आदिवासी जनजाति : दर्शन र दार्शनिकको खोजीमा-तोरण गुरुङ, न्यु योर्क
तोरण गुरुङ, न्यु योर्क
आदिवासी जनजाति महासङ्घ अमेरिकाको वर्तमान अध्यक्षको भूमिकामा रहँदा फिप्ना सङ्घीय परिषद् सदस्य संस्था युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको स्मारिकामा आफ्ना विचार लेख्ने अवसर दिनु भएकोमा युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाप्रति आभार व्यक्त गर्दछु।
म तोरण गुरुङ सन् २००५ मा आर्थिक, सामाजिक, शैक्षिक पक्षका विषयलाई लिएर मनभरि सपना बोकेर अमेरिका प्रवेश गरेको थिएँ। केही वर्षहरू आर्थिक पक्षमा ध्यान केन्द्रित गरें। अमेरिकाको चरम आर्थिक विकास भएको छ। यहाँ मानव अधिकार, महिला अधिकार, सामाजिक न्यायपूर्ण शासन प्रणाली रहेको छ। पृथ्वीका सारा वस्तुहरूको अनुसन्धान गरिएका छन्। यसका साथै ब्रह्माण्डका ग्रहहरूको अनुसन्धान गरिरहँदा हामी कता छौं भन्ने चिन्तनले मलाई जन्मभूमिप्रति तान्यो।
नेपालमा भने तमाम पिछडिएका मानिसहरू शिक्षा, स्वास्थ्य, राजनीतिक अधिकारबाट सदियौंदेखि बञ्चित छन्। आदिवासी जनजातिको अवस्थाप्रति मनमा दया पलाउन थाल्यो। त्यस परिवेशले समाज रूपान्तरणका निम्ति केही गर्नुपर्छ भन्ने भावनाले सताउन थाल्यो। त्यसपछि गुरुङ (तमु) सोसाइटी इन्क युएसए संस्थामा अध्यक्षको पदभार बोकेर काम गर्न अग्रसर भएँ। मलाई आदिवासी जनजाति महासङ्घ अमेरिकाको अध्यक्षको गरिमामय पदमा काम गर्ने अवसर मिल्यो। मैले यहाँबाट धेरै अनुभूतिहरू सङ्गाल्ने अवसर पाएँ। हो, हामीसँग धेरै समस्याहरू छन् र समस्याको निराकरण पनि छन् भन्ने कुरा मनन गर्न पाएँ।
फिप्नाका सक्रिय १८ संस्थाहरूमध्ये युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकासँग धेरै नजिकमा रहेर काम गर्ने अवसर मिल्यो। आफ्नो संस्कृति, भाषा, लिपि, धर्म संरक्षणका लागि समाजको रूपान्तरण र मुन्दुम धर्म संरक्षणको निम्ति साकेला महत्त्वपूर्ण रहेको छ। यस संस्कार–संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरणको निम्ति काम गरिरहेका संस्थाका महत्त्वपूर्ण व्यक्तिहरू केशवराम राई, ममता खालिङ, जय थुलुङ राई, विष्णु राई आदि सँग सहकार्य गर्दै अगाडि बढ्ने मौका मिल्यो।
वर्तमानमा म्यासाचुसेट्स राज्यको बोस्टन सहर नजिकै ब्रिमफिल्ड टाउनमा ८.०८ एकड (६४ रोपनी) जग्गा र त्यहाँ रहेका संरचनाहरू समेत चुलो घर र साकेला थान बनाउनका लागि खरिद गर्नुभएको छ भने आदिवासी जनजाति महासङ्घ फिप्नामा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएको छ। यसकारण युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाप्रति आभार व्यक्त गर्दछु।
नेपालमा हिजोको अवस्था र आज देशमा धेरै परिवर्तन भएको छ। संविधान जारी भएको छ, कानुनहरू बनिसकेका छन्। देशमा धर्म निरपेक्षता, सङ्घीय गणतन्त्र घोषणा भएको छ। अब केवल राजनीतिक चेतना र सांस्कृतिक रूपान्तरण चाहिएको छ। आदिवासी जनजाति भूमिपुत्रहरू शासन प्रशासनमा आउन सकेका छैनन्। त्यो सबै राजनीतिक प्रणाली र कानुनी व्यवस्थाको ज्ञान नभएर शासन प्रशासनमा आउन नसकेका हौं।
वर्तमानमा नेपाल सरकारले ५९ जातीलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ। आदिवासी जनजाति उत्थान प्रतिष्ठानले २०५८ को विधानअनुसार आदिवासी जनजाति भन्नाले आफ्नै मातृभाषा, आफ्ना परम्परागत रीतिरिवाज र संस्कृति भएका, छुट्टै पहिचान भएका, छुट्टै सामाजिक संरचना भएका, लिखित वा अलिखित आफ्नै इतिहास भएका समूहलाई नै आदिवासी भनिन्छ भनेर उल्लेख गरेको छ। नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घसँग नेपालले आइएलओ महासन्धि १६९ मा सन् २००७ मा हस्ताक्षर गरेको छ। तर नेपाल सरकारले न त सन्धिअनुरूप काम गरेको छ, न हामीले खोजी गरेको छौं। राजनीतिक अधिकार, मौलिक अधिकार, भाषा, धर्म, संस्कार, संस्कृतिको पहिचान सबै अधिकारको विषयमा सन्धि भएको छ। हामीले यस्ता कुराहरू खोजी गर्नुपर्छ। आदिवासीमाथि वर्तमानसम्म राजनीतिक शोषण भयो, अब त्यसो नहोस् भन्न चाहन्छु।
नेपालमा सरकारले धार्मिक, राजनीतिक, सामाजिक चेतना रोपेको छ तर हुर्केको छैन। यसलाई हामीले मलजल गर्नुपर्छ, हुर्काउनुपर्छ। हामीमा चेतनाको स्थिर अभिवृद्धि आवश्यक छ। यति भनिरहँदा चेतना जागरणका लागि हरेक व्यक्तिले आफ्नो घरको जिम्मेवारी छोडेर समाज र राजनीतिमा लाग्नुपर्छ भनेको होइन। बचेको समय खेर नफाली जो अन्याय, अत्याचार र शोषणमा परेको छ, त्यसको पक्षमा बोल्ने, कलम चलाउने गर्नुपर्छ। ताकि तपाईं हामी सबै एकै ठाउँमा र साथमा छौं भनेर सन्देश दिन सकौं। जब विचारमा एकरूपता आउँछ, अनि मान्छेमा हिम्मत आउँछ।
लामो समयदेखि जो वास्तविक भूमिपुत्र र मूलवासीहरू छन्, उनीहरूलाई शिक्षाबाट वञ्चित बनाइयो किनभने हाम्रो देशको इतिहास भुलाउन बिर्साउनका निम्ति शिक्षाबाट वञ्चित गरियो। आँखामा कुनै समूहले पट्टी बाँध्यो। इतिहास किताब हाम्रो हातमा नदिई अर्कैलाई थमाइदियो। त्यही इतिहास लिएर हिँडेर वर्तमान यो हो कि त्यो हो भन्ने भ्रममा बाँचिरहेका छन्। फुटाऊ र राज गर भन्ने सिद्धान्तअनुरूप विभिन्न जातमा हामीलाई विभाजन गरियो। वर्तमानमा एक आपसमा मिल्न मिलाउन फलामको चिउरा चपाउन सरह भएको छ।
जातीय व्यवस्था भनेको समाज व्यवस्थाको गलत संरचना हो। कहिलेकाहीं समाज विकास गर्ने क्रममा यस्तो गलत मान्छेबाट गलत व्यवस्थाको विकास हुन्छ। त्यसको क्षति लामो समयसम्म भोग्नुपर्छ, त्यही भएको छ। हामी माझ फिप्ना संस्थामाथि लानका लागि एउटा अवतार आउँछ अनि त्यसले यो सबै गर्छ भन्ने हुँदैन। आफ्नो आफ्नो तवरले जिम्मेवारी लिई काम गर्नुपर्छ। हामी एकजुट हुन जरुरी छ। तपाईंको आफ्नो समयमा तपाईंको भागमा कति पर्छ, त्यो हिस्सा लडाइँ लडेर लिनुपर्छ। हाम्रा मूलवासी बच्चाहरूलाई सही इतिहास खोजेर जिम्मा लगाउनुपर्छ, अनि मात्र भोलिका युवाहरूले सम्झने छन् हामीलाई। सभ्यताको लडाइँ, अस्तित्वको लडाइँ लड्नु आजको तत्काल आवश्यकता हो।
न्याय र सुशासनको कुरा, समृद्धिको कुरा, लोक कल्याणकारी राज्य र जनता सर्वभौम हुनुपर्छ तर नेपालमा प्रजातन्त्र आएको ३६ वर्ष र गणतन्त्र आएको १६ वर्ष हुँदा पनि आदिवासी जनतालाई गुलाम बनाएर राखिएको छ। एकल नश्लवादको विरुद्धमा एकजुट भई विचारको लडाइँ लड्न जरुरी भइसकेको छ। हामी बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक देशमा एकल जातीय शासन व्यवस्था छ। यसको अन्त्य हुनुपर्छ। यसका लागि आदिवासी जनजातिको एउटा दर्शन र एउटा दार्शनिकको खोजी आफैंभित्र गरिनुपर्छ भन्ने मेरो विचार हो।
मूलवासीहरूमा हामीमा एकता कसरी आउँछ र आउन किन कठिन भइरहेको छ भन्दा, जबसम्म हामीले हाम्रो इतिहास सही ढङ्गले भन्न–बताउन सक्दैनौं, तबसम्म फाल्तु मान्छेले काल्पनिक कुरा भनी हाम्रा मान्छेलाई ब्रेनवास गरिरहेको छ। हामीले हाम्रो इतिहास सही ढङ्गले बताउन नसक्नाले यस्तो परिस्थिति निर्माण भयो। हाम्रा युवा र महिलाहरू उसको काल्पनिक कुरा सुनेर उसको पछि लागिरहेका छन्। त्यसैले हाम्रो प्रयास सही इतिहास, सही बाटो, तर्क, बुद्धि र विवेकबाट क्रिया र अन्तरक्रिया गरी अगाडि बढ्ने प्रणालीलाई विकास गरी विचारको लडाइँ लड्ने प्रक्रियालाई बढवा दिँदै समाजलाई गतिशीलता दिनुपर्छ।
लेखक आदिवासी जनजाति महासङ्घ अमेरिका [FIPNA] का अध्यक्ष हुनुहुन्छ।

Post Comment