Sign In

किरात राई जातिको सांस्कृतिक केन्द्र साल्पा सिलिचुङ – मुलघरे कान्छा (राजेन खिम्बुले), बेलायत


मुलघरे कान्छा (राजेन खिम्बुले), बेलायत

१. पृष्ठभूमि

पृथ्वीमा मानव विकासको प्रागैतिहासिक कालखण्डको मानव इतिहास, मानव शास्त्र र समाजशास्त्रको अध्ययन गर्ने हो भने प्राचीन मानव सभ्यताको विकासका चरण पार गर्दै आएको पाइन्छ। यसमा चेतनाको विकास क्रममा सामाजिक प्रणालीमा रुपान्तरणको प्रक्रियाबाट मानवले आफ्नो समाजलाई मार्ग निर्देशन गर्न गरेको पाइन्छ। विभिन्न दार्शनिक चिन्तन, जीवन दर्शन, विभिन्न सामाजिक, सांस्कृतिक मूल्य मान्यताको विकाससँग व्यवहारिक ज्ञानका आधारमा समाज, संस्कार-संस्कृतिको रूपमा विकास भएको देखिन्छ।

यही क्रममा मुन्दुम हजारौं वर्षदेखि प्राचीन किरात सभ्यताको विकासको चरण पार गर्दै अस्तित्वमा रहेको छ। किरात पुर्खाहरूमा चेतनाको स्रोत मानव सृष्टि, माटो र ब्रह्मण्डको सामिप्यतासँग प्रकृतिमा रहेका चराचर प्राणी जगत, सारा पशुपंक्षी, चराचुरुङ्गी, वनस्पतिसँगै विकसित बनेको पाइन्छ। यस लेखमा किरात राई पुमाको मुन्दुमका आधारमा किरात पुर्खाको उत्पत्ति र उनीहरूले स्थापित गरेका संस्कृतिको चर्चा गरिएको छ।

२. किरात जातिको उत्पत्ति र विकास

किरात राई पुमा मुन्दुम अनुसार किरात पुर्खा सुम्निमा र पारुहाङको क्रीडा स्थल साल्पा सिलिचुडलाई मानिन्छ। पृथ्वीको उत्पत्ति हुँदा संसार पानीले ढाकेको जलाम्य सागर थियो। सृष्टिकर्ताले पिपलको पातको उत्पत्ति गरी त्यसको पातले आकाश र माटो सृष्टि गरे। समुन्द्रको फिंजबाट बोबोयोङ्गा (धमिरा) ले माटो बनाए। धमिराले माटो थुपार्दै जाँदा पानीमा जमिन बन्न पुग्यो।

पृथ्वीमा जल र जमिन बनेपछि धर्तीमा विभिन्न जीवात्मा बाँच्न योग्य बन्दै गयो। यसरी पृथ्वीमा जीवहरूको उत्पत्ति भएपछि मानव उत्पत्ति गर्न नेवाहाङ–निनाम्मा र हितुहाङ–निनाम्मा सृष्टि गरे। यिनीहरूबाट सुम्निमा र पारुहाङको जन्म भयो। उनीहरू जन्मले चेली माइती थिए।

सुम्निमा र पारुहाङ हुर्किदै यौवनावस्थामा पुगे। सुम्निमाले पारुहाङसँग यौन तिर्खा मेट्ने इच्छा गरिन्। सुम्निमाले पारुहाङलाई खोज्न टाङटुमी (चाँदे), झेतुवा (धोवी), तुइरा, माक्वा (कलचुँडो), चेन्चेवा (पदुवा चरा), तोयामा र खियामा चराहरू सृष्टि गरे। यी सबै चराहरूले पारुहाङलाई संसारभरि खोजे, तर भेट्टाएनन्। उनीहरूले पारुहाङ साल्पा पोखरीभित्र ध्यान गरेर बसिरहेको कुरा पत्ता लगाए।

उनीहरूले अदुवा काटेर यारी गर्दै, चिण्डो बोकेर मुन्दुम गाउँदै, सिली नाच्दै साल्पा पोखरी वरिपरि परिक्रमा लगाए, तर पारुहाङ निस्किएन। सुम्निमाले बाजिकुहाङ (गंङ्गटा) को उत्पत्ति गरिन्। सुम्निमाले सबै चरालाई बोलाएर तिमीहरू बाजिकुहाङसँग साल्पा गएर रिसिया गाउँदै, सिली नाच्दै, अदुवाले यारी गर्दै, चिन्डो बोकेर साल्पाको परिक्रमा लगाउनु, त्यसपछि पारुहाङ निस्कन्छन्। यदि ननिस्किए बाजिकुहाङ साल्पा पोखरीभित्र पसेर पारुहाङलाई निकाल्ने छ है भनेर अहाइन्।

उनीहरूले सुम्निमाले अहाए अनुसार गरे, तर पारुहाङ निस्किएन। बाजिकुहाङ साल्पा पोखरीभित्र पसेर पारुहाङलाई काउकुती लगाइदिए। यसपछि पारुहाङ ब्युँझिए। गुप्त बास बसेको पारुहाङले बाजिकुहाङ र चराहरूलाई सोधे, “तिमीहरू यहाँ किन आयौ?” उनीहरूले “सुम्निमाले तिमीलाई लिन पठाएर आएका हौं” भने।

सुम्निमाले विवाह गर्न चाहेको कुरा पारुहाङले थाहा पाए। माइती र चेली विवाह गर्न नमिल्ने भएकाले उनले आफ्नो वीर्य कर्कलाको पातमा पोको पारेर बाजिकुहाङलाई सुम्निमालाई दिनु भनेर अहिले भेट्न नसकने सन्देश पठाए। उनीहरू फर्किएर आएको देखेर सुम्निमाले सबैलाई सोधिन्—“खोइ त पारुहाङ?” उनीहरूले “हामीले पारुहाङलाई ल्याउन सकेनौं तर तिम्रो लागि पारुहाङले ओखती पठाएको छ” भने।

पारुहाङले पठाएको ओखती सुम्निमाले खाइन्। ओखती खाएपछि सुम्निमा गर्भवती भइन्। पारुहाङको गर्भ सुम्निमाको पेटमा बढ्दै गयो। समय पुगेपछि सुम्निमाले आफ्नो कोखबाट तीन सन्तान चाप्चा, तुमुन र हाङ्छाको जन्म दिइन्। कालान्तरमा हाङ्छाको सन्तानहरू धेरै वृद्धि भएर फैलिए। हाङ्छाको ती सन्तानहरूको नामबाट राईका पाछाहरू बनेका हुन्।

किरात मुन्दुमको वर्णन अनुसार साल्पा सिलिचुडलाई सुम्निमा पारुहाङ, रिकपा रिभिमाको बासस्थान, किरात जातिको सृष्टि र मुन्दुमको उत्पत्ति थलो मानिन्छ।

३. साल्पा र सिलिचुङको व्युत्पत्ति र अर्थ

किरात भाषामा साल्पा शब्दका सलापा र सलाप्पा समरूप शब्द र सिलिचुङको पर्यायवाची शब्दहरू सिलिचोङ र सिलिछो पाइएका छन्। यस लेखमा केही किरात भाषाका साल्पा र सिलिचुङ शब्दको व्युत्पत्ति र अर्थ दिइने छ।

क) कुलुङ भाषा कुलुङ भाषामा साल्पाका सालमम, साहाल्म, ससल्पा तीन रूपहरू पाइएका छन्। पहिलो शब्द सालमम हो। यो साल + ममबाट साल्पा व्युत्पत्ति भएको हो। यसको अर्थ आफूसित भएको राम्रो वस्तु देखाउनु भन्ने हुन्छ। दोस्रो शब्द साहाल्म हो। यसको अर्थ सिकारको बिलो भागबन्डा लगाउने कार्य हो। यही सा+हाल्म शब्दबाट साल्पा बनेको मानिन्छ। तेस्रो शब्द ससल्पा हो। कुलुङ भाषामा लाम्चो आकार जनाउने शब्दलाई ससल्पा भनिन्छ। यस भाषामा साल्पा पोखरीलाई ससल्पा भनिन्थ्यो। यही रूप अपभ्रंश भएर साल्पा हुन पुग्यो भनिन्छ।

सिलिचुङ शब्दमा ‘सि’ (सिङ) शब्दको अर्थ दाउरा/रुख, ‘लु’ (लुड) शब्दको अर्थ ढुङ्गा र ‘छो’ शब्दको अर्थ शिर वा चुचुरा हुन्छ। कतिपय कुलुङ पुर्खाहरूले सिलुको अर्थ जमिन वा भू-भाग र छो शब्दको अर्थ शीर वा चुचुरा भनेर अर्थ्याउने गरेको पाइन्छ। समग्रमा जमिन अर्थात् भू-भागको शीर नै सिलिछो हो।

ख) खालिङ भाषा खालिङ राई भाषामा सिलीको अर्थ “शैली” हो भने चोडको अर्थ अग्लो डाँडा वा चुचुरा हो भन्ने अर्थ लाग्छ। खालिङ राईहरूका आदिम पुर्खा ग्रोम्य, लास्म्य र खोक्चिलिपुले सिली गरेको ठाउँ भएकोले यसलाई सिलिचोड नामाकरण गरिएको हो।

ग) बान्तवा भाषा बान्तवा मुन्दुम अनुसार सिलिचोडलाई सिलिचोवा भनेर सम्बोधन गरिन्छ। त्यही सिलिचोवा शब्द अपभ्रंश भएर सिलिचुङ भएको हो। सामचोवाको अर्थ एकदम सिली फुर्यो, सिली राम्रो आयो, शक्ति दियो भन्ने हुनाले सिलिचोवाबाट सिलिचुङ भयो भन्ने भनाइ छ। बान्तवा मुन्दुममा … सन्प्पा ये कुडलुङमाये नागायु दिमो दिमोउ, नगायुङये दिमोउ, दिमोउ रुम्नाइए भुरुक्ये साङ्गो साम्ने, साङसाये साडासाये साडावोनेइ, सिलिचवा, भुरुरुवा थुलुडमुसा सिलिचोवा भनिने गरिएकोले त्यही सिलिचोवाबाट नै सिलिचुङ भएको हो भन्ने मान्यता छ।

घ) दुमी भाषा दुमी भाषामा सालपाको मिथकमा मुन्दुम गाउनुलाई र सलपबि भनिन्छ। यस सालपबि शब्द अपभ्रंश भई साल्पा भएको हो भनिन्छ। सिलिचुडलाई मुन्दुममा यारिलु भनिने गरेको छ। यसको अर्थ हेर्नु, जोखाना हेर्नु, पारु पस्नु, अनुसन्धान गर्नु भन्ने हुन्छ। त्यतिखेर यारिलुमा बसोबास गर्ने मओ (कलचुँडा) धामी चराले यारिलुमा बसेर जोखना हेर्ने गर्थ्यो। अन्य नागी धामीहरूले पनि कुरी चिन्ता गर्दा ए सुम्दिमाओ भनेर मुन्दुमको रिसिया गाएको पाइन्छ। त्यसैले सुम्निमालाई प्राक्प्राचीन कालको जीवहरूको सृष्टिकर्ता मानिन्छ। यसकारण साल्पा सिलिचुङ सुम्निमासँग जोडिएको भूमि हो।

ङ) चाम्लिङ भाषा चाम्लिङ भाषामा साल्पाको प्रसङ्ग मानव पुर्खा पारुहाङ र सुम्निमा उत्पत्ति कथासँग सम्बन्धित पाइन्छ। यस कथा अनुसार सृष्टिको दोस्रो पुर्खा पारुहाङलाई नै सालपा मानिएको छ। त्यसैगरी सालपा (रुङमाह) भएको र हिमालतिर (सालपा) गएको भन्ने मान्यता प्रचलित छ। चाम्लिङ भाषामा व्यक्ति र स्थल दुवैका लागि सालपाको प्रयोग भएको देखिन्छ।

सामान्यतः सिलिचुङको शाब्दिक अर्थ उच्च पहाडी भूमिको चुचुरामा नाच्नु, मनोरञ्जन गर्नु, रमाउनु भन्ने अर्थबोध हुन्छ। यस सिलिचुडलाई नछुड, माङ्पाहरूले कोक्मा पिरिमा (गुरू) ध्यान बस्ने पवित्र भूमिको रूपमा लिन्छन्। त्यसैले नछुड, माङपा, वाटाङपा र बुङ्पेन्मीहरू यारिचुरी माङमिछा थेम्मा (घर चिन्ता) सुप्तुलुडबाट सुरु गरेर खुवालुङ हुँदै साल्पा सिलिचुङसम्मको आत्मिक यात्रा गर्दछन्।

किरात नछुङ, माङ्पा, बुङपेन्मीहरू सिलिचुडको प्रत्येक वर्ष कार्तीक पूर्णिमा, वैशाख पूर्णिमा र भदौ पूर्णिमामा धार्मिक र आत्मिक वा अभौतिक यात्रा गर्छन्। यस यात्राबाट उनीहरूले मुन्दुमी शक्ति पुनर्ताजकी गर्छन्।

किरात समुदायमा नयाँ उत्रन लागेको नाक्छुड, माङ्पाहरू पारूकेन, दियो, कलश आदि सामग्री साल्पा सिलिचुड लिएर जान्छन्। नयाँ माङ्पाहरूले साल्पा सिलिचुङको धार्मिक र आत्मिक यात्रा गरेपछि परिपक्व र दक्ष बन्छन् भन्ने मान्यताहरू रहेको छ।

४. सिलिचुडको भौगोलिक बनावट

साल्पा र सिलिचुङ भोजपुर, सोलुखुम्बू, खोटाङ र सङ्खुवासभा जिल्लाको सीमा क्षेत्रमा अवस्थित छ। भोजपुर जिल्लाको साल्पा सिलिछो गाउँपालिका-५ अन्तर्गत पर्दछ। यसलाई मुन्दुममा पहाडको साया (शीर) भनिएको छ। यस साल्पाको उचाइ समुद्री सतहदेखि ३७५० मिटर र सिलिचुड समुद्री सतहदेखि ४१५५ मिटरको उचाइमा रहेको छ। साल्पा पोखरीको अक्षांश २७.४४६ डिग्री उत्तर र देशान्तर ८६.९३४ डिग्री पूर्व रहेको छ।

यहाँबाट भोजपुर, सङ्खुवासभा, धनकुटा, तेहथुम, ताप्लेजुङ, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा जिल्लाको धेरै गाउँहरू देख्न सकिन्छ। यहाँबाट मकालु, कञ्चनजङ्घा र चोमोलुङ्गा देख्न सकिन्छ। यस साल्पा सिलिचुङ क्षेत्रमा कुलुङ, बान्तवा, चाम्लिङ, साम्पाङ, कोयु, खालिङ, दुमी, मेवाहाङ, याम्फू र थुलुङ लगायत विभिन्न भाषी राईहरूको सघन बसोबास रहेको छ।

यस क्षेत्रमा भू-गर्भशास्त्री, पुरातत्वविद्, मानवशास्त्री, समाजशास्त्री, इतिहासविद्हरूले गहन खोज, अनुसन्धान गरेका छन्। यहाँको अनुसन्धानबाट किरात जातिको प्रागैतिहास, इतिहास, सभ्यता लेखन गर्न सकिने सम्भावना देखिन्छ।

मुन्दुममा साल्पा पोखरी र सिलिचुङको सुन्दर वर्णन पाइन्छ। यस पोखरीमा किरात, हिन्दू, बौद्ध धर्मावलम्बीहरू हजारौंको सङ्ख्यामा भदौरे पूर्णिमा, कार्तीक पूर्णिमा र वैशाखे पूर्णिमामा पूजा आराधना गर्छन्। किरात नोक्छुडहरू ढोलु ढ्याइग्रो, थाल बजाउँदै रातमा चिन्ता बस्छन्। आउने यात्रु तथा भक्तजनहरू सोइ राजा, सोइ, सोइ रानी सोइ भन्दै बल, भक्ति, आशीर्वाद माग्छन्।

५. सांस्कृतिक र धार्मिक आस्था

सर्वसाधारणमा साल्पा सिलिचुङप्रति धार्मिक सांस्कृतिक आस्था जोडिएको छ। किरात समुदायमा साल्पाको दर्शन गरेपछि मनोकाङक्षा पूरा हुने, सन्तान नभएको दम्पतीले साल्पाको भाकल गरेर दर्शन गरेमा सन्तान प्राप्त हुने, बोली नफुटेको बालबच्चालाई साल्पाको भाकल राखेर दर्शन गर्न लगेमा बोली फुट्ने, साल्पाको पानी र ढुङ्गा घरमा राखे सुब्बे फाब्बे हुने, गाईवस्तु बाँध्ने दाम्लाले साल्पाको ढुङ्गा बाँधेर घर लगेमा गाई, वस्तुभाउ फैलिने धार्मिक आस्था रहेको पाइन्छ।

किरातहरूले जीवनमा कम्तिमा एक पटक पुग्नै पर्छ भन्ने जनविश्वास रहेको बताइन्छ। साल्पा पोखरीमा पूजा आराधना गरेमा सुख, शान्ति प्राप्त हुन्छ। चिताएको काम पूरा हुन्छ। सन्तान नभएकाले पोखरीमा बाँसको थाँक्रो चढाएर सन्तान मागे सन्तान जन्मिन्छ। बच्चाको बोली फुटेन भने बच्चालाई साल्पा लगेर पूजा आजा गरेमा बोली फुट्छ भन्ने धार्मिक विश्वास रहेको छ।

साल्पा पोखरीको पूर्व र पश्चिम जुन क्षेत्रतिर पानीको वहाव बढ्यो त्यो क्षेत्रतिर नै राम्रो वर्षा हुने, अन्न बाली फस्टाउने र जुन क्षेत्रतिर पानी सुक्यो त्यो क्षेत्रमा खडेरी लाग्ने, अन्न बाली नफल्ने जनविश्वासहरू रहेका छन्। यस अर्थमा सिलिचुड किरातहरूको, हिन्दूको मानसरोवर, क्रिस्चियनको जेरुसेलम, मुस्लिमको मक्कामदिना, बुद्धिस्टको लुम्बिनी जस्तै पवित्र सांस्कृतिक सम्पदा हो।

६. अमूर्त संस्कृतिको केन्द्र साल्पा सिलिचुङ

किरात राई समुदायमा मिथक, प्रागैतिहास, होप्माछाम, लोकगीत जीवन पद्धतिका रूपमा जीवन्त रहेको छ। यसलाई संरक्षण र संवर्धन गर्न किरात पुर्खाहरू तँयामी, नाक्छुङ, नाक्छो, माङपा, कुबी, नागिरे, मावी, ज्वाम्चो, दोवा, वाटाङ्पा, बुङटोमी, बुङपेन्मी, राहाड्डी, बाखमी, येबा, येमाका भूमिका रहेको पाइन्छ। यिनीहरूले मुन्दुमका रिसिया र होप्माछाम (मन्त्रहरू) हरू गाएर नवीन पिंढीमा पुस्तौंपुस्तादेखि हस्तान्तरण गर्द आएका छन्।

मुन्दुमी बेन्पेन्पीहरूले हजारौं वर्षदेखि किराती पुर्खाहरूले रिसियालाई लयात्मक र गेयात्मक बान्की दिएर मुन्दुमको जीवन दर्शन स्थापित गरेका छन्। किरात जातिको मुन्दुमको उत्पत्ति केन्द्र साल्पा सिलिचुडलाई मानिन्छ। यस भूमिलाई नाक्छुडहरू पवित्र स्थल, मुन्दुमको शक्ति केन्द्र वा अमूर्त किरात सांस्कृतिक सम्पदा मान्दछ।

नाक्छुङ, माङ्पाहरूले मुन्दुमको रिसिया गाउने क्रममा सुम्निमा र पारुहाङको साल्पामा भेट भएपछि नै सृष्टि भएको बताउने गरिएको पाइन्छ। मुन्दुम अनुसार यस धर्तीका सर्वप्रथम सृष्टिकर्ता सुम्निमा र पारुहाङ सिलिचुङमा भेट भएकाले सिलिचुडलाई पारुखाम मानिएको जनविश्वास रहेको छ।

किरात आदिम पुर्खाहरू रिकापा, रिभ्यामा, साल्पाहाङ, रिब्रिहाङमा आदिका क्रीडा स्थल साल्पा सिलिचुङ भएको मुन्दुममा वर्णन भएको पाइन्छ। किरात जातिको पवित्र भूमि सिलिचुङ साया (शिर) धार्मिक स्थल पनि हो। यहाँ सुम्निमा पारुहाङले मुन्दुमको सृष्टि गरेका हुन्।

७. किरात मुन्दुम अनुसार जुनी परिवर्तन

पुमा मुन्दुम अनुसार सुम्निमा र पारुहाङका सन्तान हाङ्छा/होंछा र नागाहाङकी छोरी सिकुरिमा/सिक्रिमा बीच विवाह भयो। होंछा र सिकुरिमाका सन्तान सालपा र रिभिमा जन्मिए। यिनीहरूलाई मुन्दुम नाक्छुड सालपा राजा र साल्पा रानी भनेर सम्बोधन गर्छन्।

रिभिमामा जवानी बढ्यो, उनले सालपासँग यौन सम्बन्ध राख्ने इच्छा गरिन्। सालपाले भने, “छेत्कुमा (चेली) हामी बीच यौन सम्बन्ध राख्न हुँदैन। हामी माइती चेली हौं। हामी बीच सम्बन्ध राख्न जुनी परिवर्तन गर्नु पर्छ। त्यसैले म साल्पा गएर बस्छु। तिमीले यहाँ भस्मे फाँडेर फेसा, घैया, साप्पाचा, पाङदुर छरेर खेतीपाती गरेर बस्नु। त्यो बाली पाकेपछि म याङभोक (बन्देल) बनेर आउँछु। त्यतिबेला तिमीले त्यस बाली पाकेको ठाउँमा पासो थापेर राख्नु। म त्यस पासोमा परेर मर्छु। तिमीले मलाई मुन्दुमको रिसिया गाउँदै रख्खे वाचा सहित सोलेन्वा र बेटुकले छर्कनु। म पुनः ब्युँतिन्छु। यसपछि मेरो जुनी फेरिन्छ।”

सल्लाह अनुसार सालपा साल्पा गए। रिभिमाले खोरिया फाँडेर बाली लगाइन्। बाली पाक्यो, जङ्गलका चराचुरुङ्गी, जन्तुहरूले बाली खान आउन थाले। त्यस हुलमा सालपा पनि याङभोकको रूप बदलेर त्यहाँ आयो। त्यहाँ रिभिमाले राखेको पासोमा परेर याङभोक (बँदेल) मर्‍यो। रिभिमाले रख्खे (वाचा, बेछुक र सोलेन्वाले) पर्सिन्। यसपछि सालपा ब्युँतिए। सालपा ब्युँतिएपछि उनीहरूका माइती चेलीको नाता टुट्यो। यसपछि उनीहरूले विवाह गरे। उनीहरूले साल्पामा दरबार बनाए। उनीहरूको दरबार अत्यन्त राम्रो थियो।

८. निरिवाको षड्यन्त्र र सालपाको विजय

साल्पा दरबारमा एक्लै रहेकी रिभिमालाई निरिवाले जबरजस्ती निकालेर दरबार पस्यो। निरिवाले साल्पाले बाटोमा लगाएको फलैंचा, चौतारा, देउराली भत्काइदियो। वरपीपलको रूख ढालीदियो। जबकि सालपा फर्कन नसकेकोमा उसले दरबारको रूप परिवर्तन गरिदियो। दरबार वरिपरि भीर, पहरा बनाइदियो। यही कारण साल्पा सिलिचुङ अग्लो भीर पहरा छन्।

मधेसको निरिवाले कैलाशको भ्रमणमा निस्कँदा साल्पाको त्यो सुन्दर दरबार देखेछ। निरिवालाई नागा जातिको प्रभावशाली राजा मानिन्छ। उसलाई त्यो दरबार औधी मन परेपछि त्यो पाउन षड्यन्त्र गरेछ। उनले तन्त्रमन्त्रद्वारा सालपालाई विरामी पारिदिए। निरवाको तन्त्रमन्त्रले सालपालाई पिनास भयो। उनी निकै साह्रो विरामी परे।

निरवा भिक्षुको भेष बदलेर साल्पा दरबार वरिपरि तलमाथि गर्दै हिंडिरह्यो। त्यो भिक्षुलाई साल्पाले देखेपछि “ए! लामा तिमी तन्त्र मन्त्र विद्यामा पारङ्गत छौ। भोट मधेस गरिरहन्छौ। म बिरामी छु। लौन मलाई निको पार्ने उपाय गरिदिनु पर्यो” भनेछन्।

भिक्षुले सालपालाई “तिमीलाई यस दरबारले फापेन, त्यसैले पिनास लागेको हो। म उपचार गरिदिन्छु। त्यसपछि तिमी यो दरबार छाडेर टाढा जानुपर्छ” भनेछ। “नगए ज्यान जान सक्छ” भनेछ। यो सुनेर सालपा दरबार छोडेर ज्यान बचाउन बाहिर जान राजी भएछन्।

सालपा रिभिमासँग सल्लाह गरेर धरान विजयपुर तिर लागेछन्। उनले घर फिर्दा बाटो बिर्सन्छ भनेर बाटामा फलैंचा, चौतारा, देउराली बनाउँदै वरपीपल रोप्दै आएछन्। उनी धरान बुढासुब्बा मन्दिर छेउ बसे।

दरबारमा निरिवाको विगविगी बढ्यो। रिभिमालाई दरबार जोगाउन आफ्नो अस्तित्व जोगाउन सकस पर्यो। उनले सतीत्व जोगाउन सकिनन्। रिभिमा दरबारबाट निकालिएपछि साल्पाको खोजीमा निस्किइन्। उनले कहीं भेटिनन्। उनी बेसाहारा बनिन्।

उनले सालपालाई सम्झँदै माटो, खोलानाला, रूख विरूवा, हावापानी, पशुपंक्षी सबैलाई साल्पा दरबारबाट निकालिएको, दरबार निरिवाले कब्जा गरेको सुनाउँदै अरूणतर्फ लागिन्। उनले सालपालाई कतै नभेटेपछि निराश, थकित भइन्। अरूणको पानी पिएर दुङ्गामा ढल्किइन्। उनले हिंडेको बाटोमा साल्पाले पत्ता लगाउन सकोस् भनेर पैतालाको डोबहरू छाड्दै हिंडिन्। यही कारण रिभिमा हिंडेका सिलिचुडका बाटोहरूमा पैताला आकारका पोखरीहरू छन्।

उनी हिंड्दै दोभाने फेदी पुगिन् तर कतै नभेटेपछि साल्पा पोखरी नै फिरिन्। साल्पा छाडेको धेरै समयपछि साल्पाको स्वास्थ्य सुधार भयो। सालपा दरबार फिर्यो। उनले बनाएका फलैंचा, चौतारा, देउराली, वरपिपल केही भेटेनन्। साल्पा सिलिचुङमा भीर पहरा मात्रै देखे।

उनी अरूणको किनारा किनारै हिंडेर दरबार पुगे। उनले दरबारमा निरिवा मात्रै भेटे, रिभिमा भेटेनन्। रिभिमा पहिला नै बेपत्ता भएकी थिइन्। उनलाई वरपिपलले निरिवाले रिभिमालाई गरेको अत्याचार, उनीले भोगेको दुःख बताए। त्यहाँका वनजङ्गलले रिभिमा गएकी बाटो देखाइ दिए।

सालपा तुरून्त खोजीमा निक्लिए। उनले बाटोमा रिभिमाको पाइतालाका आकारका पोखरीहरू भेटे। त्यसलाई पछ्याउँदै जाँदा उनले रिभिमा खोज्दै सिदोमा पुगे। त्यहाँ रिभिमासँग भेट भयो। त्यहाँ उनीहरूको भेट भएपछि भोगेका दुःख, कष्ट, पीडा, अपमान, घृणा सबै सुनाइन्। आफ्नो सतीत्व जोगाउन गरेको सङ्घर्ष सुनाइन्। त्यहीं उनीहरूले जुनीजुनीसम्म सँगै बस्ने भन्ने वाचा गरे।

सिदोमा बसिरहेको समयमा निरिवाले खेदे। त्यहाँबाट सुकेपोखरी गए। त्यहाँबाट आहाले डाँडा गए। त्यहाँ पनि निरिवाका सेनाले बस्न दिएन, लखेट्यो। यसपछि उनीहरू पुनः साल्पा सिलिचुङ नै फर्किने योजना बनाए।

साल्पा सिलिचुङ पुगेपछि निरिवासँग घमासान युद्ध भयो। साल्पाले युद्धमा मुन्दुमको रिसिया गाउँदै वाण हाने। युद्धमा निरिवा पराजित भयो। उनका सिपाहीहरू सखाप पारे। निरिवा पक्राउ खाए। निरिवालाई रिभिमाले बदलामा फुची अनुहार दलिदिए र आफूलाई गरेको अत्याचार र सतीत्व लुटेको घटना सुनाइन्।

त्यहाँका जनताले निरिवालाई काटेर मार्ने फैसला सुनाए। जनताको फैसला अनुसार उसलाई साल्पाले बाटेर मारिदिए। जनताहरूसँग विजयको उल्लास मनाएर सालपा र रिभिमा साल्पा दरबारमा खुसीसाथ राज गर्न थाले।

९. निष्कर्ष

साल्पा सिलिचुङ किरात सृष्टिकर्ता सुम्निमा पारुहाङ र सालपा-रिभिमाको बासस्थान भएको विश्वास गरिन्छ। किरात मुन्दुमको उत्पत्ति यही साल्पा पोखरी र सिलिचुङमा भएको मानिन्छ। साल्पा सिलिचुङको पर्यावरणमा जैविक विविधता कायम रहेको छ। यहाँ विभिन्न रङ्गका लालीगुराँस, सुनपाती, भैरूङपाती र विभिन्न प्रजातिका जडिबुटी पाइन्छ। पंक्षीहरूमा डाँफे, मुनाल, रेडपाण्डा पाइन्छ।

साल्पा सिलिचुड किरात जातिको पवित्र धार्मिक तथा सांस्कृतिक स्थल हो। यहाँको पर्यावरण जैविक विविधता रहेको पाइन्छ। यसको संरक्षण र सम्वर्द्धन गर्नु भनेको किरातको मुन्दुमको रिसिया उत्पत्ति भएको प्रागैतिहास र किरात संस्कृतिको संरक्षण गर्नु हो। यो किरात जातिको सांस्कृतिक सम्पदा भएकाले यसलाई युनेस्को अन्तर्गत विश्व संरक्षण सम्पदा सूचीमा सूचीकृत गर्नु जरुरी देखिन्छ।

साल्पा सिलिचुड सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समिति

Post Comment

Scroll to Top Scroll to Top Stretched