किरात राई आदिम पुर्खा-सर्वधन राई
सर्वधन राई, बेलायत
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो। यस देशमा परापूर्व कालबाट नै विभिन्न भाषाहरू विकसित भई विभिन्न संस्कार, चालचलन, रहनसहन, रीतिरिवाज र परम्परा हुर्कंदै र मौलाउँदै आएको स्थिति छ। वर्तमानको विश्वमा प्रविधिको चरम विकासको परिणाम स्वरूप मानवीय चिन्तन एकातिर विस्तरण भएको स्थिति छ भने अर्को तर्फ साँघुरिदै आइरहेको स्थिति छ । प्रायः विपन्न राष्ट्रका जातजातिका संस्कृतिहरू लोपोन्मुख छन् भने विकसित राष्ट्रका संस्कृति दिनप्रतिदिन उत्कर्षतर्फ उन्मुख छन् । यसले मानव जातिका मूर्त-अमूर्त सांस्कृतिक सम्पदाका धरोहरलाई गौण महत्त्व दिइने प्रवृत्ति विकास भएको देखिन्छ । सदियौंदेखिको सामाजिक मूल्य र मान्यतालाई अपनत्वमा लिने कुरा हरेक भाषिक समुदायले स्वीकारेको हुँदैन किनकि समुदायको मुख्य पहिचान भाषा, संस्कृति, लोक आख्यान, लोकोक्तिलाई आधार बनाई अङ्गाल्दै आएको हुन्छ र यिनीहरूमा स्थानीय रङ्ग अस्तित्वमा रहेको हुन्छ । यहिकारण यिनीहरूमा विविधता रहन्छ। यसैगरी भाषिक समुदायको नश्लीय वंश वृक्ष पनि आ-आफ्नै प्रकृतिका हुन्छन् ।
नेपालको भोट-बर्मेली भाषा परिवारमा पर्ने एउटा तथाकथित समूह राई रहेको छ । राई शब्दको व्युत्पत्ति र यसका जातीय समुदायका बारेमा विस्तृत छलफल भएको पाइँदैन। राई जातिका सन्दर्भमा गरिएका व्याख्या र विवेचनमा विज्ञहरूको मतऐक्यता पाइँदैन । नेपाल सरकारले पहिचानलाई मध्य नजर गर्दै आदिवासी जनजातिको सूचीकरण प्रकाशमा ल्याएको पाइन्छ। यस सूचीकरणको मापदण्ड स्पष्ट र वैध नभएकाले सर्वस्वीकार्य हुन सकेको छैन। यसको कारण भाषिक विविधता, आम सञ्चार र प्रविधिको विकासको प्रभाव र भौगोलिक विकटताले सिर्जना गरेको सांस्कृतिक सञ्चरणमा अवरोध र कष्टकर सहकार्यको परिणाम हुन सक्छ ।
नेपालमा परापूर्वकालदेखि नै प्रचलित र स्थापित रहेको, राज्यबाटै मान्यता पाएको किरात जाति रहेको छ। यस जाति भित्रका अनेक जाति मध्ये राई स्थापित भइसकेको पाइन्छ । यो राई जातिको आफ्नो ऐतिहासिक मूल्य र मान्यता रहेको छ। यस जातिको भाषा, संस्कृति, परम्परा, भेषभुषा र चालचलन भावी पुस्तामा पुखौँदेखि पुस्तान्तरण भई संस्कृति र परम्पराका रूपमा कायम रहेको पाइन्छ । वर्तमान प्रविधिको उन्नतिको कारण बदलिंदो परिस्थितिले ती पौराणिक विरासतहरूलाई धीमा गतिमा पश्चगामी बनाउँदै लगिएको स्थिति देखिन्छ ।
विगतदेखि नेपालको राई जाति नभएर पदवी हो भन्ने एउटा समूह रहेको पाइन्छ। यो विचार किरात भाषिक समुदायको बीचमा समस्याको रूपमा देखिएको छ । राई भाषाभित्र २६ भाषिक समुदायहरू रहेको तथ्याङ्कले देखाएको छ । उनीहरूले आफ्नै मातृभाषा बोल्ने गर्दछन्। उनीहरूका बसाइको भौगोलिक विविधता, रहनसहन र चालचलनमा पनि केही भेद पाइएका छन्। नेपालमा जाति वर्गीकरणका मुख्य मानक भाषालाई मानिएको देखिन्छ । यस आधारमा फरक भाषा बोल्ने समुदायहरू फरक जाति हुन् र फरक भाषा बोल्ने समुदायहरूलाई फरक जाति मानिनु पर्छ भन्ने तर्क राख्छन्। यसको अर्थ चाम्लिङ र बान्तवा फरक भाषा भएकाले फरक जाति हो भन्ने तर्क हुन्छ । यस आधारमा केही भाषिक समुदायलाई राई जातिबाट पृथकीकरण गरी छुट्टै जातिको मान्यता दिइएको छ। यस लेखको उद्देश्य किरात जातिको प्राचीन संस्कृति र राई जाति नभई पदवी हो भन्ने स्पष्ट पार्नु रहेको छ ।
किरात भित्र कुन-कुन राई जाति र उनीहरूका भाषा सम्बद्ध छन् । उनीहरू कहिलेबाट राई जाति भए, यो जातीय शब्द जात जनाउने शब्द हो कि पद जनाउने शब्द भनेर विवाद देखिन्छ, साथै राई या राय के हो ? किराती राई जातिहरूको साझा ऐतिहासिक धरोहर, पिता पुर्खाको विरासत जसले इतिहासमा सम्भवतः ढुङ्गे युग, सिकारी युग पार गरेर कृषि युगमा पदार्पण भई पशुपालन र खेतीपाती गर्दै गाँस, बास र कपासको शिक्षा दीक्षाको नेतृत्व गरे । उनीहरूले विकास गरेको सभ्यता किरात हो। यस किरात सभ्यताको प्रणेता ख्वाक्चिलिक हुन् । उनका तयामा र खियामा दुई दिदीहरू थिए। उनीहरूले कपडा बुनेर लगाउने परम्पराको विकास गरे। यसरी उनीहरूले औद्योगिक युगको प्रारम्भिक रूप विकास गरी जीविकोपार्जन गर्न कृषि युगलाई विकसित गरेका थिए। जुन युग आधुनिक युगसम्म अविच्छिन्न रहेको छ ।
किरात राईहरू भाषिक आधारमा छुट्टै जातिमा वर्गीकृत हुने अभियानमा छन्। उनीहरू कुलुङ र जेरुङ भाषा छुट्टाछुट्टै भएकाले यिनीहरू फरक जाति हुन्। यसको अर्थ कुलुङ एउटा जाति हो र जेरुङ अर्को जाति हो भन्ने तर्क गर्छन् । यही भाषाका आधारमा किरात राई भित्रको १०-१५ समुदाय छुट्टै जातिमा सूचीकृत भएका छन् र अरू सूचीकृत हुने अभियानमा छन् । राई समूहका भाषाको संरचनात्मक व्यवस्थामा असमानता रहेको पाइन्छ । यद्यपि उनीहरूका आख्यान, लोकोक्ति, पौराणिक पात्रहरू, सभ्यताका तत्त्वहरूमा समानता पाइएका छन् । किरात जातिको समरूपताको मूल आधार भौगोलिक निकटता र सभ्यतालाई मानिएको छ। किरात जातिको अर्को समान विशेषता मुन्दुमको सार वस्तु एउटै रहनु हो । भाषिक आधारमा पृथक अस्तित्व रुचाउने राईहरूको सांस्कृतिक आधार मुन्दुम नै हो। त्यो सबैको समान रहेको छ। पछिल्लो सन्दर्भमा किरात जातिको प्रतिनिधित्व राई जातिले बहन गर्न थालेको छ र यो राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा स्थापित पनि बनेको छ। यद्यपि भाषिक भेदका आधारमा छुट्टै जाति दाबी गर्ने समूह क्रियाशिल रहेका छन्। यसका सम्बन्धमा सघन छलफल गरी निष्कर्षमा पुग्नुपर्ने देखिन्छ ।
किरात राईका आदिम पुरुष ख्वाक्चिलिक हुन्। उनले ढुङ्गे युग, सिकारी युगबाट कृषि युगमा किरातलाई प्रवर्तन गरेका हुन् । उनले किरात सभ्यताको जग बसाली संस्कृतिको कोशेढुङ्गा स्थापना गरेका हुन् । उनका चेलीहरूले तानबाट कपडा बुनेर औद्योगिक युगको प्रारूप विकास गरेका हुन्। यस लेखमा ख्वाक्चिलिकका स्वदेशी तथा विदेशी अध्येताहरूको अनुसन्धानलाई अध्ययन गरी उनको विविध नाम, पुर्खाको, पत्नी र चेलीहरूका नामलाई उल्लेख गरिएको छ। यसले भावी पिंढीका किरात सन्ततिहरूलाई किरात जातिको विकास क्रम बोध गर्न
सहज हुनेछ । यस लेखमा ख्वाक्चिलिकका भाषिक भेद विशेष भिन्न उच्चारण हुने नाम शब्दलाई सूचीबद्ध गरिएको छ । यसले ख्वाक्चिलिकका फरक भाषाका नाम शब्दलाई अभिलेख गर्नाले आदिम पुरुषको शक्ति, गरिमा र योगदानको मूल्याङ्कन गर्न सजिलो हुनेछ। हिन्दू संस्कृतिमा शिवका नाम तीन हजार तीन सय, विष्णुका नाम एक हजार छ सय र देवीका नाम एक हजार पाइन्छ । किरात राईका आदिम पुरुषको नाम पचासभन्दा बढी रहनु गरिमाको कुरा हो । किरात वंशावली अनुसार ख्वाक्चिलिकको वंशवृक्षमा उनी, आमा, बुबा, पत्नी र चेलीको
नामहरू रहने छन् (हेर्नुहोस् परिशिष्ट ग) ।

Post Comment