Sign In

भूमिको गीत – आस्था कोपिला

आस्था कोपिला, दिप्रुङ चुइचुम्मा-६, खोटाङ

यो भूगोलबाट
सीमा स्तम्भ भत्किए झैँ भत्किएर
सपनाको झोला बोकी
आङ भरी उज्यालो लिएर
एउटा गाउँले भाका सुसेल्दै
दोबाटोको प्राचीन देउरालीमा
बहिनीले प्रेम उनेको
सयपत्री हार चढाइ
सूर्योदयमा टल्कने निर्मल शीतको
थोपा जस्तै
धर्तीका आँसुहरू आँखामा राखी
एक अङ्गालो सञ्जीवनी हावा
लिएर गयौ ।
एक हुल आँखाहरू टक्क रोकियो
सालिक बनेर
तिमीलाई छुने पार्श्व छाँयाको
क्षितिजसम्म
प्रतिध्वनित भयो ।
यही माटोमा उभिई
जूनको उज्यालो धर्तीमा
पोखिएको हेरेको हो।
ताराहरूको आकृति आँखामा
खिच्न सिकेको हो
यिनै धुले अक्षरको मन्दिरमा
कखरा सिकी
जीवन लेख्न जानेको हो।
सखारै मुस्कुराउने घामको सपना
हरियो बोट वृक्ष
सन्तानप्रति भरिएको आमाको विश्वास
चोखी सुनगाभाले खन्याएको
एक अञ्जुली प्रेम
मुस्कुराउने चोमोलोङमा
सहृदयी हातहरू
वसन्त फुलेको रहर
पखेरो, खर्क र गोठालोहरू
सबै छातीमा सजाई
अनन्त सिमाना पार गयौ ।
धेरै भयो
तिम्रा हुलाकीहरू आएका छैनन्
अझै गाउँ र सहर जोड्ने पुल
बनिसकेका छैनन्
जङ्‌घार नाघेर को आउँछ ? !!
समदर्शी युग हेर्न चाहने आँखा
धमिलो देख्न थालेको छ
भोकाएका साँझहरू मनकै
मझेरीमा सारङ्गी रेटिरहेछ
अँध्यारोमै बेअर्थ
चिर्बिउछन् चराहरू
फिक्का लालीगुराँस तिम्रै लाली
रङको पर्खाइमा छ ।
सपना रोएर गाउँमा
रुझेका छन्
घरका कौसी र बार्दलीहरू
यो देशको चिसो छहारीमा
विभेद्‌को अग्ला पर्खाल छेउ
आज पनि उस्तै छन्
दासताले टेकेको
यो भूमिको गीत ।

Post Comment

Scroll to Top Scroll to Top Stretched