चाम्लिङ मुन्दुम : किरात जाति र संस्कृति – हरि राई (होङ़्बुङ बारालुड)
चाम्लिङ मुन्दुम : किरात जाति र संस्कृति
हरि राई (होङ़्बुङ बारालुड), केपकोड, अमेरिका
१. पृष्ठभूमि
किरातहरूको पुरोहित नाक्छुडले गाउने रिसियाको सङ्गालोलाई थुथुरी वेद भनिन्छ । किरात समुदायमा कथ्य परम्परामा जीवित रहेकाले थुतुरी भनिएको हो। थुतुरीको अर्थ ओंठ वा जिब्रो भन्ने हुन्छ। वेदको अर्थ मुन्दुम भन्ने बुझिन्छ। किरात भाषाबाट मुन्दुमको रिसिया गाउने पुरोहितलाई माङपा, नाकछोड, नछुङ, न्यौपा, फेदाङमा, यवा, साम्बा, बोनबा, गुभाजू, भर्रा आदि भनिन्छ ।
उनीरूले थर्पुमा बसेर विभिन्न संस्कारहरू सम्पन्न गर्दा, माङसेवा/माङमुमा (पूजा-आजा) गर्दा, सम्पूर्ण प्रकृतिहरू सूर्य, चन्द्र, पृथ्वी, तारागण, खोलानाला, पहाड पर्वतलाई सम्बोधन गरी नाक्छुडहरूले कोक्मा पिरिमासँग शक्ति माग्दछन् । मुन्दुममा जीवन यापनको नियमहरू, राजा, राज्य, शासन व्यवस्थादेखि ईश्वर प्राप्त गर्ने भावना, शैली र विचार सबैको रिसियाको भाव र भाकामा व्यक्त गरिन्छ। अन्य कर्म संस्कारहरू सम्पन्न गर्दा अनेक वाणी दिइन्छ। यी कार्यहरू गर्दा नाक्छुङको मुखबाट जुन वाणी व्यक्त हुन्छ त्यो वाणी नै मुन्दुम हो। यसमा भएको ऋचा वा तन्त्रलाई रिसिया भनिन्छ।
मुन्दुममा किरात संस्कृति, जीवन पद्धति, भूमि, बासस्थान, वन जङ्गल, नदी नाला र जीवजन्तु आदिको वर्णन पाइन्छ। प्रस्तुत लेखमा आदिम पुरूष पारुहाङ र स्त्री सुम्निमा किरात जातिको सृष्टिकर्ता भएको उल्लेख गर्दै उनीहरूबाट किरात भाषा, संस्कृति विकासको सन्दर्भलाई चाम्लिङ मुन्दुमका पृष्ठभूमिमा प्रकाश पार्ने प्रयास गरिएको छ।
२. किरात उत्पत्ति कथा
चाम्लिङ मुन्दुमलाई रतन्छाका गडुलमान राईको वर्णन अनुसार सृष्टि कालमा पृथ्वीमा पानी मात्र थियो। समुद्रको पानी घोलिदै जाँदा फिज उठ्यो। त्यस पानीको फिजबाट दर्शन दुङ्गा बन्यो। त्यो दुङ्गाको चर्किएको चेपबाट उन्युको बिरूवा उम्रियो। उन्यु बढ़दै जाँदा बूढो भयो र त्यसका पातहरू झरेर कुहनि थाल्यो। उन्युको कुहेको पातबाट धमिरा सृष्टि भयो। धमिराहरूले माटोको ढिस्को बनाए। त्यो माटोको ढिस्को बढ़दै गएपछि त्यहाँबाट निभुच्याउ देखा पर्यो। निभुच्याउ बूढो भएर झर्दा त्यसबाट खुम्ले किरा उत्पत्ति भयो।
त्यो खुम्ले किरा हुर्किएर वयष्क भएपछि त्यसबाट रिभ्यामा र रिकपा सृष्टि भए। यिनीहरू खुम्ले किराबाट सृष्टि भएकाले दिदी भाइ थिए। रिभ्यामालाई रिभिमा पनि भनिन्छ। रिभ्यामा र रिकपा हुर्किएपछि रिभ्यामा बेंसीमा र रिकपा लेकमा बस्न थाले। रिभ्यामा उमेर चढेपछि यौन तृष्णा पनि बढ्यो। यही कारण उनले विवाहका लागि केटा खोज़ थालिन्। उनले रिकपासँग विवाह गर्ने इच्छा गरिन्।
उनीहरू माइती चेली भए पनि अरू कोही पुरूष नपाइएकाले विवाह गरे। उनीहरू जन्मले माइती चेली भएकाले विवाह विधिसम्मत नभएकाले रिकपामा छट्पट्टि देखियो। रिकपाले बँदेलको रूपमा मृत्यु धारण गरी पुनर्जन्म लिएर दोस्रो जुनी लिई विवाहलाई विधिसम्मत बनाए। यसरी सृष्टिकाल देखि नै एउटै आमा बाबुको सन्तान विवाह गर्नु हुँदैन भन्ने रीति बसेको हो। जुनी फेरेपछि पहिलो जन्मको रिकपा दोस्रो जुनीमा सालपा बने। सालपाको रूङमाह नाम पनि रहेको पाइन्छ। यसरी एउटै व्यक्तिको नाम भूमिकाको कारण रिकपा, सालपा र रूङमाह रहेको पाइन्छ। यसपछि सालपा हिमालतिर बस्न थाले।
किरात जातिको आदिम पुरूष सालपा र रिभ्यामाको जन्म पूर्व मानव सृष्टि क्रमशः पानी, फिंज, दुङ्गा, उन्यु, धमिरा, माटो, निभु च्याउ, खुम्ले किरा, रिकपा-रिभ्यामा जुनीको वंशक्रम पाइन्छ। रिकपा र रिभ्यामाले वाइलुड छोरीको जन्म दिन्छन् । रिकपाको बँदेलको जुनी धारण, उसको मृत्युपछि सालपाको पुनर्जन्म भएपछि उनीहरूबाट चाप्चा, वर्पा र हँछा/हाङ्छा जन्मिन्छन्। सालपालाई रङमाह, पारूहँ, पारुहाङ़ पनि भनिएको पाइन्छ।
चाप्चा र वर्पा जङ्गल पस्छन्। उनीहरूमा विवेक र बुद्धि हुँदैन। हँछा उनीहरूभन्दा बुद्धिमान् हुन्छन्। हँछाका सन्तानहरू किरात जातिको रूपमा फैलिएका छन्। पारूहँ र नाइमाका कान्छा सन्तान हँछाले नाग राजा दिल्लीहँ र नाकिमाकी छोरी सिकुरिमासँग विवाह गर्छन्। सिकुरिमालाई सिक्रिमा पनि भनिएको पाइन्छ। हँछा र सिकुरिमाको विवाहको क्रममा हामी किरात जातिको संस्कृति, संस्कार र जीवनशैलीका विविध पद्धति विकास भएको पाइन्छ।
हँछा र सिकुरिमाबाट तीन सन्तानहरू मकम्बुड, हर्कबुङ र रिब्लबुड छोराहरू जन्मिएका छन्। मकमबुडबाट भोटे जाती, हर्कबुङबाट किरात जाति र रिब्लबुङबाट चौधरी र दनुवार जाति विकास भएको मानिन्छ।
३. प्राक्कालमा किरात राज्यको क्षेत्र
प्राक्कालका सुम्निमा र पारुहाङको राज्य प्रकृति रहेको थियो। किरात जनश्रुति अनुसार सुम्निमा पारुहाड नै किरातहरूको आदिम पुरुष र महिला हुन्। किरातहरू शैव, शाक्त, लिङ्ग पूजक हुनु र जताततै शैव, शाक्त लिङ्गायत धर्मको अवशेषहरू खोजाइबाट भेटिनु पुरातात्विक प्रमाण हो। पहाड, खोलानाला, भीर पहरा छहरा, रुख, वनस्पति आदिको नाम किरातहरूको भाषाबाट पर्नु वा किरातहरूको जातीय नाममा त्यस्ता चीजहरू पर्नु, किरातहरू त्यस्ता चीजहरूको पूजक हुनु नै यसको प्रमाण हो।
यसै कालमा मध्य एसियादेखि लिएर भारतीय उपमहाद्वीप, हिमाली क्षेत्र र हिन्दचीनसम्म किरातहरूद्वारा शासित राज्यहरू विस्तारित थियो।
विशेष संयुक्त राज्य अमेरिकामा इमो खाम्बातिम युक्राको संयुक्त प्रयासमा हाम्रो रैथाने परम्परागत मुन्दुम संस्कृतिलाई यो धर्तीमा जोगाउन हर प्रयास संस्थाको पूर्ण जीवन सदस्य तथा साधारण जिम्मेवारी हुने मौका पाउँदा कोकुमा पिरिमा र छुइछेप्पाको आशीर्वादले अत्यन्त खुसी साथै गर्व गर्दछु।
४. धार्मिक स्वतन्त्रता बिरूद्ध सांस्कृतिक एकता
संसारका विभिन्न भू-भागमा सारा मानव, जीवजन्तु र वनस्पति सबैले आ-आफनो स्वतन्त्रता अनुभूति वा सृजनात्मक ज़िम्मेवारी बन्ने क्रममा लाखौं, हजारौं वर्ष इतिहास विभिन्न संस्कृतिहरू संरक्षित परिमार्जित भएको पाइन्छ। जन्म र मृत्युकाबीचमा मानव जीवनको सामाजिक, आर्थिक र सांस्कृतिक अपरिहार्य चेतना हो।
विशेष त मानिस झलक्क हेर्दा खासै फरक छैनौं। प्रायः शारीरिक बनावटमा समान अङ्गहरू हुन्छन् तर प्रत्येक व्यक्ति विशेष फरक-फरक विचार र चेतना हुनु र यो हाम्रो सोच, विचार, भावना फरक भए पनि हामीमा एक आपसमा साथ, सहयोग र सहकार्यबाट साझा समुन्नत सामाजिक परिकल्पना गर्न ठूलो मद्दत पुगेको ठान्दछु।
५. निष्कर्ष
मानिस पहिचान अस्तित्व बिनाको जीवन सधैं अपूर्ण हुने हुँदा सृष्टिमा सुख-खुसी पाउने आशामा म र मेरो जिम्मेवारी वा कर्तव्य धरातलमा रहँदे कुनै पूर्वाग्राही नभई हाम्रै तीन चुला (माखलुड, पाखलुड, सिप्तिहुइलुड) सुम्निमा पारुहाङ, तँयामा खियामा सालपा सिलीचुङ, वाहिताम खुवालुङ, बेछु, वासिम, रॉहोंला, मेरी, नाप्ची, आम्लाबुड लगायत विभिन्न मौसम लगायत प्रकृतिसँग आत्मविश्वास गर्दै खोलानाला, ताल, पर्वत, ठूलठूलो चट्टान हिम श्रृङ्खला, रुख, बिरुवा लगायत विशेष हाम्रो यो बाहिरी इन्द्रियद्वारा अदृश्य तर सृष्टिमा अद्भ्ुत शक्ति हुने हुँदा हामीले प्रकृति, जीवन, भाषा र संस्कृतिलाई संरक्षण गर्दा हामी र हाम्रो सह-अस्तित्व रही रहने हुँदा हामी सबैको महत्त्वपूर्ण समान जिम्मेवारी ठान्दछु।
तसर्थ किरात सभ्यताको विकास मुन्धुम संस्कृतिमा आधारित संस्कार, जीवन शैली, चिन्तन र आर्थिक उन्नतिको क्रमसँग सम्बद्ध रहेको हुन्छ। यसलाई विकसित बनाउन संसारका मानव जाती, जीवजन्तु र वनस्पतिहरूमा कुनै भेदभाव रहित व्यवहार गर्नु जरुरी हुन्छ। समुन्नत समाजको सिर्जना गर्न मुन्दुम दर्शनको प्रकृतिसँग सम्बन्ध प्रगाढ बनाउने वर्तमानमा दायित्व रहेको देखिन्छ।
यसका लागि मुन्दुम, इतिहास, लोक सङ्गीत र व्यावहारिक जीवनको सूक्ष्म अध्ययन, खोज अनुसन्धान गरी निष्कर्षमा पुग्ु जरूरी छ। भाषा तथा संस्कृति संरक्षण र सम्बर्धनका दृष्टिले धार्मिक स्वतन्त्रता भन्दा सांस्कृतिक एकता किरात राईका लागि अपरिहार्य छ । मुन्दुम संस्कृतिले किरात सभ्यता, संस्कार र रीतिरिवाजलाई सम्मान गर्न प्रेरित गरेको छ।
मुन्दुममा विभिन्न युगका इतिहासमा र विभिन्न भू-भागमा मानव, जीवजन्तु, वनस्पति सबैमा भेदभाव नराखी समुन्नत समाजको सिर्जना गर्दै आएको पाइन्छ। हाम्रो मुन्दुम दर्शनले जिउने बाटो देखाइ रहेको छ। विशेषतः मानव संस्कृतिको विकासमा प्रकृतिसँग तुलनात्मक खोज, अनुसन्धान र अनुभव गर्दै युगौं-युगबाट स्थापित हुँदै आएको छ ।
समय परिस्थिति बदलिंदै जाँदा विभिन्न कालखण्डमा संस्कार र संस्कृतिहरूसँग जीवनको अनुभूति वा जिउँदै गर्दा हामीले हाम्रो रुडरिमा (संस्कृति) ओझेलमा पर्दै गर्दा जसरी पुर्खाहरूले हामीहरूलाई पुस्तान्तरण गर्दै ल्याउनु भएको छ र यसरी हाम्रो सन्तानमा हस्तान्तरण गर्ने जिम्मेवारी काँधमा आइरहेको छ। यसमा हामी अल्मलिएको होकी जस्तो चुनौती थपिएको जस्तो लाग्रु स्वाभाविक देखिन्छ।
लेखकको पाछा होडबुङ बारालुङ रहेको छ। उहाँ सङ्गीतप्रेमी, उद्यमी तथा सामाजिक अभियानमा अभिरूची राखे व्यक्तित्व हुनुहुन्छ। उहाँ खोटाड जिल्ला, दिप्रुड चुइचुम्मा-४ खिसाखामा जन्मनु भएको हो।

Post Comment