किरात राई पहिचानका मानकहरू-चन्द्रकुमार राई “हतुवाली”
चन्द्रकुमार राई “हतुवाली”
परिचय
नेपालमा पहिचानको मुद्दा पेचिलो बनेको छ। यसमा किरात राईको सन्दर्भ पनि जोडिन्छ। जातीय भाषा, धर्म, संस्कृति र इतिहास भएको यो जाति नेपालको आदिवासी जातिमा पर्दछ। किरात राईले नेपालको पूर्वी पहाडी भागलाई पुख्यौली थलो मान्दै आएका छन्। संस्कृत साहित्यहरुमा “कैरातदेशे” नाम उल्लेख भएको पाइन्छ (नेपाल, २०५५)। संस्कृत साहित्यमा किराँत भनिएका जातिले आफूलाई किराँत नभनेर “किरात” भनेर चिनाउने गरेका छन्। किराँत भन्नाले “पूर्वी नेपालको माझ किराँत र पल्लो किराँतको प्रसिद्ध क्षेत्र जहाँ प्राचीन कालदेखि राई र लिम्बू बसोवास गर्दछन्” (पराजुली, २०७७)। यस जातिभित्र राई, लिम्बू, याक्खा र सुनुवार पनि पर्दछन् (राई, २०३१)। याक्खाहरुको बसोबास सङ्खुवासभा र धनकुटामा रहेको छ। ओखलढुङ्गा र रामेछाप जिल्ला किरात सुनुवारको बसोबास रहेको छ।
नेपालको प्राचीन काल, माध्यमिक काल, आधुनिक कालको विशेषतः राणा सरकारी कागज पत्रमा वल्लो किरात, माझकिरात र पल्लो किरात उल्लेख भएको पाइन्छ। अरुण पूर्व पल्लो किरात, अरुण पश्चिम दूधकोसीसम्म माझ किरात र दूधकोसी पश्चिम दोलखासम्म वल्लो किरात भनिन्थ्यो। यी नामहरु पञ्चायतको उतरार्द्धसम्म सरकारी कागज पत्रहरुमा उल्लेख थियो। यस क्षेत्रका चिनामा पनि किरात देशे उल्लेख भएको पाइन्छ।
विसं २०४६ मा प्रजातन्त्रको पुनर्स्थापनापछि किरात समुदाय पहिचानप्रति सचेत भए पनि राजनैतिक पार्टी र राज्य व्यवस्था अनुदार बन्दै गयो। यसको प्रत्यक्ष भोगाइ विसं २०६२/०६३ को आन्दोलन र माओवादी जनयुद्धबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएपछि प्रष्ट भयो। सङ्घीय लोकतान्त्रिक व्यवस्था अनुसार नेपाललाई ७ प्रदेशमा विभाजन गरियो। प्रदेशको नामकरणको सन्दर्भमा १ नं. प्रदेशलाई ऐतिहासिकता, भौगोलिक जातीय बसोवास र सभ्यताको आधारमा प्रदेशको नाम किरात राख्नुपर्छ भन्ने प्रस्ताव सम्बोधन गर्न कञ्जुस्याइँ गरियो। पार्टी निर्देशित प्रदेश सांसदहरूले कोसी नाममा मतदान गरे।
रामायणमा वर्णन भए अनुसार आर्य जातिको कौशिकीसँग सम्बन्ध रहेको उल्लेख पाइन्छ। विश्वमित्रकी दिदी कौशिकी रहेको बाल्मीकीय रामायणको प्रसङ्गबाट प्रमाणित हुन्छ (नेपाल, २०७४)। उनको नामबाट यस क्षेत्रलाई कोसी भन्न थालियो। प्रगतिशील र लोकतान्त्रिक पार्टीका नेतृत्व वर्गको मनोदशा र आदिवासी समुदायका गुलामी मानसिकताका भाट कार्यकर्ताहरु “किरात प्रदेश” नामका विपक्षमा उभिए। अन्ततः उनीहरुले “कोसी प्रदेश” नामका पक्षमा मतदानको नाटकमार्फत किरात समुदायका सांसदहरु पार्टीको आदेशलाई निगुरमुन्टी भएर पालना गर्दै “किरात प्रदेश” नामलाई तिलाञ्जली दिई “कोसी प्रदेश” मा मत दिए। त्यसैले आम किराती समुदायको “कोशी प्रदेश” नामप्रति असहमति कायम छ र हुनेछ। यो पक्ष पहिचानसँग जोडिएको मुद्दा नै हो।
किरातको एउटा शाखाबाट “राई” नामको अर्थ प्रष्ट पार्ने प्रयास भएको देखिन्छ। पृथ्वीनारायण शाहले पूर्व विजय गरेपछि यहाँ बसोवास गर्ने जिमीहरुलाई गाउँको मुखियामा नियुक्ति गरेर “राई” पदवी दिएका थिए, जुनपछि जातिको रूपमा स्थापित भएको थियो (राई, विसं २०३१)। मुन्दुमको रिसिया गाउने क्रममा हामी राईहरु विभिन्न प्रकारका छौं भन्नु परेमा “रावा रावा” भन्ने गरिन्छ। रावाको अर्थ “राई राई वा दाजुभाइ हौं” भन्ने हो। कालान्तरमा यही “रावा” शब्द नै अपभ्रंश भइ “राई” हुन पुगेको हो। अहिले पनि व्यवहारमा राईहरुले २६ भिन्न भाषा बोल्ने गरे तापनि एक-अर्कालाई दाजुभाइ वा राईको रुपमा सहजले स्वीकार गर्दछन्।
किरात राईले विभिन्न समयमा पहिचानका मुद्दाहरु उठाउँदै आएका छन्। यसको प्रारम्भ विसं २०४५/४६ सालबाट भएको थियो। यसलाई माओवादीले विसं २०५२ बाट प्रारम्भ गरेको जनयुद्धले मूल मुद्दा बनाएपछि गति बढेको थियो। जनयुद्धले हिन्दुवादी शिक्षा नीतिमार्फत विद्यालय शिक्षामा अनिवार्य संस्कृत शिक्षणको विरोध गर्नु, धर्म निरपेक्षतामा जोड दियो। यस अभियानसँग जातीय र लैङ्गिक विभेदलाई अस्वीकार गर्दै समावेशितालाई जोड दियो। यही नारामार्फत आदिवासी जनजाति र दलितहरु माओवादीमा गोलबन्द हुन पुगे। विसं २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनले पनि पहिचानको मुद्दालाई प्राथमिकता दिएपछि झन् अगाडि बढेको थियो। यससँगै पूर्वमा स्थापित खम्बुवान मुक्तिमोर्चा, किरात मुक्ति मोर्चा आदिको जातीय पहिचानको आधारमा स्थापित राजनीतिक पार्टीहरुको भूमिकालाई पनि यस सन्दर्भमा बिर्सनु हुँदैन।
नेपालमा “जातीय पहिचान” को मुद्दाको बारेमा राजनीतिक पार्टी, नागरिक समाज र व्यक्ति विशेषमा विमर्श भइरहेको छ। यस सन्दर्भमा किरात राई समाजमा पनि यो प्रश्न निकै पेचिलो बनेर आएको छ। अहिले पनि कोसी प्रदेशको नाम किरात राखुपर्छ भन्ने सन्दर्भमा होस् एवं पाथीभारालाई मुकुम्लुङ स्थापना गर्ने अभियानमा पहिचानको मुद्दा चलिरहेको छ। यही सन्दर्भमा किरात राईका पहिचानका आधारहरु के हुन सक्छन् ? मुख्य कारकका विषयमा चर्चा गरिएको छ।
किरात पहिचान र ऐतिहासिक अवस्था
मनोविश्लेषक Erik H. Erikson ले व्यक्तिगत पहिचानलाई अवचेतनमा गहिरो रूपमा बस्न सक्ने र स्थिरता दिने तत्त्व भनेका छन्। जीवनमा विभिन्न चरणमा परिवर्तन आए पनि सामान्यतः उ आफूलाई “अर्को मान्छे” भएको महसुस गर्दैन (Scruton, 2007, p.316)। मूलतः पहिचान नामले दिने, कामले दिने आदि प्राप्त पहिचानहरु क्षणिक नभई स्थायी प्रकृतिका हुन्छन्। त्यसैले प्रायः पहिचान बदलिदैनन्।
मानवशास्त्रमा पहिचान शब्दको प्रयोग बहुआयमिक रुपमा रहेको पाइन्छ। यसले व्यक्तिगत विशिष्ट गुणहरुबाट अरूबाट फरक देखाउँछ। अर्कोतिर यसले साझा विशेषताको आधारमा समूहसँग पनि जोडदछ। यस अन्तर्गत जातीय, धार्मिक, भाषिक रहेका छन् (Bernard & Spencer, 2005)। समग्रमा पहिचान व्यक्तिगत र सामूहिक छन्। यसका अतिरिक्त व्यक्तिको मात्र होइन हरेक परिवार, समाज, समूह, वर्ग तथा राष्ट्रको पनि पहिचान हुन्छ।
राजनीतिशास्त्रमा पहिचानले आफ्नो परिचय र भूमिकाको बारेमा जानकारी दिन्छ। हरेक व्यक्तिको आफ्नो पृथक अस्तित्व र चिनारी हुन्छ। यही अस्तित्व र चिनारीको आधारमा समाज र व्यक्तिको भूमिका र स्थान निर्धारित भएको हुन्छ। त्यही आधारमा व्यक्तिप्रति समाज र राज्यको दायित्व र समाजप्रति व्यक्ति र राज्यको दायित्व रहेको हुन्छ। यस अर्थमा व्यक्ति, समाज र राज्य बीच रहेको अन्तर्सम्बन्धित सम्बन्ध र जिम्मेवारी बहन गर्ने कार्यसँग पहिचान जोडिएको हुन्छ। राजनीतिमा पहिचानको मुद्दा विशेषतः अधिकार सम्पन्न पक्षबाट हुने अधिकार विहिनहरुका भाषा, धर्म तथा संस्कृतिप्रति गरिने विभेदको सन्दर्भमा उठेको हुन्छ (Scruton, 2007, p.317)। व्यवहारमा मुख्य रूपमा अल्प सङ्ख्यकहरूले सांस्कृतिक हक र अधिकार प्राप्तिको लागि पहिचानको मुद्दा उठाउने गरेको पाइन्छ।
नेपालको सन्दर्भमा हिन्दूवादीहरूबाट आदिवासी, जनजाति, दलित र लैङ्गिक विभेदमा परेका सांस्कृतिक पहिचानप्रति गरेको विभेदप्रति विरोध तथा आन्दोलन हुँदै आएको छ। यसभन्दा अगावै पनि किरात राईहरूमा जातीय पहिचानका मुद्धाहरु नउठेका होइनन्।
विसं १८३१ मा पृथ्वीनारायण शाहले किरात राज्य विजय गरेपछि हिन्दू धर्मअनुसार चल्नु भन्ने आदेश अस्वीकार गरेपछि मुन्दुम अनुसार धर्म मान्न दिनु भन्ने आदेश दिएको हो (नेपाल, २०५५)। विसं १८६४ मा किरात सत्ता फर्काउन प्रयास गर्दा घटाइएको बाग्यान चाड (नेपाल, २०५२) किरात राईहरुले पहिचान जोगाउन गरेका विद्रोह थिए।
पञ्चायत कालमा हिन्दू धर्म, संस्कृति र नेपाली भाषा बाहेकका अन्य जातिका भाषा, धर्म र संस्कृतिमाथि निषेध थियो। कसैले पहिचानको कार्य गरेमा अराष्ट्रिय तत्त्व भनी राज्यद्रोहको मुद्दा लगाएर कार्वाही गरिन्थ्यो। यसलाई २०४७ पछिको प्रजातान्त्रिक राज्य व्यवस्थाले निरन्तरता दिएको पाइन्छ। नेपालको संविधान २०४७ को धारा ४ मा राज्यको परिभाषा दिने क्रममा हिन्दू धर्मलाई आधारभूत तत्व भएको उल्लेख छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको धारा ९ (३) मा राष्ट्रिय जनावर गाई तोकिनुले (नेपाल सरकार, २०७४, ६) पनि नेपाली राजनीतिक व्यक्तित्वहरुको मनसायलाई छर्लङ्ग पारेको देखिन्छ।
विसं २०६२/६३ पछि स्थापित संसारकै लोकतान्त्रिक राज्यसत्ताले पशुपतिको मृगस्थलको जङ्गलमा किरातले परम्परादेखि नै समाधिस्थलको रूपमा प्रयोग गर्दै आएको स्थानलाई पशुपति विकास समितिले निषेध गरेपछि किरात समुदाय गरेको सङ्घर्ष पनि पहिचानको एक सशक्त सङ्घर्ष थियो (चाम्लिङ, २०६७)। धरानमा गाई काटेको निहुँमा थुनामा राखेको विरुद्ध रिहाइका लागि गरिएका बन्द र विरोधका कार्यहरू पनि पहिचानको प्रतिरोध नै हो। किरातहरूले धेरै आन्दोलनहरु गरिसकेका छन्। यसको लागि भिन्न अध्ययनको आवश्यकता देखिन्छ।
किरात पहिचानका मुख्य विषय
Guillermina Jasso ले पहिचानको सिद्धान्तलाई सामाजिक पहिचान, तुलनात्मक, न्याय र स्तर सिद्धान्त आदि रहेका हुन्छ भनेका छन्। उनले पहिचानको प्रकार सङ्ख्यात्मक र गुणात्मक पहिचान भनी वर्गीकरण गरेका छन् (2003, p.1)। परिणात्मक पहिचानले व्यक्तिगत शारीरिक रूपबाट प्राप्त सुन्दर अनुहार, सुडौल जीउडाल र उनले प्राप्त गरेका स्तर जस्तै: शिक्षक, धनी, अध्यक्ष भन्नेलाई जनाउँछ भने गुणात्मक पहिचानले सामूहिक धारणा धर्म, भाषा, जाति र राष्ट्रलाई बुझाउँछ (Jasso, 2003, p.1)। किरात पहिचानको सन्दर्भ चाहिँ गुणात्मक पहिचानका प्रश्नहरू समसामयिक चर्चामा रहेका छन्। यी विषय चर्चामा आउनाको कारण संवैधानिक रूपमा प्राप्त जाति, धर्म, भाषा र सांस्कृतिक अधिकारमा स्वतन्त्रता र समानताप्रति राज्यद्वारा सम्बोधनमा कन्जुस्याँइ गरिनुले भएको हो। सप्तकोसीको त्रिवेणीको किरात राईको आस्थाका प्रतीक खोक्वालुडलाई व्यापारिक नाफाको लागि फुटाउन खोज्नु कन्जुस्याईंको अभिव्यक्ति हो।
पहिचानका विशेषता हरेक व्यक्ति, परिवार, समाज, वर्ग र राष्ट्रका आ-आफ्नै रहेका हुन्छन्। यिनै विशेषताले अर्कोसँग भिन्न बनाइरहेका हुन्छन्। भिन्न देखिनु नै पहिचानको प्रथम आधार हो। यी आधारहरु भिन्न संस्कृति, भाषा र धर्म हुनु हो। हरेक जातिका भाषा, धर्म, संस्कृति पृथक हुन्छन्। यिनीहरुकै आधारमा जाति, समाज वा राष्ट्रको लागि नीति निर्माण गरिएका हुन्छन् र सोही आधारमा जीवन निर्वाह र सामाजिक व्यवहार परिचालन भएका हुन्छन्। यस अर्थमा किरात राई समुदायको भिन्न पहिचान निर्माण हुनु स्वाभाविक मानिन्छ। किरात राई पहिचानका आधारभूत तत्त्वहरु यसप्रकार रहेका छन्:
भौगोलिक वा पुख्यौली थलो
किरात राईहरुको पहिचानको मुख्य आधार पुख्यौली थलो वा भूगोल पनि हो। उनीहरुको मुख्य पुखौली थलोहरुमा नेपालको पूर्वी पहाडी भाग हुन्। राईहरुको मुख्य पुख्यौली थलोहरुमा भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाहरु पर्दछन्। अहिले जति पनि राईहरु छन्, यिनै जिल्लाहरुबाट फैलिएका हुन्। यी ठाउँहरुको पहिलो बासिन्दा किरातहरु भएकोले हिन्दु धर्मावलम्वीहरुले धार्मिक कर्मकाण्डहरु गर्दा सङ्कल्प वाक्यमा “कैरातेदेशे” भन्ने उच्चारण गर्ने गरेको पाइन्छ (नेपाल, वि.सं. २०५५, पृ.२८६)। यसको अर्थ किरातहरुको मुख्य बसोबास क्षेत्र, किरातीहरुको पुख्यौली ठाउँ, किरात राईहरुको अग्राधिकार भएको ठाउँ भन्ने हुन्छ। यही कारणले गर्दा पृथ्वीनारायण शाहले किरात राज्य विजय गरे पनि उनीहरुको भौगोलिक पहिचानलाई कायम राख्दै पल्लोकिरात, माझकिरात र ओल्लोकिरात भनेर किराती बसोवास क्षेत्रलाई विभाजन गरेर राज्यशासन चलाएका थिए।
किरात राईहरुमा भूगोल वा स्थान विशेषको नाम पनि पाइन्छ। यस्ता नामहरु मुन्दुमी र सामान्य नामहरु रहेका छन्। मुन्दुमी नामहरु पनि पानीको मुहान र माटोको आधारमा रहेको पाइन्छ। जस्तै भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका, वडा नं.५, होम्ताङको पानीको मुहानको आधारमा रहेको मुन्दुमी नाम खालाभेन सोहोन सोहोन हो भने भूगोलमा आधारित मुन्दुममा आधारित नाम हेन्खा बोब्बि हो। कसैले बोब्बीलाई माटोको सामेत पनि भन्ने गरेका छन्। त्यसरी नै धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका, वडा नं. ३, छिन्ताङको मुन्दुमी नाम वाचोम्सा-दुरुम्सा हो (राई, वि.सं. २०६३, पृ.१)। यसरी किरात राईहरुको आफ्नै भौगोलिक पहिचान रहेको पाइन्छ। तर अध्ययन अभावको क्रममा लोप हुँदै गएका छन्।
शारीरिक पहिचान
प्रायः अनुभवी व्यक्तित्वहरुले किरात राईको शारीरिक बनोटलाई नियालेर यो मानिस किरात राई हो भनेर पहिचान गर्न सक्दछ। किरात राईहरुका यस्ता शारीरिक विशेषताहरुमा शारीरिक बनोट गठिलो शरीर, ठूलो टाउको, साना साना आँखा, नेष्टो नाक, ठूला कान र गालाका हाडहरु उँचा हुने हुन्छ (राई, वि.सं. २०३१, पृ.१०४)। मझौला कदको शरीर, जुगा दाही कम हुनु, पहेंलो रङको वर्ण हुनु, चौंडा मुखाकृति आदि पनि राईहरुको शारीरिक विशेषतामा पर्दछन् (राई, विं. २०६६, पृ.३४६)। यो नै किरात राईहरुको शारीरिक बनोटको पहिचान हो। कोही किरात राई गोरा तथा काला जातिको जस्तो शरीर हुनु, कोही होचा पुड्का हुनु अस्वभाविक र अपवाद मानिन्छ।
सांस्कृतिक पहिचान
संस्कृति, पहिचान निर्माणको पहिलो आधार हो। समग्रमा मानिस जन्मदा मानिसको स्वरुपमा मात्र जन्मिएको हुन्छ। अमेरिकामा जन्मेको बच्चा होस् वा अफ्रिका वा एशियामा जन्मेको बच्चा हो। सबैको शारीरिक अङ्ग साथै बनोट समान हुन्छ। तथापी सांस्कृतिक कारणले हामी भिन्न हुन पुग्दछौं। यस अर्थमा संस्कृतिको महत्त्व रहेको पाइन्छ।
त्यसो भने संस्कृति भनेको के हो त? संस्कृतिसम्बन्धी दिइएका विभिन्न परिभाषाहरु मध्येमा अहिलेसम्म सर्वोपरी स्वीकारिएको परिभाषा भनेको नै मानवशास्त्री Edward Burnet Tylor ले दिएको परिभाषा नै हो। उनले दिएको परिभाषा अनुसार संस्कृति एक जटिल वा समग्र विषय हो जहाँ ज्ञान, विश्वास, कला, नैतिकता, कानून, परम्परा लगायतका मानवीय सामर्थ्य आदि समावेश गरिएका हुन्छन्। यी संस्कृतिहरु मानवले समाजको सदस्य भएको कारणले प्राप्त गर्दछन् (1920, p.1)। यस परिभाषाले मानवले समाजको सदस्य भएको नाताले समाजबाट सिकेर अवलम्बन गर्ने जीवन पद्धतिलाई नै संस्कृति भनिन्छ।
किरात राई संस्कृति भन्नाले किरात राई समुदायले अवलम्बन गर्ने मानवीय क्रियाकलाप साथै विश्वासहरुलाई नै किरात राई संस्कृति भनेर बुझिन्छ। यी संस्कृतिहरुले किरात राई पहिचानलाई उजागर गरिरहेका हुन्छन्। यस्ता पहिचान दिने मुख्य किरात राई संस्कृतिहरुको यहाँ क्रमिक रुपमा चर्चा गरिएको छ:
सुप्तुलुङप्रति आस्था
सुप्तुलुङ नै किरात राईहरुको मुख्य चिनारी दिने मुख्य वस्तु हो। सुप्तुलुङ, सुन्तुम+लुङ मिलेर बनेको हो। सुन्तुमको अर्थ पुर्खा र लुङको अर्थ ढुङ्गा हुन्छ अर्थात् पुर्खाको प्रतीक मानिएको दुङ्गाहरुको सम्मिलन नै सुप्तुलुङ हो। सुप्तुलुङमा हाम्रा पुर्खाहरु निवास गर्दै सन्तानको संरक्षण गर्दछन् भन्ने विश्वास छ। अर्कोतिर सुप्तुलुङ भन्नाले चुलादेव, पितृदेव, पुख्यौलीदेव भनेर अर्थ दिएको पाइन्छ (माङ्काङ, वि.सं. २०७२, पृ.४१०)। यस अर्थले पितृदेवता भनेर बुझाउँछ। पितृदेवतालाई नै किरात राईहरुले सबैभन्दा ठूलो आस्थाको देवता मान्ने गरेको पाइन्छ।
सुप्तुलुङ तीनवटा ढुङ्गा गाडेर बनाइएको हुन्छ। यो खाना पकाएर खाने चुला या अगेना हो। तर सुप्तुलुङ बन्नको लागि पूर्णतः मुन्दुमी विधिविधानको पालना गर्नुपर्दछ। तीनवटा चुलादुङ्गालाई मुन्दुमी विधिविधान गर्दै पितृहरुलाई स्थापना गरिन्छ। तीन भिन्न चुलाहरुलाई पितृहरुको भिन्न प्रतीक नामले बोलाइन्छ। प्रत्येक नामले भिन्न शक्तिको प्रतिनिधित्व गर्दछ। प्रत्येकले भिन्न शक्तिको प्रतिनिधित्व गर्ने भए तापनि समग्रमा भने पितृस्थलको प्रतीक मानिन्छ। मुन्दुमी विधिविधान पालना नगरी स्थापना गरिएको चुला सामान्य चुला मात्र हुन्छ।
बाँच्नको लागि चाहिने अन्न, विनिमय गर्नको लागि चाहिने लक्ष्मी र समाजमा सम्मानित भएर बाँच्नको लागि चाहिने प्रतिष्ठाको प्रतीकको रुपमा सुप्तुलुङको अनुष्ठान गरिन्छ। यो किरात राई पहिचानको मुख्य आधार हो। त्यसैले अन्य धर्मावलम्वीहरुले किरात राईहरुको धर्ममा आक्रमण गर्नु परेमा सर्वप्रथम सुप्तुलुङमाथि आक्रमण गर्दछन्। धर्म परिवर्तन गराएपछि सर्वप्रथम उनीहरुको आस्थास्थल सुप्तुलुङलाई उखेलेर फाल्दछन्। सुप्तुलुङ उखेलेपछि किरातीहरुको सम्पूर्ण संस्कृति विलुप्त हुन्छ। यस अर्थमा शरीरको लागि जसरी मुटुको महत्त्व रहेको हुन्छ किरात राईहरुको पहिचानको लागि पनि त्यही महत्त्व सुप्तुलुङले राखेको हुन्छ। यस अर्थमा किरात राई हुनको लागि सुप्तुलुङ अनिवार्य हुनु पर्दछ र सुप्तुलुङमा अवसर विशेष पितृहरुलाई विभिन्न परिकार चढाउँदै अनुष्ठान गर्नुपर्दछ।
मुन्दुमको परिपालना गर्नु
किरात राईको दिनचर्या कसरी सञ्चालन हुन्छ भन्ने कुरा मुन्दुम निर्देशित हुन्छ। यसमा मृत्युपछि कस्तो संस्कारगत विधान निर्वाह गर्ने भन्ने कुरा हुन्छ। मुन्दुममा किराती मानवीय दृष्टिकोण रहेको हुन्छ। यहाँ सृष्टि कसरी भएको थियो ? मानव के हो? जीवन के हो? जन्म के हो ? विवाह के हो? मृत्यु के हो? आदि बारेमा वर्णन पाइन्छ। त्यसैले मुन्दुमलाई किरातको जीवन दर्शन पनि भनिन्छ। दर्शनलाई “कुनै पनि वस्तु तथा घटनालाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने शास्त्र हो” भनिएको छ (प्रभात, २०७०)। यस अर्थमा मुन्दुम किरातहरुको जीवन चियाउने झ्याल र हिँड्ने मार्ग भनेर बुझ्न सकिन्छ।
मुन्दुमलाई विभिन्न रुपमा परिभाषा गरिएको पाइन्छ। हिमाल राईका अनुसार “मानव सृष्टि पहिल्याउनु, मानवको उत्पत्ति र त्यसको ऐतिहासिक विकासक्रमको पहिचान गर्नु, मानव समाजमा विद्यमान विभिन्न संगति विसंगतिहरुको खोजी र व्याख्या गर्नु, आध्यात्मिक चिन्तन र वैज्ञानिक जीवन पद्धतिको अतिरेकलाई एकसाथ व्याख्या गर्नु नै मुन्दुम वा (मुन्धुम्) हो। यही मुन्दुम् (मुन्धुम्) कै आधारमा किरात राई लिम्बूको शुरुदेखि आजसम्म समाज र जीवन शैली अनुवन्धित भइ संचालन हुँदै आएको छ (राई, वि.सं. २०४९, पृ.९,१०)।” यसमा थप्नु पर्ने कुरा के हो भने राई र लिम्बू मात्र नभएर याक्खा र सुनुवार पनि हुन्। मानवलाई केन्द्रमा राखेर मानवसँग सम्बन्धित वस्तु, सोँच र व्यवहारको मुख्य माध्यम नै मुन्दुम हो। त्यसैले मानव र किरातीभन्दा भिन्न मुन्दुम रहन सक्तैन।
बैरागी काइलाका अनुसार “मुन्दुम किरात जातिको त्यो श्रुति परम्परा हो जसमा सृष्टिदेखि (आजसम्म) भएका घटनाको स-विस्तार वर्णन, विधि-निषेधका कुराहरु र व्यक्ति, परिवार तथा समाजका कल्याणका लागि गरिने अनुष्ठानहरुको वर्णन पाइन्छ (काइला, १९९९, पृ.२५१)।” यसले मुन्दुम श्रुति परम्परामा आधारित हुनुका साथै यसभित्र किरातीहरुको जीवनमा घटेका विभिन्न अवस्थाहरुको बारेमा साथै समाजलाई सकारात्मक मार्गतिर डोर्याउने विधिहरु निहित हुन्छन्। मुन्दुमलाई किरातीहरुको विचार, चिन्तन र अनुभवबाट सिर्जना भएको चिन्तन वा किरातीहरुको दर्शनको स्रोत हो। यसरी मुन्दुमको परिपालना अर्थात् मुन्दुममा उल्लिखित व्यवस्था अनुसार जीवनलाई मार्गनिर्देश गर्नु पनि किरात राई पहिचान हो। मुन्दुमको बारेमा प्राप्त विभिन्न अर्थ र परिभाषाको अध्ययनबाट मुन्दुम किरातहरुको चिन्तन, मनन र सोँचको आधार हो, जसको माध्यमले उनीहरुको व्यवहारिक जीवन परिचालित छ। यस अर्थमा किरातको जीवनमा मुन्दुमको महत्व रहेको पाइन्छ।
किरात धर्मावलम्बी हुनुपर्ने
मानव जीवनको अभिन्न संस्कृति मध्येमा धर्म पनि हो। यस अर्थमा धर्म विहीन मानिसको संसारमा कल्पना पनि गर्न सकिदैन। मानिस जन्मेपछि जन्मेको परिवार र समाजले संस्कारगत अभिषेचणसँगै एउटा कोरा बालकले धर्म ग्रहण गराइन्छ। यही प्रक्रियाबाट हरेक व्यक्ति धर्मावलम्बी हुन पुग्दछ। धर्मका निश्चित आचार, विचार र विश्वासहरु हुन्छन्। यी आचार, विचार र विश्वासको अनिवार्य पालना गर्नु पर्दछ। परिपालना गर्ने क्रममा मानिस अभ्यस्त भइसकेका हुन्छन्। जसले धर्मावलम्बीको मानसिकतामा अमिट छाप पारेको हुन्छ। उनको ज्यान जान सक्छ तर धार्मिक छाप छाड्न सक्दैन। त्यसैले त मार्क्सले यसलाई अफिम भनेको पाइन्छ। धर्म पनि अफिम जस्तै हो।
धर्म शब्दको व्युत्पत्ति संस्कृत भाषाको धृ शब्दबाट भएको हो, जसको अर्थ हुन्छ धारण गर्नु अर्थात् जीवहरुप्रति दया गर्नु भन्ने हुन्छ (गुप्ता, शर्मा, १९९७)। यसरी नै धर्मलाई ईश्वरसँग सम्बन्ध जोड्नु भन्ने अर्थ पनि लाग्दछ। धर्मलाई असल आचरण, सदाचार, नियम वा ईश्वर प्राप्तिको लागि गरिने शास्त्रगत कार्य नै धर्म हो।
किरात राईको धार्मिक विशेषता प्रकृति र पितृप्रति आस्था राख्दै सबैसँग मित्रभाव गर्नु भन्ने हुन्छ। किरात राईले सृष्टिकर्ता निनाम्मा र हेन्खामा अर्थात् पारुहाङ र सुम्निमाको संयोगबाट नै सृष्टिको सम्भावना भएको हो। आकाशको प्रतिरूप घाम, पृथ्वीको प्रतिरूप माटो र सम्बन्ध पानीको कारण नै जीवनको सम्भावना भएको हो। त्यसैले यी पूज्य छन्। हामीलाई जन्म दिने हाम्रा पुर्खा पितृहरु पनि हाम्रा आस्थाका प्रतीक हुन्। सबैसँग समान व्यवहार गर्नु, अरूको मन नदुखाउनु यी हाम्रा आचार हुन्।
वर्तमानमा किरात राईहरु विभिन्न धर्ममा प्रवेश गरी रहेका छन्। यस्ता धर्ममा स्वर्गीय मार्ग, किरात धर्म, मातृभाषा, महात्मा गान्धीका अनुसार “बच्चाको शरीर वृद्धि गर्न जसरी आमाको दूध आवश्यक छ, त्यसरी नै मानसिक विकासको लागि मातृभाषा आवश्यक छ।” किरात राईको मातृभाषा पहिचानको माध्यम हो।
किरात राई समुदायको आफ्नै मातृभाषा रहेको छ। यो समुदायको मातृभाषा पनि सामान्य बोलीचालीको भाषा र मुन्दुम भाषामा विभाजित छ। विसं २०७८ को जनगणना अनुसार नेपालमा जम्मा १२४ वटा मातृभाषाहरु बोलिन्छन्। यी भाषाहरु मध्येमा राई भाषा मात्र २६ प्रकारका छन्। यो पनि किरात राई समुदायको एक विशिष्ट पहिचान हो। सायद संसारमै एउटै समुदायमा यति धेरै भाषिक सङ्ख्या भएको किरात राई नै हुनुपर्दछ। नेपालमा बोलिने भाषाहरुको ३२.२४ भाग राई भाषाहरुले ओगटेको पाइन्छ। यी भाषाहरु कतिपय लोप हुने अवस्थामा पुगेका छन्। त्यसैले यी भाषाहरुलाई संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने दायित्व नेपाल सरकार र सम्बन्धित समुदायको हो।
विश्वास
किरात राईहरु आफ्नो सृष्टिकर्ता पारुहाङ र सुम्निमा भएकोमा विश्वास गर्दछन्। पारुहाङलाई निनाम्मा (आकाश) र सुम्निमालाई हेन्खामा (धर्ती) भनेर विश्वास गर्छन्। यसरी आकाश, धर्तीका सन्तान भएको किरात राईहरु विश्वास गर्दछन्। त्यसैले उनीहरु आकाश, धर्ती र धर्तीमा सिर्जना भएका वस्तुहरु प्रकृति वा प्राकृतिक सिर्जनाको रूपमा मान्दछन्।
मुन्दुमी मान्यताअनुसार हरेक जीवित प्राणी शरीर र आत्मा मिलेर बनेको हुन्छ। जीवित प्राणीको जीवित आत्मा र मृतात्मा हुने र हरेक वनस्पतिको जीवित आत्मा हुने विश्वास छ। प्राणीको मृत्युपछि जीवित आत्माले मृतात्मामा आफूलाई परिणत गरिदिन्छ। त्यसरी हरेक वनस्पतिको पनि आत्मा हुन्छ। वनस्पतिमा आत्मा हुने भएकोले बेलुकी र बिहान चलाएमा तर्सिन्छ र फल दिन जान्दैन भन्ने रहेको छ। जीवित वस्तुको शरीर नाश भएर गए पनि आत्मा भने बाँचिरहन्छ भन्ने मान्यता रहेको पाइन्छ (हतुवाली, २०७४)। यसरी किरात राईहरुमा आत्मा हुने र आत्मा अनन्त बाँचिरहने विश्वास रहेको पाइन्छ।
चाडपर्व
किरात राईका मौलिक जातीय चाड रहेका छन्। यस्ता चाड प्रकृति र पितृसँग सम्बन्धित रहेका छन्। किरात राईका मुख्य चाड साकेला हो। उनीहरुले साकेलामा प्रकृति र पितृको अनुष्ठान गरेर धुमधामका साथ मान्ने गरेको पाइन्छ। साकेला वर्षमा २ पटक मान्ने गरेका छन्। नयाँ वर्ष प्रवेशसँगै उँभौली सेवा मान्दछन्, जुन समयमा उनीहरु प्रकृति र पितृसँग सुस्वास्थ्य, नयाँ अन्नवाली लगाएको र सो अन्नबाली राम्ररी फलोस् फुलोस भनेर प्रार्थना गर्दै पूजा अनुष्ठान गरेर मान्दछन्। उँधौली सेवा वर्षको अन्त्य हुन लागेको अवसरमा मान्ने गर्दछन्। यो समय करीव मङ्सिर महिना वरिपरि पर्दछ। यो अवसरमा उनीहरुले वर्षभरी फलेका अन्नहरु सङ्कलन गरेर आउने दिनमा उपभोगको लागि राखेका हुन्छन्। यस अनुष्ठानको क्रममा उनीहरुले लगाएका बालीनालीहरु राम्ररी नै फले। यी अन्नहरुको सह रहोस्। हामी पनि बाँच्यौं।
यसबाहेकका खोला पूजा, माटो पूजा पनि छुट्टै गर्ने गरेको पाइन्छ। यस बाहेकका किराती राई पहिचान दिने चाडहरुमा येलेदोड अर्थात् नयाँ वर्ष माघ १ गते मनाउने, द्वाङ्म पूर्णे, बाँसुरी दिवस, युप्पुड, वाढाड्गी, वास, तोसी, लिङ्गो आदि रहेका छन् (हतुवाली, येलेदोड ५०८२, पृ.१९-२४)। यी संस्कृतिहरु अन्य जाति वा समाजका नागरिकहरुले मान्दैनन्।
खानपान
किरात राईहरुको पृथक खानपान संस्कृति रहेको छ। किरात राईहरुको खानपानका रैथाने ज्ञान रहेको छ। के खान हुन्छ के खान हुँदैन यही ज्ञानबाट शिक्षा लिइन्छ। किरात राई खानपानको बारेमा विधिवत् अध्ययन हुनसकेको छैन। किरात राई खानपानका केही परिचायत्मक पुस्तक तथा लेखहरु प्रकाशित छन्। इन्द्रकुमारी राईको किरातको मौलिक खानपान (२०७२), बालकृष्ण मुकारुङको किरात राई जातिको रीतिरिवाज (२०६७) र नरदेवी राईको निप्सुङमा प्रकाशित किरात राईको खानपान (२०६२) रहेका छन्। यी पुस्तक र लेखहरुमा किरात राईले खाने खानपानको बारेमा वर्णन पाइन्छ।
किरात राई खानपानमा विशेषतः वाचिप्पा र किनामा हुन्। राईको सांस्कृतिक अनुष्ठानमा बाखाको मासु, दही, दूध चल्दैन भने सुँगुरको मासु अनुष्ठान तथा दैनिक भोजनमा अधिक प्रयोगमा आउँछ। किरात राईको मुन्दुमी कार्यमा प्रयोग हुने र व्यवहारिक प्रचलनको लाना रहेको पाइन्छ। बान्तवा भाषामा कुखुराको मासुलाई बोलीचालीमा वासा भनिन्छ भने मुन्दुममा पाडवासा भनिन्छ। त्यसरी नै सुँगुरको मासुलाई बोलीचालीमा बाक्सा भनिन्छ भने मुन्दुममा छुवाक्सा भनिन्छ। यसले किरात राई भाषाका सामान्य र विशिष्ट रूप हुने स्पष्ट पार्दछ।
उल्लिखित पहिचानका विषयका अतिरिक्त संस्कृति रहेका छन्। यस्ता विषयवस्तुमा राजनीतिक, राजनैतिक सङ्गठन, कानुन, कानुनी कार्यान्वयन गर्ने निकाय, प्रशासनिक स्वरूप तथा भेषभुषा आदि रहेका छन्। यसलाई सूक्ष्म रूपमा बुझ्न बृहत् अध्ययनको आवश्यकता रहेको देखिन्छ।
निष्कर्ष
किरात राईहरुको पहिचानका अनेक आयामहरु छन्। यस्ता पहिचानहरु व्यक्तिगत क्षमताले आर्जन गरेका पहिचान जस्तैः पद, प्रतिष्ठा भन्दा पनि सामुहिक पहिचानसँग सम्बन्धित रहेका छन्। यस्ता पहिचान भूगोल, शारीरिक बनोट साथै सांस्कृतिक रहेका छन्। उनीहरुको भौगोलिक पहिचान साथै सांस्कृतिक पहिचान इतिहासमा बेला बेलामा आघात पुगेको देखिन्छ। यो क्रम पृथ्वीनारायण शाहले किरात राज्य र भूगोलको विजय गरेपछि सुरुदेखि अहिलेसम्म चलिरहेको छ। यसका ताजा दृष्टान्तहरुमा सप्तकोसी, त्रिवेणीमा रहेको किरात राईको आस्था “खुवालुड” फुटाउने योजना, प्रदेश नं.१ को नाम “किरात प्रदेश” राख्नुपर्नेमा कोसी प्रदेश राखिनु आदि धेरै छन्। तर अहिले भने किरात राईहरुले पनि आफ्नो पहिचान र अभिमानप्रति ज्ञात हुन थालेकोले पहिचानको रक्षा खातिर एकजुट भएर त्यस विरुद्ध लड्न थालेको पाइन्छ।
(माङसेबुड), क्रिश्चियन धर्म, हिन्दु धर्म, लाफिड बुद्ध आदि रहेका छन्। यसरी आफ्नो पितापुर्खाले लामो जीवन भागोइमा सङ्ग्रह र सिर्जना गरेको धर्म नमानेर अरूको धर्म अँगाल्नु भनेको आफ्नो अस्तित्व र पहिचान सिकाउनु हो।
सन्दर्भग्रन्थहरू
- काइला, वैरागी (१९९९), किरात संस्कृतिमा मुन्धुमको उत्पत्ति, (सम्पाः पवन चाम्लिङ), निर्माण, १९(३४), पृ.२५१।
- चाम्लिङ, भोगीराज (वि.सं. २०४९) चाम्लिङ ९(१) वैशाख-असोज.पू.१३५-१४९।
- नेपाल, ज्ञानमणि (वि.सं. २०५२), नेपालको महाभारत. ललितपुर साझा प्रकाशन।
- नेपाल, ज्ञानमणि (वि.सं. २०५५), नेपाल निरुपण काठमाडौं: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान।
- नेपाल, ज्ञानमणि (वि.सं. २०७४). नेपाल निरुक्त. ललितपुर साझा प्रकाशन।
- पराजुली, कृष्णप्रसाद (वि.सं. २०७७), बृहत् नेपाली शब्दकोश, काठमाडौं: नेपाल प्रज्ञा प्रतिष्ठान।
- माडफाड, सहरमान देशामुन (वि.सं. २०७२) बान्तावा भाषा शब्द समिति लिकुवा।
- राई, इन्द्रकुमारी (वि.सं. २०७२). किरात राईहरूको मौलिक खानपान सुनसरी मेवाहाङ राई समाज।
- राई, नरदेवी (वि.सं. २०६२). किरात राईको खानपिन, निप्सुड १२(२२), वैशाख, पृ.४७-४८।
- राई, बालकृष्ण मुकारुङ (वि.सं. २०६७), किरात राई जातिको रीतिरिवाज, काठमाडौं: प्रेमकुमारी मुकारुङ राई।
- राई, भक्त (वि.स.२०७४), पूर्वीय दर्शन, काठमाडौं: नेपाल प्राज्ञिक अनुसन्धान केन्द्र।
- राई, लोकेन्द्रकुमार तेले (वि.सं. २०६१), छिन्ताङ संस्कृति र जाल्पादेवी. काठमाडौं: छिन्ताङ र पुमा भाषा अभिलेखीकरण।
- राई, हिमाल (वि.सं. २०४९), किराँतबारे तीन कुरा, काठमाडौं याडकोङम्मा प्रकाशन।
- गुप्ता, एम.एल. शर्मा, डी.डी. (१९९७), समाजशास्त्र आगरा साहित्य भवन पब्लिकेशन्स।
- सुवेदी, राजाराम (वि.सं. २०६५), नेपालको तथ्य इतिहास, ललितपुर साझा प्रकाशन।
- श्री ५ को सरकार (वि.सं. २०४९). नेपाल अधिराज्यको संविधान काठमाडौं कानून किताव व्यवस्था समिति।
- हतुवाली, चन्द्रकुमार राई (येलेदोड ५०८२) बान्तावा राईमा आत्मा र आत्माको स्थान. सयपत्री, ३४. कार्तिक-चैत, पृ.११२-११६।
- हतुवाली, चन्द्रकुमार राई (येलेदोड ५०८२). किरात राईका मौलिक चाडहरू, निप्सुङ ३९.पृ.१९-२४।
- हतुवाली, चन्द्रकुमार राई. राई, भक्त (वि.सं. २०७९), आमचोक गाउँपालिकाको स्थान नामाङ्करण अध्ययन विश्लेषण २०७९. भोजपुर आमचोक गाउँपालिका।
- National Statistics Office (2023). National Population & Housing Census 2021 National Report on Cast/Ethnicity, Language & Religion. Kathmandu: National Statistics Office.
- Barnard, A.& Spencer, J. (2005). Encyclopedia of social and cultural anthropology. London & New York: Routledge.
- Scruton, R. (2007). Palgrave Macmillan Dictionary of Political Thought. Newyork: Palgrave Macmillan.

Post Comment