Sign In

अमेरिकामा किरात राईहरूको संस्थागत विकासको विवेचन -शिवकुमार राई, न्युहम्प्सायर, अमेरिका

शिवकुमार राई
शिवकुमार राई, न्युहम्प्सायर, अमेरिका

 

पृष्ठभूमि
मे ३, २००३ मा वासिङ्गटन डिसीको रकक्रिक पार्कमा हामी झन्नै एक सय राई साथीभाइहरू विभिन्न ठाउँबाट भेला भएका थियौं। यस भेलामा राई बाहेक अन्य शुभचिन्तक साथीहरूको पनि उपस्थिति थियो। न्यु ह्याम्पसर, बोस्टन, न्यु योर्क, कोलोरोड़ो, नेब्रास्का, फ्लोरिडा, वासिङ्गटन डिसी निवासीहरूको आर्थिक तथा भौतिक योगदानबाट सम्पन्न भएको थियो। अमेरिकामा राईहरूको यो पहिलो ऐतिहासिक साकेला कार्यक्रम थियो। पहिलोचोटि साकेला नाच्ने अवसर मिलेको थियो। त्यस बेला साकेलाभन्दा चण्डी सिली भन्ने चलन थियो। यो चण्डी नाम पञ्चायतका शाह राजाले भिराएको नाम हो। हामी सबैले साकेला नाच्ने कोसिस गरेका थियौँ।

उपस्थित भएका साथीभाइहरू मध्ये रानु राई साकेला सिलीको निक्कै पारखी भएको प्रस्टै झल्किन्थ्यो। त्यसैले उहाँको अगुवाइमा ढोल झ्याम्टाको तालसँग हामी सबैले जब्बरजस्त साकेला नाच्यौँ। त्यो नै अमेरिकामा किरात राईहरूको अविस्मरणीय साकेला भयो। त्यस कार्यक्रममा हामी बीचमा परिचय मात्र नभई किरात राई संस्कृतिको विजारोपण पनि भएको थियो। त्यही कार्यक्रममा विश्व बैङ्कमा कार्यरत डा. नवीनकिशोर राईले किरात राईको ऐतिहासिक पृष्ठभूमिको बारेमा विचार राख्नु भयो।

३ मे, २००३ मा साकेलाको दिनमा सबै राईहरू समेटिनु पर्ने आवश्यकता महसुस गरी डा. कल्याणी राईको नेतृत्त्वमा तदर्थ समिति गठन गरियो। अन्य राज्यहरूबाट पनि इच्छुक प्रतिनिधि मनोनयन गर्ने काम भयो। अमेरिकाको कानुन अनुसार Non-Profit Organization दर्ताको लागि प्रक्रिया बढायौँ र संस्थाको नाम Kirat Rai Society of America (KRSA) राखियो। केही महिना पश्चात् उक्त संस्थाको सभापति डा. राजकुमार राई बन्नु भयो। सन् २००४ मा यो संस्था नेब्रास्का राज्यमा दर्ता भई नाफा रहित संस्थाको रूपमा ५०१ (सि) ३ प्रमाण-पत्र पनि प्राप्त गर्यो।

KRSA को स्थापनापछि
KRSA को स्थापनापछि हामी किरात राईहरू बीच मिटिङ, छलफल, साकेला, विवाह, पास्नी, भेटघाट, चिनजान, सर-सहयोगको राम्रै आदानप्रदान सुरु भइसकेको थियो। सोही समय ताका जय छाङ्‌छा राई नेपाल एम्बेसी वासिङ्गटन डिसीमा कार्यरत हुनुहुन्थ्यो। जय छाङ्‌छाले हामीलाई जानकारी दिनु भए अनुसार अमेरिकाको न्युजर्सी राज्यमा एउटी राई चेलीको मृत्यु भई लास बेवारिसे भएको खबर नेपाली दुतावासमा आएको तर किरात समुदायका कसैलाई र स्वयम् मलाई पनि समयमा थाहा नभएको र सेर्पा साथीहरूले उनको सद्गत् गर्न परेको घटनाबाट हामी राईहरूले पाठ सिक्नुपर्ने बताउनु भयो।

हामी सबैले मिलेर काम गर्दै थियौं तर सभापति डा. राजकुमार राई काम विशेषले अमेरिका छाड्नु भएपछि सन् २००६ मा संस्थाको कार्यवाहक अध्यक्ष चूना राई-नेल्सन बन्नुभयो। तर काम गर्दै जाँदा राईले बैठकको निर्णय हुन नपाउँदै रजिस्ट्रर एजेन्ट भीम राईबाट मिलन राईको नाममा सारी दिनुभयो। अध्यक्ष राईको उक्त कदम केही साथीहरूलाई चित्त बुझेन र काम कारबाही अगाडि बढाउन अध्यक्षले राजीनामा दिनुपर्छ भन्ने कुरा समेत उठ्यो।

सोही समयमा अमेरिकाको न्यु योर्कमा दुर्गा राईको नेतृत्त्वमा नेपाल किरात राई एसोसिएसन अफ अमेरिका (NEKRA) क्यालिफोर्नियामा तेज राईको नेतृत्त्वमा किरात राई एसोसिएसन अफ नोर्देन क्यालिफोर्निया (KRANC) नामका संस्थाहरू जन्मिसकेका थिए। ती सबै संस्थाको उद्देश्य किरात राई भाषा, धर्म, संस्कार र संस्कृतिलाई प्रदेशी भूमिमा कसरी स्थापित गर्ने भन्ने थियो। हाम्रो मिटिङ, छलफल, साकेला, अन्य सांस्कृतिक क्रियाकलापहरू निरन्तर अगाडि बढ्‌दै गए।

एकताको प्रयास
संस्थाको विकासका दौरानमा न्यु योर्कका (NEKRA) का सभापति दुर्गा राई र अन्य पदाधिकारीहरू नारद राई, केशवराम राई, डा. कृष्णकुमार राई, प्रभाकर राई, विष्णु राईहरूसँग फोन वार्ता अगाडि बढायौं र KRANC क्यालिफोर्नियाका सभापति तेज राई, सल्लाहकार सुरेश चाम्लिङ लगायत अरु केही राई बन्धुहरूसँग घनीभूत छलफल जारी राख्यौं। यो एकता प्रयासमा धेरै पटक न्यु योर्कमा मिटिङ पनि गयौँ। प्रत्येक रात छलफलको प्रक्रियामा जुटियो।

हाम्रो मुख्य उद्देश्य एउटै संस्थामा सबै राईहरूलाई कसरी समेट्ने, सबैको एउटै संस्था कसरी बनाउने र भाषा संस्कृतिको संरक्षण कसरी गर्ने भन्ने नै मूल उद्देश्य रहेको थियो। यता KRSA मा भने एकता गर्ने प्रयासमा डा. नवीनकिशोर राईको पनि सहमत भए पश्चात धौलवीर राई, डा. कृष्णकुमार (केके) राई, शिवकुमार राई, सुरेश चाम्लिङ, चुना राई नेल्सन र अरु साथीहरू पनि सहमत हुनुभयो।

उक्त सकारात्मक छलफलपछि अप्रिल २५, २००७ को दिन हामी इ‌ङ्ग्लैन्ड बासी (Connecticut, Maine, Massachusetts, New Hampshire, Rhode Island and Vermont) राईहरू बोस्टोनको टिन टिन बफेटमा छलफलको लागि भेट भयौँ र छलफलपछि सबैलाई समेट्ने नयाँ संस्थाको स्थापना गर्नुपर्ने र त्यसले विभिन्न राज्यहरूमा छरिएर रहेको सबै राईहरूलाई संस्थामा एकजुट गरेर लानुपर्ने अवस्थाको निष्कर्ष निकाल्यौं।

त्यसपछि न्यु योर्कको NEKRA, क्यालिफोर्नियाको KRANC र KRSA मिलाएर संस्थाको नाम United बाट सुरु गर्ने सल्लाह भयो। जब वार्ताले सकारात्मक रूप लियो एक तदर्थ समितिको गठन गरियो। उक्त समितिले संस्थाको नाम United Kirat Rai Organization of America (UKROA) राखी संस्थाको विधिवत स्थापना भयो।

संस्थामा आउन बाँकी केही साथीहरूलाई पनि समेट्नको लागि विभिन्न प्रयासहरू भए। UKROA ले सहमतीका लागि धेरै प्रयास गर्यो। यसले आफ्नो स्थापना कालमा नै एकीकरणको उद्देश्यलाई प्राथमिकतामा राखेको थियो र यद्यपि जारी छ।

एकीकरणका प्रयास र असफलता
KRSA र UKROA बीच एकीकरण गर्न UKROA वार्ता टोली पटक पटक गठन गरियो र वार्ता पनि भयो। प्रशस्त वार्ता संस्थागत र व्यक्तिगत पनि भएको छ। मुख्य निर्णायक वार्ता र सम्झन लायक केही वार्ता यहाँ उल्लेख गर्दछु।

एक पटकको वार्ताको नेतृत्त्व KRSA को तर्फबाट सायतमान राई र लीला राई (माक्रिहाङ) र UKROA को तर्फबाट धौलवीर राई र डा. कृष्णकुमार (केके) राई हुनुहुन्थ्यो। उहाँहरूले नेब्रास्का गएर सहमती गर्ने, KRSA को 501(c) 3 लाई मान्यता दिने, नामको बारेमा अगाडि United थप्ने वा पछाडि society काटेर organization आदि इत्यादि गर्ने अन्तिम सहमती भएको थियो। नेब्रास्का गएर एकीकरण गर्ने ठूलो योजना थियो र UKROA को तर्फबाट म शिव राई, धौलवीर राई, डा. केके राई, सुरेश चाम्लिङ समेत नेब्रास्का जाने भनी प्लेनको टिकट काटी म न्यु योर्कसम्म गएको थिएँ। तर अघिल्लो दिनको साँझ KRSA मा कुरो मिलेन योजना रद्द भयो भनेर खबर आएपछि खाली हात फर्किनु पर्यो। सोही समयदेखि लीला राई र सायतमान राई दुबै संस्थामा नबसी निष्क्रिय रहनु भयो।

हामीले सकारात्मक वार्ताको लागि पटक पटक निर्णय पनि गरेका थियौँ। यसै सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने सवालमा दुबै समूहहरू न्यु योर्कको घेरै ठाउँहरूमा धेरै पटक छलफल भएको थियो। साथै हामीबीच फोनमा कुराकानी र इमेलमा कुरा आदान प्रदान भएका थिए। ज्याक्सन हाइटको थकाली किचेनमा हामीले धेरै पटक मिटिङ् र छलफल गर्यो। लीला राई (माक्रिहाङ) को घरमा भने धेरै सकारात्मक र हामी एकताको नजिकै पुगेको अवस्था थियो, जहाँ खगेन्द्र राई र मणि वाङ्‌देल धेरै सकारात्मक हुनुहुन्थ्यो। दूर्भाग्य वश त्यसले मूर्त रूप लिन सकेन।

अर्को पटक पुनः विश्व बैङ्कबाट रिटायर्डपछि डा. नवीनकिसोर राईको पहलमा युएनको लागि नेपालको प्रतिनिधि अमेरिकी राजदूत अमृत राई सहितको टोलीद्वारा वार्ता गरिएको थियो। त्यो टोलीले पनि सकारात्मक नतीजा दिन सकेन। सुरेश चाम्लिङका अनुसार सोही समयमा डा. नवीनकिशोर राईसँग कुराकानी गर्दा डा. राई ले UKROA का साथीहरू करिब ९०% विकल्प लिएर आउनु भो तर KRSA को एक मात्र विकल्प यो पुरानो संस्था भएकोले यसमा सबै आउनु पर्छ भन्ने जिकिर रह्यो।

विभिन्न विकल्प सहितको प्रस्ताव र पटक-पटकको छलफलबाट पनि हामी एकताको लागि सहमती हुन सकेनौं। एकीकरणको लागि वार्ता असफल भएपछि हामी दुबै समूह अमेरिकाको नियम कानुन अनुसार नाफा नकमाउने 501(c)3 संस्थाको रूपमा स्थापित भयौँ। तर जे भएता पनि हामी दुईवटै संस्था हाल किरात राई यायोक्खा नेपालसँग आबद्ध भएको संस्था हो।

UKROA विस्तरण
UKROA ले अमेरिकाको विभिन्न राज्यहरूमा सामाजिक संस्थाहरूसँग राम्ररी सहकार्य र हातेमालो गर्दै आएको छ। अमेरिकामा झन्नै ४ हजारको स‌ङ्ख्यामा सामाजिक संस्थाहरू होलान्। त्यस मध्ये आपत विपतमा सहयोग यो संस्थाले पनि राम्रै नाम कमाउन सफल भइसकेको छ।

यो संस्थाको प्रथम निर्वाचित अध्यक्ष शिवकुमार राई FIPNA (Federation of Indigenous People of Nepal in America) को President हुँदै NRN USA को President पनि भइसकेका छन् र हाल NRN USA को संरक्षक हुनुहुन्छ। यस संस्थाले व्यक्तिगत प्रगती मात्रै नभई अन्तरराष्ट्रिय क्षेत्रमा पनि त्यत्तिकै राम्रो सम्बन्ध बढाएको छ।

यो संस्था २००७ मा Ad-hoc Committee बन्यो र उक्त कमिटिको अध्यक्ष चूना राई नेल्सन, डा. केके राई र मिलन राई पनि उक्त कमिटिमा हुनुहुन्थ्यो। यसपछि लगत्तै चुनावी प्रक्रियाबाट UKROA का अध्यक्ष क्रमशः शिवकुमार राई, मिलन राई, प्रभाकर राई, विष्णु राई, मुना राई, जय राईले नेतृत्त्व सम्हाल्नु भयो।

यस संस्थामा धौलवीर राई, तेज राई, लाक्पा सेर्पा लगायत भारतीय, भुटानी साथीभाइ र अन्य थुप्रै व्यक्तिहरूको साथ सहयोग र योगदान रहेको छ। UKROA कोलोराडो राज्यको कानुन अनुसार 501(c)3 प्रमाण-पत्र प्राप्त गर्न योगदान गर्नु भएकोमा यसको श्रेय चूना राई नेल्सनलाई दिनै पर्छ। हाल न्यु योर्क, मासाचुसेट्स राज्यमा पनि कानुन अनुसार यसको थप शाखाहरू दर्ता भइसकेको छ।

वर्तमानमा उल्लेख्य सदस्य भएको संस्था भएका छौं। यस संस्थामा हामीले भुटानी, भारतीय, बर्मेली भनेर छुट्याउने गरेका छैनौं, बरु स्वागत र सम्मान गरेका छौं। विभिन्न कार्यक्रममा उहाँहरूको इच्छाइएका राष्ट्रिय झन्डा पनि स-सम्मान राख्ने गरेका छौं। किनकि हामी पनि उहाँहरू जस्तै प्रदेशी किराती राई नै हौं। वर्तमानमा UKRAO को पाँच Chapters छन् र उक्त क्षेत्रहरूमा विधिपूर्वक ३/३ वर्षमा चुनावी प्रक्रियाबाट कार्य समितिको चयन हुन्छ। अहिलेसम्म संस्थाको विधि विधानबाटै कार्यकारी समिति बन्ने गरेको छ।

संस्थाको क्रियाकलाप
अमेरिकामा नेपालीभाषीहरू करिव ५ लाख मध्ये करिब ३ हजार जति किरात राईहरू छन् भन्ने अनुमान गरिएको छ। हामी राईहरू विभिन्न नामको संस्थामा आवद्ध भए पनि हालसम्म विभिन्न किसिमका सहयोग गर्ने कोसिस गरिरहेका छौं।

यसमध्ये साल्पा सिलिचुङ संरक्षण परियोजनामा यस संस्थाका पूर्व अध्यक्ष, सल्लाहकार विष्णु राईले संसारभरिका राईहरू बेलायत, जापान, अस्ट्रेलिया, क्यानडा, कतार, भारत, भुटान आदि देशहरूबाट उच्च स्तरीय सहयोग जुटाउन सफल भइसक्नु भएको छ। उहाँको नेतृत्त्वमा अप्रिल १६, २०२४ मा पूर्व पर्यटन तथा संस्कृति मन्त्री सुदन किराती सहित विश्वभरिको किरात राईहरूको उपस्थितिमा सुम्निमा पारुहाङ‌को प्रतिमा स्थापना र साल्पा सिलिचुङ संरक्षणको उद्घाटन पनि भइसकेको छ।

UKROA ले हालै साकेला थान निर्माणको लागि 14-Paige Hill Road Brimfield, Massachusetts मा जनवरी १४, २०२४ मा ८.०२ एकड जग्गा एकलाख, अठतीस हजार, एक सय एकसट्ठी डलरमा खरिद गरेको छ। त्यो जग्गामा मञ्च, साकेला थान, घेराबारा, पानी, बत्ती र शौचालयको निर्माण र व्यवस्थापन कार्यको थालनी भइरहेको छ। यही साल जुन १, २०२५ मा बृहत साकेला कार्यक्रम त्यही स्थानमा हुने योजना रहेको छ। यी उल्लिखित कार्यमा शीर्ष भूमिका निभाउनु हुने बोस्टन निवासी विष्णु राईलाई धन्यवाद नदिए अन्याय हुन्छ।

विगतमा धेरै सहयोग गरे पनि कतिपय नाम, तीथि, मिति र रकम बिर्सिसकेका छौं। साकेला उँभौली, उँधौली) पूजा होस्, यलम्बर साँझ / सुम्निमा साँझ भनौँ, किरात राई संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने र नयाँ पुस्तालाई सुसूचित गर्ने कामको थालनी गरी निरन्तरता दिएका छौं।

त्यतिले मात्रै हाम्रो कर्तव्य पूरा हुँदैन। त्यसैले आफ्नो देशमा प्राकृतिक विपत्तीमा होस् वा संस्कृति संरक्षणमा होस् वा संसारको कुनै पनि देशमा मानव विपत्तीहरूमा हरतरहबाट सक्दो सहयोग गर्ने कार्य गरिरहेका छौं। संस्थाले मुख्य गरी आर्थिक अवस्था कमजोर भएका व्यक्तिको स्वास्थ्य उपचार, स्कुल तथा अस्पताल भवन निर्माण, प्राकृतिक तथा संस्कृति संरक्षण गर्न आर्थिक सहयोगका साथै लत्ता कपडा पनि प्रदान गरेका छौं।

यसका साथै विशिष्ट राईहरू र अन्य लब्धप्रतिष्ठित व्यक्तिहरूलाई अमेरिकामा स्वागत, सत्कार र सम्मान गरेका छौं। संस्थाले गरेका उल्लेखनीय सहयोगका विवरणहरू निम्न छन् :

  • सन् २०१५ देखि प्रत्येक वर्ष संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सञ्चालन,
  • नेपालदेखि भुटानी साथीहरू आउन र स्थापित गर्ने कामका लागि शिवकुमार राईको नेतृत्त्वमा धेरै पटक सर-सहयोग गर्नु,
  • किरात राई संस्कृतिको उत्थान र प्रचार प्रसारको लागि सन् २००८ को डिसेम्बरमा तेज राईको नेतृत्त्वमा UKROA को भित्ते पात्रो २०० थान छापेर वितरण गरिनु,
  • सन् २००९ मा नेपालको लोपोन्मुख जाति चेपाङ बस्तीमा स्कुल भवन निर्माणको लागि आर्थिक सहयोग गर्नु,
  • सन् २००९मा श्रीमती महेन्द्रकुमारी राईलाई प्राकृतिक दुबै खुट्टा लगाउन र अन्जना गुरुङको उपचार गर्न उल्लेखनीय आर्थिक सहयोग गर्नु,
  • सन् २०११ मा Kirat Rai International Convention का लागि राम्रै आर्थिक सहयोग,
  • नेपालको विनासकारी भूकम्प सन् २०१५, COVID-19, बाढी पहिरो, आगलागी जस्ता दैवी प्रकोपबाट पीडित भएकाहरूलाई उल्लेख्य आर्थिक सहयोग गरेको,
  • साल्पा सिलिचुङ् संरक्षण र मुक्कुम्लुग संरक्षणका लागि UKROA सदस्यहरूबाट नगद सहयोग प्रदान,
  • सन् २०२१ मा UKROA बाट डा. भगवान कोइरालाको बाल अस्पताल निर्माण परियोजनाका लागि केन्द्रीय कोषाध्यक्ष राजन कुथुमीबाट $२५, ००० र अन्य सदस्यबाट उल्लेखनीय सहयोग,
  • सन् २०२४ मा सुरेश चामलिङ र ममता राईमार्फत किरात नाक्छुङहरूलाई नगद, लत्ता कपडा, प्रमाण-पत्र र सम्मान कार्यक्रम सम्पन्न,
  • भारत, सिक्किमका पूर्व मुख्य मन्त्री पवन चाम्लिङ, अल्ट्राधावक मीरा राई, सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई, गायक राजेश पायल राई, गायक शम्भु राई, नेता अशोक राई, डा. भगवान कोइराला, डा. शंकर राई र २०१३ Miss Nepal USA विजता वर्तीका राई, अमेरिकामा बसोबासका लागि आउने राई परिवारहरूलाई अमेरिकामा विभिन्न समय र स्थानहरूमा स्वागत तथा सम्मान गर्नु।

निष्कर्ष र अबको चुनौती
नेपालको कुल जनसङ्ख्याको २.३४% (लगभग साढे ६ लाख) राईहरू कुल जनसङ्ख्याको सानो सङ्ख्या हो। यस मध्ये अमेरिकामा आएका हामीहरू झन ३ हजार जति छौँ होला। हामी किरात राईहरू विभिन्न संस्थामा आबद्ध भए पनि दैवी प्रकोप पीडित, स्वास्थ्य उपचार, स्कुल निर्माण, अस्पताल निर्माण आदिको लागि सकेको सहयोग गरेका छौं। साथै हामीले जानेका र सकेको जति हाम्रो संस्कार संस्कृतिको जगेर्ना गर्ने प्रयास निरन्तर गरेका छौं।

हाम्रो यो सानो किरात परिवार विविध कारणले एकीकृत नभएकाले जति गर्न सकिन्थ्यो त्यति गर्न सकेका छैनौं। यो कुरा निःसन्देह छ कि यसरी हामी फुट्दै जाने हो भने यो प्रदेशी भूमिमा किरात राईहरूको भाषा, धर्म, संस्कृति र चाडपर्व आदि हराउँदै जाने निश्चित देखिन्छ। भविष्यको पिंढीलाई हाम्रो संस्कार, संस्कृतिको जगेर्ना नगर्ने हो भने उनीहरूले हामीलाई धिक्कार्ने निश्चित छ। सम्पूर्ण किरात राईहरू एकजुट भएर जातीय कला, भाषा, धर्म र संस्कृतिलाई सम्वर्द्धन गर्नुको विकल्प देखिंदैन।

हामी राईहरू विभिन्न स्थानमा छरिएर रहेकाले संस्कृति र भाषाका स्थानीय भेद सृजना भएकाले मानक र स्वीकार्य रूप निर्माण गर्न सकिएको छैन। यसले प्रयोगमा एक रूपता पाइँदैन। यो समस्याको रूपमा रहेको देखिन्छ। उदाहरणको लागि दशैं मान्ने या नमान्ने, सेतो टिका वा रातो टिका लगाउने आदि। हङकङ र युकेमा सामूहिक सुतुलुङ् (चुला) पूज्ने चलन सुरु भएकाले अमेरिकामा पनि साथीभाइहरू बवच छलफल चलेको छ। यसको भविष्यमा वैकल्पिक उपाय हुनसक्ने देखिएकाले यसकाबारेमा बुद्धिजिवी र विज्ञहरूको राय, सल्लाहरू समेटिनु आवश्यक देखिएको छ।

अन्तमा २१औं शदीको स्वतन्त्र मान्छेहरूलाई जुनसुकै धर्म, संस्कार, रीतिरिवाज अङ्गाल्न लागि नैसर्गिक अधिकार भएता पनि विस्तारै नयाँ पिंढीहरूमा धर्म परिवर्तनको असर र अन्य विदेशी संस्कृतिको प्रभावले गर्दा किरात संस्कृतिलाई विस्थापन गर्ने देखिन्छ। अब नवीन पिंढीका किरात सन्ततीहरूलाई संस्कृति, संस्कार सिकाउने विषय चुनौतीको रूपमा रहेको छ। यसको लागि वृहत् छलफल र दूरदर्शी मार्ग तयार गरी प्रशिक्षण दिनु पर्ने टड्‌कारो आवश्यकता देखिन्छ।

लेखक UKROA संस्थापक सदस्य, प्रथम निर्वाचित अध्यक्ष तथा वर्तमान सल्लाहाकार हुनुहुन्छ।

Post Comment

Scroll to Top Scroll to Top Stretched