Sign In

उद्घोष अस्तित्वको चिहानबाट-दीपा राई पुन

दीपा राई पुन, बोस्टन, अमेरिका

आफ्नै आँगनको सिमानाबाट हराएको
पुर्खाको इतिहास
गलत लेखेको छ, कलम धारी शासकले
समयको आँखामा कालोपट्टि बाँधेर
केरिरहेछ अन्धकारमा उसैले
उसैको सर्वोत्तम आका‌ङ्क्षाहरू
अहङ्कारको आयातीत बुट लाएर
कुल्चिरहेछ रैथाने सद्भावहरू
छद्मभेषी बनेर भनिरहेछ अनि
“हामी सबै एकै हौं।”
नझुल्कँदै घाम
बाग्मतीको पानीले बगायौ तिम्रा पापहरूलाई
यता दूधकोसीमा बगिरह्यो हाम्रा रगतका भेल बाढी
फुक्यौ बिगुल आतङ्कको
र पस्यौ, आदिवासी अस्तित्वको चिहान खन्न
चिहानबाट ब्यूँझदैछन् अब अस्तित्वको उ‌द्घोषहरू
थाहा छ पुर्खाको सृष्टि
थाह छ आफ्नै थातथलो
लडाई लड्नु अघि
उत्खनन गर्नु पर्छ अब
आफ्नो पुर्खा हराएको आँगनको प्रमाणहरू
वल्लो, पल्लो र माझ किरात
सम्पूर्ण किरात भूमि नै
छलछामको खेलमा हारेकै हो
माना मुरी फल्ने खोला खेत
एक माना घ्यूमा लिए
मित बाबुले
गढ, थुम, किपट
अधियारा नयाँ छिमेकीले लिए
बाँकी थियो करेसाबारी
मित लाएको निहुँमा मित ज्यूले लिए,

खै कोको आए, आँधी जस्तै आदिम बस्तीमा
र तहस-नहोस् पारे भूमे थान ।
खोज्नु छ, अस्तित्वको चिहानबाट
यति खेर
म पुर्खाको चिहानमा उभिएर
इमान नबेच्ने पुर्खालाई सेवा टक्राउँदै
तिम्रो चतुर्याईंको नाङ्गो सिली हेर्दैछु
धूर्त तिम्रो अनुहारमा
अनिष्ट भावहरू अझै सल्बलाउदैछ
अहो ! मभित्र पनि जाग्दैछ आदिवासी झाँक्री
तिम्रै आँगनमा उभिएर, तिम्रै अनुहारलाई अब
सधैंका निम्ति दफन गर्ने अभीष्ट इच्छा जागेको छ
जसलाई दुनियाँको कुनै पनि शक्तिले
मुक्ति दिने आँट गर्ने छैन !

Post Comment

Scroll to Top Scroll to Top Stretched