायम छ। नयाँ पुस्ताका आँखाहरू अझै उज्याला छन्। उनीहरूको आवाज अझै बुलन्द छ र उनीहरूको सपना अझै सीमाहीन छ। अमेरिकामा नेपाली सपनाको पुनर्लेखन अझै जारी छ र भविष्य अझ गौरवपूर्ण देखिन्छ।
लेखक न्यु ह्याम्पसर नेपाली समाजका उपाध्यक्ष हुन् भने म्यान्चेष्टर सहरमा सञ्चालित आमस्केग हेल्थ सामुदायिक अस्पतालका बोर्ड अफ डाइरेक्टर हुन्। लेखकसँग म्यान्चेष्टर सहरका मेयरलाई युथ सर्भिसेस बोर्डमा सल्लाहकार भएर काम गरिसकेको अनुभाव छ।

Post Comment