Sign In

किरात राई समुदायमा साकेला सिली : शालिक राम राई, धरान


किरात राई समुदायमा साकेला सिली
शालिक राम राई, धरान

 

पृष्ठभूमि

बहु-जातीय, बहुभाषिक, बहु-धार्मिक, बहु-सांस्कृतिक तथा भौगोलिक विविधता युक्त नेपालमा किरात राई आदिवासी हुन्। यस जातिमा २६ भाषाहरू बोलिन्छन्। यस समुदायको मौलिक संस्कृति, मुन्दुम, धर्म, संस्कार, परम्परा, मूल्य मान्यता रहेका छन्। जसमध्ये साकेला महत्त्वपूर्ण सांस्कृतिक चाड हो। राईहरूको सांस्कृतिक जीवन दर्शनमा सिली अनिवार्य आउने गर्दछ। प्रागैतिहासिक कालदेखि नै यस समुदायको संस्कृति र संस्कारहरूमा साकेला सिली नाचिन्छ।

साकेलालाई साकेन्वा, सेग्रो, चाक्वाखुर, वाढाङमी, भूमे पूजा, ओमाड़क, तोषखाम/धिउलु, चारी, ढुवाङकुम पूजा, वुङछर धिरिनाम/छिरिनाम, साम्खा पूजा आदिमा सिलीहरू नाचिन्छ (चाम्लिङ, २०७८, पृ. १५-२१)।

सिलीको नेपाली समरूप शब्द नृत्य हुन्छ। नृत्य शब्दको अर्थ मेलापात, विवाह, भोज भतेर आदि समारोहमा मनोरञ्जनमा गरिने सिलीगान भन्ने बुझिन्छ। सिली प्रदर्शनको आचार संहिता मुन्दुममा रहेको पाइन्छ। त्यो आचारसंहिता पालना नगरे मृत्यु हुने जन विश्वास रहेको छ। कलाको दृष्टिकोणबाट सिली मानवद्वारा सिर्जना गरिएका सुन्दर दृश्यात्मक अभिव्यक्ति हो। नृत्यलाई मानव जातिका सूक्ष्म भावहरूका सुकुमार एवम् सौन्दर्य पूर्ण कला मानिन्छ। पूर्वीय साहित्यमा रहेका ६४ कला मध्ये नाट्य कलामा सिली पर्दछ (पराजुली, २०६३, पृ. ५)।

साकेला किरात राई समुदायका संस्कृतिका अङ्ग हुन्। साकेला दुङवाडा र दुङदापा अनुष्ठान र विवाह, उत्सवहरूमा प्रदर्शन गरिन्छ। सांस्कृतिक पक्षबाट अध्ययन नहुँदा किरात समुदायको सभ्यता, पहिचान र अस्तित्व नै दिनानुदिन खतरामा परेकाले यसको प्राज्ञिक अनुसन्धान आवश्यक देखिन्छ। किरात सांस्कृतिक सिली अध्ययनमा उद्वविकासवाद र सांस्कृतिक पर्यावरणवादका सैद्धान्तिक मान्यताहरू अवलम्बन गरिनेछ। संस्कृतिको निर्माणमा वातावरणीय भूमिकाको विश्लेषण गर्न सांस्कृतिक पर्यावरणका सैद्धान्तिक आधारमा सिलीको वर्णन गरिएका छन्। प्रस्तुत लेखमा साकेलाका मुख्यतः चार सिलीहरू आप्तरूङ, चारी, सिकी, नारावा, तोयामा र खियामा सिलीहरूको मात्र विश्लेषण गरिएका छन्।

साकेला सिलीका विभिन्न कोणबाट विश्लेषण

साकेला सिलीलाई मिथक, ऐतिहासिक तथ्य, आख्यान रहेका छन्। यी विविध पक्षहरूलाई प्रस्तुत गरिन्छ :

सुम्निमा र पारुहाङ मिथक

सुम्निमा नदी किनारमा सिस्नु टिप्दै थिइन्। जङ्गल अनकन्टार थियो। बाटाहरू थिएनन्। पारुहाङ त्यही जङ्गलमा सिकार खेल्न पुगे। अचानक उनीहरूको भेट भयो। पारुहाङ सुम्निमाकी सुन्दरतामा मुग्ध बने, दुवैले परिचय गरे। परिचयपछि कुराकानी गर्दागर्दै रात पर्यो। उनीहरू जङ्गलमा बास बस्न बाध्य भए। बास बस्ने क्रममा पारुहाङले सुप्तुलुङ लगाए र आगो उत्पत्ति गरे। उनीहरू रातभरि आगो ताप्दै प्रेमालाप गर्दै सुप्तुलुङ वरिपरि नाचे। पारुहाङले सुम्निमालाई विवाहको प्रस्ताव राखे। उक्त प्रस्ताव सुम्निमाले अस्वीकार गरिन्। पारुहाङ आवेगमा अलप भए। यही समयदेखि सुप्तुलुङको सृष्टि भएको मानिन्छ। समयको अन्तरालमा उक्त सुप्तुलुङमा पितृहरूको अनुष्ठान गर्न साकेला नाच थालियो (राई, २०७१)।

तोयामा, खियामा र हेच्छाकुप्पा

किरात आदिम पुर्खा पातेसुङ र दिलिबुङ्गाको दुई छोरीहरू तोयामा, खियामा र छोरा हेच्छाकुप्पा जन्मिए। उनीहरू सानैमा टुहुरा भए। उनीहरू जीवन गुजारा गर्ने क्रममा बहिनी बेंसीतिर, दिदी लेकतिर र भाइ त्यही भूमिमा रहन थाले। भाइ हेच्छाकुप्पाले सिकारी पेसाबाट जीवन धान्न थाले। हेच्छाकुप्पा जवान भएपछि विवाह गरे। उनले विवाहमा दिदी बहिनीलाई बोलाए। विवाहमा हेच्छाकुप्पाले तीनवटा चुला भएको सुप्तुलुङ राखेर साकेला सिली नाच्दै पत्नी भित्र्याए। उनले चेलीहरूलाई विवाहमा खुर राखेर विदाइ गरे। यसपछि साकेला सिली नाच सुरू गरियो (राई, २०८०)।

राजा बुधहाङ र चेली सैसैला

बनेपामा बुधाहाङले राज्य गर्दथे। उनी किरात थिए। उनले यलाखोम राज्य फिर्ता गर्न हेन्कुबुडको स्थापना गरी पूजा आराधना गर्ने व्यवस्था मिलाएका थिए। उक्त अनुष्ठानमा राजाको शिर उठाउन दोलोकुम लगाइ दिने जिम्मा सैसैलाले लिइन्। उनले आम्लाबुड, मयुरको प्वाँख र धातुहरू प्रयोग गरी सुन्दर कलात्मक दोलोकुम बनाए।

हेन्कुबुङमा साकेला नाचे जिम्मा सिल्टाड कुप्माले लिइन्। यस साकेला सिली नाचे क्रममा ढोल र इयाम्टाको तालमा धनुकाँड, आराखा, वासिम पर्सिदै मुन्दुम वाचन गर्दै बुधाहाङ हेन्कुबुङमा प्रवेश गर्दा सैसैलाले दोलोकुम राजाको शिरमा लगाइ दिनुपर्ने थियो। राजा बुधाहाङले मुन्दुम गाउँदै, सिली नाच्दै शिरमा दोलोकुम लगाएर गोरूको भोग हेन्कुबुडलाई दिनुपर्ने थियो।

बुधहाङ नाच्दै हेन्कुबुङ बढे, दुर्भाग्यवश त्यही बेला सैसैला रजस्वाला भइन्। उनी लाजले भागिन्। दोलोकुम भुईंमा खस्यो, राजाको शिरमा परेन। त्यो दोलोकुम भुईंमा खस्दा पत्थरमा परिणत भइसकेको थियो। राजाले आफ्नो शिर नउठेपछि दोलोकुम्मा दो सैसैला भन्दै बोलाए तर चेली फर्किनन्। यसपछि सैसैला भन्दै गीत गाउँदै साकेला नाच थालियो भन्ने जनश्रुति पाइन्छ। त्यही पत्थरलाई साकेलाको रूपमा पुज्ने चलन विकास भयो।

मकबुड, हर्कबुङ र रिब्लबुडको मिथक

किरात पुर्खाहरू मकमबुड, हर्कबुङ र रिब्लबुड थिए। उनीहरू छुट्टिएर स्वतन्त्र रहन थाले। रिब्लबुङ तराइमा बसे। मकमबुङ र हर्कबुङ खुवालुङतर्फ लागे। उनीहरूलाई सुनचरीले पछ्याई। सुनचरी उनीहरूका बहिनी थिइन्। उनीहरू बीच बहिनी कोसँग जाने भन्ने कुरामा झगडा भयो। बहिनीले भनी म एउटा छु कसले लान्छौ, म यहीं अल्पिन्छु, कसैसँग जान्न भनी। म जहाँ उत्पत्ति हुन्छु त्यहाँ मेरो नछुडद्वारा पूजा गर्नु भनी अल्पिई।

यसपछि हुरी बतास चल्यो, मुसलधारे वर्षा पर्यो र ती दाजुहरूका समान बोकेका डोको बाढीले बगायो। उनीहरूले धेरै दुःख पाए। एक रात मकमबुडले बहिनी अल्पिएर बनेको पत्थरलाई ढोल, इयाम्टा र पमी सहित सहयोगीहरू र धामीले नाच्दै पूजा गरेको सपना देख्यो। उसले ब्युँझेपछि सपनामा देखेअनुसार मुन्दुम गाउँदै पत्थरमा साकेला नाचे। यसपछि अन्न पानी वृद्धि हुन थाल्यो, ज्ञान, बुद्धि, विवेक बढ्न थाल्यो। उनीहरूले यसलाई सुनचरीले दिएको सम्पत्ति मान्न थाले। यही क्रममा साकेलाको उत्पत्ति भयो भन्ने विश्वास गरिन्छ (राई, २०८०, पृ. ७८)।

साकेला सिलीको प्रकार

साकेला सिली भिन्न भिन्न सैली र गतीमा नाचिन्छ। यसलाई चाम्लिङ, बान्तवा र अन्य … सिली भनेर वर्गीकरण गरेको पाइन्छ। यी क्षेत्रहरूमा एउटै सिली फरक फरक तरिकाबाट नाचिन्छ। चाम्लिङ खोलामा सिली शारीरिक अङ्ग र हातको सन्तुलनमा शारीरिक लचकता र तीव्र गतीमा नाचिन्छ भने बान्तवा खोलामा सुस्त तालमा हातको गतीशीलतालाई केन्द्र बनाएर नाचिन्छ (राई, २०७१)।

साकेला सिलीहरू धेरै छन्। यस लेखमा मुख्यतः आप्तरूङ, चारी, सिकी, तोयामा, खियामा र नारावा सिलीको चर्चा गरिने छ।

आप्तारूङ सिली

आप्तारूङ सिलीलाई नेपालीमा सिकारी सिली भनिन्छ। यसले किरात सभ्यताको यथार्थ जनजीवनको चित्रण गर्दछ। साकेलामा नाचिने आप्तारूङ सिलीले आदिम युगको प्रतिनिधित्व गर्दछ। यो सिली नाच्दा धनुकाँड, पौराणिक हातहतियारका प्रयोग, मृग र माछाको सिकार गर्दाका क्रियाहरूलाई नृत्यबाट प्रस्तुत गरिन्छ। यसमा सिकार खेल्ने क्रियालाई कलात्मक ढङ्गबाट प्रस्तुत गरिन्छ। यस सिलीभित्र अन्य सिलीहरू पनि जोडिएका हुन्छन्। यिनीहरू सिकार गर्ने कार्यका श्रृङ्खलाहरू हुन्। यसमा धनुकाँड बनाउने, सिकार खेल्न जङ्गल जाने, दुकुर मार्ने, चकमकले आगो बाल्ने, दुकुर पोल्ने, मासु काट्ने, कराहीमा भुटुने, मासु पस्कने, खाने, आराम गर्ने आदि क्रियाहरूलाई नृत्यका माध्यमबाट प्रस्तुत गरिन्छ (राई, २०८०, पृ. ८२)।

चासुम सिली

चासुम सिलीलाई चारी वा खारु सिली भनिन्छ। यसको नेपाली समानार्थी रूप खाद्यान्न उत्पादन हुन्छ। यस सिलीले कृषि युगको प्रतिनिधित्व गर्दछ। बान्तवा समुदायले यस चारी सिलीलाई उच्च प्राथमिकता दिएको पाइन्छ। बान्तवा भाषामा चारी शब्दबाट अन्न बालीको सह, खेतीपाती भन्ने बुझिन्छ।

चासुम सिलीमा पनि खाद्यान्न उत्पादनका विभिन्न क्रियाहरू संयोजन भएर आउँछन्। ती क्रियाहरूलाई पनि कलात्मक शैलीमा नृत्यको स्वरूप दिइन्छ। तिनीहरू भस्मे फाँडने, खेत बिराउने, कुलोबाट पानी ल्याउने, खन्ने, घैयाको बीउ राखे, रोपाइँ गर्ने, धान गोड्ने, धान काट्ने, दाईं गर्ने, धान ढिकुटीमा राखे, बिस्कुन सुकाउने, ढिकीमा कुट्ने, निफन्ने, भात पकाउने, भात खाने, आराम गर्ने रहेका छन् (राई, २०६६, पृ. १९)।

सिकी सिली

सिकीलाई दाकथोप्पा सिली पनि भनिन्छ। यस सिलीले औद्योगिक युगको प्रतिनिधित्व गर्दछ। तोयामा, खियामा र हेच्छाकुप्पा सानैमा टुहुरा हुन्छन्। उनीहरूले जीवन बिताउन ठूलो सङ्घर्ष गर्नु पन्यो। तोयामा खियामाले तान बुन्न सिकेर कपडा लगाउने चलन सुरु गर्छन्।

यस सिलीमा पनि अन्य सिलीहरू संयोजन भएर आउँछन्। ती सिलीहरू भस्मे फाँडने, कपासको बीउ छर्ने, गोड्ने, कपास टिप्ने, रुवा काट्ने, धागो डल्लाउने, तान लगाउने, तान उठाउने, तान फिजाउने, तान बुन्ने, तान बेर्ने, कपडा च्याते, शरीरमा नाप्ने, सिलाउने र ओढ्ने सिलीहरू पर्दछन् (राई, २०८०, पृ. ७९)।

तोयामा र खियामा सिली

तोयामा र खियामा सिलीले मानवीय संवेदना र सम्बन्धको प्रतिनिधित्व गर्दछ। नाना तोयामा लेक जान्छिन् र युछुङबुङ फूलको प्रतीक बन्छिन्। बहिनी खियामा बेसी झर्छिन् र गुवाबुड फूल प्रतीक बनेर बस्छिन्। यस सिलीमा दिदी बहिनी खियामा र हेच्छाकुप्पा भाइको वियोगान्त कथासँग जोडिन्छ।

यसमा अन्य सिली जस्तो गोलाकार आकारमा भने नाच्दैन, बीच भागमा सेउला राखेर तलमाथि तल माथि, अगाडि पछाडि गरेर संयोगान्त र वियोगान्त भाव व्यक्त गर्दै नाचिन्छ। यस सिलीमा तोयामाले बेसीको गुवाबूड फूल टिप्ने, बहिनी खियामाले लेकमा युछुबुड फूल टिप्ने, तोयामा र खियामाले फूल सुँघ्ने, दुबैले बोकेर ल्याउने र दुबै संयोगका लागि अगाडि बढ्ने, यसपछि पछाडि हट्ने, तल माथि गर्दै दिदी बहिनी अङ्गालोमा बाँधिन्छन्, फेरि बिस्तारै फुकिन्छन्, नानाले बहिनीलाई फूल दिन्छिन्, बहिनीले नानालाई फूल दिन्छिन्, फूल साटासाट गरेर अङ्गालोमा बाँधिने क्रमसँगै उनीहरू छुट्टिन्छन् (राई, २०७२)।

नारावा सिली

नारावा छ महिना लेक हिमालतिर छ महिना बेंसी तराईतिर बसोबास गर्दछन्। ऋतु सूचक नारावा जब वैशाखे पूर्णिमा लाग्दछ तब हिमालतिर लहर लागेर विभिन्न आकृतिमा आकाशमा फिजिएर उड्ने गर्दछ। त्यसपछि धर्तीमा अन्नपात लगाउने प्रचलन रहेको छ। मंसिर महिनामा हिमालबाट फर्केपछि नयाँ अन्नबाली खाने चलन रहेको छ।

यसले चराको सङ्घर्षको जीवन्त क्रियाकलापहरूको सिलीमार्फत अभिव्यक्त गरिन्छ। यस सिलीमा गुड लगाउने, फूल पार्ने, ओथारो बस्ने, चल्ला निकाल्ने, हुर्काउने, चारो खुवाउने, पखेटा केलाउने, लहरमा सँगै उठ्ने, बाजले झम्टने, हच्किने, एकै घेरामा भेला हुने आदि क्रियाकलापहरू गरिन्छ। यसले नारावाहरूका गतीशील सङ्घर्षपूर्ण जीवनका आरोह अवरोहलाई व्यक्त गर्दछ (राई, २०७२, पृ. ७६)।

सिलीका विश्लेषण

मुन्दुमी पात्रहरू तोयामा, खियामा र हेच्छाकुप्पाको गाँस, बास र कपासका लागि गरिएको सङ्घर्ष उद्वविकासवादी टायलरको सिद्धान्त अनुसार वर्वर स्तर अवस्थाको प्रतिनिधित्व गर्दछ। यो अवस्था सामाजिक सुरक्षा र आक्रमण, लडाइँ र स्थायी बसोबासको समय हो। यो बेलाको आर्थिक जीवन माटोको भाँडाकुँडा निर्माण गर्ने, पशुपालन, खेतीपाती गर्ने, दुकुर गाडबाट अन्न उब्जनी गरी बालीको आरम्भ भएको तथ्य उल्लेख छ।

टायलरले आत्मावादको चर्चा गरेको यो धर्मसम्बन्धी विचार थियो। यो अवस्था धार्मिक विश्वासको विकासशील चरण हो। आत्मावाद पहिलो विश्वासको प्रारम्भिक चरण हो। मानिसहरू जङ्गली अवस्थामा सबै वस्तुहरूमा आत्मा हुन्छ र प्रत्येक पदार्थमा चेतना हुन्छ भन्ने कुरा विश्वास गर्थे। उनी मानिसहरूको प्रत्येक कुरामा जीवन र आत्मा हुन्छ भन्ने कुरामा विश्वास राख्दथे। त्यसैले विभिन्न संस्कृतिको विकास भएको देखिन्छ। शरीरभन्दा आत्मालाई स्वच्छ मानिन्थ्यो। आत्मावादको तात्पर्य संसारको सबै वस्तुहरूमा आत्मा वा ईश्वर हुन्छ भन्ने विश्वास अनुसार माटो, दुङ्गा, बिरुवा, पितृ, प्रकृति, तीन चुल्हो, आत्मावादी विश्वासको कारण वनदेवता, जलदेवता आदिलाई पुज्ने परम्पराको थालनी भएको देखिन्छ।

टायलरको उद्विकासवादी दृष्टिकोणले सभ्यता स्तरको समाजको विकास भएको थियो भन्ने बुझिन्छ। यो अवस्थाको समाज र संस्कृतिको आधुनिक, सभ्य र उच्च रूप हो। यो स्तरमा राजनीतिक संस्था निर्माण, सरकारको स्थापना, अक्षर, भाषा र लिपिको विकास, लेखन कलाको विकास भएको थियो भन्ने कुरा राजा बुधाहाङको राज्य थियो भन्ने तथ्यले प्रमाणित हुन्छ। सिल्टाडकुप्मा साकेला सिली नाच्नमा पारङ्गत थिइन् भन्ने तथ्यले मानव संस्कृतिले सभ्य रूपमा प्रवेश गरेको प्रमाणित हुन्छ र नयाँ-नयाँ वस्तुको खोज अनुसन्धान, तार्किक चिन्तन आदि विकास गरेर यो समाज सभ्यताको युगमा प्रवेश गरेका थियो भन्ने बुझिन्छ।

किरातका पुर्खाहरू मकबुङ (भोटे) जेठा, हर्कबुङ किराती (माइला) र कान्छा रिब्लबुङ (धिमाल, थारु) मुन्दुमी पात्रहरू हुन्। टायलरका अनुसार मानव संस्कृतिको विकास क्रममा जङ्गली स्तर हुँदै वर्वर स्तर पुगेको उल्लेख गरेको छ। यी चरणहरू मानव समाज र संस्कृतिको उत्पत्तिको प्रारम्भिक अवस्था मान्न सकिन्छ। मानिसहरू सामुहिक बस्दथे, घुमन्ते, फिरन्ते थिए। उनीहरू जीविकोपार्जनको प्रमुख आधार सिकार गर्ने र प्रकृतिमा उपलब्ध खानाहरू सङ्कलन गर्ने गर्थे। साकेला सिलीका पात्रहरूबाट यही भूमिकामा निर्वाह भएको पाइन्छ। यही समयमा नदीको माछा मार्ने र आगोको प्रयोग हुन थालेको पाइन्छ। त्यही अवस्थाबाट जीवन निर्वाह सञ्चालन भएको देखिन्छ। विकासको क्रममा विस्तारै स्थायी बसोबास प्रारम्भ भएको देखिन्छ। यो बेलाको माटोको भाँडाकुँडा निर्माण गर्ने, पशुपालन, खेतीपाती गर्ने र फलामको औजारहरूको प्रयोग भएको थियो।

प्रस्तुत लेखमा वर्णन गरिएका सिलीहरू सिकारी सिली, चारी सिली, सिकी सिली, तोयामा र खियामा सिली र नारावा सिली आदिले समाज विकासको चरण बुझाउँछ। समाज र संस्कृतिको विकासलाई यी सिलीहरूले अभिव्यक्त गरेको पाइन्छ। आदिम युगदेखि सभ्य युगसम्म अवतरण हुँदा विभिन्न उतारचढाव, जीवन सङ्घर्षको अभिव्यक्ति सिली मार्फत प्रदर्शित भएका छन्। आदिम पुर्खाहरूले आफूले प्राप्त गरेको ज्ञान, सिप र अनुभवहरू अभिनयात्मक कला सिलीका माध्यमबाट पुस्तान्तरण भएको पाइन्छ।

निष्कर्ष

साकेला किरात संस्कृति हो। प्रस्तुत लेखको उद्देश्य किरात राई समुदायमा साकेला सिलीको उत्पत्ति, अभ्यास र महत्त्वमाथि प्रकाश पार्नु रहेको छ। साकेला सिलीको स्रोत मुन्दुमी आख्यान रहेको पाइन्छ। साकेला सिलीको व्युत्पत्ति जङ्गली युगबाट कृषि युगतर्फ सङ्क्रमणका चरणमा विकास भएको पाइन्छ। साकेला सिलीको प्रारम्भ आप्तारूङ सिलीबाट भएको देखिन्छ। यसपछि सिकी, नारावा, तोयामा र खियामा सिली विकास भएको मानिन्छ। सिकी सिलीले औद्योगिक युग, तोयामा र खियामा सिलीले मानवीय संवेदना र संस्कार, नारावा सिलीले समयको प्रतिनिधित्व गर्दछ।

आदिम युगका समाजले अनुभूत गरेका ज्ञान, सिप र अनुभवहरूलाई नृत्य कलाका माध्यमबाट प्रस्तुत गर्दै संस्कृति कलेवरमा पुस्तान्तरण गरेका छन्। सिलीमा मानव सभ्यता, सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरण र मानवीय संवेदनालाई व्यक्त भएका छन्।

मुख्यतः किरात समुदायमा सांस्कृतिक रूपमा स्थापित दुङवाडा र दुङदापाको समयको प्रतीक मानिएको छ। यी सिलीहरू आदिम कालदेखि विकसित हुँदै सज्जार प्रविधिको चरम विकसित स्थितिमा पुस्तान्तरण हुँदै जीवित छन्। वर्तमानमा साकेला सिली डिजिटलाइजेसनको चरणमा रहेको छ।

लेखक त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रका विद्यावारिधिका शोधार्थी हुनुहुन्छ।

सन्दर्भग्रन्थ सूची

नेपाली खण्ड चाम्लिङ, भोगीराज, (सम्पा. २०७८), मुन्दुम : रिरुङ किरात राई चाम्लिङ खाम्बातिम। पराजुली, मोतीलाल (२०६३), नेपालका प्रचलित नृत्य र नृत्य नाटिकाहरू साझा प्रकाशन। राई, कमलजंग (२०७२), नारोवा सिली। निप्सुङ, अङ्क ३४, किरात राई यायोक्खा। राई, कमलजंग (२०७३), साक्खेवा सिली: एक अध्ययन। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान। राई, चन्द्रकुमार (२०६६), किरात राई जातिको सांस्कृतिक चाड साकेन्वा : हतुवाक्षेत्रको एक मानवशास्त्रीय अध्ययन। पाटन संयुक्त क्याम्पस समाजशास्त्र/मानवशास्त्र विभाग। राई, तारामणि (२०७१), साकेल (कोयु मिथक, सिली र अनुष्ठान विधिको विश्लेषण)। कोयु/कोयु राई समाज। राई, रामकुमार (२०७९), राई समुदायको वैवाहिक नृत्यकला। (अप्रकाशित शोधपत्र, मानविकी तथा सामाजिकशास्त्र संकाय, नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभाग) त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर। राई, विष्णु (२०७१), किरात सभ्यता: उभौली/उधौली चाड मानव शास्त्रीय अध्ययन। नेपाल प्रज्ञा प्रतिष्ठान। राई, शालिक शातासक, (२०७८), राई जातिको मौलिक संस्कृति साकेला। धरान, सुनसरीमा (कार्यपत्र), किरात राई सांस्कृतिक कलाकार सङ्घ। राई, शालिकराम (२०८०), वान्तावा राई संस्कृतिमा साकेला सिली। (अप्रकाशित शोधपत्र एम. फिल, मानविकी तथा सामाजिकशास्त्र संकाय, नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभाग) त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर।

अङ्ग्रेजी खण्ड Steward, J. H. (1955). Theory of culture change: The methodology of multilinear evolution. University of Illinois Press. Tylor, E. B. (1830). Primitive culture, hon Murray, Albemarle Street, W.

Post Comment

Scroll to Top Scroll to Top Stretched