Sign In

सुप्तुलुङ र मुन्दुम : राई जातिको जीवनदर्शन-एन.बि. राई चाम्लिङ, धरान

एन.बि. राई चाम्लिङ, धरान

पृष्ठभूमि

किरात सभ्यताको प्राचीन सम्प्रदाय किरात राई हो। यस जातिको मुन्दुम जीवन दर्शन र सांस्कृतिक विरासत हो। राईहरू एक चुला दश जातीबाट परिभाषित हुन्छन्। यो भाषिक दृष्टिले विविधतामय सामाजिक समूह हो। यिनीहरू किरात राजा यलम्बरको सन्तान भनेर चिनिन्छन्। भाषिक दृष्टिले २६ थरिका राई भए पनि उनीहरूका सांस्कृतिक मौलिक पहिचान सुप्तुलुङ नै हो। विभिन्न थरका राईहरू सुप्तुलुङको धागोमा उनिएर एउटै सांस्कृतिक बगैंचाको फूलका माला भएका छन्। मुन्दुमबाट राईको धार्मिक, सामाजिक र सांस्कृतिक जीवन सञ्चालित हुन्छ।

किरात राईहरूको दैविशक्तिको प्रतीक सुप्तुलुङ हो, जुन पाँच हजार वर्षदेखि जीवन्त छ। यो किरात राईहरूका आस्था र विश्वास हो। यसैबाट राई समुदायको जन्मदेखि मृत्युसम्मका संस्कार कर्महरू सम्पन्न गरिन्छ। सुप्तुलुङ हाम्रा पितृहरू वास गर्ने पवित्र स्थल हो भने उनीहरूलाई सम्बोधन गर्ने माध्यम मुन्दुम हो। मुन्दुममा इतिहास, जीवन प्रक्रिया, संस्कार र संस्कृति अनुबन्धित हुन्छन्। मुन्दुमको प्रस्तोता मबो, नक्छोड, तकाया, हँसमी पासँमीहरू रहेका छन्। मुन्दुम होसुङ र मुन्दुम रिलुडेका प्रस्तुत सूक्तिमय विचार, आदर्श व्यक्त गरिएको हुन्छ। यसले मान्छेलाई आर्शिवचन र उपदेश दिएको हुन्छ।

किरात राईहरू प्रकृति पूजक हुन्। प्रकृति सत्य हो। प्रकृतिका हावापानी, वन जङ्गल, नदी, खोलानाला, सिमसार, पोखरी, पानी पँधेरो, पहाड, पर्वत, देउराली र भञ्याङ आदि संलग्न छन्। किरात राईहरूले प्रकृतिका यी तत्वहरूलाई आस्था र विश्वासले पूजा गर्दछन्। किरात राईहरू सांस्कृतिक र आर्थिक जीवनमा मोछामा, सुप्तुलुङ, साकेला, छौवा, स्योपैंया, देवी देराली, वाइको, सायरेम्मा र सिकारी आदिमा मुन्दुम र सुप्तुलुङको उपयोग गर्दछन्।

 

सुप्तुलुङ र साकेला पूजा

सुप्तुलुङलाई सिप्तिलुङ पनि भनिन्छ। सुप्तुलुङको नेपाली समानार्थी शब्द चुला हुन्छ। अगेनामा त्रिकोणात्मक आकारमा राखिएको तीन दुङ्गाको संरचनालाई सिप्तिलुङ भनिन्छ। यसलाई नछौं/मबो/डोपाले सिप्तिलुङ राख्दछन्। ढुङ्गा प्रकृतिको रूप हो। प्रत्येक घर मुलीको नाममा चुला राखिन्छ। यसलाई मिचुनुङ भनिन्छ। मिचिनुङ किरात राई जातिको सांस्कृतिक जाति नाम हो। सिप्तिलुङका तीन चुलालाई पापालुङ, मामालुङ र छैकुलुङ भनिन्छ। यी नामहरू राईपिच्छे फरक हुन सक्दछ। चुलाको नाम फरक भए पनि अर्थतात्विक दृष्टिले सार एउटै हुन्छ।

सिप्तिलुङमा गाइने मुन्दुम संस्कृति अनुसारका फरक फरक हुन्छन्। यही चुलाबाट जन्मदेखि मृत्युसम्मका सबै संस्कारहरू र कुलपित्र पूजाहरू सम्पन्न गरिन्छ। किरात राईहरू वर्षमा दुई पटक दुङवाडा साकेला र दुङदापा साकेला मान्दछन्। दुङवाडालाई धिरिनाम र दुडदापालाई छिरिनाम भनिन्छ। धिरिनामलाई नेपालीमा उँभौली र छिरिनामलाई उँधौली भनिन्छ। धिरिनाम अनुष्ठान वर्षा ऋतु प्रारम्भ भएपछि र छिरिनाम अनुष्ठान हिउँद ऋतु प्रारम्भ भएपछि गरिन्छ। यी दुई मौसममा गरिने साकेला र पितृपूजा भन्दा अगाडि स्योंपैया र हुइलुङ गरिन्छ। यी पूजाहरूका प्रारम्भ सुप्तुलुङबाट हुन्छ। चुला पुजन कार्य नभई अरू पूजा आराधना गरिन्दैन। सुप्तुलुङ पूजालाई चाम्लिङहरू हुइलुङ भन्छन्। यस हुइलुङ पूजामा पितृहरूलाई नयाँ अन्न बाली, कुखुरा, अन्डा, गाई, गोरू, माछा र चराचुरूङ्गी आदि चढाइन्छ।

 

छौवा

छौवा शब्द चाछुवाबाट बनेको हुन्छ। छौवा शब्दका चा > अन्न र पानी हो भने छुवा > पितृहरूलाई अर्पण गर्नु, चढाउनु हुन्छ। पितृहरूलाई नयाँ अन्न पानी चढाउने संस्कृतिलाई छौवा भनिन्छ। मुन्दुमले राईको मरण हुँदा भौतिक शरीर नास भए पनि आत्मा अविनाशी हुन्छ भन्ने मान्यता राख्दछ। राई जातिमा राम्रो र नराम्रो मरण हुन्छ भन्ने जन विश्वास छ। नक्छुडले यारिचुरीबाट चुलामा आयो कि आएन भनी निर्धारण गर्दछ। मृतकको राम्रो मरण भएमा न्यिखाली (चुलामा आएको पितृ) भनिन्छ। न्यिखाली आत्माहरू चुलामा बास गर्छन् भन्ने विश्वास गरिन्छ।

छौवा पूजा सामान्यतः वर्षा ऋतुपछि हिउँद ऋतुमा भदौ र असोज महिनामा गरिन्छ। यस पूजामा नयाँ घैया धानको चिउरा र पाङ्दुर कोदोको जाँड, तरुल, भ्याकुर, गोरूको मासु, माछा र चरा चुरूङ्गीहरूका मासु चढाइन्छ। यो पूजा मूलतः पितृहरूको नाम सम्बोधन गर्दै सुप्तुलुङमा चढाइन्छ।

राईहरूमा चुलामा दैविशक्ति रहेको हुन्छ भन्ने विश्वास रहेको छ। यसकारण चुलामा आगो कहिले निभ्नु हुँदैन भनिन्छ। प्रकृतिको निर्जीव दुङ्गालाई आगो र मुन्दुमका शक्तिले चुलामा दैवीशक्ति आरोपित भई जीवन्त राखेको छ। घरमुलीको सांस्कृतिक र संस्कारजन्य कार्यहरू चुला र मुन्दुम बाहेक अरूबाट सम्भव हुँदैन। यहीकारण किरातको चुलामा जीवनको अस्तित्व रहेको हुन्छ।

 

साकेला सेउली

किरात राईहरू साकेला दुडवाडा (हिउँद कालीन) र दुडदापा (वर्षा कालीन) गरी दुई पटक पूजा गर्दछन्। साकेलासँगै स्योपैया र हुइलुङ पूजा गरिन्छ। यो चाडपर्व करिब एक महिनासम्म रहन्छ। साकेला र हुइलुङमा मेरिलाको सेउली प्रयोग गरिन्छ। मेरिलाको नेपाली नाम मुसुरो कटुस हुन्छ। मेरीला रूखको बोक्न सकिने हाँगा वा गाडन मिल्ने बिरुवा साकेला थान र पगरी राईको घरको आँगनको बीचमा गाडिन्छ। यसलाई केन्द्र बनाएर लामबद्ध भएर वरिपरि सिली नाचिन्छ।

किरात राईहरूले घर बनाउँदा मूल खाँबो गाड्दा मुन्दुम गाउँदै ‘ल है थलो आस उको बोखामादा खिम मुमालो’ भनिन्छ। त्यो खम्बा जङ्गलबाट नै ल्याइएको हुन्छ। मेरिलाको रूखमा मृतकको आत्मालाई अदृश्य बनाउने दैवीशक्ति रहेको हुन्छ। यसले जीवित र मृतकको आत्मालाई अदृश्य बनाएर मृत्युलोक र जीवलोक निर्माण गर्न सहयोग पुर्‍याएको हुन्छ। प्राकृतिक वन जङ्गललाई किरात राईहरू घर, सितल र जीवन सम्झन्छन्। यस दृष्टिबाट हेर्दा पनि राईहरू प्रकृति पूजक हुन्।

 

स्योंपैया पूजा

पानी प्रकृतिको उपज हो। प्रकृतिको अङ्गहरूमा नदी, खोलानाला, सिम, पोखरी, पानी पँधेरो रहेका छन्। यसको पूजा किरात राईहरूले गर्दछन्। नोक्छुडहरू पानीको मूलको ‘ओको धिवा-छिवा, वालेखामो’ रिसिया गाउँदै पुज्छन्। यस पूजालाई स्योंपैया भनिन्छ। यो पूजा खातँवा धामीहरू साकेला थान पस्नु अगाडि वालेखा (सिम र पानी पँधेरो) पूजा गर्छन्।

किरात मुन्दुम अनुसार पानी नागको प्रतीक हो। यहीकारण सिमसार र पानी पँधेराहरूमा नाकिहँले बास गरेको हुन्छ भन्ने विश्वास रहेको पाइन्छ। स्योपैंया पूजा भनेको प्रकारान्तरले नागको पूजा हो। नाग पानीको प्राकृतिक देवता हो। कतिपय राईहरूले खोला नदीको पञ्चवलीको भाकल गरेको हुन्छ। सामान्यतः साप्सूको भाकल गर्छन्। यो भाकल साप्सूको पानीको पूजा हो। सप्तकोसी त्रिवेणीमा खुवालुङ पूजा, कोकाह खोला पूजा गरिन्छ। यी पूजाहरू पानीका अनुष्ठान हुन्। यसलाई पञ्चौली पूजा भनिन्छ। यी सबै पूजाहरू प्रकृतिका अनुष्ठानहरू हुन्। यी अनुष्ठानहरू मानव कल्याणको अपेक्षा सहित गरिएका प्रकृति पूजा हुन्। यी उल्लिखित सन्दर्भले किरात राईहरू प्रकृति पूजक हुन्।

 

देवी देउराली पूजा

पहाड पर्वत, चुचुरा, भञ्याङ र देउरालीहरू प्रकृतिका विराट् सिर्जनाहरू हुन्। किरात राईहरूले यी पहाड चुचुराहरूको पूजा गर्दछन्। देउराली भञ्याङहरूमा स्वास्फूर्त पाती चढाएर पूजा गर्ने किरात राईहरू नै हुन्। पहाड पर्वतका चुचुराहरूलाई किरात राई र लिम्बूहरूले दैवीशक्तिको केन्द्र मान्दछन्। पहाडका चुचुरा र पोखरीको पूजा गर्दछन्।

 

यसका दृष्टान्तमा खोटाङ र भोजपुर सिमास्थित लौरे डाँडा, सिलिचुड, ट्याम्के, सेल्मे, ताप्लेजुङको मुकुम्लुङ, साल्पा पोखरी, साप्सू धाप, उदयपुरको रौता पोखरीहरू किरात आस्थाका स्रोत हुन्। त्यस्ता पहाडको चुचुराहरूमा न मन्दिर छ न त मूर्ती नै केही हुँदैन। ती स्थलहरूमा हिन्दू संस्कृतिको प्रभावमा परेर मन्दिर बनाइएका छन्, केवलकार बनाउन राज्य शक्तिको दुरुपयोग गरिएको छ। यद्यपि ती चुचुराहरू किरात राईहरूका धार्मिक आस्थाका केन्द्रहरू हुन्। जहाँ नाक्छुडहरू मुन्दुमको रिसिया गाउँदै तान्त्रिक यात्रा गर्छन्। आज त्यसको महत्त्व बुझेर सबैले दर्शनको लागि यात्रा गर्न थालेका छन्।

किरातका मुन्दुमी यात्रा कोही खोलैखोला हुँदै र कोही डाँडैडाँडा गर्छन्। पानीबाट यात्रा गर्ने नाकछुडहरू खोलैखोला भएर साल्पा पुगेर खुवालुङ झर्छन्। डाँडैडाँडा यात्रा गर्ने नाक्छुडहरू पहाड, खोंच हुँदै साल्पा पुगेर खुवालुङ झर्छन्। नाक्छुङहरू मुन्दुमी यात्रामा मुन्दुम गाउँदै, कोक्मा पिरिमासँग शक्ति माग्दै धिवा-छिवा भाग्छन्। किरात नाक्छुङहरू प्रकृतिका नाग, नदी, खोला, सिमसार र पोखरीमा बस्ने प्राकृतिक जल देवता पुज्छन्। अग्ला पहाडका चुचुरा पुज्छन्।

 

निष्कर्ष

किरात राई सुप्तुलुङ र मुन्दुमका कारणले जीवन्त बनेका हुन्। यस जातिको इतिहासलाई मुन्दुमले बचाएको छ। जुन जातिको मौलिक भाषा, धर्म, संस्कार र संस्कृति बलियो हुन्छ, त्यो जाति भूमिमा सदा जीवन्त रहन्छ। त्यो जातिको मौलिक संस्कार र संस्कृतिको दियो कहिले निभ्दैन। यसको बलियो प्रमाण सुप्तुलुङ, धिरिनाम र छिरिनामको अस्तित्व हो। यसका विधि विधानमा गाइने मुन्दुम हो। चाम्लिङ जातिको मुन्दुम, मुन्दुम रिलुङ र मुन्दुम होसुङ प्रकाशित छन्। यसले किरात राईका संस्कृति, परम्परा, संस्कार, जीवन पद्धति, खानपान, भेषभुषा र गरगहनालाई सुरक्षित गरेको छ।

 

लेखक नेपाली विषयको प्राध्यापक र किरात राई चाम्लिङ खाम्बातिमको सङ्घीय कार्य समितिको उपाध्यक्ष हुनुहुन्छ।

Post Comment

Scroll to Top Scroll to Top Stretched