सलाम छ टेम्केलाई

नरेन्द्र निर्विकार, दिप्रुङ चुइचुम्मा, खोटाङ
सगर जस्तै अग्लाई लिएर
सागर देखि उठेको तिमीलाई
किरात भूमिको पहिचान बनाइ राख्ख
साप्सू र पिखुवासँगै जुटेको तिमीलाई
सलाम छ टेम्केलाई
लाखलाख बार
सलाम छ टेम्केलाई
ओ टेम्के…।
चोमोलुङ्गालाई भेट्ने प्रतिस्पर्धामा
साहसिक अभियानमा अघि बढेका छौं
एउटा अनवरत यात्री झैँ
अथक यात्रामा,
तावा भञ्ज्याङ्गा पसिना पुछ्दै
चखेवा भञ्ज्याङ्गा एकै छिन सुस्ताएर
आफ्ना उच्च कदलाई सगरतिर उठाएर
उभिएका छौ,
अगलबगलसँगै राखेर
सेल्मे र मैयूँ तिम्रा अंशियारी भाइलाई
रूपाकोट तिम्रै वंशियारीलाई
साथमा लिएर बढेको तिमीलाई
सलाम छ टेम्केलाई
लाख लाख बार
सलाम छ टेम्केलाई !
रैछाकुलेले यही धर्तीमा खोरिया फाँडेर
सृष्टिको पहिलो बीउ रोपेथे
उनै हेच्छाकुप्पा, तीनै सालपा
तिम्रो कौमार्यको रक्षा गर्न
हातमा धनुषवाण बोकेर
तिम्रो जगरबगरबाट विचरण गर्ने
तोयामा खियामाहरू
यही पाखामा हाते तान चलाउथे र
आदिम सभ्यताको पहिरन बुन्थे
हो, इतिहास ज्युदै छ
तुवाचुङ, जायजुम यही भनिरहेछ
इतिहासको त्यही गर्विलो शानलाई
किरात सभ्यताको दर्बिलो पहिचानलाई
युगौंदेखि संवरण गरिरहेको तिमीलाई
पुर्खाले छाडि गएको विरासतलाई
सलाम छ टेम्केलाई
लाखलाख बार
सलाम छ टेम्केलाई
ओ टेम्के…।
साल्पा पोखरीको ऐनामा दिनहुँ
आफ्नो मादक रूप हेरेर
तिमी मग्न छौ
तिम्रो सुन्दरताको बयान, पर बसेर
दूधकुण्डले पनि गरिरहेकै छ
सिलिचुङले सङ्गीतको सातै सुर उरालेर
तिम्रै गीत गाइरहेछ
आज म पनि लय हालेर
तिम्रै महिमा गान गाइरहेछु र
तिम्रो अजर यौवनमा लठ्ठिएर
अमर प्रीत लाइरहेछु
नटुटोस् यो लय जुनी जुनीलाई
नछुटोसू यो साथ युगौँ युगलाई
म नमन गर्छु
स्निग्ध, शुभ्र यो मनोहरलाई
खोटाङ्गे र भोजपुरेको यो साझा धरोहरलाई
सलाम छ टेम्केलाई !
हो टेम्के
पुर्खाको गौरव गाथाले मात्र छाक टार्न सकिदैन
इतिहासको पानाले छोपेर, लाज ढाक्न सकिदैन
हेर त साप्सू र पखुवामा धेरै पानी बगि सक्यो
पुराना पातहरू झरेर नयाँ पात पलाइ सक्यो
तिम्रा सन्ततीहरूले पनि
भोजपत्र र अल्लोको पुराना कपडा फुकालेर
सिल्क र जिन्सको नयाँ पोसाक पहिरी सके
अब त तिमीले पनि
नयाँ चेतना बोकेर
नयाँ नेपालको गन्तव्यमा हिंड्नु पर्छ ।
गणतन्त्रको पहरेदारी गर्नुपर्छ
मुक्ति र समृद्धिको लक्ष्य लिएर
शान्ति र सद्भावको मूल बाटोमा कदम चाल्ने
नेतृत्त्वदायी पहलकदमी लिनु पर्छ
हो अग्रगमनको यही मार्गमा
हिँड्ने साहस
गरिरहेको तिमीलाई
गणतन्त्रको तिमी स्तम्भलाई
तिम्रो शरीरको यो ताजलाई
नयाँ नेपालको यही स्मारकलाई
मेरो प्यारो तिमीलाई
सलाम छ टेम्केलाई
लाख लाख बार
सलाम छ टेम्केलाई ।
Post Comment