Sign In

किरात इतिहासको सङ्क्षिप्त परिचय-दमकाजी राई

दमकाजी राई, टेक्सास, अमेरिका

पृष्ठभूमि

ईशापूर्व सात सय वर्ष अगाडि नेपालमा किराती राजाहरूले विभिन्न राज्य चलाएका थिए (अर्याल, २०४३, पृ. २१) । प्राग्रेतिहासिक कालदेखि नै किरातहरू एक प्रसिद्ध जाति थिए । किरातहरू युद्ध कलामा निपूर्ण थिए । उनीहरू खुकुरी चलाएर युद्ध लड्थे भने धनुर्वाणमा निपूर्ण थिए । किरात जन्मँदै लडाकु र सुरवीर थिए। अहिर वंशी राजा भुवनसिंहको शासन कालमा पूर्वी नेपालबाट किरातीहरूका हुल आएर एलम्बर राजा बने (रेग्मी, २०६६) । गोपाल वंशावलीका

अनुसार यहाँ किरातीहरू अस्तित्वमा रहेको उल्लेख पाइन्छ । यो तथ्य वंशावलीले पनि पुष्टि गर्दछ (पौडेल, २०२०) । भाषा वंशावलीका अनुसार भूमागतले पशुपतिको मन्दिरमा विरूपाक्षको मूर्ती सुप्रतिष्ठित गरी अक्षय तृतीयादेखि नित्य विधिपूर्वक अर्चना गर्दा किरातहरू श्लेशमान्तक वनमा विहारमा थिए ।

 

किरात जातिको परिचय

नेपालमा शासकहरूमध्ये किरात जातिको नाम विशेष महत्त्वका साथ लिइन्छ। यस जातिका बारेमा महाभारत अथर्ववेद, तैतरीय ब्राम्हण, यजुर्वेद, कुमार सम्भवम्, विष्णु पुराण, रामायण, भागवत पुराण, कौटिल्यको अर्थशास्त्रमा वर्णन पाइन्छ । किरात मध्य एसियाको उत्तरपूर्व हुँदै भारतबाट नेपाल पसेका हुन्। यस जातिको शासन काल ईपू नवौँ शताब्दीदेखि इस्वीको तेस्रो शताब्दीसम्म अनुमान गरिन्छ (पाँडे, २०३८, ३९) ।

नेपालमा लिच्छवी कालीन शासनभन्दा पूर्व नाग, गोपाल, महिषपाल (आभीर), किरात, लिच्छवी, वृजिक, शाक्य, कोली, गुप्त जातिका मानिसहरू बसोबास गर्दथे । यी जातिहरूमध्ये केही जाति निकै शक्तिशाली थिए । यिनीहरूले नेपालमा राजतन्त्रात्मक शासन पद्धति स्थापना गरेका थिए । नेपालमा नागा जातिको मानिसहरूको अस्तित्वमा भएको विष्णु पुराण, स्वयम्भू पुराण, हिमवत् खण्ड र नेपाल महात्म्य ग्रन्थहरूबाट पुष्ट्याइँ मिल्छ । यस जातिका प्रसिद्ध पुरूष कालीनाग, वाणासुर, तक्षक, कर्कोटक आदि हुन् (उपाध्याय, २०५२, ४-५) ।

 

नेपालमा किरात

नेपालका विभिन्न कालखण्डहरूमा विभिन्न शासकहरूले शासन गरे । जसमा किरात काल पनि एक हो । किरात वंश एक प्राचीन शासक हुन्। जुन वर्तमान नेपालको पूर्वी पहाडी तथा हिमाली क्षेत्रहरूमा बसोबास गर्दछन् । किरात काललाई नेपालको प्रारम्भिक ऐतिहासिक शासकहरूमध्ये एक मानिन्छ। किरात काल पूर्वका शासकहरू कविलातन्त्रमा आधारित थिए । नेपालको पूर्वी भागतिर स-साना राज्यहरू स्थापना गरी बसेका किरातीहरूले ईपू सातौं शताब्दीतिर काठमाडौँ उपत्यकाको आभीर वंशी राजा भुवनसिंहलाई पराजित गरी किरात शासनको स्थापना गरे । त्यसपछि क्रमशः विभिन्न राजाहरूले यस कालखण्डलाई अघि बढाए । गोपाल भाषा वंशावली अनुसार नेपालमा २९ पुस्ता वा ३२ राजाले करिब १५ सय वर्षजति शासन गरे। किरात शासन कालमा कुथेर, मापचोक र लिङ्ग्ङ्गल जस्ता न्यायिक तथा प्रशासकीय संस्थाहरूको स्थापना भएको थियो। त्यस समयमा तिब्बत र भारतसँगको व्यापार फस्टाएको थियो ।

इतिहासमा किरात सभ्यता शक्तिशाली अवस्थामा थियो। किरातीहरू सुसंस्कृत, सभ्य र लडाकु जाति थिए । भारतको वैशालीबाट भागेर सरणार्थीका रूपमा नेपाल प्रवेश गरेका लिच्छवीहरूले किराती अन्तिम राजा गस्तीलाई पराजित गरी शासन सत्ता कब्जा गरेका थिए। यस युद्धपछि किरात शासनको अन्त्य हुन गयो। यस काठमाडौं उपत्यकाबाट खेदिएका किरातहरूले केही समय बनेपा, धुलिखेल, पाँचखालतिर शासन गरेको पनि भनिन्छ ।

त्यसपछि उनीहरू त्यहाँबाट पनि विस्थापित भई कोसी पूर्व स-साना राज्यहरूका शासक बने । नेपालमा शाह वंशको उदयपछि वल्लो किरात कोइच (सुनुवार) हरू भोटेकोसीदेखि दूधकोसीसम्म राज्य गरी बसेका थिए । उनीहरूसँग पृथ्वीनारायण शाहले लडाइँ नगरी मुखिया पद दिने सम्झौताबाट वल्लो किरात गोर्खा राज्यमा गाभे। यहाँ किरात खम्बूवानका खम्बूहाङहरूलाई राई पद दिएर खम्बुवानलाई पनि गोर्खामा गाभे। पल्लो किरातका याक्थुम्बालाई सुब्बा पद दिने सम्झौता गरी पल्लो किरातलाई पनि गोर्खा राज्यमा गाभे। यसरी वर्तमानका राई, लिम्बू, याक्खा र सुनुवार आदि किरातहरू उत्तर भारत र भुटानमा छरिएर रहेका छन्। आजको किरात समुदाय आफ्नो संस्कृति, चाडपर्व, परम्परा, मूल्य र मान्यतालाई संरक्षण गर्दै आफ्नो पुर्खाको विरासतमा गर्वको भावना राख्दछन् ।

 

किरात शासन काल

किरात राजवंशको अन्त्य ई. १८५ मा भई लिच्छवी राजा जय वर्माको शासन काल सुरू भएको आधारमा किरात शासन काल १७१८ वर्ष ८ महिना मान्नु पर्ने हुन्छ (रेग्मी, २०६६, १५)। गोपाल राज वंशावली अनुसार ३२ किरात राजाहरूको शासन काल जोड्दा १९०५ वर्ष ८ महिना देखिन्छ । इतिहासको कालक्रम मिलाउँदा माली गाउँको राजा जय वर्माको शके संवत् १०७ अर्थात् ई १८५ लाई नेपालको किरात शासनको अन्त्य र लिच्छवी राजा जय वर्माको शासन काल प्रारम्भ मान्दा १७१८ वर्ष ८ महिना हुन आएको हो। ई २०२० मा किरात शासन सञ्चालन भएको ३७३८ वर्ष भएको देखिन्छ । भाषा वंशावली अनुसार किरात शासन काल १९०३ वर्ष ८ महिना उल्लेख गरिएको पाइन्छ भने ३२ पिंढीका राजाका नाम सूचिबद्ध गरिएका छन्। हज्सनकाअनुसार एलम्बर ईपू. २०९५-९६ मा नेपालको गद्दीमा बसेका हुन्। पद्म गिरी वंशावली अनुसार किरात राजाहरूका गोकर्णमा राज दरबार थियो । त्यस स्थानमा हाल जङ्गल रहेको छ ।

 

नेपालका किरात राजाहरू

गोपाल वंशावली अनुसार नेपालमा गोपाल, महिषपाल र किरात वंशको शासन थियो। महिषपाल वंशका राजालाई पराजित गरी एलम्बरले किरात शासन प्रारम्भ गरे । भाषा वंशावलीअनुसार किरात राजाहरू बौद्धिक भएको स्पष्ट पार्न राजा हन्ती र विसुचिकाको संवाद पनि प्रस्तुत गरिएको पाइन्छ। यस वंशावलीमा गोपाल वंशका आठ राजा र शासन कालावधि ५८७ वर्ष ४ महिना उल्लेख भएको पाइन्छ। त्यसै गरी महिषपाल वंशका तीन राजा र शासन कालावधि १११ वर्ष ७ महिना उल्लेख भएको पाइन्छ (पौडेल, २०२०)। गोपाल राज वंशावलीका अनुसार नेपालका किरात राजाहरूका नामावली शासन अवधि निम्न छन् : एलम् (९० वर्ष), पेलम् (८१ वर्ष), मेलम् (७९), चमि (४२ वर्ष), धस्कम् (३७ वर्ष), वलुङ्च (३१ वर्ष ६ महिना), हुन्ती (४० वर्ष ८ महिना), हुरमा (५० वर्ष), तुस्के (४१ वर्ष ८ महिना), प्रसफुङ् (३८ वर्ष ६ महिना), पवः (४६ वर्ष), दास्ती (४० वर्ष), चम्व (७१ वर्ष), कङ्क (५४ वर्ष), स्वनन्द (४० वर्ष ६ महिना), फुको (५८ वर्ष), सिड्छु (४९ वर्ष ६ महिना), जुलम (७३ वर्ष ३ महिना), लुङ्क (४० वर्ष), थोरम (७१ वर्ष), थुको (८३ वर्ष), बम्मर्म (७३ वर्ष ६ महिना), गुन्ज (७२ वर्ष ६ महिना), पुस्क (८१ वर्ष), त्यपमि (५४ वर्ष), मुगमम् (५८ वर्ष), सलरु (६३ वर्ष), गुणम् (७४ वर्ष), खिम्बू (७६ वर्ष), गिरजिम् (८१ वर्ष), खुरामज (८१ वर्ष), खिगु ५८ वर्ष) रहेका छन् । किरात राजाहरूका अन्तिम राजा खिगुलाई पद्म गिरी वंशावलीमा गस्ती भनिएको छ । यही आधारमा किरात राज्यका अन्तिम राजा गस्ती भनिएको पाइन्छ ।

 

किरात कालका सहर

किरात कालमा मातातीर्थ, शङ्खमुल, थेन्चो ग्राम (थानकोट), खोप्रिङ (खोप र भादगाउँ), कुर्पासी (खोपासी), साङ्गा (साँगा), तेङ्क (टेकु) । थन्तुरी (बुढानिल कण्ठ) आदि बस्तीहरू प्रख्यात थिए। त्यस कालमा राजा एलम्बरको स्मरणमा यलेखुम (पाटन) सहर विकास गरिएको थियो (अर्याल, २०४३, २४) । यस कालमा मुख्यतः हनसप्रिङ (म्हेपी), किचिप्रिचिङ (किसिपाडी), छोंगुम (छोगडोल, थम्बू (ठेव), लेम्बटी (लेले) बस्ती विकास गरेका थिए (पाँडे, २०४२, पृ. ११) । यी बस्तीका अतिरिक्त मुख्य सहरहरू फनप्रिङ (फर्पिङ), युप ग्राम र यल (पाटन, ललितपुर), कोलीग्राम (लगनखेल) विकास भएका थिए। काठमाडौँ उपत्यका बाहिर पूर्वी क्षेत्रमा माझ किरात, वल्लो किरात र पल्लो किरात अस्तित्वमा थिए ।

 

किरात कालको कृषि

किरात कालमा कृषिको निकै उन्नति भएको थियो । किरात कालमा मुख्यतः धान, गहुँ, कोदो, तोरी आदि खाद्यान्न उत्पादन गरिन्थ्यो। त्यस कालमा उखु र फलफूलको पनि खेती गरिन्थ्यो। खेतीको लागि कुलो निर्माण गरिन्थ्यो। पशु पंक्षीमा सुगर, कुखुरा र माछा प्रचलित थिए (पाँडे, २०३८, ३३) ।

 

किरात धर्मको आचार संहिता

किरात आचार संहिता अनुसार वनजङ्गल, घाँसपात, फलिन्जेल काट्न र डढाउन हुँदैन । प्रकृतिमा रहेका गर्भवती गर्भवती रहेका पशुपंक्षी, चरा, जीव जन्तु सारा प्राणी हुँदा मार्नु हुँदैन। माघ महिनादेखि श्रावणसम्म रूख वृक्ष चराचुरुङ्गी केही मार्नु, काट्नु हुँदैन। जुनसुकै प्राणीहरूलाई उमेर नपुगी मारियो भने अपराध लाग्छ । मान्/सम्मान उमेर नपुगी मरियो भने मुक्ति पाइँदैन। प्रकृति र पितृलाई अर्पण नगरी नया अन्न, फलफूल, बालीनाली खाइयो भने श्राप लाग्छ । त्यसैले पितृ र प्रकृतिलाई प्रसाद ग्रहण गराउन न्वागी गर्नुपर्छ। आगोलाई खुट्टाले हान्नु, छुनु, कुल्चनु हुँदैन । आगोमा पिसाब फेर्नु र दिसा गर्नु हुँदैन। आगोलाई देख्ने बित्तिकै नमस्कार गर्नुपर्छ। पानीमा दिसा, पिसाब गर्नु हुँदैन, थुक्नु, जुठो फाल्नु, फोहोर लगाउनु हुँदैन ।

 

लेखक UKROA ट्याक्सस च्याप्टरको अध्यक्ष हुनुहुन्छ ।

Post Comment

Scroll to Top Scroll to Top Stretched