Sign In

केपिलास र चिना किरात गढीको चर्चा – चतुर भक्त राई, केपिलासगढी, खोटाङ


चतुर भक्त राई, केपिलासगढी, खोटाङ

पृष्ठभूमि

गढी र किल्ला राजनीतिक र सामाजिक चेतनाको उपज हुन्। चेतनाको विकासले मानिसहरूलाई गुफाबाट घर ल्याएको हो। दार्शनिकहरूका अनुसार मानव चेतनाले स्वतन्त्रता माग गर्दछ, स्वतन्त्रताले अधिकारको खोजी गर्छ, र अधिकारलाई सुरक्षित गर्न राज्यको आवश्यकता पर्छ। यो राज्य प्राप्तिको आधार चेतना नै हो। यही चेतनाले मानिसलाई स्वतन्त्रतातर्फ उन्मुख गराउँछ। स्वतन्त्रता रक्षाका लागि अधिकारको खोजी हुन्छ र अधिकार सुरक्षित गर्न राज्य चाहिन्छ। यही सिद्धान्तअनुसार गढी, किल्ला र थुमहरू निर्माण गरिएका हुन्। किराती थुम, किल्ला र गढीको पछिल्लो विकास विभिन्न कालखण्ड हुँदै आजको सङ्घीय प्रदेश, जिल्ला र स्थानीय संरचनासम्म पुगेको छ। तसर्थ यस लेखमा किरात गढीहरूको बारेमा संक्षिप्त चर्चा गरिएको छ।

नेपालमा किरातहरू एल्लो रिभर > सिन्धु > मगध > सिङमाड गढ हुँदै नेपालमा राज्य स्थापना गरेपछि गढी निर्माण भएको हो। विश्वमा प्रथम गढी साइबेरियाको अम्न्या नदीको किनारमा रहेको प्रोमोन्टरी, अम्न्या फरट्रेस किल्ला हो। यो आठ हजार वर्ष पुरानो मानिएको छ। यसको तुलनामा नेपालमा गढी निर्माणको इतिहास छोटो रहेको छ। वर्तमानमा मकवानपुर गढी र किरात प्रदेशका गढीहरूको इतिहास लेखन प्रारम्भ भएको छ।

केपिलास गढीको राजा निगुहाङ थिए। उनका सहयोगी रोकोवासी थिए। यी निगुहाङ दुमी सत्म पाछा थिए भने रोकोवासी दुमी खबचु पाछा थिए। खबचु पाछा भएको प्रमाण बासठ्ठी हरण काण्डमा शङ्कर भण्डारीको जग्गाको सँधियारहरू मध्ये एकजना जनासी राई खबचु पाछा भएको स्पष्ट देखिन्छ। यी जनासीका पुर्खा रोकोवासी हुन्। केपिलास गढीमा साम्पाङहरूको पनि राजा थिए भनिन्छ। यो राजा भनेको सहयोगी भन्न खोजिएको हो। उनको नाम कसैले भन्न सकेका छैनन् तर साम्पाङको किल्ला ढाल तरबार गढीमा चतुरघना सुभाङ्गी साम्पाङ राजा थिए भन्ने भनाइ साम्पाङ बस्तीका पुर्खाहरूको छ। यसैले उनी केपिलास गढीमा पनि राजाको सहयोगी थिए भन्न सकिन्छ। केपिलास गढीकै निकट रहेको राखा बाङ्देल गढीलाई पनि केपिलास गढीको सहयोग र आफ्ना क्षेत्रका जनताहरूको सुरक्षाका निमित्त निर्माण भएको थियो (राई, २०७४)।

१. गढी, गढ, किल्ला, कोट र थुमको अर्थ

संस्कृत शब्द दुर्गको नेपाली समरूप शब्द गढी हो। गढीको शाब्दिक अर्थ किल्ला बोध हुन्छ। यो राजा र राज्यको सुरक्षाका लागि निर्माण गरिन्छ। यसमा सुरुङ पनि बनाइएका हुन्छन्, जसबाट आपतकालीन अवस्थामा सुरक्षा लिन सकिन्छ। गढी चौडा र मजबुत बनाइएको हुन्छ। किल्लाको अर्थ सामरिक प्रतिरक्षाका लागि चारैतिरबाट सुरक्षित पारिएको ठाउँ, घर, खावा र कोट बोध हुन्छ। गढको अर्थ प्राचीन राज्य व्यवस्थामा सुरक्षाको बन्दोबस्त मिलाउने गौंडो भन्ने हुन्छ। यसमा सेना, सेनाका हातहतियार तैनाथ गरिएको हुन्छ। गढी र किल्लालाई एकीकृत रूपमा कोत वा कोट पनि भनिन्छ। कोट शब्दले राज्यको सीमा सुरक्षा गर्ने ठाउँ, किल्ला, दुर्ग र गढी भन्ने जनाउँछ। यसले सेनाको खरखजना, हातहतियार आदि राखिने घर, मौलो पूजा गरिने ठाउँ भन्ने जनाउँछ।

‘थुम’ उच्च ठाउँमा स्थापित सरकारी निकाय हो। थुम स्थापनाको प्रचलन किरात कालमा प्रारम्भ भएको थियो। यसमा पाँचजना जेष्ठ प्रबुद्ध व्यक्तिहरूले प्रशासन चलाउँथे (अग्रवाल, १९७६)। ती जेष्ठ व्यक्तिहरू निर्वाचन प्रणालीबाट चुनिन्थे। त्यस समयमा थुमलाई गाउँहरूको एकीकृत एकाइ मानिन्थ्यो (श्रेष्ठ, २०३८:४)। यसलाई वर्तमानमा स्थानीय सरकार मान्न सकिन्छ। गढी राज्य सुरक्षाका हातहतियार र सेना व्यवस्थापन गर्ने शासकीय निकाय थियो भने थुम कर असुल गर्ने निकाय थियो। तत्कालीन समयमा किरात राज्यमा गढीका तुलनामा थुमका सङ्ख्या अधिक पाइन्छ। ओल्लो, माझ र पल्लो किरात राज्यहरूमा ५० भन्दा बढी थुमहरू थिए।

३. गढीहरूको संक्षिप्त परिचय

नेपालका पूर्व भू-भागका किरात शासकहरूले स्थानीय सत्ता सञ्चालन गर्न गढी निर्माण गरेका हुन्। यो गढी परम्परा किरात शासकीय प्रणाली थियो। किरात शासकहरूले राज्य सुरक्षाका लागि निर्माण गरेका थिए। कोसी प्रदेशमा ४७ गढीहरू रहेका छन्। यिनीहरू मध्ये धेरै नाममा मात्र सीमित छन् भने केहीका स्थिति ठिकै देखिन्छ। ती गढीहरू ओगानेम, तलुवा, चिसङखू, भोल्टे कोट, बुडनाम, च्यानम, गढीडाँडा, हतुवा, पामाखाम, चेवाड, यङपाड, देउराली, दिङ्ला, कुलुड, पौवा, सिद्धिपुर, खिखाम, सिक्तेल, साम्सोहाड, आमचौक, हिमाङ, सानो दुङ्गा, साँघुरी, बुढी मोरड, विजयपुर, खेवाहाड, चैनपुर, सिद्धिपुर, हेदाडना, चौदण्डी, उदयपुरगढी, बेलका, काँठे, पेर्मा, मझुवा, डुम्रेकोट, कोटगढी, रावा-बाडदेल, सिलोह, महुरे, खामतेल, हलेसी, खोटाड, रूपाकोट, केपिलास र चिना गढीहरू छन्।

संरक्षण अघिको केपिलास गढि क्षेत्रको फोटो ः अल्वान अदाभान स्टकहाउजेन
संरक्षण अघिको केपिलास गढि क्षेत्रको फोटो : अल्वान अदाभान स्टकहाउजेन

खोटाङ जिल्लामा मझुवा, खोटाड, आमचौक, छुलुवार, सावा, दिप्रुङ, मार्से, चुइचुम्मा, रतन्छा, च्यास्मी, रावाडुम्रे, हलेसी र मानपुर थुमहरू रहेका छन्। यस लेखमा खोटाङ अवस्थित केपिलास र चिना गढीका मात्र उत्थान र पतनका विषयमा चर्चा गरिएको छ।

केपिलास र चिना गढीको विश्लेषण

खोटाङ जिल्लाको १५ गढीहरूमध्ये केपिलास गढी संरक्षित गढी हो। यो गढी संरक्षणमा किरात समुदायको नेतृत्व रहेको छ।

१. गढीको भू-क्षेत्र

खोटाङ जिल्ला, केपिलास गढी गाउँपालिका वडा नं ५ मा केपिलास र चिना गढी अवस्थित छ। यो नाम किरात जातिको ऐतिहासिक पहिचानलाई स्थापित गर्न रावा र ताप खोलाका जनताहरूले राजनैतिक पहल गरेर केपिलास राखिएको हो। यस नामले किरात राज्य सत्ताको ऐतिहासिकतालाई पुष्टि गरेको छ। यस गढीले तत्कालीन सात गाउँ विकास समितिहरू बाक्सिला, सप्तेश्वर, बासपानी, खार्ताम्छा, फेदी, सुडदेल र दिप्सुडलाई समेटेको छ। यस गढीलाई २०७६ मा दुमी किरात राई फन्सिखिमको प्रस्तावमा जिल्ला वन कार्यालय र २०८१ मा फन्सिकिमको प्रस्तावमा संस्कृति तथा पर्यटन उड्डयन मन्त्रालयको मन्त्री सुदन किरातीको सहयोग र पुरातत्व विभागको प्राविधिक निर्देशनमा जीर्णोद्धार गरिएको छ।

२. केपिलास गढीको परिचय

केपिलास गढीको सांस्कृतिक प्राचीनता मुन्दुम सम्बद्ध पाइन्छ। यसलाई मुन्दुममा ‘पिपिरी पिरिरिचो’ (घाम झुल्कने डाँडा) भनेर सम्बोधन गरिएको छ। यो मुन्दुमको सृष्टि नायिमा कालमा नै साल्पा सिलिचुङमा मुन्दुमी चराले गाएको मिथक पाइन्छ। यो नाम धनरूप सत्म राईका अनुसार गढीको आकार बन्दुकको केप जस्तो भएकाले रहेको हो। यो गढी तीन भू-क्षेत्रमा विभाजित छन्। ती क्षेत्रहरू धिनु, चिना र केपिलास हुन्। यो तीन खण्डित भू-भागलाई प्लास भनिन्छ। यस गढीलाई सर्सर्का र खार्मीबाट अवलोकन गर्दा बन्दुकको केप जस्तो आकारमा देखिन्छ। तसर्थ केप + प्लास दुई रूप मिलेर केप्लास भएको हो। सरकारी अभिलेख (कागज पत्रहरू) मा केप्लास गढी भनेर लेखिएको छ। यही नाम वर्तमानमा केपिलास गढी भएको छ।

केपिलास गढीको पूर्वतर्फ चिना गढी हो। यी दुवै गढी जुम्ल्याहा भाइ जस्ता रहेका छन्। चिना गढीको जग्गा समतल परेको छ। यस गढीको नाम चिनाका बारेमा तथ्य प्रमाण भेटिएको छैन। खोटाङ माल कार्यालयमा बस्नेत थरका जग्गाधनीका धनी पूर्जामा चिना गढी नाम उल्लेख गरिएको पाइन्छ।

केपिलास गढीको राजा निगुहाङ थिए भनिन्छ। उनका सहयोगीका नाम रोकोवासी थियो। निगुहाङ आजभन्दा १० पिंढी अगाडिका हुन्। यस गढीका प्रथम राजा को थिए कुनै लिखित इतिहास पाइँदैन। निगुहाङचाहिँ अन्तिम राजा हुन्। यस क्षेत्रमा खुवालुङबाट आएर बसोवास गर्ने दुमी किरात राईको विभिन्न पाछाका वंशावलीहरूमा हाड नाम जोडिएका तीन दर्जन पुर्खाहरू रहेका छन्। ती हाडहरू सबै राजा नै हुन्। यस गढीलाई मल्ल कालमा कविलासपुर भनिन्थ्यो। पुरको अर्थ मैदानी जग्गा, सहर बजार भन्ने जनाउँछ। सम्भवतः त्यस समयमा चिना र केपिलास गढी एउटै थियो र यो केपिलास गढीको नामले चिनिन्थ्यो।

प्रताप मल्लका शासन कालमा शङ्कर भण्डारीले जागिरको रूपमा घडेरी जग्गा पाएका थिए (नेपाल, २०४५)। रणबहादुर शाहले भण्डारीका जग्गाका साथै अन्यले पाएको बिर्ता र बकस जग्गा आदि कार्यान्वयनमा छन्/छैनन् भनी अनुगमन गर्न पठाएका थिए। उनले राज्यलाई पारेको ऋण र नेपाल-अङ्ग्रेज युद्धमा लागेको ऋण चुक्ता गर्न अनुगमन गरेका हुन्। विसं १८६२ मा भएको बासठ्ठी हरण काण्ड हुँदा यस क्षेत्रका जग्गा छानबिन गर्न तत्कालीन नेपाल सरकारका अधिकारीहरू केपिलास गढी आएका थिए। त्यो सरकारी डोरले शङ्कर भण्डारीको जग्गा छानबिन गर्दा पाँचजना राई सँधियारहरूले उपस्थिति जनाएका थिए। ती सँधियारहरू बिराटेकी राई, उङ्गेप, जनासी राई, प्रितिबल राई र अम्बर्या राई हुन्। यी व्यक्तिहरूको जग्गामा स्वामित्व पाउँदा केपिलास गढीमा किरातीहरू मल्लकालभन्दा अगाडि नै थिए भन्ने बुझिन्छ। यसले यहाँ किरात राईहरूका बस्ती थियो भन्ने जनाउँछ।

३. केपिलास गढीको भू-क्षेत्र

केपिलास गढीको भू-क्षेत्र पूर्वमा चतुर्घना सुभाङ्गीको ढाल तरबार गढी, साम्पाड उत्पत्ति थलो खोकोलुड, दक्षिणमा रुपाकोट, पेर्मा गढी हौंचुर, पश्चिममा डुम्रेकोट गढी, उत्तरमा राखा गढी रहेको बुझिन्छ। वर्तमानमा यस गढीको क्षेत्रफल करिब १५ रोपनी रहेको छ। चिना गढीलाई पनि समेट्दा ७० रोपनी जग्गामा समेटिएको पाइन्छ।

केपिलास गढीको सिमाना उत्तरमा आफ्नै सँधियार चप्लेटी रानी वन, पश्चिममा थाना गाउँ, दारेगौंडा, उत्तर पूर्व चिना गढी, घिनुवन बाक्सिला र साक्सिला गाउँ रहेको छ। दक्षिणको सीमामा निजी वन रहेको छ जो पोक्लु, चिउरीखर्क, दारेगौंडा, दामथला गाउँहरूसँग सम्बन्धित रहेको छ।

४. गढी क्षेत्रमा जातीय संरचना

केपिलास गढीमा प्रथमतः किरातहरूका आगमन भएको पाइन्छ। यहाँका राई प्राचीन जाति हुन्। यहाँ किरातहरू प्रवेश गरेका तर्क निम्न पाइएका छन्:

१) किरातहरू बराहक्षेत्र, त्रिवेणीको खुवालुङबाट आएका हुन्। उनीहरू खुवालुङबाट अरुण पछ्याएर भोजपुरको सिक्तेल भएर दिक्तेल हुँदै यस क्षेत्रको दुङकुलुमा आएर फैलिएको बताउँछन्।

२) हिमालपारी तिब्बत र चीनबाट आएको मुन्दुमका रिसिया सुनाउँछन्।

३) किरात अनुष्ठानिक संस्कारहरूमा खुवालुङबाट सुनकोसी, दूधकोसी, रावाखोला हुँदै केपिलास गढी आइपुगेको बताउँछन्। कसैले सिमाङगढबाट, कसैले सेन मकवानबाट आएको भनी पुर्ख्यौली बताउँछन्। यसमा हिमाल पार गरेर आउने बाहेक अरुको आगमन खुवालुङबाट नै भएको देखिन्छ।

यस राज्य क्षेत्रमा दोस्रो चरणमा क्षेत्री बाहुनहरू आएका हुन्। उनीहरू तीनसय वर्षको हाराहारीदेखि आउन सुरु गरेका हुन्। उनीहरूलाई सेन शासकहरूले मन्दिरका पूजारी र कर्मचारीका रूपमा ल्याएका थिए। पृथ्वीनारायणका एकीकरणपछि ठूलो सङ्ख्यामा आएका हुन्। यहाँ बस्ने क्षेत्री बाहुनहरू पृथ्वीका सेनाहरू र ओखलदुङ्गाबाट पशुपालन गर्दै आएका कुरा बताउँछन्। यहाँका कालु खत्रीका वंशजहरू भगिवन्ता र सखिवन्ता राईहरूबाट तालुकी सोहानीमा जग्गा लिएर बसेको बताउँछन्। यहाँका घले, लामा र गुरुडहरू लम्जुङबाट आएको बताउँछन्। उनीहरू मध्ये हेमन्त लामा गुरुङ, कुइसाङ तामाङका पनि सोहानी जग्गा लिएर बसेका कागजी विवरणहरू पाइएका छन्।

दुमी राईका विभिन्न पाछाका १५ पुर्खाहरूको नामको पछाडि हाङ/हँ शब्द जोडिएको पाइन्छ। तिनीहरू बोरिहाड, रिलुहाड, कुदुमहाड, मेथुहाड, माप्राहाड, वातिमहाङ, माखाहाड, ननहाड, निगुहाड, कुकुरीहाड, कोरेनाहाड, छडछहाड, खुवाहाड, खिवाहाङ, दुतिमहाड हुन्। यी पुर्खाहरूमध्ये अधिकांशले चिना र केपिलास गढीमा शासन चलाएको हुनुपर्दछ भन्ने लाग्छ। यिनीहरू मध्ये कुकुरीहाड, कोरेनाहाड रुपाकोटका शासक भएको कुरा नेर्पाको मेरपा राजासँगको खुवाको विषयमा लेकमा भएको युद्धका प्रसङ्गले रुपाकोट नजिक पुन्याउँछ।

५. पृथ्वीको गोर्खा राज्य विस्तार गर्ने महत्त्वाकांक्षा

पृथ्वीनारायणको फौजले विसं १८१९ मा दिग्बन्धन सेनको राज्य मकवानपुरलाई अधीनमा ल्यायो। उपत्यकाको तीन राज्यलाई अधीनस्थ गर्नुअघि विसं १८२० मा धुलिखेल, बनेपा, पनौती, नाला, साङ्गा पनि अधीनमा आयो। धुलिखेलमा महेन्द्रसिंह राई र नामसिंह राईसँग घमासान युद्धमा महेन्द्रसिंह राई पराजित भए। विसं १८२२ मा कीर्तिपुर अधीनस्थ गर्दै विसं १८२५ मा कान्तिपुरको जयप्रकाश मल्ल र ललितपुरको तेजनरसिंह मल्ललाई पराजित गरे। १८२६ मा भक्तपुरे राजा रणजित मल्ललाई पनि हराई काठमाडौं उपत्यकाको अधिपति भए।

उपत्यकाको विजयपछि उच्च मनोबलका साथ पृथ्वी पूर्वी अभियानको लागि लगत्तै जुटे। त्यसका लागि दुई कम्पनी फौजसहित अभिमानसिंह बस्नेत, पारथ भण्डारी, अमरसिंह थापा र सरदार रामकृष्ण कुँवरको नेतृत्वमा पूर्व खटाइए। त्यस बेला पूर्वमा दुई स्वतन्त्र सेन राज्यहरू थिए। ती राज्यहरू कमला क्षेत्रमा चौदण्डी र कोसी क्षेत्रमा विजयपुर नामले प्रख्यात राज्य थिए (उपाध्याय, २०७३)। किरातीहरू सेन राज्य शासनका मन्त्रीको रूपमा हर्ताकर्ता थिए। चौदण्डीमा किरातीहरूका दबदबा खप्न नसकेर स्वरूप कार्कीले खामतेल गढीबाट एक डल्ला माटो गोर्खा दरबारमा बुझाउँदै यो माटोमा गोर्खाले शासन गर्न अति फलदायी हुन्छ भनी बुझाएका थिए। इमानसिंह चेमजोडले स्वरूपसिंह कार्कीको ठाउँमा खार्पा निवासी हरनिन्द पोखरेलको नाम लिएका छन्। यस माटोलाई रानीले खोपामा पूजा गरेर राख्थिन्। पूर्वमा माझ किरात चौदण्डी राज्यको अधीनस्थ गरेर मात्र विजयपुर आक्रमण गर्न सजिलो हुने भएकाले दुई कम्पनी फौजलाई अगाडि बढाए।

उक्त दुई कम्पनी फौज सुनकोसी मूल घाट आइपुग्यो। खार्पाली हरनिन्द पोखरेल र त्रिलोचन पोखरेल यी दुई भाइ चौदण्डीका पुरेत थिए। उनीहरू भित्रभित्रै गोर्खा राज्यलाई चौदण्डीको विरुद्धमा सहयोग गर्थे। त्यसैले फौजलाई घाट तार्न पोखरेल दाजुभाइले डुङ्गाको व्यवस्था गरेका थिए। विसं १८२९ भाद्र १३ गते राति सोही डुङ्गाबाट गोर्खा फौज तारिए। तत्कालीन चौदण्डी राज्य पहाड र तराई गरी दुई भागमा विभाजित थियो। त्यसैले सरदार अभिमानसिंह बस्नेत र पारथ भण्डारीको नेतृत्वमा एक कम्पनी फौज चौदण्डी राज्य सर गर्न उता लागे। अमरसिंह थापा र रामकृष्ण कुँवर चाहिँ उत्तर पहाडतर्फ लागे।

अमरसिंह थापाको सैन्य दलले विसं १८२९/३० मा ओखलदुङ्गाको तलुवा, बुङनाम, च्यानम, चिसङ्क, बोनम गढी र थुमहरू नियन्त्रणमा लिए। त्यसपछि उही पोखरेल बन्धुहरूको सहयोगमा दूधकोसी तरेर चतीम राईको नेतृत्वमा रहेको डुम्रेकोट गढी कब्जा गरे।

६. केपिलास गढीमा आक्रमण

गोरखा फौज तत्काल चतीम राईको डुम्रेकोट गढी सर गरेर रावा खोलाको बाटो भई दारे गौंडा थर्पुमा आइपुग्यो। त्यहाँ केपिलास गढीको प्रवेशद्वार द्वारगांडा थियो। त्यही द्वार गौंडाको अपभ्रंश रूप दारे गौंडा भएको हो। उक्त गौंडा पार गरेर सेना अगाडि बढ्न चाह्यो। त्यहाँ किराती सेनाले उनीहरूलाई रोके। गोरखा सेनाको साथमा हरनिन्द पोखरेल पनि साथै थिए भन्ने पुर्खाहरूको भनाइ छ। हरनिन्दले द्वारपालहरूलाई हामी गढीका मितलाई भेट्न आएका हौं, जान देउ भनी सम्झाए (राई, २०६८)। मितलाई भेट्न आएको मानिसलाई भेट गर्न नदिनु पाप लाग्ने कुरा भएकाले किराती द्वारपालहरूले द्वार खोली दिए। उनीहरूलाई के थाह कि ती आफ्नै गढीलाई समर गर्न आएका शत्रु हुन् भनेर।

ती सेनाहरूले लगभग रातको समयमा केपिलास गढीको पश्चिम दिशाबाट आक्रमण गरे। ट्रेन्चमा पहरा दिई बसेका किराती सेनाहरू काटिए। ट्रेन्चमा रगतको खोला बग्यो। त्यसैले वर्तमानमा पनि त्यस ट्रेन्चलाई रगते खोल्सा भनिन्छ। त्यसपछि गढीको मूल भागमा आक्रमण अगाडि बढाए। यहाँ सबभन्दा ठूलो ट्रेन्च रहेकाले अझ धेरै किरात सेनाहरू भएको अनुमान गर्न सकिन्छ। यहाँ पहरा दिई बसेका धेरै किरात फौजहरू पनि निर्ममतापूर्वक काटिए। रगतको खोला बग्यो तसर्थ यस ट्रेन्चलाई पनि रगते खोल्सा भनी बोलाइन्छ। यो बगेको रगत तल विजय टारको ढुङ्गे धारासम्म नै पुगेकाले पुर्खाको रगत सम्झिएर त्यस धाराको पानी यताका मानिसहरूले खान हुँदैन भन्ने भनाइ रहेको छ।

बेदमाया कोयुको अनुसार यस युद्धमा साम्पाङ राजा ज्यान जोगाउन भाग्दै बाँसपानी ढोका डाँडा निकट पुग्यो। गोरखा सेनाले पिछा गर्दै गएर त्यहीँ मारी दियो। ती चतुरघना सुभाङ्गी हुन् वा अर्कै योद्धा गहन खोज नगरी यसै भन्न सकिन्न। केपिलास गढीको इतिहासलाई नजिकबाट अध्ययन गर्ने घनरूप सत्म राईको अनुसार निगुहाङ र रोकोवासी ज्यान जोगाउन दरबारबाट भाग्न सफल भए। निष्पट्ट रातको समयमा उनीहरू दक्षिणतिर भाग्दै रुखको लहरा समाउँदै चिउरी खर्क पुग्दा उज्यालो भयो। त्यसपछि सुर खोजेर पूर्वतिर लागे। उनीहरू भाग्दै लुक्दै सिपुलुङ गाउँ मुनी रहेको ब्लङ्गु भन्ने ठाउँमा पुगेर एउटा सिमलको जराको आडमा लुके। गोर्खा सेना त्यही ब्लङ्गुमा आइपुग्यो। निगुहाङको साथमा केही थिएन तर रोकोवासीको साथमा एउटा धनुमात्र थियो। निगुहाङले ती सेना उपर तीरले आक्रमण गर्न रोकोवासीलाई निर्देशन दिए। तर रोकोवासी के कारणले हो रोकिए। त्यसपछि निगुहाङ आफैले रोकोवासीको हातबाट धनु खोसेर आफैंले तीर छोडे। अगाडि आएका सेनाहरू थलका थल मरे। उसको साथमा तरबार, धनु र ढाल थियो। त्यसलाई जफत गरे। त्यसपछि उनीहरू पुनः ज्यान जोगाउन छलिँदै लुक्दै मैयु डाँडा पुगे। साथमा खानेकुरा केही नभएकाले वनजङ्गलको जन्तु सिकार गरेर जीवन गुजारा गरे।

केपिलास गढी आक्रमण सफल भएपछि गोर्खा फौजले एक महिनासम्म यही गढीमा अड्डा जमाए। त्यसै बेला ढाल तरबारसहित गढीमा सुभाङ्गी चतुर्घना तोमीय साम्पाङ रहन्थे। उक्त गढीलाई पनि यसै बेला कब्जा गरिएको हो। त्यसपछि उक्त सेनाले रावाचुड, मझुवा, दिङ्ला, सहदेव बुइपा, मौरे र पिर्मा गढी कब्जा गरे। यत्तिखेरसम्म सबै गोर्खा सेनाहरूको गोली, गठ्ठा, बारुद र खर-खजना सबै सिद्धिएकाले हलेसीमा योद्धाहरूको भेला गरियो। यत्तिखेर हरनिन्दले गोरखा सेनालाई आर्थिक सहयोग गरेका थिए। यही रुपैयाँ योद्धाहरूलाई तलबको रूपमा बाँडिएको थियो। रावा खोला बेंसीमा पोखरेलहरूले पाएको बिर्ता यसैको पुरस्कार हो भन्ने भनाइ पनि सुनिएको छ।

चिना गढीमा बहु-सांस्कृतिक किरात राष्ट्रिय सङ्ग्रहालय निर्माण

चिना गढीमा फन्सिकिमको बहु-सांस्कृतिक किरात राष्ट्रिय सङ्ग्रहालय स्थापना गर्ने योजना रहेको छ। उक्त उद्देश्य पूरा गर्न २०७९ चैत्रबाट नयाँ अभियान प्रारम्भ गरी २०८१ सालमा १७ रोपनी जग्गा खरिद गरिएको छ। अन्य १८ रोपनी जग्गा खरिद गर्ने अभियान जारी छ। यस कार्यमा स्वदेश र विदेशमा रहेका किरात बन्धुहरूबाट आर्थिक सङ्कलन कार्य जारी रहेको छ। यो बहु-सांस्कृतिक किरात राष्ट्रिय सङ्ग्रहालय सबै जातजातिहरूका कला, संस्कृति र सभ्यताको सङ्ग्रहालय हुनेछ। मुन्दुम, भाषा, संस्कृतिको अध्ययन केन्द्र निर्माण गर्ने, धामी विद्याको संरक्षण र विस्तार गर्ने, प्राकृतिक जडिबुटीको संरक्षण र ज्ञानको सञ्चार गर्ने, गुराँस प्रजातिका बिरुवा हुर्काउने योजना रहेको छ।

निष्कर्ष

किरातहरूले भस्मे फाँडी, पट्टेन बाँझो फोरेर आवादी गरी भूमि नै गढी, किल्ला र थुमहरूमा विकास भएको हो। पूर्वमा खुवालुङमा आउने पहिलो जाति पनि किरातहरू थिए। लिच्छवीहरूबाट पराजित हुने किरातीहरू पनि पूर्वैतिर लागेका थिए। सेनहरू आउनअघि किरातीहरू नै यहाँका हर्ताकर्ता थिए। खुर्पे ठ्याकको बलमा जमिनलाई आफ्नो बनाई अधिकार गर्ने सिलसिलामा नै अनेकौं गढी, कोट र थुमहरूको निर्माण भएका हुन्। आपुङ्गी राजाहरूको आफू विजयी हुनुपर्ने प्रवृत्तिको कारणले किरात गढीहरूको निर्माण भए र आपसमा कैयौं युद्ध पनि भएका थिए।

कालान्तरमा सेनहरूका आक्रमणपछि सुरक्षित हुन पुनः मजबुत गढीहरूको निर्माण भए। सेनहरूले किरात भूमिमा आधिपत्य जमाइसकेपछि किरातहरूकै नेतृत्वमा ती गढीहरूमा शासन चल्यो। सेन राजा र किरात मन्त्रीहरूको बीचमा समन्वय थिएन, त्यसैले पूर्वका किरात गढीहरू अत्यन्त कमजोर थिए। पछिल्लो चरणमा गोर्खाबाट उदाएको पृथ्वीनारायण शाहको एकीकरण अभियानले पूर्वका पचासौं गढी र कोटहरूलाई समाप्त पारी नेपाल राज्यमा गाभिए। इतिहास जितेको मात्र लेखिने भएकाले यहाँ हार्ने किरात गढीहरूको बारेमा लेख्ने प्रयत्न भएन। त्यसैले अधिकांश गढीहरूको इतिहास अधुरा छन्। पुर्खाहरू श्रुतिका आधारमा ३ सय वर्ष पुरानो इतिहास लेखन पूर्ण हुँदैन। अधिकांश किरात गढीहरू नाम मात्रका छन्। यसका भौतिक संरचना नष्ट भइसकेको छ। यस गढीको दुमी किरात राई फन्सिकिमको पहलमा ७० रोपनी जग्गा ऐतिहासिक संरचनासहित संरक्षणमा रहेको छ। यहाँ हिन्दू संस्कृतिका कुनै मन्दिरहरू छैनन्। चिना गढीका भौतिक संरचना नष्ट भएका छन्। जग्गालाई खरिद गरी गढीको पहिचानलाई संरक्षण गर्ने सिलसिलामा बहु-सांस्कृतिक किरात राष्ट्रिय सङ्ग्रहालय वर्तमानमा निर्माण गर्ने योजना रहेको छ।

यस युद्धपछि गोर्खा सेना चौदण्डी गढीमा कर्ण सेन र अजित राईलाई हराउँदै विजयपुर पुगे। विजयपुरलाई पनि पराजित गर्दै चैनपुर पुगेर किरात लिम्बूवान राज्यलाई नुन पानी सम्झौताबाट गोर्खामा गाभी गोर्खाको सिमाना पूर्वमा टिस्टासम्म पुग्यो।

गोरखा सेनाको आक्रमणबाट सुरक्षाको दृष्टिकोणले गढीको कार्यालय, कोत घर, दरबार सार्नुपर्ने जरुरी भएकाले चिना गढीबाट केपिलास गढीतिर सारिएको देखिन्छ। सामरिक दृष्टिकोणले पनि चिना गढीभन्दा केपिलास गढी महत्त्वपूर्ण देखिन्छ। कारण शत्रुको आक्रमण पश्चिम दिशाबाटै हुने सुनिश्चित थियो र गोरखाली सेनाको आक्रमण पनि पश्चिमबाट पूर्वतिर नै अगाडि बढ्दै थियो। त्यसैले पनि पश्चिम दिशातिर पर्ने केपिलास गढी महत्त्वपूर्ण रहेको छ।

सन्दर्भ सूची

  • अधिकारी, बमबहादुर (२०७९). नेपालका सामरिक किल्लाहरूका इतिहास, काठमाडौं: पदम कुमारी पौडेल अधिकारी।
  • उपाध्याय, श्रीराम प्रसाद (२०७३). नेपालको प्राचीन र मध्यकालीन इतिहास. काठमाडौं: रत्नपुस्तक भण्डार।
  • चाम्लिङ, इमान सिंह (अनु. शेरबहादुर पापो लिम्बू) (२०५१). किरात इतिहास र संस्कृति, शनिश्चरे गा वि स-६, झापा।
  • चामलिङ, भोगीराज (२०७४). होलैसुङ र हलेसी गढी: किरात क्षेत्रका गढी : स्थलगत अध्ययन र ऐतिहासिक कागजपत्रहरू, सम्पा. भोगीराज चामलिङ र तारामणि राई, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, ललितपुर।
  • — (२०७४). “उदयपुरका तीन गढीहरू : इसापूर्वदेखि सेनकालसम्म” किरात क्षेत्रका गढी : स्थलगत अध्ययन र ऐतिहासिक कागजपत्रहरू, सम्पा. भोगीराज चामलिङ र तारामणि राई, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, ललितपुर।
  • राई, कमलजङ (२०७४). “भोजपुरका गढीहरू” किरात क्षेत्रका गढी : स्थलगत अध्ययन र ऐतिहासिक कागजपत्रहरू।
  • राई, किशोर (२०६७). “मझुवाढी एक चिनारी” टुवाचुड, वर्ष-२, अङ्क-२ चैत्र, किरात राई चामलिङ खाम्बातिम, महिला विभाग, काठमाडौं।
  • राई, कुम्भराज (२०८०). “संरक्षणको पर्खाइमा ओल्लो किरातका गढीहरू”, इमो ल्योलाम, किरात राई कर्मचारी मञ्च, काठमाडौं।
  • राई, गणेशकुमार (२०७४). “ओगानेमगढी” किरात क्षेत्रका गढी : स्थलगत अध्ययन र ऐतिहासिक कागजपत्रहरू, सम्पा.
  • राई, चतुरभक्त (२०६८). “केपिलास गढीको ऐतिहासिक चिनारी र संरक्षणको निमित्त दुमी किरात राई फन्सिकिमको अभियान प्रारम्भ”, इसिलिम, दुमी किरात राई फन्सिकिम, बाक्सिला।
  • — (२०७४). “केपिलास गढीउपर पृथ्वीनारायण शाहको आक्रमण : एक राजनीतिक घट्नाक्रम” किरात क्षेत्रका गढी : स्थलगत अध्ययन र ऐतिहासिक कागजपत्रहरू, सम्पा. भोगीराज चाम्लिङ र तारामणि राई, आजउरा प्रतिष्ठान, ललितपुर।
  • — (२०७६). “केपिलास गढी संरक्षणका लागि जीर्णोद्धार : पर्यापर्यटन प्रवर्धन कार्यक्रम २०७६ : एक ऐतिहासिक कार्य”, इसिलिम, अङ्क २०, वर्ष २०, दुमी किरात राई फन्सिकिम।
  • राई, जयकुमार (२०७४). “राखा- बाङदेल गढी” किरात क्षेत्रका गढी : स्थलगत अध्ययन र ऐतिहासिक कागजपत्रहरू, सम्पा. भोगीराज चाम्लिङ र तारामणि राई, आजउरा प्रतिष्ठान, ललितपुर।
  • राई, मनि (२०६७). “मझुवागढी: हाम्रो ढुकढुकी” निप्सुङ, वर्ष-२१, अङ्क-३१, किरात राई यायोक्खा, केन्द्रीय कार्य समिति, काठमाडौं।

लेखक किरात राई जातिको इतिहास र संस्कृतिको अध्येता हुनुहुन्छ।

Previous post

किरात राई जातिको सांस्कृतिक केन्द्र साल्पा सिलिचुङ – मुलघरे कान्छा (राजेन खिम्बुले), बेलायत

Next post

अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक : नेपालको सन्दर्भ – डा. तारामणि राई, कोटेश्वर, काठमान्डौ

Post Comment

Scroll to Top Scroll to Top Stretched