Sign In

खाःउमनुलको सङ्क्षिप्त परिचय-नैन सेटाल्चु जेरुङ, ओखलढुङ्गा

नैन सेटाल्चु जेरुङ, ओखलढुङ्गा

पृष्ठभूमि
नेपाल भारत र चीनबाट घेरिएको भौगोलिक, भाषिक, जातीय र सांस्कृतिक विविधतायुक्त राष्ट्र हो। नेपालका भाषिक, सांस्कृतिक र भौगोलिक रूपमा पहिचान प्राप्त २६ किरात राईहरूमध्ये जेरुङ जीवन्त जाति हो। यस जातिका मातृभाषा तीन पुस्ताका वक्ताहरूले धारा प्रवाह बोल्छन्। यद्यपि उनीहरूका जनसङख्या कम रहेको छ। ओखलढुङ्गा जिल्ला, सुनकोसी गाउँपालिकाको मोलुड खोलाको आसपासमा बसोवास गर्ने लगभग चार हजार जनसङख्या भएको जेरुङ संस्कृति समृद्ध छ। नेपालको प्रकृति पूजक नौलाख किरातहरूका एउटा जाति जेरुङको खाःउम अलौकिक संस्कृति हो। यसलाई जेरुङ मुक्दुमको पहिलो सृष्टि मानिन्छ। यसमा किरात राईका आदिम पुरूष र स्त्रीका जीवनका आरोह अवरोहका सुन्दर वर्णन पाइन्छ। यो कुल पितृलाई मान सम्मान गर्ने विशेष पूजा हो। यसमा मूलतः खाक्चिलिपु र रिनिखाको जीवनका कथा, गृह निर्माण र वाइलिङमोको मृत्यु, मृत्युले सिर्जना गरेको पीडा, वियोग, कष्ट र यी सबबाट उन्मुक्तिका गरिएका संस्कृति पाइन्छ। यस लेखमा जेरुङका धेरै सांस्कृतिक निधिहरू मध्ये खाःउमनुल को विशेष चर्चा गरिने छ।

जेरुङ जातिको परिचय
परापूर्वकालमा ह्वाङ्हो नदीको भू-भागमा जी (कागुनी) को प्रथम खेती गर्ने पूर्वजका सन्तान जेरुङ भएको मुन्दुम रहेको छ। यस जातिले एलोरिभरको किनारा पछ्याउँदै सिन्धु, मगध, कासी र सिङमाड गढ हुँदै उत्तरपूर्वी भूमि उपयोग गरी बसोवास गरे। यही जातिले यलाखोममा ३२औं पुस्तासम्म राज्य सञ्चालन गरेको इतिहास पाइन्छ। ईपू ४ सयतिर लिच्छवीहरूले किरात राज्य कब्जा गरेपछि यलाखोमका राजा योक्नेहाङले सेनाहरू लिई बनेपामा राज्य सञ्चालन गरे। बनेपामा पनि पृथ्वीनारायणका सेनाहरूले कब्जा जमाएपछि आफ्ना पूर्व भूमि खम्बुवानतर्फ लागे। यहाँ खुमिहाङसँगको वैमनश्यताले भाइलाई राज्य सुम्पी सेनाहरूसँग रोसी खोला, सुनकोसी हुँदै हलेसी पूर्वतर्फ लागे। उनका भाइ सुवाचाले लिब्जू आसपासमा राज्य सञ्चालन गरेको प्रागइतिहास पाइन्छ। यिनै खुमिहाङका सन्तानहरूलाई जेरुङ भनिन्छ।

जेरुङ जातिको संस्कृति
नेपाल मूलतः सनातन हिन्दू, किरात, बौद्ध, मुस्लिम र क्रिस्चियन आदि जातीय संस्कृति रहेको भूमि हो। यी संस्कृतिका सञ्जालमा किरातका २६ संस्कृति विद्यमान छन्। यस सञ्जालमा जेरुङ खाःउम संस्कृति विशेष महत्त्वपूर्ण मानिन्छ। जेरुङका हुपुहुमु, भुमेसामा, हुमोसामा र खाउम संस्कृति रहेका छन्। प्रस्तुत लेखमा जेरुङ संस्कृतिको सामान्य चर्चा गर्दै खाउम संस्कृतिको विस्तृत चर्चा गरिएको छ।

क. हुपुहुमु सामा जेरुङ भाषाका शब्द हुपुहुमुको नेपाली समरूप शब्द पितृ र सामाको समरूप शब्द पूजा कार्य हो। सामान्यतः हुपुहुमु अनुष्ठान वर्षभरि नै घरमा सुख, समृद्धि र उन्नति भएको समयमा गरिन्छ। घरमा भोज भतेर हुँदा पनि गरिन्छ। यो अनुष्ठान विशेष समारोहका साथ असोज र कात्तिकमा दुमासामा, मङ्सिरमा नुवागी र वैशाखमा फुर्कुसामा गरिन्छ। यी अनुष्ठानहरूमा पा, चाक्सी, सिपड, फिपुवा र जिसु चढाइन्छ।

ख. भुमेसामा
जेरुङ भाषाका भुमेसामा शब्दको नेपाली भाषाका समरूप शब्द लक्ष्मी हो। यो जेरुङ जातिको समृद्धिको देवी हो। यसमा प्रकृतिलाई शक्तिपिठको रूपमा लिइन्छ। यसमा भूमि, हावा, पानी र वनस्पतिको पूजा आराधना गरिन्छ। यस अनुष्ठानको उद्देश्य जाती, समुदाय र परिवारभित्र सुख शान्ति र समृद्धि रहोस्। यसका साथै अन्न बाली प्रशस्त फलोस, प्राकृतिक प्रकोप नपरोस, रोगव्याधी नफैलियोस् भनेर प्रकृतिको पूजा आराधना गरिन्छ। यस अनुष्ठानमा भूमे थानमा सम्पूर्ण दाजुभाइहरूबाट पाको बली र चाक्सी, सिपड, फिपुवा र जिसु चढाइन्छ। यसका साथै प्रत्येक परिवारबाट सारिङ्गोको बली चढाइन्छ। यस अनुष्ठानमा ढोल इयाम्टा बजाउँदै सालैमाको भाकामा गोलाकारमा साकेला नाचिन्छ। साँझमा प्रत्येक घरमा नरनाता र छोरीचेलीहरूलाई भोज खुवाइन्छ।

ग. हुमोसामा
हुमोसामा शब्दको नेपाली भाषाका समरूप शब्द सरस्वती पूजा रहेको छ। यसलाई जेरुङहरू वाणीको देवी मान्दछन्। उनीहरू आफ्नो सन्तानको बोली चाँडै फुटोस् र तीक्ष्ण मस्तिष्कको होस् भनेर आराधना गर्दछन्। यो अनुष्ठान नवजात शिशुको बोली फुट्ने र हिँड्न थाल्ने समयमा गरिन्छ। यसको विधि न्वारानमा झैं नवजात शिशुको शिरमा प्वाँखको शिर लगाई दिएर गरिन्छ। यो अनुष्ठान परिवारका सदस्यहरूले मात्र गर्दछन्। अर्को नयाँ सन्तानको जन्मपछि यो अनुष्ठान नयाँलाई नै गरिन्छ।

घ. खा:उम पूजा संस्कृतिको विश्लेषण
जेरुङहरू मृतात्माहरूलाई श्रद्धाका साथ पूजा आराधना गर्दछन्। यस कार्यले उनीहरूका घर परिवारमा सुख, समृद्धि र शान्ति प्राप्ति हुन्छ भन्ने विश्वास गर्दछन्। यो पूजा मूलतः मृतात्माहरूको सम्मानमा गरिन्छ। उनीहरूका पितृकार्य मुख्यतः फुरिखासी, कुयमाखासी र न्वाक्रो गरी तीन प्रकार छन्।

अ. फुरिखासी
फुरिखासी पवित्र पितृकार्य हो। यो समृद्धिको सूचक हो। यो पितृकार्य जेरुङहरूले कियामा र न्वाक्रो गरी सकेको तर घर परिवारका कुनै सदस्य बिरामी परेमा वा परिवारको आर्थिक समृद्धि र सामाजिक प्रतिष्ठा उच्च भएको स्थितिमा पितृहरूसँग सुस्वास्थ्यको कामना, आर्थिक समृद्धि र सामाजिक प्रतिष्ठा प्राप्तिका लागि गरिन्छ। यो सामा भाकलबाट पनि गरिन्छ। यस कार्यमा पितृहरूलाई विभिन्न मिष्ठान्न भोजनबाट तृप्त गराइन्छ। यस सामामा राँगा, सुङ्गुर र कुखुरा, जाँड रक्सी आदि सामाग्री आवश्यक पर्दछ। यो सामा प्रायः माघ महिनामा गरिन्छ। यो पूजा मरण र बर्खान्त नभएको पवित्र घरमा मात्र हुन्छ। फुरिखासी पितृकार्य माघ र फागुन महिनामा तीन दिन गरिन्छ। यस अनुष्ठानमा दाजुभाइ, नरनाता, इष्टमित्र र छोरीचेलीहरूलाई आमन्त्रण गरेर भोज खुवाइन्छ। यस कार्यमा छोरीचेलीहरू मध्ये मूल चेली दानीको महत्त्वपूर्ण भूमिका हुन्छ। जेरुङहरू यस कार्यको प्रमुख चेलीलाई दानी भन्दछन्। यसपछि दाजुभाइहरूको उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ। उनीहरू रातभरि कार्य सम्पन्न गर्न जुट्दछन्।

जेरुङ समुदायमा दुई प्रकारको पितृहरू छन्। घरभित्र चुला र पिलुम्बामा रहने र सँघार, बलेसी, आँगन र वन जङ्गलमा रहने छन्। घरभित्रको चुला र पिलुम्बामा बस्ने पितृ सुख, शान्ति र समृद्धिको पितृ हुन्। यिनीहरू हुपुहुमु हुन। यस्ता पितृहरू शुद्ध मरण भएका, चोटपटक नलागेका, घरमै मृत्युवरण गरेका आत्मा हुन्छन्। सँघार, बलेसी, आँगन र वनजङ्गलमा रहने पितृहरू पीडकका प्रतीक हुन्। यस समाजका विश्वास अनुसार यी मृतात्माहरूले घर परिवार र नरनाता र आफन्तहरूलाई अनिष्ट, दुःख, पीडा, अभाव र कष्ट दिन्छन्। यिनीहरू हिवाचु हुन। यस्ता पितृहरू अकाल मृत्युवरण गरेका आत्मा हुन। यी आत्माहरू रुखबाट लडेका, पानीमा डुबेका र आगोमा पोलिएका, आत्महत्या गरेका, दुर्घटनामा परेका हुन्छन्। यिनीहरू सँघार, बलेसी, आँगन र वनजङ्गलमा रहने विश्वास गरिन्छ। यी आत्माहरू सतीवन्ते, सिकारी, भिरनलचु, काकुनलचु र मनिलचु हुन।

आ. कुयमाखासी
यो पितृकार्य दुःखान्त कार्य हो। यो मूलतः आफ्नो परिवारको अन्त्यष्टिको रूपमा गरिन्छ। यो पितृकार्य परिवारका सदस्यहरूको मृत्यु हुँदा गरिन्छ। कुयामा खासी मृतकको आत्मालाई पूर्ण रूपमा कुलपित्रमा समावेश गर्न गरिने सामा हो। सुगतीले मृत्यु भएर कुलपित्रमा आएको एक वर्षमा गरिने बर्खन्तलाई कुयामा खासी भनिन्छ। यो पूजा तीन दिन हुन्छ। यस सामामा राँगा, सुङ्गुर, कुखुरा, जाँड र रक्सी आदि सामाग्रीहरू चाहिन्छ। यो सामा प्रायः माघ महिनामा गरिन्छ। यस अनुष्ठानपछि आत्माले पूर्णरूपमा कुलको पित्रको स्थान प्राप्त गर्दछन्। यसभन्दा अगाडि उनीहरूका आत्माले पित्रको स्थान र शान्ति प्राप्त गरेको हुँदैन। यस अनुष्ठानमा फुरिखासिमा झैं दाजुभाइ, छोरीचेली र नरनाताहरूलाई भोज खुवाइन्छ।

इ. न्वाक्रो खासी
न्वाःक्रो खासी पित्र आत्मालाई पूर्ण रूपमा कुलमा समावेश गरिने सानो पूजा हो। सुगतीले मृत्यु भएर कुलमा आएको एक वर्षमा गरिने बर्खन्तलाई न्वाक्रोखासी भनिन्छ। यो पूजा दुई दिन मात्र हुन्छ। यस पूजामा राँगोबाहेक सुङ्गुर, कुखुरा, जाँड र रक्सी सामाग्रीहरू आवश्यक पर्दछ। यो सामा प्रायः पौष महिनामा गरिन्छ। खाउम सामा तीन दिन र न्वाक्रो दुई दिन भए पनि शुद्ध र पवित्र चाक्सी रीतहरू तयार पार्न धेरै महिना दिन लाग्ने गर्दछ। हरेक पूजा समान बनाउँदा राम्रो साइत पारेको दिनमा पकाउनु पर्दछ।

ई. खाउम पूजाको हिम्फू र चाक्सी तयारी प्रक्रिया
ज्वाम्चु माङपाको निर्देशन अनुसार खाउमा सामामा सम्पूर्ण मृतकको आत्मा, पित्र, प्रकृति, दानिसारी, जाउमेसारी, चेलिसारी, सुःसुमेसारी, नाक्सोसारी, न्वाप्सिसारी कजेरीसारी सबैको नाममा सारी रीत पुग्ने गरी शुद्ध गरी क्रमबद्ध रूपमा हिम्फू बनाउनु पर्दछ। खाःउमको लागि चार्जी, कोदोको जाँड रितुमसारीको लागि तयार बनाउने विधि निम्न छन्:

१) पोकालबोटी सिङकाकु : सुरिमचुसारी सामाको पहिलो दिन चालाउने जाँड, घर लिपपोत गरी, डल्लो कोदो पकाएर चि फाक्चा बनाउने गरिन्छ। एक दिनमा एक भाडा हिम्फू मात्र पकाउने गरिन्छ। २) पिलुची : चुला र कुल पित्रमा चढाउने सारी जाँड, घर लिपपोत गरी, डल्लो कोदो पकाएर चिफाक्चा बनाइन्छ। ३) दानीची : यो सारी दानी बिदाइमा प्रयोग गरिन्छ। सामाको अन्तिम दिन चढाइने जाँड घर लिपपोत गरी, डल्लो कोदो पकाएर चि, फाक्चा बनाइन्छ। ४) नाक्सोसारीची : नाक्सोसारी लगायत युवाचु न्वा:वाचु रीतलासारीची भनिन्छ। यो नाक्सोले पित्रलाई पूजामा चढाउने जाँड घर लिपपोत गरी, डल्लो कोदो पकाएर चि फाक्चा बनाइन्छ। एक दिनमा एक भाडा मात्र पकाउने गरिन्छ। ५) दुब्ल्बोची: सुरिम गाड़ने सारी पूजाको दिन चढाउने जाँड घर लिपपोत गरी, डल्लो कोदो पकाएर चि फाक्चा पकाइन्छ। यो एक दिनमा एक भाडा मात्र पकाउने गरिन्छ। ६) न्वाप्सिची : यसलाई भाइसारीची भनिन्छ। यो दाजुभाइ सारी डल्लो कोदो पकाएर चिफाक्चा बनाइन्छ। एक दिनमा आवश्यक बाँकी सबै भाडा ची फक्चा पकाउन मिल्छ। ७) कजेरिसारीची: खाउमाभरि सहयोगीहरूको सारी रीत शिर उठाउनको लागि बनाउने रीतलाई कजेरी सारी भनिन्छ।

यी सामग्रीहरू तयार भएपछि पूजाभन्दा तीन दिन अगाडि धामी राखी मुन्दुमबाट बान्जेल गरी सात घैला चाक्सिचीहरूलाई विधि पूर्वक बाहिर निकालेर चिख्ख्रयम बनाई त्यसमाथि राखे गरिन्छ।

प्रथम दिन
खाःउमको पहिलो दिनलाई सिन्काकु भनिन्छ। खा:उमको प्रारम्भ दिन ज्वाम्चु पाङ्पाबाट विधिवत् पितृहरूलाई आमन्त्रण गरिन्छ। यस दिनलाई सामाकुल प्वाच्चाप भनिन्छ। यस दिनदेखि पितृहरूको बासमा घर हुन्छ भन्ने विश्वास गरिन्छ। यस दिनदेखि घरको आँगनमा सबै जीवजन्तु र अन्य जातका मानिसहरूलाई प्रवेश निषेध गरिन्छ। ज्वाम्चु माङ्पाहरूबाट पितृहरूलाई खाःउम अनुष्ठानबारे सोधी उनीहरूका प्रतिक्रिया लिइन्छ। पितृहरूले भावी समय सुखी, समृद्धि र शान्ति हुने आर्शीवचन दिन्छन्।

दोस्रो दिन
सामाको दोस्रो दिन दाजुभाइहरूबाट चिख्याम निर्माण गरी हिम्फुहरू राखिन्छ। यी हिम्फुहरूलाई कम्तिमा दुई रात शीत खुवाउनु पर्छ भन्ने प्रचलन रहेको छ। यस दिन पितृहरूलाई पोकालबोटीको चाक्सी, चामल, अदुवा र रक्सी चुलामा चढाइन्छ। जेरुङहरूको पितृ बास्थान चुलो हो। यस दिन बिहान घर लिपी शुद्ध पारिन्छ।

फुरिखासी, कुयामा र न्वाक्रोको भिन्नता
फुरिखासी खाउम कुल पित्रको सम्मान गरी परिवारको सुख शान्ति, धन, सम्पत्ति प्राप्तिका निम्ति आर्शिवाद माग्ने सामा हो। कुयामा र न्वक्क्रो पवित्र मरणका आत्माहरूलाई बर्खान्तमा कुलपित्रमा समावेश गरिने पूजा पनि हो। खाःउम नुल दुःख, पीडा, सन्तान वियोग तथा प्रकृति दोष लाग्दा माइतीहरूले जेष्ठ चेलीलाई रीतपूर्वक दानी बनाई माइती घरको खाःउम अनुष्ठान गरी पित्र दोष हरण गर्न, सन्तान प्राप्ति, आर्थिक समृद्धि होस, दाजुभाइ सबैमा रोग व्याधि र कुनै पनि अप्रिय घटनाहरू नघटोस् भनी गरिने पूजा खाउम सामा हो।

खा:उम पूजाको महत्त्वपूर्ण व्यक्ति
खाःउम सामा सम्पन्न गर्न निम्न व्यक्तिहरूका भूमिका रहेको हुन्छ।

  • दानी खाःउमनुल पूजाको पूजारी दानी हुन्छ। उनी त्यस परिवारको मुख्य चेली हुन्। कुल पित्र पूजाको पूजारी दानी हुन्छ। दानीलाई पनि खाःउमनुल घरको सरह खर्च लाग्छ। उनीले रीतपूर्वक चोखो कोसेली रितुमबाया तयार गर्नु पर्दछ। यो चेलीका खर्चका दृष्टिले न्याय सङ्गत छैन।
  • नाक्सो नाक्सो खाउमनुल पूजाको मुख्य व्यक्ति हुन। जेरुङ समुदायमा सामुहिक नाक्सो हुँदैन र बनाउन मिल्दैन। पाछागत नाक्सो रहेको हुन्छ। यस चलनअनुसार नाक्सो बिना कुल पित्र मान्न मिल्दैन थियो। हिजोआज नाक्सो औतार नभएर अर्थात बनाउन नसकेर घरमुली नै पित्र पूजा गर्ने प्रमुख व्यक्ति नाक्सो बन्ने बनाउने चलन चलेको छ।
  • नावाचुर युवाचु जेरुङ समुदायमा नावाचु र युवाचु सामुहिक हुन्छ भने नाक्सोलाई पित्र पूजा गरे पश्चात मुक्दुम स्वाःम्दु जान्ने जेष्ठ व्यक्तिलाई सिरसारी राखेर मुक्दुमी कथालाई खिपेर स्वाःम्दुबाट कुलपित्र मान्न अनुमती दिने पात्रलाई नावाचुर युवाचु भनिन्छ। नावाचु र युवाचु जेरुङ समुदायको सबै माङपाः पाछाका कुल कार्यमा नावाचुर युवाचु राखे चलन छ।
  • ज्वाम्चु खाउमनुल सामा वा कुनै पनि कुलपित्र पूजामा पित्रहरूसँग संवाद गर्ने, बिरामी हुँदा तान्त्रिक उपचार गर्ने मन्त्रतन्त्र जान्ने दैवीशक्ति पाएको धामी झाक्रीबाट निर्देशन लिएर खाउम गर्न मुन्दुम विधि र रीत बमोजिम खा:उम सामा गरिन्छ। ज्वाम्चु माङपा जेरुङ समुदायमा सामुहिक हुन्छ।

खाःउमनुल सामाको (पहिलो दिन)
खाउमनुल सामाको दाजु भाइले पोकालबोटी (चुला) मा प्वाकाल सामा (चुलापूजा) गरेपछि सुरिम्चुको रीतसारी राखिदिनु पर्छ र ढ्याल्मु सालको रुखलाई रीत लगि सामा गरी सुरिम काट्नु पर्दछ। सामा अनुसार एक वा दुइटा सुरिम र खासाम त सात ल्याउनु पर्दछ। सुरिम काट्न जोडी पुरुष जानुपर्छ, बिजोडी जानु हुँदैन। सुरिम दानी आउन अगाडि नै खाउम सामा घरमा ल्याउनु पर्दछ। दानीहरू जाउमे सुसुमेहरू पूजा घरको आँगनमा टेक्ने बेला मादम सारी आँगनमा राख्नु पर्दछ। त्यसपछि मात्र मादम सारीले रीत तानी ल्याएको भनी मुलदानी पूजा खाःउम सामा घरमा पूजा तथा कोसेली रीत बुझाउन प्रवेश गर्दछन् र ढोगभेड गरी सम्मान गर्ने चलन रहेको छ।

सेबिढ्याप्चाप सामा (पूजाको दोसरो दिन)
सेबिढ्याप्चाप सामा रितुम सबै ठाउँमा राखी, नाक्सो र युवाचु न्वाःवाचुलाई सारी राखी प्वाकाल चुला १. पाखुङमाली २. दिखुङमाली ३. प्रोटुलुङमा ४. साप्तिलुङमा तीन चुला र आगोको पूजा गर्नु अगाडि मानिमो (इयाम्टा) सामा गरी दानीलाई दिएर बजाउने, तीन चुलाको अग्नि सामा (आगो पूजा) सकेर पिलुम्बाको पूजा हुन्छ। घरभित्र चुलाको माथिल्लो पाटोमा बाजे खलकको पित्र स्थान मानिन्छ र ढ्याल्मुले सामा गरी रीत चढाइन्छ। चुलाको तल्लो भागमा बुलुङमे सामा (बजु खलकको पित्र स्थान) मानिन्छ। यहाँ सारिङमो (भालृ)ले पूजा गरिन्छ। यी पूजाहरूपछि बाहिर आँगनमा सुरिम सामा पूजा हुन्छ र बाक्पारासी, ढ्याल्मु र सारिङमोले सामा गरिन्छ यो सामा नाक्सोले रीत गरेर दानीले तीरले मार हान्ने चलन रहेको छ।

आँगनको सामापछि मानिमो (इयाम्टा) बजाएर सालमाया गाउँदै सिली सुरु गरिन्छ र फेरि दोहोरो सिकार बाकारको रितुम राखी सामा गरेपछि पूजा सकिन्छ। त्यो दिन रातभरि जागराम बसी जाउमा, ल्खि:उमा, खाःक्चिलिपा, रिनिखा र वाइलिङमोको महिमा गाउँदै उनीहरूको जीवनका सुख, दुःख, कष्टका भोगाइलाई सालमाया मार्फत सम्झना र वेदनाहरू चेली माइती बीच गाउँदै सुनाउने लय मुक्दुमी सालमाय गीत गाउँदै रात बिताउने चलन चल्ती रहेको छ।

दानीसारी ग्वा:क्चापः (समापन दिन)
दानीसारी ग्वाःक्चापमा दानी बिदाइ अर्थात खाउमको समापन दिन भनिन्छ। खाउम:नुल को तेस्रो दिन जाःउमा, ल्खि:उमाको प्रतीक दानीलाई पिलुम्बा अगाडि राखी मान सम्मान जनक सामाको सम्पूर्ण रितुम सारीची राखी रितुम रीतपूर्वक स्वा:म्दु गर्दै जिम्मा दिएर र दानीको तर्फबाट पनि स्वाम्दु गाउँदै जिम्मा लिएर घरभित्रबाट एक पटकमा एउटा मात्र समान घर बाहिर निकाल्ने चलन रहेको छ।

घरको मुली आमाले ढोकामा सोली र खुरुम्बी बोकी सह उघाएर सोलीमा हालिन्छ, पुरै रीतहरू निकाली सकेपछि सोलीभित्र ढोकामा नै राखिन्छ। बाहिर निकालेको रीतहरूमा माइतीहरूले कतै ल्गुक्टी खावारी विष पो पठायो कि भनेर दानीतर्फबाट माइतीहरूलाई आँगनमा राखी रीत सारी चाख दिने चलन छ। माइतीहरूले ल्गुक्टी खावारी विष राखेको भए हामीलाई नै लागोस् भनी रितुम प्रसाद खाएपछि दानीहरू पूजा घरमा अन्तिम सायाटोल्चाप नाँच नाच्दै इयाम्टा जिम्मा दिएर दानी जाउमे सुसुमेहरू र सम्पूर्ण निम्तालुहरूलाई सरसमान जिम्मा लिएर ढोकभेड गरी खाःउम घरबाट बिदा मागेर दानीहरू आफ्नो घर फर्किने चलन रहेको छ।

खाःउम सामामा काम गर्ने सम्पूर्ण कजेरीहरूलाई सारीशिर राखी दिनुपर्छ। न्वाःप्सी र नाक्सो युवाचु नावाचु सारी घरघरमा पुर्‍याउनु पर्दछ। पूजा कार्य अवधि भरि काम गर्ने क्रममा अन्जान गल्ती भएर कोही कसैको मन दुखाइएको छ भने नदुःखाइयोस् भनेर सुङखर सारी राखी यही रीतले कोतारेर लैजाओस् भनी दाजुभाइको जेष्ठ मान्य जनलाई सुङख रीत दिने चलन छ। बाहिरको भाडाहरू हस्ते गर्दै घरभित्र भित्र्याउँदा भित्र सह थापेको सोली बजुले बोक्ने र बाजेले सिपड, चाक्सी र मासु खुवाउँदै सह भण्डारतिर लान्छन्। यसै क्रममा अन्न बाली माग्ने र बजुले ठत्यौउली गरी सन्तान माग्ने, आयु माग्दै घरको भँडारसम्म पुर्याएर बजुले स्वा:दु मार्फत राखिदिने चलन रहेको छ। समापनको दिन अन्त्यतिर कामुक र उत्तेजित शारीरिक अभनियबाट सन्तान माग्ने स्वाम्दुमा गाइन्छ। यस प्रकारको चलन जेरुङ समुदायमा अझै जीवित रहेको छ।

खाउम स्वा:म्दुको कथा सार
स्वाःम्दुलाई मानव सृष्टि र सभ्यताको पहिलो संस्कृति मानिन्छ। आदिम काल खण्डमा मानव सभ्यतासँगै ढुङ्गे युग, सिकारी युग, कृषि युगका विकासका चरणहरू पार गर्दै आधुनिक युग विकास भएको हो। यही विकासका चरणहरू संस्कृतिमा रूपान्तरण भएको हो। खाउम पूजामा तोयामा, खियामा र खाक्चिलिपुको जीवन सङ्घर्षका कथासँग जोडिएर बजु कुटुनी, कुकुनी हुमुको भूमिका र प्राकृतिक घटनाबाट सिकिएका खाक्चिलिपुको दिनचर्याको दुखान्तक स्वाःदु पाइन्छ।

खाक्चिलिपुको कथा यस्तो छ। एक दिन माछा मार्न जाँदा माछाको सट्टा लोहोरो ढुङ्गा मात्र पर्यो र दिनभरि ढुङ्गा मात्र परिरह्यो। उसले दिक्क मान्दै त्यही लोहोरो ढुङ्गा घरमा ल्याए भारमा (कुम्सी) मा राख्यो र त्यो ढुङ्गा जल कन्या रिनिखा रहेछिन्। कालान्तरमा रिनिखालाई खाःक्चिलिपाले विवाह गरे। उनीहरूबाट छोरी वाइलिङमोको जन्म भयो। उनीहरूले घर बनाउने सल्लाह अनुसार घर बनाउने क्रममा खाबो गाड्दा खाल्टोमा वाइलिङमो खसिन् र तत्काल दरबार तयार भयो। खाक्चिलिपु र रिनिखाको छोरी वाइलिङमोको मृत्यु भएपछि दुवै जना धेरै बिरामी भए। उनीहरूका धन सम्पत्ति पनि सकिंदै गयो, अरू सन्तान जन्म भएन, अशान्ति र पीर चिन्ताले धेरै सताएको स्वा:दुमा पाइन्छ। उनीहरूले विभिन्न उपाय रचे, उपचार गरे तर पनि राम्रो नभएपछि ज्वामचु माङपाको सल्लाह अनुसार सामा पूजा गरे। त्यसले पनि राम्रो भएन र धेरै प्रयासपछि ज्वा:मचु माङपाको जोखानामा देखिए अनुसार चेली खोजेर ल्याई चेलीलाई दानी बनाई रीतपूर्वक खाउम पूजा गरेपछि खाक्चिलिपा र रिनिखा राम्रो भयो। यसपछि खाःउमनुलको पूजा सुरुवात भएको स्वाम्दु मुक्दुममा पाइन्छ।

खाउम पूजापछि उनीहरूले प्रशस्त धन सम्पत्ति आर्जन गरे, नयाँ सन्तानको जन्म भई सुख, शान्ति र समृद्धि भएको हुनाले खाउम सामाको प्रसिद्ध भयो। यस पूजाले निरन्तरता पाएपछि खाःउम:नुल सामाको संस्कृतिको विकास भएको जेरुङ स्वाम्दु मुक्दुममा पाइन्छ। यो चलन जेरुङ समुदायमा प्रचलित रहेको छ भने खाःउम सामा जेरुङ पुर्खौली भूमि ओखलढुङ्गा जिल्लाको टिल्केतार सिस्नेरी गाउँतिर बढी खाउम गर्ने गरिन्छ।

लेखक जेरुङ भाषा संरक्षण अभियन्ता एवम् पर्यटन व्यवसायी हुनुहुन्छ।

Post Comment

Scroll to Top Scroll to Top Stretched