चाम्लिङ राईका केही प्रमुख संस्कृतिको सिंहावलोकन – शेखर राई, न्यु ह्याम्पसर, अमेरिका
शेखर राई, न्यु ह्याम्पसर, अमेरिका
पृष्ठभूमि
चाम्लिङ समुदाय भन्नाले मुख्यतः चाम्लिङ भाषालाई पहिलो भाषा र नेपाली भाषालाई दोस्रो भाषाका रूपमा बोल्ने आदिवासी हुन् । वर्तमानमा उनीहरू नेपाली भाषा प्रयोगतर्फ उन्मुख छन्। चाम्लिङ नेपाल राज्यको आदिवासी भाषा हो (एथ्नोलग, सन् २०१४) । यो जाति नेपालको पूर्वी क्षेत्रमा प्राग्ऐतिहासिक कालदेखि बसोबास गर्दै आएको तथ्य भेटिन्छ। चाम्लिङ शब्दको पहिलो प्रयोग शाके संवत् १०१७ मा भएको अभिलेख पाइएको छ। यस अभिलेखले चाम्लिङ जातिको प्राचीनतालाई सङ्केत गर्दछ।
नेपालको कोशी प्रदेशमा बसोबास गर्ने किरात राई जाति भाषाका दृष्टिले २६ उपजातिहरूमा विभक्त छन्। यस जनगणनाले किरात राई समूहका २६ भाषाहरू उल्लेख गरेको छ। ती भाषाहरू बान्तवा, चाम्लिङ, सुनुवार, कुलुड, थुलुङ, याक्खा, साम्पाड, खालिड, वाम्बुले, बायुड, नाछिरिङ, याम्फू, दुमी, पुमा, दुङ्गाली, आठपहरियो, मेवाहाङ, लोहोरूड, छिन्ताड, छिलिड, जेरूड, तीलुड, वालिड, बल्हारे, लिङखिम र कागते रहेका छन् (जनगणना, सन् २०२१)।
चाम्लिङ समुदायको बहुभाषिकताको निर्माणमा भू-बनोट, तत्कालीन भू-राजनीति र आन्तरिक बसाइँ सराईं नीतिको भूमिका रहेको छ। यस जातिको बसोबास फाँटिलो मध्य पहाडी भू-क्षेत्रमा रहेको छ। यस भू-क्षेत्रमा स-साना उपत्यका, बेंसी, भिराला पाखा र जङ्गल रहेको देखिन्छ। यस भू-क्षेत्रमा उत्तरबाट अनकन्टार भिराला पाखा, भिराला श्रृङ्खलाबाट सृजित नदीहरूको तीव्र प्रवाहको कटानबाट बनेका अति कष्टकर भू-बनोट रहेको छ। यी कष्टकर तर प्राकृतिक सुन्दरताले भरिएका यी भू-क्षेत्रहरू पृथक-पृथक अवस्थित छन्। यस किसिमको भू-क्षेत्रहरूमा एउटै रक्तवंशका मानिसहरूको स-साना समूहमा बसोबास पाइन्छ। यी बस्तीहरू बीच भौगोलिक विकटताका कारणले सोझो सम्पर्क रहन सकेन। यिनीहरू बीचको आपसी सम्पर्कको अभावले कालान्तरमा मौलिक संस्कृति र भाषा अस्तित्वमा देखा पर्यो। उनीहरू बीच सम्पर्क स्थापित गर्न राजनीतिक वातावरण पनि अनुकूल रहेन। उनीहरू राज्य विभाजनको क्रममा सोह थुम राज्यहरूमा विभक्त थिए। राज्य विभाजनको पीडा र प्रतिष्पर्धाले उनीहरू बीचको जातीय एकता कटुतामा परिणत भयो। यसरी असमान भू-बनोट, तीव्र बहन क्षमताका नदीहरू, स-साना उपत्यका, अग्ला अग्ला भिराला पहाड र जङ्गलहरू एवम् कटुतापूर्ण राजनीतिक सम्बन्धले एउटै रक्त वंशका बन्धुहरू अनेक किरात राई उपजातिहरूमा विभक्त हुन पुगे। चाम्लिङ यही प्रक्रियाको एउटा प्रतिनिधि उपजाती हो। यस समुदायमा मूल रूपमा चाम्लिङ जातिको केही प्रमुख संस्कृतिको वर्णन गरिएको छ।
चाम्लिङको सामाजिक स्थिति
सामाजिक स्थितिले मूलभूत रूपमा सामाजिक सांस्कृतिक, धार्मिक पक्षहरूसँग सम्बन्ध राख्दछ। यी पक्षहरू साथै यस अन्तर्गत अन्य जातिको बीचको सहसम्बन्ध र स्तर पनि विशेष्य पक्षहरू हुन्। चाम्लिङ जातिको शिक्षित वर्ग हिन्दू संस्कृतिको उपयोग र नेपाली भाषाको स्तरीय प्रयोग दक्षतालाई सभ्य एवम् उच्च जातिको सूचक मानी आफूलाई सुसंस्कृत एवम् सभ्य ठान्छन्। यसको ठीक विपरीत किरात संस्कृति र चाम्लिङ भाषाको प्रयोग गर्दा आफूलाई हेय भावले ग्रसित बन्ने र अरुलाई असभ्य र पाखेमा दर्ज गर्ने स्थिति विद्यमान रहेको छ। केही चाम्लिङहरू शिक्षित, सम्पन्न र राजनैतिक चेतनाले प्रबुद्ध भएका कारण सबै चाम्लिङहरू जात प्रथाको प्रभावबाट मुक्त देखिए पनि सांस्कृतिक, धार्मिक रूप र आधारभूत शिक्षाका अवसरबाट बाहिर नै छन्।
नेपालमा हिन्दू सदस्यहरू र चाम्लिङहरू बीचको अर्को सामाजिक असमझदारी सांस्कृतिक र जातीय प्रणाली हो। मानव समुदायलाई हिन्दू जाति प्रथाले मूलतः छुत र अछुत दुई वर्गमा विभाजन गरेको पाइन्छ। छुत वर्गमा उच्च जातिका व्यक्ति, परिवार र समुदाय पर्दछन्। ती जातिहरू ब्रह्माण र क्षेत्रीहरू हुन्। अछुत जातिमा दलित र जनजाति आदिवासी पर्दछन्। यिनीहरू मध्ये दलित पानी अचल र जनजातिहरू पानी चलमा विभाजन गरिएका छन्। यो जाति प्रथा वर्गीकरणमा किरात राई चाम्लिङ अछुत वर्गमा पर्दछ। यद्यपि उनीहरूले जाति प्रथा इन्कार गर्दछन्।
बाहुन, खस र राईहरू बीचको सामाजिक सम्बन्ध आर्थिक दृष्टिले साहु र ऋणीको रूपमा रहेको पाइन्छ। उनीहरू भूमि, शिक्षा र आर्थिक समृद्धिका कारण शक्तिशाली बनेका छन्। रोजगारीमा पनि उनीहरूकै पहुँच रहेको हुँदा नगद कारोबार क्षमता पनि उनीहरूमै केन्द्रित रहेको स्थिति देखिन्छ। राईहरूसँग प्रशस्त जग्गा र जिन्सी सम्पत्ति भएपनि मुद्रा परिचालनमा सक्षम छैनन्। यसकारण घर व्यवहार, शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी गर्न नगद आवश्यक पर्दछ। उनीहरूबाट नगद लिन जग्गा वा सुन चाँदी धरौटी राख्नु पर्ने स्थितिले साहु र ऋणीको सम्बन्ध रहन पुगेको छ।
यस विश्लेषणले चाम्लिङ राई र बाहुन खस समुदाय बीचको अन्तर्सम्बन्ध द्वन्द्वात्मक अन्तरनिर्भरताको स्थितिमा गुज्रेको देखिन्छ। यो द्वन्दात्मक अन्तरनिर्भरताको सम्बन्ध सर्सर्ती हेर्दा सामाजिक, सांस्कृतिक देखिए पनि मूल रूपमा भूमि नै रहेको छ। भूमि स्रोत र साधनको आधार स्तम्भ भएकोले अन्ततः आर्थिक पक्षसँग जोडिन पुग्छ। यो सम्बन्ध पहुँच हुने र नहुने (Haves & Havenot) बीच केन्द्रित हुन पुगेको छ र यो सम्बन्ध शक्ति (Power) र अवस्था (Status) सँग सम्बन्धित रहेको छ।
चाम्लिङका प्रमुख संस्कृति तथा पूजाहरू
१. धिरिनाम सोमा
धिरिनामलाई दुडवाडा र नेपालीमा साकेला भनिन्छ। यो चाड विशेषतः प्रकृतिको पूजन हो। साकेला पूजामा संयोजन भएर आउने पूजाहरू धेरै छन्। तिनीहरू स्योपैया/वालाखा सोमा, हुइलुङ र साकेला पूजा हुन्। साकेला पूजा सम्पन्न गर्न विभिन्न व्यक्ति र विभिन्न कार्यहरू गर्नुपर्ने हुन्छ। साकेलामा सहभागी व्यक्तिहरू खातवाँ, वेटुड, सेउले, ढोले, झ्याम्टे, सिलिमोपा सिलिमोमा र रूङ्ररी बोक्ने कन्या रहन्छन्। पूजा सामग्रीहरूमा एउटा भाले र एउटा पोथी हुन्छ। यो सिलिमोपा र सिलिमोमाले लान्छन्। ढोल बजाउनेलाई घरभित्र भाले काटेर दिनुपर्छ। धामीको घरमा लिपिमोपा, सिलिमोमा र ढोलेलाई सम्मान गर्न केही नगद दिएर सायरेम्मा -बोतिरेम्मा गर्नुपर्छ । सायरेम्मा बोतोरेम्मापछि साकेलामा चढाउने भालेलाई पर्सिइन्छ। यो भालेले सेउलेलाई सायरेम्मा बोतोरेम्मा गरिन्छ। यी कार्यहरू सकेपछि रूड्रीखिमतर्फ लगिन्छ। यस लेखमा साकेलसँग सम्बद्ध पूजाहरूका चर्चा गरिएको छ।
२. हुइलुङ सोमा
हूइलुडलाई प्रायः सुप्तुलुङ भन्दछन्। हुइलुडको नेपाली अर्थ चुला हुन्छ। चाम्लिङ राईहरूले वैशाख पूर्णिमामा गरिने सांस्कृतिक पर्वलाई धिरिनाम, दुङवाडा भनिन्छ। यस दुङवाडा पर्वमा हुइलुङ, स्योपैंया, सिकारी आदि पूजा गरिन्छ। हुइलुडको नेपाली समानार्थी शब्द चुला पूजा हुन्छ। हुइलुङ पूजामा प्रकृति र पितृहरूसँग सुख, समृद्धि र दीर्घायुको कामना गरिन्छ । यस अनुष्ठानमा नछोडले चुलामा मुन्दुम गाएर पितृहरू र नियामा रहेको कोक्मा पिरिमाहरूसँग धनधान्य र समृद्धिको कामना गर्दछन् । घरको आँगनमा ढोल झ्याम्टा बजाएर चौंरीको प्रोमा र सिर्लिङ्गी हल्लाउदै साकेला गीत गाउँदै गोलबद्ध भएर साकेला नाचिन्छ। हुइलुङमा गाउँको वातावरण उमङ्गमय हुन्छ।
चाम्लिङहरूको घरको केन्द्रमा चुला राखिएको हुन्छ। चुलामा तीनोटा लामो, गोलो ढुङ्गा गाडिएको हुन्छ। चुला वर्गाकारमा रहेको हुन्छ। यसलाई लामा लामा च्याष्टो दुङ्गाले सुरक्षित गरिएको हुन्छ। यस सुरक्षाका लागि राखिएको बारको दुङ्गालाई खाप्तिलुङ/बारालुड भनिन्छ। खाप्तिलुङभित्र त्रिकोणात्मक शैलीमा तीन ढुङ्गा गाडिएको हुन्छ। चाम्लिङभाषामा चुलालाई सुप्तुलुङ/सिप्तिलुड भनिन्छ। ती तीन चुलाको फरकफरक नाम रहेको हुन्छ र तिनीहरूको सांस्कृतिक महत्त्व पनि फरक रहेको हुन्छ। ती चुला मध्ये पहिलो पाखोलुङ, दोस्रो माखोलुङ र तेस्रो साम्मिलुङ हुन्। यिनीहरूको नाम स्थान विशेष फरक पाइन्छ। कहीं माखलुङ, पाखलुङ र साम्बेलुङ पनि भनिन्छ। साम्बेलुडलाई मैयालुङ पनि भनिएको छ। माखलुङ आमाको प्रतीक, पाखोलुङ घरको दाजुभाइ पितृ, परिवारजन, साम्मेलुड, छोरीचेली, नरनाता, दाजुभाइको प्रतीक हुन्। माखलुङ दक्षिणतर्फ, पाखोलुङ उत्तरतर्फ र साम्मेलुडङ पश्चिमतर्फ राखिन्छ । पितृहरूलाई हवन गरिएको वस्तुहरू यही सुप्तुलुङमा ग्रहण गर्छन् भन्ने विश्वास गरिन्छ। पाखोलुङमा तर्पण गरिएका वस्तुहरू घरका पितृहरूले, माखोलुङमा तर्पण गरिएका वस्तुहरू मावलीपट्टिका पितृहरूले र साम्मेलुङमा तर्पण गरिएका वस्तुहरू छोरीचेलीहरूले ग्रहण गर्छन् भन्ने विश्वास गरिन्छ। पितृबाहेकका दुःख दिने मृतात्माहरूलाई बलेसीमा तर्पण गरिन्छ। चाम्लिङका चुला सुप्तुलुङ र दायालुङ दुई प्रकारका छन्। सुप्तिलुङमा पितृहरूलाई तर्पण चढाइन्छ भने दायालुङमा खाना पकाएर खाइन्छ।
चाम्लिङ घरको ढोका बाहिरको भागलाई सिकुवा भनिन्छ। मूल ढोकाबाट भित्रको भागलाई दुई भागमा विभाजन गरिएको हुन्छ। बीचको भागको भित्रपट्टि द्विछिम हुन्छ। यस द्विछिममा मोछामा राखिन्छ। सिप्तुलुङ घरको बीचमा मूल खाँबो नजिक रहन्छ। त्यही मूल खाँबोको आसपासमा चुला रहन्छ। हुइलुङ पूजामा यहीं सुप्तुलुङमा खातवाँले पितृहरूलाई आव्हान गरेर मिष्ठान्न, फलफूल तर्पण गरिन्छ। हुइलुङमा चढाइने वस्तुहरू मेरिलाबो, मकैको बोट, हातहतियार, आरखा, वासिम, चिन्डो, दाम्दोले, अन्डा, चामल, चोखो पानी आदि रहेका छन्।
३. मोछामा सोमा
मोछामालाई मोछाक्मा पनि भनिएको पाइन्छ। चाम्लिङको घरको भित्रकोठाको पूर्व उत्तरतर्फको स्थानमा मोछामा राखिएको हुन्छ। मोछामा त्यस परिवारको कोक्मा पिरिमाको प्रतीक हो। यसलाई नेपालीमा बूढीबजू भन्दछन्। चाम्लिङहरूले मछामाको प्रतीक माटाको गाग्रो राखिएको हुन्छ। यसलाई मुन्दुममा डर्मालुङ भनिन्छ र मोछामा बस्ने कोठालाई द्विछिम भनिन्छ। डर्मालुङमा फलेको कोदोको जाँड राखिएको हुन्छ। यो जाँड हरेक पितृ कार्य, संस्कृति, संस्कार जन्य कार्यहरूमा प्रयोगमा ल्याइन्छ। यसमा राखे जाँड पकाउँदा घर लिपेर, नुहाइ धुवाइ गरी अदुवा, हर्रा र सुनपानीले छर्केर एकदम शुद्ध भएर पकाउनु पर्छ।
मोछामासँग चिन्डो र छैतिया राखिएको हुन्छ। राईहरूले मृत्युपछि चुलोमा बस्ने पितृको आत्माको रूपमा पनि मोछामालाई लिने गर्दछन्। नछुङ, घर मुलीले आफनो घर परिवारको सुख, सम्मृद्धि र सफलताका लागि आफनो मोछाक्मा पूजा अर्चना गर्दछन्। यस्तो पूजा अर्चना हुइलुड, छौवा, छोराछोरी जन्मँदा, न्वारन गर्दा, विवाहमा बुहारी भित्र्याउँदा, छोरीको विवाह, परिवारको सदस्यको मृत्यु हुँदा, सुनचाँदी सम्पत्ति घरमा राख्दा, अन्नपानी चलाउँदा, मोछामालाई देखाउनु पर्दछ। यी सम्पूर्ण कार्य नछुङबाट गरिन्छ । यस पूजाका लागि डर्मालुडको जाँड, अदुवा, दियो, चिन्डो, केरा/भोर्लाको पात, फूल, चोखो पानी र कुखुराको रातो भाले चाहिन्छ। हुइलुङ र छौवा पूजामा चाहिँ बेलुका साँझमा मोछामा पूजा गरिन्छ। प्रायः मोछामा पूजा घर मुलीबाट गरिन्छ। माछामासँग घर मुलीले सुख, सम्मृद्धि, आरोग्यता, अनाज उत्पादनमा वृद्धि र धनसम्पत्तिले परिपूर्ण होस् भनी आराधना गर्दछ। सुवेदीले किरात राई संस्कृतिमा हुइलुङ धार्मिक, सांस्कृतिक आस्थाका केन्द्र मात्र नभएर बहुमुखी विशेषताका प्रतीक मानेका छन्। चाम्लिङ राईहरूको सम्पूर्ण संस्कृति, संस्कार, धर्म कार्यहरूमा चुला अनिवार्य रहन्छ। हुइलुङमा नछुङहरूबाट कृषि कार्य र घर व्यवहारमा प्रयोग हुने सामग्री र औजारहरूको पूजा गर्दै मृतात्माहरूलाई हवन गर्दै सम्पन्न गरिन्छ।
४. साम्खा सोमा
साम्खा किरातहरूको पितृ कार्य हो। यो पितृ कार्य भदौदेखि मङ्सिरभित्र गरिन्छ। साम्खा दाया, रूपा, खाबा र रेदिमी छन्। आजभोलि दाया साम्खा मात्र गर्ने चलन रहेको छ। दायाको अर्थ चुलो, स्योनाको अर्थ सुन, रूपाको अर्थ चाँदी, खाबाको अर्थ सम्पत्ति र रेदिमीको विपन्न हुन्छ। साम्खामा पितृहरूहरूसँग पारिवारिक सुख र समृद्धिको कामना गर्न गरिन्छ। साम्खा अनुष्ठान चुलोमा गरिन्छ। यस पूजामा साम्खा सिली नाचिन्छ। यसमा विशेषतः सुँगुर उत्पत्ति भएको भूमि वादोला-चिरप्ला र कुखुरा सृष्टि भएको भूमि उम्बुइखा खाम्पुइखा रिप्सोलाको उल्लेख गरिन्छ। साम्खा अनुष्ठान खातवाँले गर्दछ। यसमा सुङ्गुरको पाठा, भाले, जाँडरक्सी अर्पण गरिन्छ।
५. छौवा सोमा
छौवालाई चारिछौवा र दुडदापा पनि भनिन्छ। छौवा शब्द चा+छुवाबाट बनेको हो। यसको अर्थ चा-अन्नपानी र छुवा-पेय पदार्थ भन्ने हुन्छ। छौवा प्रकृति र पितृहरूप्रति धन्यवाद र कृतज्ञता प्रदान गर्ने चाड हो। उनीहरूलाई रोगव्याधी लागेन, सबै बाँचेको छौं। अबका लागि अन्न बाली फलेका छन् भनेर सम्बोधन गरिन्छ। यस पर्वमा वर्षको पहिलो अन्न, फलफूल, माछामासु पितृहरूलाई चढाइन्छ। यस पर्वमा पाङदुरको जाँड, रक्सी, घैयाको चिउरा, नयाँ धानको चामल, मकै अर्पण गरिन्छ। छौवामा अदुवा, घ्यू, गोरूको मासु, भैंसीको छाला, मृगको मासु, पाहा, माछा, अरिङ्गाल र चराचुरूङ्गीको मासु चढाइन्छ। चाड विशेषतः भदौ र असोजमा मनाइन्छ।
६. माडइ सोमा
माङइ सामालाई नेपालीमा मातृ पूजाको अर्थबोध गराउँछ। यस पूजामा परम शक्तिका स्रोत परमेश्वर कोक्मा पिरिमाको आरधनामा गरिन्छ। चाम्लिङहरू घरमा चुल्हो पूजामा पितृहरूको पूजा गरेपछि मोछामा पूजा गर्छन्। यो पूजा कोक्मा पिरिमाको पूजा हो।
चाम्लिङहरूले छोरीको कन्यादान दिंदा, बुहारी भित्र्याउँदा, नयाँ घर बनाउँदा, मृत्यु हुँदा, नयाँ चुला राख्दा, धनसम्पत्ति आउँदा माडइ गर्दछन्। यो पूजा खातवाँले चुलामा गर्दछ। माडइ मसुङटो, खरमरूङ, बेलिया, रूड्रिकाम्मा, नामैओमा-नामैलोमा, उम्धि दायासङ्गा आदि छन् (चाम्लिङ, २०७८)। मसुङ्टो साकेलामा गरिने माडै, बेलिया मान्छेको मृत्यु हुँदा, रूड्रिकामा छोरीलाई बिदा दिंदा, नामैओमा/नामैलोमा बुहारी भित्र्याउँदा, उम्धी चलअचल सम्पत्ति र बुद्धि माग्न र दायासुङ्गा चुलो शुद्ध गर्ने कार्यमा गरिन्छ।
७. सायचुङ
सायाचुडलाई सायरेम्मा पनि भनिन्छ । यसको नेपाली भावार्थ सिर उठाउनु हो । सायाचुङ छोरीबाट माइतीहरूलाई र माइतीबाट छोरीचेलीलाई गर्ने सम्मान संस्कृति हो। मानवप्रति राखिने सद्व्यवहारमा आफन्त जनभित्रको श्रेष्ठ व्यक्तित्वप्रति सायचुङ परम्परा चाम्लिङ राई परिवारमा जीवन्त रहेको छ। चाम्लिङ मुन्दुम शब्द सायचुङ नेपाली समानार्थी शब्द अभनिन्दन हो। यो संस्कृति व्यक्तिगत रूपमा नभएर विशेषतः पारिवारिक र कुल वंश परम्पराका रूपमा सामुहिक रूपमा सम्पन्न गरिन्छ। किरात समुदायमा यो परम्परा संस्कृतिको रूपमा निरन्तर जीवन्त रहेको छ र जीवन्त रहिरहने छ। यो संस्कृति यस जातिको आफ्नो मौलिक वैशिष्ठ्य पनि हो। यसबाट किरात राईहरू सदाचारी, शिष्ट र गरिमामय जीवन शैलीको पर्याय बनेका छन्। किरात सभ्यताको उच्च शृङ्खलाहरूको संस्कृति हो। किरात समुदायमा सायचुङ आफ्ना श्रेष्ठत्तर वंश र नातेदारीहरूको सम्मान गर्ने अनुष्ठान हो। कुनै पनि व्यक्तिको जीवन सृष्टि दुई भिन्न व्यक्तिको रक्त मिश्रणपछि परिकल्पना गर्न सकिन्छ। नवजात शिशुको जन्म, विकास र वृद्धिमा आफन्तहरूको भूमिकाको सम्मान नै सायचुङ हो।
मुन्दुम अनुसार “यस अनुष्ठानको प्रारम्भ रैछाकुपाका नाती एलहाडको विवाह र रैछाकुपाले नयाँ घर बनाएर प्रारम्भ गरिएको हो (राई, २०६७)”। चाम्लिङ समुदायमा छोराछोरीको जन्म संस्कारहरू पास्नी, छेवर र विवाह कार्य सम्पन्न गर्दा मावलीहरूका साथै अन्य व्यक्तित्वहरूको सम्मानार्थ सायचुङ अनुष्ठान गरिन्छ। यस समुदायमा सम्पूर्ण वैटुङ (दाजुभाइ) हरूका साथमा मावलीहरूलाई अभनिन्दन गरिन्छ । यस अभनिन्दन अनुष्ठानमा छोरीचेलीका तर्फबाट राँगाको टोउको, आरखा, वासिम, साइला खुइँ राखिन्छ।
चाम्लिङ राई परिवारको विवाह कार्यमा छोरीचेलीलाई पनि सायचुङ गरिन्छ। यो परम्परा पनि रैछाकुपाले आफ्नी दिदीहरू तोयामा र खियामाको सायचुङ गरी प्रारम्भ भएको हो। तोयामा मैदानी फाँटमा बस्थिन्। उनको वाहन मुजुर थियो। उनलाई रैछाकुपाले लेकमा फुल्ने लिम्चिम बुड (फूल) ले अभनिन्दन गरेका थिए। खियामा हिमाली क्षेत्रमा बस्ने भएकीले उनलाई बेंसीमा फुल्ने कबैबुङ (फूल) ले अभनिन्दन गरे। यसका साथमा उनीहरूलाई वासिम, आरखा, चामल र राँगाको मासु कोसेली पठाए । यो रीत वर्तमानसम्म कायमै रहेको छ । विवाहमा छोरीचेलीहरूबाट माइतीको सायचुङ गर्ने गरिन्छ। माइतीका लागि छोरीचेलीहरूले राँगा, सुङ्गर, भाती जाँड, रक्सी, रोटी र अचार राखी फूलमालाले स्वागत गर्दछन्। यस सायाचुङमा चेलीलाई माइतीतर्फबाट केही रकम दिने परम्परा रहेको छ।
८. साङ्छेप
चाम्लिङ समुदायमा सुखद र दुःखद दुबै स्थितिमा वस्तु तथा नगद सहयोग दिने परम्परादेखि प्रचलनमा रहेको छ। यो प्रचलन सांस्कृतिक निधि बनेको छ। यो चाम्लिङ जातिको आपसी सहयोग, सामाजिक भावना र धार्मिक सहिष्णुताको विशेषता भएको छ। यो प्रचलन हामीको भावनाको अभिव्यक्ति हो। यो चलन सबै किरात राईका साथै सेर्पा जातिमा पनि पाइएको छ।
साङ्छेप नगद र जिन्सीको दुबै हुन सक्छ। यसमा नगद रकम, सुन, चाँदी, चामल, आराखा, वासिम, राँगा र खसी पनि हुन्छन्। यो सहकारीको प्राचीन प्रारूप हो। आधुनिक अर्थशास्त्रीहरूले यसलाई सहकारीमा प्रतिस्थापन गर्न खोजेका आभास हुन्छ। तर सहकारीमा साङ्छेपको सन्तुष्टि र गर्व पाइँदैन। यो स्वास्फूर्त र ऐच्छिक हुन्छ। चाम्लिङ समुदायमा विवाह, घर निर्माण, जग्गा खरिद, मृत्यु र रोगव्याधी आदिमा आर्थिक स्थिति कमजोर भएकालाई सुधार गर्न, प्राकृतिक विपत्तिमा परेकालाई उद्धार गर्न साङ्छेप गरिन्छ (मुकारुङ, २०५८)। यसले विवाहका अवसरमा चाहिँ गरिमा पूर्ण स्थान पाएको छ। यसबाट वंशभित्रका दाजुभाइ, नातेदार, इष्टमित्र आदिबाट आर्थिक सहयोग जुट्ने भएकाले छोराछोरीको विवाह एकदम सरल र सहज तरिकाबाट सम्पन्न गर्न सकिन्छ। गरिबीको कारणले कसैको छोराछोरीको विवाह रोकिन्दैन । यसमा घरमुली विवाहको आयोजक र दाजुभाइ, नरनाता र इष्टमित्रहरू प्रायोजकको भूमिकामा रहन्छन्। यस कार्यमा एक थुकी सुकी हजार थुकी नदी चारितार्थ भएको पाइन्छ। यस कार्यले सामाजिक दायित्व बोधको विकास हुन्छ भने दाजुभाइ, नरनाता एवम् इष्टमित्रहरूका बीच विशिष्ट किसिमको मित्रता, सद्भाव र समझदारीको विकास भएको पाइन्छ।
साङ्छेप सङ्कलन गर्न वैतुडहरू विवाहको केही दिन अगाडि भेला गरिन्छ। यस भेलामा सबैको जिम्मेवारी बाँडफाँड गरिन्छ। यस्तो बाँडफाँड मध्ये साङ्छेप सङ्कलन पनि पर्दछ। यसका लागि दुईजना व्यक्तिहरूलाई निर्धारण गरिन्छ। व्यक्ति छनोट गर्न घरका तर्फबाट एक वाबु आराखा र एक सुङखेवा (कठुवा) वासिम राखिएको हुन्छ। यसको जिम्मेवारी वैतुडहरूले तोकिदिन्छन्। विवाहको भोज समापनपछि घरको आँगनमा बलेको दियो थालमा चामल माथि राखिन्छ। त्यस स्थानको वरिपरि राडी ओछ्याइएको हुन्छ। यस स्थानमा साङ्छेप सङ्कलन गरिन्छ। साङ्छेप सङ्कलन भएपछि विवाह समापन समारोहको कार्यक्रम प्रारम्भ गरिन्छ । यसको अन्तिम चरणमा सबै वैतुडको रोहवरमा विवाहमा भएको खर्चको विवरण र साङछेप रकम घर मुलीलाई बुझाइन्छ।
९. थेम्मा
थेम्मालाई घर चिन्ता बस्नु पनि भनिन्छ। घर परिवारका सदस्यहरूको उपचार गर्न गरिने सांस्कृतिक कार्यलाई थेम्मा भनिन्छ। यसलाई नेपालीमा चिन्ता बस्नु भनिन्छ। पितृ खिम्मा सोमा र हियासल्मा थेम्मा गरी दुई प्रकारको हुन्छ । थेम्मा परिवारमा दुःख, बिमार, आर्थिक अनिष्ट, ग्रहदशा काट्न, परिवार कसैको अकाल मृत भएमा वा अस्वाभाविक मृत्यु भएमा थेम्मा बसिन्छ। यस किसिमको थेम्माचाहिँ खिमसोमा हो भने आफनै वंशभित्र हिंसात्मक झैंझगडा भएको छ, वंश भित्रै बलात्कार भएको छ भने यसले पि्छ भन्ने विश्वासको कारण सामुहिक थेम्मा राखिन्छ । यसलाई चाहिँ हियासल्मा थेम्मा भनिन्छ। हियाको अर्थ रगतको दोष नलागोस् भनेर यो थेम्मा राखिन्छ। यस थेम्मा सम्पन्न गर्न मोपा चाहिन्छ।
१०. वाइको सोमा
सुवेदीले पानीको पूजालाई महत्त्वपूर्ण चाम्लिङ संस्कृतिका रूपमा विश्लेषण गरेका छन्। यस पूजालाई मुन्दुममा वाइको भनिन्छ। प्रकृतिका पञ्च भौतिकमध्ये पानी एक हो। पानीबिना जीवनको परिकल्पना गरिंदैन । किरात मुन्दुमका अनुसार धर्तीका सृष्टिकर्ता पारुहाङ र नायिमा हुन भने पानीका सृष्टिकर्ता दिल्लीहँ र लेलेहाङ्गा हुन्। यी दुई सृष्टिकर्ताहरूका सन्तानहरू हँछाबुँ (पुरूष) र सिक्रिमा (स्त्री) का सन्तान नै आजका किरात राईहरू हुन्। आफ्नो सृष्टिकर्ताको स्मरण गरी आफ्ना सन्तानको समृद्ध जीवनका लागि वाइको पूजा गरिन्छ।
चाम्लिङ लोक विश्वास अनुसार पानीमा नाग देवता बस्छन् । नाग देवता मनुष्य जातिको दीर्घायु, शान्ति, सुस्वास्थ्य एवम् समृद्धिको प्रतीक हुन्। त्यसैले आफनो सन्तानलाई यी समृद्धि प्राप्त होस् भनी वाइको पुजिन्छ। छोराछोरी नहुने आमाबाबुले सन्तान माग्न र जन्मिने सन्तान कानो, खोरन्डो वा अपाङ्ग नहुन् भन्ने प्राचीन मान्यतालाई आधार मानेर दिल्लीहँ र लेलेहाङ्गाको पूजा गर्ने चलन छ (सुवेदी, २०६५)। वाइको नगर्दा बालबालिकाको आमा लाटी, खोरन्डी, निःसन्तान हुन्छिन् भने अर्कोतर्फ जन्मिएका सन्तान अल्पायु, असामान्य र दरिद्र हुन्छ भन्ने विश्वास रहेको छ। वाइको पूजा माइती र घर दुबैतर्फबाट गर्नुपर्छ। बच्चा जन्मेपछि पहिलो पटक वाइको पूजा मावलीपट्टिबाट र घरबाट गर्नु पर्दछ। मावलीबाट गरिने वाइको पूजालाई कियामा र घरबाट गरिनेलाई छियामा भनिन्छ।
वाइको पूजा गर्नका लागि सुँगुरको पाठा, चामल, अदुवा, कुखुराको अन्डा, घण्टी, इयाम्टा, चाँदीको चुरा, एक हात कपडा, एघारवटा चिन्डो, जाँड, बाटा (तामोको भाँडा), नानी, (रक्सी पार्दा रक्सी राखे माटोको भाँडा), काँचो धागो, बलेको दियो, खुर्बु पैसाका साथै तरेली तरेलीका फूलहरू सामग्रीमा रूपमा चाहिन्छ। पूजा सम्पन्न गर्न धिवैतुड, छिवैतुङ र पर्मावैतुड सबैको उपस्थिति हुनुपर्छ।
११. बुँवामरी सोमा
चाम्लिङलाई सभ्य, शिष्ट, मर्यादित एवं नैतिक आचरण र निष्ठ जीवन व्यतीत गर्न प्रेरित गर्ने वा भय सिर्जना गर्ने अनुष्ठान बुवामरी सोमा (पूजा) हो। यो अनुष्ठान मूलतः यौन दुराचारसँग सम्बन्धित छ। चाम्लिङ समुदायमा मावलीतर्फ पाँच पुस्ता, बहिनौलो (दिदी-बहिनीका सन्तान बीच) सात पुस्ता र हाडनाता बीचको यौन सम्बन्ध निषेध हुन्छ। यदि कुनै पनि पुरूषको छोरीचेली, बुहारी वा नातेदार स्त्रीसँग शारीरिक यौन सम्बन्ध राख्यो भने स्वयम्, घर मूली, परिवारभित्र क्षति, नोक्सानी एवं बिमार लाग्दछ। हाडनाता साइनु लाग्ने माइती चेली वा वंशभित्रका कोहीसँग पनि यौन सम्बन्ध भयो र यस्तो कुरा गुप्त रहिरह्यो भने बुँवामरी दोष लागेर समुदायका सबैलाई पिर्दछ। अनैतिक सम्बन्ध गरेको देखे, सुन्ने र सम्बन्ध राखे व्यक्तिहरूलाई सुत्केरी बेथा जस्तै पेट दुखे हुन्छ र उसको अकाल मृत्यु हुन्छ भन्ने विश्वास गरिन्छ। यस दोषको निरूपण सुँगुर वा कुखुराले बुँवामरी सोमा गरिन्छ। किरात राईहरूले बुँवामरी दोषबाट मुक्त पाउन समुदायका सबै पासुडहरू जम्मा भई केटापट्टिको भाले र केटीपट्टिको पोथीलाई मुन्दुम विधिबाट पर्सदा भालेले छेक्यो भने केटाले र पोथीले छेक्यो भने केटीले यौन सम्बन्धका लागि प्रस्ताव गरेको मानिन्छ (सुवेदी २०६५)। यो पूजामा नछुङले विभिन्न प्रकारका फूलहरू, सहभागी केटाकेटीका कुनै चिनो (कपडा, गरगहना) आदि राखी मुन्दुम वाचनबाट सम्पन्न गरिन्छ। नछुडले केटो बिरामी भएमा केटीको र केटी बिरामी भएमा केटाको शरीरको कुनै प्रतीक चिह्न राखी बुवाँमरी दोषलाई निरूपण गर्दछ। यस दोषबाट कसैको मृत्यु भएमा उक्त मृतात्मालाई खुम्मासारी भनिन्छ। यो खुम्मासारी जागित्र साहै शक्तिशाली हुन्छ भनिन्छ।
१२. आम्लामी पूजा
आम्लामी पूजालाई नेपालीमा सिकारी पूजा भनिन्छ। सिकारी अकाल मृत्यु भई भट्रकिएको आत्मा वा असन्तुष्ट रहेका पितृहरू हुन्। यस्तो आत्मालाई वैशाखे र मङ्सिरे पूर्णिमा कुखुराको भालेको भोग, अन्डा, जाँड, रक्सी, चामल र धूप बत्ती चढाएर पुजिन्छ। यी नकरात्मक गुण भएका पितृ खुसी नरहेमा परिवारमा अनिष्ट हुने विश्वास गरिन्छ। सिकारी पितृको प्रतीक ढुङ्गा राखी पूजा आराधना गरिन्छ। अम्लामी थानलाई पवित्र र सफा राख्नु पर्छ।
निष्कर्ष
चाम्लिङहरूको सामाजिक स्थिति हीनता बोधले ग्रसित, तल्लो तह र अवसरहरूबाट वञ्चित रहेको स्थितिमा देखिन्छ। नेपालको पूर्वी भूभागमा किरात राईहरूका केही संस्कृतिहरूलाई हिन्दूहरूले र चाम्लिङ राईहरूले पनि हिन्दू संस्कृतिलाई अवलम्बन गरेका छन्। तर यसको मात्रात्मक दरचाहिँ हिन्दूहरूले भन्दा चाम्लिङहरूले हिन्दू संस्कृतिलाई धेरै आत्मसात गरेका छन्।
लेखक UKROA को केन्द्रिय समितिको प्रवक्ता एवं न्यु ह्याम्पसर नेपाली समाजको सचिव हुनुहुन्छ।

Post Comment