Sign In

इतिहास कित्ता माग – मनु लोहोरुङ राई

मनु लोहोरुङ राई, न्यु योर्क, अमेरिका

 

विस्तार गर्दै मेरा नाम
किन उमारिदै छन् अदृश्य युद्धहरू
म चाहन्छु बरु,
नाङ्गो आँखाले देखिने युद्ध नै सही
तर घातक प्रेम-पृष्ठ चाहिएको हैन ।
उही बेलादेखि पहाडलाई पुजेर,
नदीलाई ढोगेर मान्छेको आयु माग्ने म
जङ्गल र खोलालाई जल चढाएर
जगतकै सु-स्वास्थ्यको कामना गर्ने म
सहरबाट गाउँ पसेका करेली काँडा
मेरै कोखामा दारा गाड्दा खेरि
त्यो घाउमा वन मारा माडेर
लाउन किन पाउँदिन ।
कसले किन फाँड्दै छ,
हरेक पटक वन मारा वृद्धि
हरेक संविधानको धाराहरूले
किन मलाई
छेउ कटुवा जग्गा चर्चाउन बाध्य बनाउँदैछ
नेप्टो नाकमाथिको थेप्चो निधारभित्र
काउलोको लिसो बनाएर
कल्ले बाँकटे हानी रहेछ ।
र हरेक पटक
म चिप्ली लड्छु अपूरो सङ्ख्यामा
हाम्रो वायु घर, साकेला थानमा
कसले भजन गाउन थालेको छ,
अचेल र
ताण्डव नाचि रहेछन्,
अट्टहास हाँस्दै शासकीय नर्तकहरू
अस्तित्वको राँके मेलामा
फौज्दारी गर्नु पटक्कै रहर छैन मलाई
तर यत्ति मात्रै भन्छु अब

जिजुको डबकामा सरुवा पिउँदै
सुनी रहँदैनन् कारबारी जेठाले
कागको फुल चोर्ने कोइलीको कथा,
डिट्ठा बाको प्याउले लोरी र
अधिया बुद्धिको धापले
सुती रहँदैनन् माङ्ङ्घने कान्छाहरू
इतिहास साक्षी छ ।
संस्कृतिमाथि ठाडो हस्तक्षेप हुँदा नि
सहिष्णुता ओढेर सिरुपाते खुकुरी सुतेको हो
तर निदाएको छैन ।
जाइलाग्न नजान्ने सोझोले अब
आइलाग्ने बाङ्गोलाई बाँकी राख्दैन ।
केवल यति सम्झौतामा
कि सँगसँगै दोभाने खोला तर्ने छ
र रमिते ढुङ्गामा
अभावका साझेदारी गीतहरू गाउनै छ
छिमेकीसँगै त हो नि अर्म पर्म गर्ने
उति बेलादेखि दिमागी धारले
तिमी तिखारियौ म काटिएँ
जुन कथा सिरुपाते खुकुरीसँग
अझै दाप भित्रै सुरक्षित छ,
तर वर्तमानलाई खास,
बाजे बराजुले खनी खोस्री गरेको कित्ता
भस्मेदेखि आवादी हुँदाको ऐतिहासिक
एक फोगटा मात्रै मागेको हुँ ।

Post Comment

Scroll to Top Scroll to Top Stretched