किरात राई यायोक्खा : विगत र वर्तमान

सुरेश चाम्लिङ, न्यु हेम्पसायर, अमेरिका
पृष्ठभूमि
नेपालका सबै जातजाति र आदिवासीहरूसँग आपसी सहयोग र सद्भावना राखी किरात राईहरूको भाषा, धर्म, कला, संस्कृति र इतिहासको खोज, अनुसन्धान, संवर्द्धन र विकास गर्न आवश्यक भएकाले किरात राईहरूलाई एउटै विशुद्ध सामाजिक संस्थामा आबद्ध गर्न यायोक्खा गठन गरिएको थियो। नेपालमा किरात राईहरूको सङ्गठन बनाउने प्रारम्भिक धारणा ताहाचल क्याम्पसका विद्यार्थीहरूबाट प्रादुर्भाव भएको थियो । ल क्याम्पसका विद्यार्थी मित्र नीरकुमार राईले सङ्गठन स्थापनाका लागि छलफल गर्न ताहाचल बोलाउनु भयो । म त्यस छलफलमा सहभागी भएको छु ।
नेपालमा निरङ्कुश पञ्चायती शासन रहेकाले जातीय हित र अधिकार सम्बद्ध जातीय सङ्घ संस्था प्रतिबन्धित थियो। गोरेबहादुर खपाङ्गीहरूका लाङ्घाली सङ्ङ्घ क्रियाशील थियो। उक्त सङ्घको प्रज्ञा प्रतिष्ठानको भेलामा म पनि सहभागी थिएँ। पञ्चायत प्रवेश गरेका काङ्ग्रेसी नेता श्रीभद्र शर्माले म पनि लाङ्घाली हुँ भन्दै मन्तव्य दिएको सम्झना आउँछ। सायद पञ्चायतका ठूला नेताहरू सहभागी भएकाले त्यो संस्था सञ्चालनमा थियो । त्यस्तो जातीय संस्था मगरहरूले चलाएको छ भने राईहरूले किन चलाउन सकिंदैन भन्ने लागि रहन्थ्यो ।
राई विद्यार्थीहरूको ताहाचल क्याम्पसमा निकै बाक्लो भेटघाट हुने भएकाले राईहरूको संस्था हुनु पर्छ भन्ने समर्थकहरू धेरै थिए । यस कार्यमा हरिवंश किरात, भूइँदल राई, बयान सिंह राई, हिमालधन राई, बमबहादुर राईहरू संलग्न थिए । त्यस्तै जीतमान राई, तेजबहादुर राई, उद्धव राई, नीरकुमार राई, झण्ड राई, विक्रम राई, नरजीत राई, माओ येलुङ राई, रत्न राई साम्पाङ, रवीन्द्र राई, देविका चाम्लिङ, रीता राई, वेदना थुलुङ रहेका थिए । पञ्चायत काल भएकाले पहिला संस्था दर्ता गरौं र वैधतापूर्ण संस्था सञ्चालन गरौं भन्ने उद्देश्यले विधान कमिटि गठन गरियो । पूर्व माननीय रापंस भूइँदल राईको संयोजकत्वमा कमिटि बनाइयो। उक्त कमिटिले विधान तयार गरी छलफल गरियो । तत्कालीन विद्यार्थी नेता हिमालधन राईले विधानमाथि कडा टिप्पणी गरे। उनको राजा र राजमुकुटलाई शिरोपर गरी भन्ने पदावलीमा विमती थियो। यदि नेपाली जनताले राजा फाल्छ भने राईहरूले काँध थापेर बचाउन सकिन्छ भन्नु भयो। विधानमा यो पदावली नराखे संस्था दर्ता नहुने भएकाले यो व्यवस्था राखिएको थियो । त्यस दिन बिना निष्कर्ष छलफल टुङ्गियो। हामी सबैमा निराशा छायो ।
ताहाचल क्याम्पसमा लिम्बू विद्यार्थीहरू पनि सङ्गठित हुन थाले। उनीहरूले चुम्लुङ गठन गर्ने अभियान चलाए । फेरि किरात राई विद्यार्थीहरू तात्तियौं। त्यही विधान जिल्ला प्रशासन कार्यालयमा काठमाडौंमा दर्ता गर्न नेतृत्त्व खोज्न थालियो । बमबहादुर राईको अध्यक्षतामा किरात राई सांस्कृतिक सङ्घ गठन गरियो । यस समितिका उपाध्यक्ष द्वय जीतमान राई र डिल्ली किरात, महासचिव तेजराज राई, सचिव विष्णुकमल राई, कोषाध्यक्ष रीता राई र सदस्यहरू मणि राई, माओ राई यलुङ, वेदना थुलुङ, सुरेश राई, विक्रम राई, योगेन्द्र दुम्मिहाङ, गोपाल किराती रहेका थिए । संस्था गठन भएको चार महिना पनि नबित्दै सभापतिले संस्थाको जिम्मेवारी छाडी दिनु भयो । संस्थालाई निरन्तरता दिन पुनः विद्यार्थीहरू भेलाबाट जीतमान राईलाई नेतृत्त्व सुम्पियौं। उनी पनि पाँच, छ महिनापछि ब्रुनाइ गए त्यसपछि यो संस्था पूर्णतः सकियो ।
यायोक्खाको भ्रूण
भोजपुरका हरिवंश किरात राई समुदायको मूर्धन्य हस्ती हुन्। उनी पदमा नबस्ने तर समुदायको लागि हरेक पल लागि रहने व्यक्तित्व थिए। उनी र अन्य विद्यार्थीहरूका नेतृत्त्वमा विसं २०४५ साउन २२ मा किरात राई सांस्कृतिक सङ्घको दोस्रो पटक तदर्थ समिति गठन गरियो। यसमा सभापति डिल्ली किरातलाई बनाइयो । यस तदर्थ समितिबाट प्रथम अधिवेशन गर्न कार्यक्रम तय गरियो। यस संस्थाबाट माओ एलुङ राईको सम्पादकीयमा तोसी नामक पत्रिका प्रकाशन गरियो। यो नै किरात राईहरूको पहिलो सङ्गठित संस्था र पत्रिका थियो । राष्ट्रिय सिली घरका जीएम गणेश रसिकको कार्य कक्षमा प्रथम अधिवेशनको छलफल गरियो । अधिवेशन खर्च जुटाउन सांस्कृतिक साँझको आयोजना गर्ने योजना भयो। सांस्कृतिक कार्यक्रम गर्न जिएम रसिकले सभा कक्ष निःशुल्क दिनुभयो । राई कलाकारहरूले बिना पारिश्रामिक कार्यक्रम गरिदिनु भयो। सांस्कृतिक कार्यक्रममा धेरै कलाकारहरूको सहभागिता भएकाले कार्यक्रम सफल भयो र अर्थ सङ्कलन पनि राम्रो भयो। कार्यक्रममा सहभागी कलाकारहरूलाई सम्मान पत्र दिन पद्मोदय हाइ स्कूलको टप फ़्लोरमा कोठा लिएका थियौं । विक्रम राईको घट्टेकुलोको कोठामा खसीको मासु पकाएर पद्मोदयमा मासु चिउरा खुवाएको सम्झना छ । संस्थाका सभापति डिल्ली र हरिवंश किरात द्वयले सम्मान-पत्र वितरण गर्नुभएको थियो । संस्थाको अधिवेशनको तयारी हुँदाहुँदै प्रजातान्त्रिक बहुदलीय व्यवस्थाको पुर्नस्थापना भयो । यसकारण अधिवेशनमा उच्च तहका किरात व्यक्तित्वहरू पनि आउनु भयो। नेपालमा प्रजातन्त्रको पुनर्स्थापना पश्चात जातीय सङ्घ संस्था स्थापना गर्न सहज भयो । संस्थाको प्रथम अधिवेशन सांस्कृतिक केन्द्र, डिल्ली बजारमा गरियो। विसं २०४७, भदौ २२ र २३ को अधिवेशनले गङ्गाराज राईको अध्यक्षतामा केन्द्रीय कार्य समिति गठन गरियो। त्यस कार्य समितिमा म सचिव रहेको थिएँ। वर्तमान यायोक्खाको एघारौं अधिवेशन भइसकेको छ। यस संस्थाका अध्यक्षहरू गङ्गाराज राई, कुलबहादुर राई (एमबिइ), सुमाया राई, चतुरभक्त राई, यशोदा राई, तीलक राई, दिवश राई र जीवन हताचो बनिसकेका छन् । प्रथम अधिवेशनबाट संस्थाको नाम किरात राई यायोक्खा राखियो। नेपालका किरात राईका २६ भाषाहरू मध्ये बान्तवाबाट यायोक्खा शब्द सर्वसम्मत चयन गरिएको थियो ।
यायोक्खा गठनको उद्देश्य
१. किरात राईहरू बीच आपसी एकता कायम गर्ने,
२. किरात राईहरूको संस्कारअनुसार आपत विपतमा सहयोग आदान प्रदान गर्ने,
३. किरात राईहरूको भाषा, लिपि, धर्म, कला, संस्कृति र इतिहासको खोज, अनुसन्धान, संरक्षण र संवर्द्धन गर्न सहयोग पुऱ्याउने,
४. किरात राई जातिमा जन चेतना अभिवृद्धि गर्ने,
५. किरात राई भाषाहरूका समानुपातीक विकास गरी विद्यालय तथा विश्वविद्यालयमा पठनपाठन गराउनका साथै अन्य भाषाको स्तरमा मान्यता दिन प्रयत्न गर्ने,
६. नेपालको अन्य जातजाति तथा जनजातीय सङ्घ संस्थाहरूसित पारस्परिक सहयोग र सद्भावना अभिवृद्धि गर्दै वृहत् राष्ट्रिय एकता र संस्कृतिको निर्माणमा सहयोग आदानप्रदान गर्ने,
७. किरात राईहरू मध्येको भाषा संरक्षण संवर्द्धन गर्ने उद्देश्यले किरायासँग पूर्व स्वीकृति लिई कुनै संस्था स्थापना गर्न चाहेमा आफ्नो मातहतमा रहने गरी सहयोग पुऱ्याउने ।
यायोक्खाको साङ्गठनिक संरचना
यायोक्खाको विधानको दफा १० घ बमोजिम महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू १७ जना र केन्द्रीय सदस्यहरू २१ गरी निर्वाचित केन्द्रीय समितिमा ३८ जनाको कार्य समिति रहने छन् । यस विधानले केन्द्रीय सदस्यहरूः मनोनयनद्वारा ७, भाषा/थरगत संस्थाबाट २८ र भातृ संस्थाहरूबाट ८ गरी बढीमा ८१ सदस्यीय केन्द्रीय कार्य समिति रहने व्यवस्था गरेको छ ।
किरायाका जिल्ला कार्यसमिति
किरात राई यायोक्खा काठमाडौँ, ललितपुर, भक्तपुर, ओखलढुङ्गा, ताप्लेजुङ, उदयपुर, खोटाङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, भोजपुर, तेहथुम, सप्तरी, मकवानपुर, धनकुटा, मोरङ, सुनसरी, पर्सा, सल्यान, बारा, कास्की, सोलुखुम्बू र सिराहा जिल्लामा सङ्गठन विस्तार गरेका छन्। जिल्लाको मातहतको गाउँ/नगरपालिका तथा वडा समितिहरू रहेका छन्। यस संस्थामा विशिष्ट संरक्षक सदस्य २०६, संरक्षक सदस्य १२७ जना र आजीवन सदस्य करिब ५००० जना रहेका छन् ।
किरायाका भातृ संस्था
यायोक्खा सम्बद्ध भातृ संस्थाहरूमा किरात राई विद्यार्थी सङ्घ, किरात राई पत्रकार सङ्घ, किरात राई सांस्कृतिक कलाकार सङ्घ, किरात राई लेखक सङ्घ, किरात राई युवा सङ्घ, किरात राई खेलकुद सङ्घ, किरात राई सुम्निमा सङ्घ, किरात राई कर्मचारी मञ्च गरी भातृ संस्थाहरू आठ रहेका छन् ।
किरायाका थरगत संस्था
किरायासँग १९ थरगत संस्थाहरू छन्। यी संस्थाहरू क्रमशः वाम्बुले राई समाज, बाम्रास, किरात बुलावा राई उत्थान समाज, किरात साम्पाङ राई जुम्लेखा, किरात पुमा राई तुप्खावाङ्ङ्खाला, किरात देवास राई उत्थान समाज, किरात राई बान्तवा खिम, दुमी किरात राई फान्सिकिम, किरात कोयु/कोयु सोदेल किम, किरात राई चाम्लिङ खाम्बातिम, किरात थुलुङ राई सङ्घ, किरात राई खालिङ उत्थान सङ्घ, जिमी राई उत्थान समाज सोलु, थुलुङ (राई) सामा, मेवाहाङ यान्खोमा, आठपहरियो किरात राई, किरात जेरो रादु समाज, किरात राई दुङ्गाली भाषा संस्कृति संरक्षण मञ्च, किरात राई तीलुङबुगा किम र लिङखिम राई समाज रहेका छन् ।
भाषिक संस्था
किरायाका भाषिक संस्थाहरू दुङ्गाली, कुलुङ, खालिङ, पुमा, कोयु/कोयु, बान्तवा, चाम्लिङ, देवास, दुमी, वाम्बुले, साम्पाङ गरी एघार भाषिक संस्थाहरू रहेका छन् । किराया प्रदेश समन्वय समितिः यायोक्खाको नयाँ संरचना अनुसार वाग्मती र किरात समन्वय समिति रहेका छन् । किरात राई प्रज्ञा परिषद प्राज्ञिक अध्ययन अनुसन्धान गर्न गठन गरिएको छ ।
किरायाका वैदेशिक शाखा
किरात राई यायोक्खा युके, हङकङ, युरोप, अष्ट्रेलिया, कतार, दुबइ (युयई), बेल्जियम, इजरायल, क्यानडा, जापान, दक्षिण कोरिया, मलेसिया, कुबेत, बहराइन, मकाउ, अमेरिका, साइप्रस र थाइल्यान्ड रहेका छन् ।
किरायाका सम्बन्धन संस्था
किरात जिमी राई उत्थान सङ्घ सोलुखुम्बू, किरात राई उद्गम भूमि तायाचुङ जायाजुङ संरक्षण समिति, किरात राई समाधिस्थल व्यवस्थापन समिति रहेका छन्। त्यसैगरी अखिल किरात राई सङ्घ सिक्किम, किरात खम्बू राई सांस्कृतिक संस्थान दार्जिलिङ, किरात राई सोसाइटी अफ अमेरिका, युनाइटेड किरात राई अर्गनाइजेसन् अफ अमेरिका रहेका छन् ।
निष्कर्ष
किरात राई यायोक्खाको ऐतिहासिक पृष्ठभूमिलाई अध्ययन गर्दा नेपालका विभिन्न जातजाति र जनजातिसँग आपसी सहयोग र सद्भावना राखी किरात राईहरूको भाषा, धर्म, लिपि, कला, संस्कृति र इतिहासको अनुसन्धान गरी तीनिहरूका सम्वर्द्धन र विकास गर्न आवश्यक भएकोले देश विदेशमा रहेका प्रत्येक किरात राईहरूलाई एउटै विशुद्ध सामाजिक संस्थामा आबद्ध गर्नका लागि यायोक्खा गठन गरिएको उल्लेख भएको पाइन्छ ।
लेखक UKROA को कानुनी सल्लाहाकार हुनुहुन्छ ।
Post Comment