तुवाचुङ सङ्क्षिप्त परिचय-केवी राई

केवी राई,केपकोड, अमेरिका
खोटाङको हलेसी तुवाचुङ नगरपालिका, वार्ड नं ७ मा किरात सांस्कृतिक थलो तुवाचुङ छ । किरात पुर्खा तोयामा, खियामा र रैछाकुले यहीं बसेका थिए भन्ने लोकोक्ती पाइन्छ । किरात इतिहास तुवाचुङमा खियामाको तानढुङ्गा छेवैमा ठूलो पोखरीको अवशेष अहिले पनि यथावत् देखिन्छ। त्यो पोखरी तायोमा र खियामा दिदी बहिनीले बनाएको भनिन्छ । कथा अनुसार दिदी बहिनीले पोखरीको वरिपरि सप्तरङ्गी फूल रोपेका थिए। बिहानीपख पोखरीमा सप्त रङ्गी फूलहरूको प्रतिबिम्ब देखिन्थ्यो । यो डाँडा झुल्के घाममा फूलहरूले न सप्त रङ्गी इन्द्रेनी झें सुन्दर हुन्थ्यो रे। केवी राई, केपकोड, अमेरिका
रैछाकुले तोयामा र खियामाको भाइ हुन्। रैछाकुले बुक्टो (ओडार) मा बस्थे, जुन ओडार हलेसीमा अवस्थित छ। त्यहीं बसेर रैछाकुलेले अन्नको बीउ पत्ता लगाएको हो भन्ने भनाइ छ । किरातहरूले यसलाई रैछाकुले बुक्टो भन्छन् । यस बुक्टोलाई हिन्दू धर्मावलम्वीहरूले बसाहा थान भन्ने गर्छन् । हलेसीका पासुङ (बुढापाका) हरूका अनुसार यो गुफा रैछाकुलेले पत्ता लगाएका हुन् । वर्तमानमा त्रि-धार्मिक हलेसी मन्दिरको नामले प्रख्यात छ यो ठाउँ। त्यसैले तुवाचुङ र हलेसी मन्दिरको नङ र मासुको सम्बन्ध रहेको छ ।
रैछाकुले बुक्टो हलेसी मन्दिरबाट एक घण्टा उकालो पैदल हिंडेपछि तुवाचुङ पुगिन्छ । मुन्दुमअनुसार यो तुवाचुङलाई किरात सभ्यताको केन्द्र मानिन्छ । प्रत्येक वर्ष उँभौली र उँधौलीमा तुवाचुङमा हजारौं किरातीहरू साकेला मान्न आउँछन् । तोयामा र खियामा दिदी-बहिनीले सबैभन्दा पहिलो पटक यहाँ कपडा बुनेका थिए । कथाअनुसार यसै ठाउँबाट किरातहरूले कृषिको प्रारम्भ गरेका थिए। किरातहरूले तुवाचुङलाई कृषि सभ्यताको मूल थलो मान्छन् । चाम्लिङ राई भाषामा तुवा-तोयो भनेको बुद्धि अर्थात् ज्ञान र चुङको अर्थ डाँडा हुन्छ । यहाँ तोयामा र खियामाको कपडा बुन्ने ढुङ्गाको तान रहेको छ। यसले मानिसलाई बाँच्ने कला सिकाउँछ । त्यसकारण तुवाचुङ किरातहरूको ज्ञान केन्द्र हो। हलेसी त्रि-धार्मिक तीर्थ स्थलको रूपमा प्रख्यात छ। हिन्दू, बौद्ध र किरात धर्मावलम्वीहरूको उपस्थितिले हलेसी देश विदेशमा प्रख्यात बनेको छ। हरेक नोक्छुङहरूले रिसियामा तुवाचुङको वर्णन गरेका हुन्छन् । यो किरातको सांस्कृतिक शक्ति केन्द्र हो। हामी धेरैलाई तुवाचुङको सांस्कृतिक महत्त्वबारे थाहा छैन् । मेरा बाबाआमा, कोपाकोमाहरूले तुवाचुङको बारेमा सुनाउनु हुन्थ्यो। त्यतिबेला मिथक जस्तो लाग्थ्यो । यो मिथक नभई किरात जातिको ऐतिहासिक स्थल भनेर बुझ्न मलाई चालिसौं वर्ष लाग्यो ।
वर्तमानमा यस क्षेत्रबाट लोक मार्ग बनेको छ। यहाँबाट धेरै गाडीहरू गुड्छन्। लोक मार्गबाट करिब २० मिनेट जति उकालो हिंडेपछि त्यहाँ ठूलठूला ढुङ्गा भेटिन्छन्। त्यही ढुङ्गाको दोखाममा बसेर तोयामा र खियामाले खाँडीका कपडाको तान बुनेको थियो भन्ने भनाइ छ। यस ठाउँमा उनीहरूले कपास उत्पादन गरेको, चर्खा बनाएको, धागो कातेको, कपडा बुनेको कथा रहेको छ। यहाँ तोयामा, खियामा र रैछाकुलेको प्रतिमा राखिएको छ। तुवाचुङको तान बुन्ने ढुङ्गासम्म पुग्न रेलिङ सहित खुड्किलो बाटो बनाइएको छ । कपडा बुन्न नजान्नेले यहाँ आएर काँचो धागो चढाउँछन् । त्यसपछि कपडा बुन्ने सिप आर्जन हुने विश्वास गर्छन् ।
तुवाचुङको सबैभन्दा अग्लो ठाउँमा बहिनी खियामाको थान, केही पर खियामाको तानढुङ्गा छ । तोयामाले वल्लोडाँडा र खियामाले पल्लोडाँडामा तान बुनेर बसेका थिए भन्ने किंवदन्ती छ। यहाँ तुवाचुङ, लावाचुङ, राबाचुङ, सोराचुङ आदि चुङहरू छन् । रावाचुङ पहिलो किरात शासक होलेसुङको दरबार थियो भनिन्छ । यसलाई हलेसीगढी पनि भनिन्छ ।
समुद्र सतहदेखि १८ सय मिटर उचाइमा तुवाचुङ रहेको छ । यहाँबाट विश्वको अग्लो शिखर सगरमाथादेखि समतल मधेससम्म देखिन्छ । यहाँबाट उत्तरतिर दूधकोसी र दक्षिणतिर सुनकोसी देखिन्छ । बुढापाका भन्छन् तुवाचुङबाट सुनकोसीतिर फर्केर बस्दा गर्मी हुन्छ र यो पाटोमा बेंसीमा पाइने रूख बिरुवाहरू पाइन्छ । त्यस्तै दूधकोसीतिर वा उत्तरतिर फर्केर बस्दा चिसो हुन्छ र यस क्षेत्रमा लेकमा पाइने बोटविरुवाले हरियो देखिन्छ । यस डाँडामा आएपछि लेक र बेंसी दुबै ठाउँको हावापानी अनुभव गर्न पाइन्छ। तुवाचुङ संरक्षण र विकासका लागि देश विदेशबाट धेरै किराती बन्धुहरू लागि पर्नु भएको छ । यहाँहरू विकास प्रेमी मित्रहरूलाई हृदयबाटै धन्यवाद र अन्त्यमा यो ऐतिहासिक ठाउँलाई ऐतिहासिक विरासतलाई बचाउँदै प्रकृति र वातावरणलाई असर नपुऱ्याई विकास गरिदिन वनिम्र अनुरोध गर्दछु ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक सम्पदाको देश हो। यहाँ विविध राई भाषीहरूले परापूर्वबाट अनुभव गर्दै ल्याएका चालचलन र रहनसहन जीवित छन् । वर्तमानको सञ्चार! प्रविधिले मान्छेहरू साँघुरिएको स्थिति छ। यसले समुदायले रचेका निधि, मूर्त अमूर्त सम्पदाहरू लोपोन्मुख रहेको छ भने विश्व भाइचाराका मानवीय मूल्य र मान्यताहरू गौण रूपमा हेरिने प्रवृत्ति बढ्दै गएको देखिन्छ ।
विद्वानहरूको विचारमा मानव सभ्यताका प्रणेता रैछाकुले र घरेलु कपडा विकास गर्ने तोयामा र खियामाको जीवन उत्तर पाषणकालीन हो। यसलाई महेन्जदाडो र हडप्पा सभ्यताभन्दा अगाडिको मानिन्छ। तुवाचुङको वर्तमान भौगोलिक बनावट परिवर्तीत स्वरूप हो। यहाँ मैदान थियो र एउटा पोखरी पनि थियो भन्ने भनाइ छ। भू-कम्पका कारण ती मैदानी भागहरू पहिरो गए। यसको भौगोलिक स्वरूप पनि त्यही अनुसार अनुमान गर्न सकिन्छ ।
किरात संस्कृतिमा तोयामा, खियामा र रैछाकुलेको मिथक जोडिएकै हुन्छ। किरात राईहरूका साकेला चाडमा मुख्य सांस्कृतिक पात्रहरू पारुहाङ, नायिमा, तोयामा, खियामा र रैछाकुले श्रृष्टि कर्ता, सांस्कृतिक प्रणेता, कृषि युगसँगै औद्योगिक नाम आउने गर्दछ। तोयामाको सन्तान भोटे र तामाङ, खियामाको सन्तान धिमाल, थारू, कोचे र रैछाकुलेको सन्तान राई, लिम्बू, सुनुवार र याक्खा भन्ने किंवदन्ती रहेको छ। किरातीहरूको सुख शान्ति र मृत
पुर्खाहरूको सम्झनामा गरिने पूजाहरूमा रैछाकुले तोयामा र खियामाको वर्णन र विधिहरूलाई अपनाइएको पाइन्छ । किरातीहरूले धिरिनाम, छिरिनाम र साकेवामा नाच्ने विविध प्रकारको सिलीहरूको श्रष्टा यिनीहरू नै हुन्। साकेला पूजाको पहिलो नोक्छुङ र विवाह तथा अन्य संस्कार संस्कृतिहरूमा र पितृ कार्य गर्दा प्रयोग गरिने ढोल झ्याम्टाको आविष्कारक पनि यिनीहरू नै हुन्। कपास कातेर कपडा बुन्ने तान बनाउने प्रविधि पनि यिनीहरूकै हो । चाम्लिङ राईहरूका विवाहमा मावली चेलीहरूको शिर उठाउन खुर्दू नामक रीत राखिदिने चलन रैछाकुलेको हो । उनले आफ्नो विवाहमा मावली र चेलीहरूलाई खुर्दू राखेर सम्मान गरेका थिए ।
लेखक केपकोड नेपाली समाजको अध्यक्ष हुनुहुन्छ ।
Post Comment