Sign In

थुलुङ जातिको स‌ङ्क्षिप्त परिचय

Jaya Kumar Rai
जय थुलुङ राई, कनेक्टिकेट, अमेरिका

 

पृष्ठभूमि

नेपालमा ३२ पुस्ता किरात राजाहरूले राज्य गरे । लिच्छवीसँग युद्धमा हारेपछि यलखोमबाट बनेपा धुलिखेल हुँदै दोलोखोम पुगे । किरात भाषामा दोलोखोम शब्दको अर्थ श्रीपेच हुन्छ । जुन राजाले शिरमा लगाउँछन् । यही दोलोखोम शब्दको रूप परिवर्तन भएर दोलखा बनेको हो । किरात राजाले राज्यको राजधानी बनाएको ठाउँलाई किराती छापका नामले चिनिन्छ । यो अझै पनि सुरक्षित रहेको छ। यो ठाउँ पनि असुरक्षित भएपछि अझै पूर्वतर्फ बढे । थुलुङ पुर्खाहरूका अनुसार उनीहरू सुनकोसीलाई पछ्याउँदै ओखलढुङ्गाको कटुजे क्षेत्रमा आई राज्य स्थापना गरे। यही कटुजेमा किरात राजा गस्तीको खनाती जुमाहाङ जुनबेसी भन्ने ठाऊँमा पुगे । जुन बेंसी क्षेत्रमा आधार इलाका बनाउन उपयुक्त ठानी जुमाहाङले स्थायी बस्ती बसाले। उनै थुलुङ पुर्खाको नामबाट अहिले यस ठाउँलाई जुनबेसी भनेर चिनिन्छ ।

 

थुलुङ राजा जुमाहबका दुई रानीहरूमा कान्छी रानीतर्फको छोरा रामल्यु/राम्ली अत्यन्त पराक्रमी र ज्ञानी थिए । उनी सिकारका क्रममा सोलुखुम्बूको मुलिदेल आइपुगे । यो क्षेत्र भौगोलिक र आध्यात्मिक पक्षबाट स्थायी राजधानी बनाउन उपयुक्त ठानी राजदरबार बनाए । थुलुङ भाषामा मुलिदेल भन्नाले नीति बनाउने स्थान विशेष अर्थात् राजधानी भन्ने बुझिन्छ। वर्तमान यस ठाउँलाई मुक्ली भनिन्छ ।

राजा राम्लीका दुई श्रीमती रथोङ्ग‌मा र थुमुलुङ थिए। जेठी सन्टारको रूम राजा र ग्यालदार्मी चन्दाकी छोरी रथोङ्ग‌मा थिइन भने कान्छी थुमुलुङ कुलुङको चेली थिइन। राजाको कान्छी रानीबाट सात भाइ छोराहरू जन्मिए । सात भाइ छोराहरूमा जेठा खार्युम कुइभिर चस्कु गएर बसे। माइला जोग्मा नेचा बेतघारी गए, साइँला रामान्जो तीला गए, काइँला ज्युब्बा जुभु गए, ठाइँला खोस्का देउसा गए, अन्तरे बाद्युप्सा रिब्जुङ सल्ले गए र कान्छा फुल्युकु मुक्ली बुबासँगै बसे। आज संसारभरि छरिएर रहेका थुलुङहरू यिनै राजा रामल्युका सन्तान मानिन्छन् ।

 

थुलुङ जाति स्वतन्त्र भाषा, धर्म, संस्कार र संस्कृति भएको नेपालको आदिम भूमि पुत्र हुन्। किरात राईहरूका २६भाषिक समुदायहरूमध्ये एउटा भाषिक समुदाय थुलुङ हो। नेपालको सोलुखुम्बू, ओखलढुङ्गा, खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सुनसरी, मोरङ, झापा र इलाम आदि जिल्लाहरूमा बसोबास भएका थुलुङहरूको बसोबास वर्तमानमा भारत, भुटान, वर्मा हङकङ र बेलायतका साथै अन्य मुलुकहरूमा पनि छ। विसं २०६८ को राष्ट्रिय जनगणना अनुसार थुलुङहरूको जनसङ्ख्या बीस हजार रहेको छ भने संसारभरि करिब एक लाख पचास हजार जनसङ्ख्या रहेको अनुमान गरिएको छ ।

 

प्रकृति, बोकोली (सुप्तुलुङ) को ड्युम्ला (मुन्दुम) विधिबाट पूजा गर्ने र किरात धर्म मान्ने थुलुङ राईहरू जल, जमिन र जङ्गललाई तपोभूमि मान्दछन् । उनीहरू जन्मदेखि मृत्यु पर्यन्तका संस्कारहरू ड्यूम्ला पद्धतिद्वारा सम्पन्न गर्दछन् । थुलुङ जातिका मानिसहरू दर्शन, धर्म, कला तथा संस्कृतिको संरक्षक तथा व्याख्याता पात्युमी, मुल्युमी, देवा/धेवा, खोलोमे, सेलेमे, मोस्युमे र मोस्युमीलाई मान्दछन् ।

थुलुङ संस्कार र संस्कृति

थुलुङ राईहरू संस्कार र संस्कृतिमा अत्यन्त धनी मानिन्छ। उनीहरूका संस्कार र संस्कृतिहरू ड्युम्ला (मुन्दुम) बाट सञ्चालित हुन्छन् । जीवन र जगतका बारेमा व्याख्या विश्लेषण गर्ने ड्युम्ला (मुन्दुम) मौखिक रूपमा जीवन्त रहेको पाइन्छ । ड्युम्लामा देश, राजा रानी, समाज, संस्कार, संस्कृति र वातावरणका बारेमा वर्णन पाइन्छ । यसमा जीव र वनस्पतिको उत्पति, ग्रह, तारा र ब्रह्माण्डका विषयको वर्णन पाइन्छ । यस उप-शीर्षकमा थुलुङ जातिको संस्कार र संस्कृतिका बारेमा चर्चा गरिनेछ ।

क) थुलुङ संस्कार

यस समुदायको ड्युम्लाको आधारमा नै संस्कार र संस्कृति वर्षोंदेखि चलिरहेको छ। ड्युम्लाले नै किरात थुलुङ राईहरूलाई जन्मदेखि मृत्यु पर्यन्तका संस्कार डोर्याएको हुन्छ । थुलुङ राईहरूका संस्कार निम्न छन् :

१. न्वारान

थुलुङहरू न्वारनलाई नङप्रम भन्दछन् । यस समुदायका परिवारहरूले छोरा जन्मेको चार/छ दिनमा र छोरी भए तीन/पाँच दिनमा नङप्रम गर्दछन् । न्वारान गर्न छोराका लागि जोडी र छोरीका लागि बिजोडी दिन हुनुपर्छ । थुलुङ राई जातिका घरमा जुनसुकै संस्कार गर्न चुला अनिवार्य हुन्छ । चुलालाई थुलुङ भाषामा बोकोली भनिन्छ । यस बोकोलीमा पितृको बास हुन्छ र नवजात शिशुलाई बोकोलीसँग साक्षात्कार गराउने संस्कार नै नङप्रम हो।

२. पास्नी

थुलुङ भाषामा पास्नीलाई जाम डेन्मु भनिन्छ। यो संस्कार शिशुको जन्म पश्चात सम्पन्न गरिने दोस्रो संस्कार हो । यो संस्कार पनि बोकोलीलाई साक्षी राखेर गरिन्छ । यो संस्कार छोराका जोडी महिनाहरू छ र आठ र छोरी भए बिजोडी महिना पाँच र सात महिनामा मुन्दुम विधिअनुसार गरिन्छ । यस कार्यमा आफन्त जनहरूका विशेष उपस्थितिमा चाँदीको सिक्काले मिष्टान्न खुवाइन्छ । पास्नी नगरी शिशुलाई खोलानाला तारियो भने भूतप्रेत र मसानले शिशुलाई दुःख दिन्छ भन्ने विश्वास रहेको पाइन्छ । थुलुङ जातिमा पास्नी नगरी शिशुलाई खोला तारिन्दैन ।

३. छेवर

थुलुङ संस्कार जनाउने छेवरलाई डेल्सेम ङमु ड्युम्ला भनिन्छ । पास्नीपछिको तेस्रो संस्कार कर्म छेवर हो । बालकको पहिलो पल्ट कपाल मुन्डन गर्ने कार्यलाई छेवर भनिन्छ । यो संस्कार तीन, पाँच, सात बिजोडी वर्षमा गरिन्छ । यो संस्कार नगरेका छोराहरूले आमा बुबाको अन्त्येष्टि कार्यमा सहभागी हुनु हुँदैन भन्ने मान्यता छ ।

४. गुन्यू चोली संस्कार

थुलुङ राईहरू गुन्यू चोली संस्कारलाई मच्चेम लोल्युम ड्युम्ला भनिन्छ। यो छोरीलाई गुन्यू चोली दिने संस्कार पास्नीपछिको तेस्रो संस्कार हो। छोरी आठ दश वर्षको हुँदा बार दिन मिलाई आफन्त जनहरूलाई आमन्त्रण गरी छोरीलाई गुन्यू, चोली, पटुका, केश बाट्ने लाछा, मजेत्रो र टीका लगाई आशीर्वाद दिइन्छ ।

५. विवाह कर्म

थुलुङ राई समुदायमा विवाह कर्मलाई लालिखा ड्युम्ला भन्दछन् । विवाह संस्कार सामाजिक रूपमा मुन्दुम विधि अनुसार सम्पन्न गरिने महत्त्वपूर्ण  स्कार हो। यस समुदायमा मागी विवाह, प्रेम विवाह, चोरी विवाह र अन्तर्जातीय विवाह हुने गर्दछ । विवाह अन्तर्गत मगनी गर्ने, बेहुली भित्र्याउने, कलिया बाँध्ने, चुलामा हुल्ने, जन्ती जाने, साइनो फेर्ने, छुक मन्साउने, जन्ती बिदाइ गर्ने आदि कार्यहरू सम्पन्न गरिन्छ ।

ख) थुलुङ संस्कृति

६. वास्तु पूजा

थुलुङ समुदायमा वास्तु पूजालाई वायलङमा वा न्योथ्योल भन्दछन्। नयाँ घर बनाइसकेपछि सुख शान्ति होस्, कसैको डाह र ईर्ष्या नपरोस् भनी मुन्दुमी विधिबाट घर शुद्ध र पवित्र बनाउने संस्कृतिलाई वायलङमा भनिन्छ । पूजा स्थलबाट धर्ती र पानी अर्थात् जल र थल ठाउँको नाम सम्बोधन गरेर घरवालाको नाम र सामइबाट (किशोर) को घरमा आज घर पूजा हुँदैछ । सबै कुलदेव र पितृदेवहरूले शक्ति दिनु भनेर आशीर्वाद मागिन्छ ।

७. ग्रहशान्ति

थुलुङ समुदायमा ग्रह शान्तिका लागि गरिने अनुष्ठानलाई हुट्पा भन्दछन् । घरको चुलालाई देवाले मुन्दुमी विधिबाट पूजा गर्ने कर्मलाई हुट्‌पा भनिन्छ। हुटपा अनुष्ठान गर्दा नयाँ कोदोको जाँड पकाई नयाँ अदुवा समेत चलाएर कुनै पनि रोग कष्ट नलागोस्, वायु भूतप्रेत नलागोस् भन्दै मुन्दुम वाचन गर्दै कुलपितृहरूसँग बल मागिन्छ ।

९. पितृ संस्कार

थुलुङ समुदायमा पितृ संस्कार अनुष्ठानलाई स्योर लेन्मू ड्यूम्ला भन्दछन् । दिवङ्गत पितृहरूप्रति श्रध्दापूर्वक गरिने संस्कार स्योर लेन्मू ड्यूम्ला हो। थुलुङ राईहरूले पितृकार्य वर्षको एकपटक गर्दछन् । यस पितृ कार्यमा अकाल मृत्यु भएका पितृहरूलाई आमन्त्रण गरिदैन। पितृ कार्य निम्न प्रकारको हुन्छ ।

क) श्राद्ध

थुलुङ समुदायमा श्राद्ध अनुष्ठानलाई नागी भन्दछन्। यसलाई लघु पितृकार्य पनि भनिएको छ। पुर्खा पितृहरूको स्मृतिमा नयाँ बाली पाकेपछि विभिन्न परिकारहरू बनाइ पुर्खाहरूलाई श्रद्धा गर्नु नै नागी हो। यस श्राद्ध कार्य खोलोमे, देवा, मुल्युमी, पात्युमीहरूको सामुहिक सहभागितामा सम्पन्न गरिन्छ। यो पितृकार्य प्रायः वर्षको एक पटक कुखुराका भालेले भोग दिएर गरिन्छ ।

११. मझौलो पितृकार्य

थुलुङ समुदायमा मझौलो पितृ अनुष्ठानलाई देदाम भन्दछन् । यो देदाम संस्कार पनि पितृहरूको सम्मानमा सम्पन्न गरिने संस्कार हो। नागी लघुतम पितृकार्य हो भने देदाम मझौलो पितृकार्य हो र यो संस्कार नागी भन्दा खर्चिलो हुन्छ ।

१२. बृहत् पितृकार्य

थुलुङ समुदायमा बृहत् पितृ अनुष्ठानलाई सेग्रो भन्दछन् । बोकोली र पितृहरूलाई सम्मान गर्न तथा घर परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै सम्पन्न गरिने संस्कारलाई बृहत् पितृकार्यको रूपमा लिइन्छ । यो संस्कार सम्पन्न गर्न तीन दिन तीन रातसम्म निरन्तर मुन्दुम गाइन्छ। यस अनुष्ठानमा समग्र किरात इतिहास, सम्पूर्ण जगतको उत्पति, थुलुङ मुन्दुमको स्थापना र आवश्यकता आदिको लयबद्ध प्रस्तुत हुन्छ। सेग्रो अत्यन्त खर्चिलो हुन्छ ।

१३. मृत्यु संस्कार

थुलुङ समुदायमा आफन्तको मृत्युपछि गरिने अन्त्यष्टि कार्यलाई सिमु दाम्मु / सिकुम्री भन्दछन्। यो मरेपछि गरिने अन्तिम संस्कार हो । थुलुङ मुन्दुमले मृत्युलाई प्राकृतिक र अप्राकृतिक गरी दुई भागमा वर्गीकरण गरेको पाइन्छ । साधारणतया कालगतिले मृत्यु भए राम्रो मरन मानिन्छ । यस्तो राम्रो मरन भएको बर्खन्त देवाले गर्दछन् ।

भिर वा रुखबाट लडेर, पानीमा डुबेर, झुन्डिएर, विष खाएर, प्रसूतीसँग सम्बन्धित मृत्युलाई अप्राकृतिक मरन मानिन्छर यस्तो नराम्रो मरनको बर्खन्त सेलेमीले गर्दछ ।

 

१४. होम्बुन्योर

थुलुङ समुदायमा हैजा तथा महामारी जस्ता रोगहरू नलागून् भनेर गरिने अनुष्ठानलाई होम्बुन्योर भन्दछन् । विभिन्न रोगहरूको विरुद्धमा नियन्त्रणको लागि होम्बुन्योरको पूजा गरिन्छ। यो संस्कार देवाद्वारा मुन्दुमी विधिबाट सम्पन्न गरिन्छ ।

 

१५. छ्युल्बमु

थुलुङ समुदायमा पितृ कार्य गर्दा धार्मिक र सांस्कृतिक दोष नलागोस् भनेर गरिने पूजा छ्युल्बमु हो । यसमा मानवीय रूपमा रहने रिस, क्रोध, डाह, पाप, घृणा आदिबाट आफू तथा आफ्नों दर सन्तानहरूले मुक्ति पाओस् भनेर गरिने मुन्दुमी अनुष्ठानलाई छयुल्बमु भनिन्छ। यो कर्मकाण्ड देवा तथा सेलेमीद्वारा सम्पन्न गरिन्छ ।

 

१६. र्योम छेन्मु

थुलुङ समुदायका कुनै व्यक्ति परदेश गएर घर फिर्दा गरिने र्योमछेन्मु पूजा गरिन्छ। परदेशमा रहँदा अपवित्र रहेको दोष निरूपण गर्न मुन्दुमी विधिबाट गरिने कार्यलाई र्योम छेन्मु भनिन्छ । यो देवामार्फत सम्पन्न गरिन्छ ।

 

१७. भूमि पूजा

थुलुङ समुदायमा पित्र, भूमि र अन्नको पूजा गर्ने अनुष्ठानलाई तोसी भनिन्छ । चाम्लिङ राईहरू तोसीलाई साकेला भन्दछन् । यो चाड अन्न बाली राम्रो होस्, दैवी प्रकोप नलागोस्, सबैलाई सुख शान्ति मिलोस्, नयाँ बाली ग्रहण गर्दा स्वास्थ्य राम्रो होस् भनेर मनाइन्छ । थुलुङहरूले मनाउने तोसी निम्न छन् :

क. चत्रा तोसी – भस्मे फाँड्ने पोल्ने बेला गरिने

ख. याउ तोसी खानजोत गर्ने बेला गरिने

ग. लङमा तोसी – अन्न बाली लाउने बेला गरिने

घ. सिलिम तोसी – बाली गोडमेल गर्ने बेला गरिने

ङ. बुङ तोसी – अन्न बालीको फूल लाग्ने बेला गरिने

यी तोसीहरू उँभौली र उँधौलीमा मनाइने तोसीलाई विशेष मानिन्छ । उँभौली तोसी वैशाखे पूर्णिमा र उँधौली मङ्गसिरे पूर्णिमाका अवसरमा मनाइन्छ ।

 

यी तोसीहरू उँभौली र उँधौलीमा मनाइने तोसीलाई विशेष मानिन्छ । उँभौली तोसी वैशाखे पूर्णिमा र उँधौली मङ्गसिरे पूर्णिमाका अवसरमा मनाइन्छ ।

निष्कर्ष

यलखोममा लिच्छवी वंशको उदय पश्चात किरात लगायत अन्य समुदायमाथि विभेद र दमनकारी नीति लागू भयो । यो नीतिलाई त्यसपछिका मल्ल, शाह र राणा शासकहरूले पनि निरन्तरता दिए। विसं १९३३मा धनकुटा जिल्लाका आठपहरियो राई समुदायका अगुवा द्वय राम्लिहाङ र रिदमालाई दशैं नमानेकै कारण झुन्ड्याएर मृत्यु दण्ड दिएको कुरा सर्वविदितै छ । यो विभेद र दमनकारी नीतिको प्रभावमा थुलुङ समुदाय पनि अछुतो रहेन । फलस्वरूप उनीहरूको भाषा, संस्कृति, संस्कार छाँयामा पर्दै गयो ।

२०४६ सालको राजनैतिक परिवर्तनपछि समाजमा राजनैतिक तथा सामाजिक जागरण आउन सुरु भएको छ । थुलुङ समुदाय पनि भाषा, संस्कृति र संस्कारको संरक्षण संवर्धनको लागि जागरूक र उत्साहित हुन थालेका छन् । नेपालमा लोपोन्मुख अवस्थामा रहेको थुलुङ समुदायको मुख्य चाड तोसी आज विश्वको विभिन्न भागमा मनाइन्छ ।

थुलुङहरूले आफ्नो पहिचानलाई उजागर गर्न र लोप हुन नदिन एक दर्जनभन्दा बढ़ी संस्थाहरूको स्थापना गरेका छन् । थुलुङ भाषाको स‌ङ्क्षिप्त शब्दकोश प्रकाशन भएको छ । थुलुङ भाषाका बाल गीतहरू, मुन्दुमका पुस्तकहरू प्रकाशन भएका छ । कक्षा ४ सम्मको पाठ्यपुस्तक लेखन तथा प्रकाशन, वार्षिक, अर्द्ध वार्षिक तथा त्रैमासिक पत्रिकाहरूको प्रकाशन, थुलुङ राई पहिचान झल्किने गाउँपालिकाको नामाकरण, थुलुङ ड्यूम्लासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमहरूको आयोजना, थुलुङ नोक्छो, देवा र ड्यूम्लाच्योहरूसँग रहेको ज्ञान सङ्कलन कार्यलाई उपलब्धिका रूपमा लनि सकिन्छ ।

थुलुङ जातिको समृद्ध भाषा, संस्कार, संस्कृति र मुन्दुम वर्तमानमा कमजोर बन्दै गइरहेको स्थिति छ । यस जातिको पहिचान दिनप्रति दिन लोपोन्मुख भइरहेको अवस्थाप्रति थुलुङ समुदाय अत्यन्त चिन्तित छ । संसारभरि छरिएर रहेका थुलुङहरू मातृभाषा, कला, साहित्य, संस्कृति र संस्कारको संरक्षण र संवर्धन गर्ने कार्यमा जुट्न जरूरी छ ।

लेखक यूनाइटेड किरात राई आर्गनाइजेसन अफ अमेरिकाका छैटौं कार्य समितिका अध्यक्ष हुनुहुन्छ ।

सन्दर्भग्रन्थ सूची

राई, निर्कुधन. (२०८१ मंसिर, १). थुलुङ राई किरातः मुन्दुम, मृतात्मा र कटुञ्जे. https://sancharkarmi.com/news-details/44060/2024-11-16

—-. (२०८२ वैशाख, १२). किरात थुलुङ राईको मिथक, वास्तविकता र विकास. https://sancharkarmi.com/news-details/76263/2025-01-15

Post Comment

Scroll to Top Scroll to Top Stretched